भर्खरै :

नेतृत्वको गल्तीले समग्र सहकारी अभियान पछि पर्दछ

  • आश्विन ७, २०८२
  • संयम श्रेष्ठ
  • विचार
नेतृत्वको गल्तीले समग्र सहकारी अभियान पछि पर्दछ

सहकारी संस्था समाज र समुदायसँग सामिप्य रहेर आर्थिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्रियाकलाप गर्ने संस्था हो । यो केबल वित्तीय संस्था होइन जुन अहिले केही सहकारी अभियन्ता तथा सहकारी आबद्ध व्यक्तिहरूले यसलाई वित्तीय संस्थाको रूपमा परिभाषित गर्न खोजिरहेका छन् । सहकारी सञ्चालकहरूलाई लगामबिनाको घोडाझैँ छोडेर राख्दा पहिले गठित छानबिन समितिको प्रतिवेदनअनुसार २.४ खर्बभन्दा बढी रकम लिएर सहकारीका सञ्चालकहरू फरार रहेका छन् । यो त्यसबेलाको तथ्याङ्क हो । यो २.४ खर्ब रूपैयाँ भनेको कुल राष्ट्रिय बजेटको २० प्रतिशत रकम हो । सोझा सीधा जनताको रकम ठगेर सहकारीलाई सबभन्दा राम्रो व्यवसायको रूपमा लिएर भाग्ने ठगहरूलाई ठुला पार्टीका नेताहरूले संरक्षण गरेकै कारणले नेपाल सरकारले सहकारी क्षेत्रलाई नियन्त्रण गर्न सक्दैन भनेर हात उठाएको थियो ।
नेपाल सरकार सहकारी विभाग, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ, सहकारी महासङ्घलगायत सहकारीका अभियन्ताहरूबिचको लामो छलफल तथा बहसपछि रु. २५ करोडभन्दा बढी सम्पत्ति भएको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई नेपाल राष्ट्र बैङ्कले र रु. २५ करोड रूपैयाँभन्दा कम सम्पत्ति भएको सहकारी संस्थालाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्ने गरी सहकारी ऐन २०७४ संशोधन गरिएको छ । सहकारी नियमन प्राधिकरण र नेपाल राष्ट्र बैङ्क सहकारीमा छिरेपछि सहकारी अभियन्ताहरू नक्कली नागका शौखिन बन्न पुगेका छन् । सहकारीलाई वित्तीय संस्थाको रूपमा हेर्नु र रूपान्तरण गर्नु सहकारी अभियन्ताहरूको खोटो विचार हो । अझै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घले छुट्टै बचत तथा ऋण सहकारी ऐन माग गरिरहेको छ, जून सहकारीलाई पूर्णतया वित्तीय संस्था भनेर स्वीकार्नु हो, जब वित्तीय संस्था भनिसकेपछि राष्ट्र बैङ्क सहकारीमा छिर्याे भनेर चिच्याउनुको कुनै तुक छैन । शासकवर्गले जनतालाई सचेत र सङ्गठित हुनबाट रोक्ने प्रयास शासक दलको धर्म हो । जनता सचेत भयो भने शासक दलहरूले गरेका विकृति र विसङ्गतिबारे बहस, छलफल तथा विरोध हुन्छ । त्यसैले कामदारवर्गका जनता र तिनका छोराछोरीलाई राजनीति गर्नुहुँंदैन भन्दै शासकहरू कुटिल राजनीति गर्छन् । सहकारी क्षेत्र पनि यसबाट अलग्ग छैन ।
सहकारी समाज र समुदायसँग एकाकार गरेर अगाडि बढ्ने सबभन्दा सहज ज्यावल हो । यही कारणले काठमाडौँ महानगरपालिकाले विगत २/३ वर्षदेखि सहकारी संस्थाको वार्षिक साधारणसभामा उद्घाटन कार्यक्रमलगायत सदस्यलाई देश–विदेशको वित्तीय अवस्था र सहकारी क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिबारे सुसूचित गर्नबाट बन्देज गरेको थियो । तर, शासकवर्गलाई ढुङ्गाको काप फोरेर तुलसी उम्रन्छ भने चेत नहुनु विडम्बना हो । यस वर्ष सहकारी संस्थाको साधारणसभाको सङ्घारमा २०८२ भदौ १७ गते राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाको वार्षिक साधारणसभामा उद्घाटन कार्यक्रम, अतिथि/प्रमुख अतिथि, नियमन निकायका व्यक्तिहरू, मायाको चिनो वितरण, सम्मान कार्यक्रम नगर्नु भनेजस्ता ८ बुँदे निर्देशन जारी गर्याे । यो सहकारीको मौलिक अधिकार हनन हो । अझ यसलाई मलजल गर्ने काम सहकारी अभियानको माथिल्लो निकायबाट भयो । प्राधिकरणले जारी गरेको निर्देशनविरूद्घ आवाज बुलन्द गर्नुपर्ने सहकारीका अभियन्ताहरू नै प्राधिकरणको निर्देशनसँगै सति गएपछि सहकारीको अस्तित्व ओझेलमा पर्नु स्वाभाविक छ । गलत संस्कार र क्रियाकलापलाई स्वीकार्नु र बढावा दिनु निन्दनीय छ । नेतृत्वको गल्तीले समग्र सहकारी अभियान पछि पर्दछ । हाम्रो सङ्घर्ष कानुनी र गैरकानुनी दुवैतर्फबाट चालु राख्नुपर्दछ । सरकारी निकायले बनाएको गलत ऐन नियमजस्ताको तस्तै मान्नुभन्दा अवाञ्छित ऐननियमको विरूद्घ सङ्गठित गर्नु सहकारी अभियानको कर्तव्य हो ।
सहकारी संस्थाको वार्षिक साधारणसभा एउटा उत्सव पनि हो । प्रायः सहकारी संस्थाहरूले आ–आफ्नो वार्षिक साधारण सभाको अवसरमा एसईई, एसएलसीलगायत माथिल्लो कक्षा उत्तीर्ण भएका र उत्कृष्ट अङ्क प्राप्त गरेका विद्यार्थीहरूलाई मायाको चिनो, पुरस्कार र सम्मान कार्यक्रम, ज्येष्ठ सदस्य सम्मान, देश र समाजको निम्ति योगदान गरेका व्यक्तिहरूलाई सम्मानजस्ता राज्यले निर्वाह गर्नुपर्ने काम सहकारीले निर्वाह गरेको पाइन्छ । यस्ता सकारात्मक क्रियाकलापमा सरकार र सहकारी अभियानकर्ताहरूको टाउको दुखाइ किन ? के सम्मान र उद्घाटन कार्यक्रम नगर्दा सहकारी ठगी रोकिने हो ? सहकारी आफै स्वनियममा चल्ने स्वायत्त संस्था हो, सहकारीको यो अन्तर्राष्ट्रिय सिद्घान्तलाई कसैले ओझेलमा पार्न सक्दैन । वित्तीय अनुशासन कायम गराउनु र सदस्यको रकम सुरक्षा गर्नु राज्यको दायित्व हो । स्वायत्तता र स्वनियमको नाउँमा सदस्यको रकम लिएर भाग्नेहरूलाई समयमै कारबाही गरेको भए आजको स्थिति आउने थिएन । संस्कारयुक्त सदस्य तथा समाज निर्माण गर्न सही राजनैतिक ज्ञान आवश्यक पर्छ । सभ्य र सुसंस्कृत समाज तब सम्भव हुन्छ, जब हामी सहकारीमार्फत देशको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको निम्ति सही दिशानिर्देश गर्न सक्छौँ, त्यसको निम्ति उद्घाटन, सम्मानजस्ता कार्यक्रममा देश र जनताको निम्ति निःस्वार्थरूपले सङ्घर्ष गर्ने अग्रजहरूबाट सही मार्गनिर्देशनको आवश्यकता पर्दछ । नत्र हाम्रो सहकारीको साधारणसभा सदस्यलाई उपस्थिति रकम वितरण गर्दै सही गराएर २०२५/२०२६ सालको नवदुर्गा बहुमुखी सहकारी संस्था बन्न बेर लाग्दैन । तसर्थ, विगतका वर्षहरूमा झैँ साधारणसभालाई व्यापक सदस्य र समुदायलाई समग्र क्षेत्रको चेतना दिने गरी सञ्चालन गर्नु बुद्घिमानी हुनेछ । सहकारी अभियानको माथिल्ला निकायहरू यसको निम्ति सङ्घर्ष गर्नु बुद्घिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *