भर्खरै :

कला : जीवन – दर्शन र यथार्थ

  • आश्विन ७, २०८२
  • गोविन्द लोहनी
  • विचार
कला : जीवन – दर्शन र यथार्थ

आजकल यथार्थवाद भन्ने शब्द साहित्य जगत्मा खूब चलेको छ । तर, यसको दार्शनिक पृष्ठभूमि र कलात्मक सीमा नबुझी यसको वास्तविक अर्थ बुझ्न सकिन्न । साहित्य र कलाका प्रत्येक वादको आधार दर्शनका वादहरूमा हुन्छन् ।
रहस्यवाद, रूपवाद, प्रयोगवाद, प्रतीकवाद, अति–यथार्थवाद, अभिव्यञ्जनावाद, प्रभाववाद, छायावाद आदि सबै वादको पछाडि विशेष जीवन–दर्शन छ । पहिले दर्शनकै क्षेत्रमा विशेष विचारधारा उत्पन्न भएर साहित्य, कला आदिको क्षेत्रमा फैलिन्छ । अतः अथार्थवादको पनि दार्शनिक पृष्ठभूमि छ । दर्शन विज्ञानमाथि निर्भर हुन्छ । कुनै कालमा त्यस युगका विभिन्न विद्वान्हरूले प्रकृतिको यथार्थलाई जति मात्रामा र जुन रूपमा बुझेका हुन्छन् त्यसैबाट उनको जीवन–दर्शन (अर्थात् जड, जीव, जीवन, जगत् र जगदीश्वरसम्बन्धी दृष्टिकोण) बनेको हुन्छ र उनको मतभेद यथार्थसम्बन्धी ज्ञानको मतभेद हो । प्रकृतिको वास्तविकता या यथार्थ हाम्रो ज्ञानबाट स्वतन्त्र छ तर हामी स्वयम् त्यो विराट् वास्तविकताबाट स्वतन्त्र छैनौँ । हामी त्यसकै एक भाग मात्र हौँ, हामी प्रकृतिकै एक टुक्रा हौँ र प्रकृतिकै नियमअनुसार चलिरहेछौँ । हामी प्रकृतिका विभिन्न रूप र गुणको जटिलतम अवस्थामा छौँ । अतः अन्य पदार्थसँग (बाह्य प्रकृतिसँग) कार्यकारणको सम्बन्धमा (Causality) बाँधिएर पनि यो नियमप्रति केही मात्रामा सचेत छौँ, अतः आफू (अहम्) र प्रकृतिको अरू भागलाई छुट्टयाउन सक्छौँ । यसैबाट हाम्रो अहम् (जसलाई हाम्रो जीव–वैज्ञानिक गठन र विकासले निर्धारित गर्छ, जसलाई सिग्मन्ड फ्रायड अचेतन मन भनिन्छ) र ‘सामाजिक अहम्’ (अर्थात् बाहिरको समाज र प्रकृतिको नियम, बन्धन, चलन, रीतिरिवाज, विचार र संस्कार आदिको प्रभाव र चेतना, जसलाई फ्रायड चेतन मन भनिन्छ) – को बिचमा सङ्घर्ष चलिरहन्छ । यही सङ्घर्षको फलस्वरूप हामी यति उन्नत अवस्थामा पुगेका छौँ । पशुहरूको चेतन मन ज्यादै अविकसित अवस्थामा हुन्छ । अतः अचेतन जीव–वैज्ञानिक प्रवृत्तिले नै उनीहरूको व्यवहारलाई निर्धारित गर्छ । बाह्य प्रकृतिको प्रभाव Conditional reflix को रूपमा परेर केही साधारण स्मृति र त्यसको प्रतिक्रियासम्म गर्न सकिन्छ । समाज, भाषा, उत्पादन–शिल्प आदिले गर्दा मानिस पशुभन्दा धेरै माथिल्लो स्तरमा भए पनि आदिम मानवमा भने ‘सामाजिक अहम्’ यति विकसित भइसकेको हुँदैन । अतः बाह्य प्रकृतिलाई ऊ आफैझैँ चेतन (Animate) देख्छ, आदिम साहित्य (वेद, दन्त्यकथा, लोककथा, पुराण आदि) र कला (गुफा–चित्र आदि) मा आदिम मानवको आफ्नो वातावरणप्रतिको धारणा देख्न सक्छौँ । हाम्रो ज्ञान र चेतना विराद्, बाह्य यथार्थको एक भाग हो, पदार्थको एक विशेष सङ्गठनमा परेको अन्य प्रकारका सङ्गठनको प्रभाव हो, स्नायुमण्डलको जटिल कार्यविधि मात्र हो । हाम्रो वैज्ञानिक ज्ञानको सत्य सापेक्ष हुन्छ र यसमाथि अडेको दार्शनिक ज्ञानको सत्य त झन् सापेक्ष, किनभने दर्शनमा त कलामा झैँ इच्छापूर्ति (Wishfulfillment) का तत्वहरू, भावनाको भार र अन्य मनोगत (Subjective) भाव झन् बढता हुन्छन् ।
यथार्थवाद भन्ने शब्द मध्ययुगको अन्त्य र पुनर्जागरण युगको उदयदेखि देखाप¥यो । मध्ययुगीन दार्शनिक, विचारक र वैज्ञानिकहरूले प्रयोगभन्दा चिन्तन बढ्ता गर्दथे र प्रकृतिको विस्तृत र विराट् सत्यलाई आफ्नो सङ्कीर्ण अनुभव, मोटो–खस्रो निरीक्षण, साधारण प्रयोग र भावनाग्रस्त ज्ञानद्वारा व्याख्या गर्ने प्रयास गर्दथे, सिद्धान्तलाई व्यवहार र प्रयोगद्वारा जाँच्दैनथे र आफ्नो व्याख्यालाई अन्तिम सत्य एवं महान् वाक्य सम्झन्थे । यस्तो दृष्टिकोण भएका विद्वान्हरू आजको युगमा पनि छन् । पुनर्जागरणले एउटा नयाँ दृष्टिकोण ल्यायो । उदारता, सहिष्णुता, प्रयोगमूलक चिन्तन, वस्तुगत मापदण्ड, गहन तथा विस्तृत खोज र विभिन्न रूपले आफ्ना स्थापनाहरूको जाँच गर्ने, प्रमाण पाएपछि आफ्नो पूर्वाग्रह छोडेर नयाँ व्याख्याको स्वागत गर्ने, आलोचना र आत्मालोचना गर्ने आदि । खोज नभएका विषयमा आफ्नो अज्ञान स्वीकार गर्न अब लाज मान्दैनथे । मध्ययुगीन दार्शनिकझैँ अन्तिम सत्य बुझिसकेको दाबी गर्दैनथे । खोज, प्रयोगमूलक चिन्तनको कठिन बाटोबाट पलायन गरेर सबै भूत, वर्तमान, भविष्यको दैवी व्याख्या गर्ने मनोगत र सजिलो बाटो लिँदैनथे । अतः वैज्ञानिक र दार्शनिक स्थापनाहरू बदलिरहन्थे । नयाँ यथार्थ अनुरूप या यथार्थको नयाँ व्याख्याअनुरूप नयाँ विचारधारा चल्दथ्यो । हठ, कहिल्यै नबदलिने दृष्टिकोण, प्रत्येक नवीन कुराको विरोध, प्रत्येक परिवर्तनको विरोध र प्रत्येक पुरानो कुराप्रति आस्था, परम्परा र अतीतप्रति अतिशय प्रेम, यथार्थ र सत्यसँग भय र घृणा यी सब जडताका लक्षण हुन्; मध्ययुगीन दृष्टिकोण हुन् । बनार्ड शले ठिक्कै भनेका छन् – “मूर्खको मत सदा निश्चित हुन्छ, विद्वान्को अनिश्चित, मूर्ख आँखा चिम्लेर अगाडि बढ्दछ, विद्वान् शङ्का गरी गरी कदम बढाउँछ । ” माक्र्सलाई उनकी छोरीले “कस्तो दृष्टिकोण उत्तम हो ?” भनेर सोद्धा उनले जवाफ दिएका दिए, “शङ्कालु र आलोचनात्मक … !”
पुनर्जागरण युग मध्ययुगीन दृष्टिकोण र व्यवस्थाको प्रतिक्रिया हो† वैज्ञानिक युगको उदय हो । ग्यालिलियो, कोपर्निकस, हिवजेन्स, केप्लर, हार्वे, न्युटन प्यास्कल, ब्वयल आदि वैज्ञानिकहरूले प्रकृतिसम्बन्धी पुरानो दृष्टिकोण बदलिदिए, उत्पादनका साधन र प्रक्रियामा ठुलो परिवर्तन आयो । समाजको गठन बदलियो र फलस्वरूप पुरानो दर्शनको ठाउँमा स्पिनोजा, डेकार्ते, बेकन, लाइब्निज र जोन लकको भौतिकवादी दर्शन देखापरे । रुसोको प्राकृतिक व्यवस्थालाई महत्व दिने राजनैतिक र सामाजिक विचारधारा फैलियो, लोकतन्त्रको भावनाले बुद्धिजीवीलाई भिजायो । एदाम स्मिथ र रिकार्डोले आर्थिक क्षेत्रमा प्राकृतिक व्यवस्थाको प्रतिपादन गरे । जीवनका सबै क्षेत्रमा यथार्थवाद (Realism) लाई महत्व दिइन लाग्यो । कलाको रूप र भाव बदलिन थाल्यो । लियोनार्दो दा भिन्ची, राफेल, माइकल एन्जलो, सेक्सपियर, गेटे र भिक्टर ह्युगोजस्ता प्रतिभाहरू देखापरे । नयाँ युगको प्रतिनिधि साहित्यमा जीवनको शक्ति र उल्लास, कल्पनाको प्रौढता, भाषा तथा शिल्पको समृद्धि र रूढिग्रस्त अस्वस्थ कुराप्रति आलोचनात्मक दृष्टिकोण पाउँछौँ । बेकनका निबन्ध र सर्वान्तेजको ‘डनक्विजोट’ ले गद्य–साहित्यमा नयाँ आधारशीला राखे । तर, यन्त्रशास्त्र, गणित, ज्योतिष तथा साधारण रसायन र शरीरशास्त्रले मात्र जीवन र जगत्को समुचित व्याख्या गर्न सक्तैनथे । फलतः त्यस युगको यान्त्रिक भौतिकवाद र यसैको आधारमा टिकेको समस्त विचारधारामाथि एक शताब्दीपछि नै बर्कलेको मनोगत आदर्शवाद, कान्टको अज्ञेयवाद र ह्युमको सन्देहवादले हमला सुरु गरे । हेगेलको द्वन्द्वात्मक आदर्शवादले त यान्त्रिक भौतिकवादलाई तहसनहस नै पारिदियो । युरोपियन साहित्यमा दर्शनको यो सङ्ग्राम रोमान्टिक युगका बायरन, शेली, किट्स, वर्डस्वर्थ आदिको पहिले उल्लासमय तर पछि गएर अध्यात्मवादतिर ढल्कँदै जाने मनोवृत्तिमा छर्लङ्ग देखिन्छ । यान्त्रिक भौतिकवादी विचारधारा वातावरण र मानवको बाहिरी यथार्थ रूपपट्टि मात्र जोड दिन्थ्यो । नयाँ आदर्शवादले मानवको आन्तरिक यथार्थपट्टि जोड दियो । हेगेलले त परम विचार (Absolute Idea) लाई नै ईश्वरको स्थानमा पु¥याइदिए । तर, भौतिकवाद र विज्ञानको यो हारलाई जितमा बदल्न फायरबाख, माक्र्स, एङ्गेल्स, मोर्गन र डार्बिन जन्मे । जीवविज्ञान, मनोविज्ञान र समाजविज्ञानको स्थापनाले द्वन्द्वात्मक भौतिकवादलाई जन्मायो र उन्नाइसौँ शताब्दीको अन्तिम दशकदेखि विश्वका प्रमुख विचारधारामा यो दर्शनलाई स्वीकार गर्न करै लाग्यो । साहित्यमा आजको नयाँ यथार्थवादी धारा यही दर्शनको उपज हो र भौतिक विज्ञानमा आज एन्स्टन र मैक्स प्लङ्कका क्रान्तिकारी सिद्धान्तले तथा मनोविज्ञानमा मेस्मर चार्कोट, मेयर, हेब्लक इलिस, फ्रायड, एडलर, जुङ्ग र पावलोबका मौलिक खोजहरूले ल्याएको सङ्कटलाई द्वन्द्वात्मक भौतिकवादले मात्र दार्शनिक व्याख्या दिन सक्छ र आफ्नो दार्शनिक स्थापनाको निमित्त नयाँ प्रमाणको रूपमा पेस गर्न सक्छ । सापेक्षतावाद, क्वान्टम सिद्धान्त, चेतन र अचेतन मनको भेद, परमाणु भौतिक शास्त्र, मिचुरिन र लाइसेन्कोका जीव वैज्ञानिक सिद्धान्त यी सबै आधुनिक वैज्ञानिक खोजले यान्त्रिक भौतिकवाद, रहस्यवाद र मनोगत आदर्शवादमाथि द्वन्द्वात्मक भौतिकवादको विजय घोषित गरेका छन् । आजको यथार्थवादका निम्ति यो दर्शन ठुलो प्रेरकशक्ति बनिरहेछ । तर, आजको यथार्थवाद आफ्नो परम्पराबाट विच्छिन्न वस्तु होइन । अतः पुनर्जागरण कालको यथार्थवादसम्म कसरी विकास हुँदै आयो भन्ने कुरा हामीले बुझ्नुपर्दछ । यो कुरा बुझ्न पुनर्जागरण कालदेखि आजसम्म विज्ञान, शिल्प, समाजको गठन, दर्शन र सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक जीवनमा क्रमशः परिवर्तनहरूपट्टि ध्यान दिनुपर्छ । साहित्यिक प्रवृत्ति र धाराहरूलाई ऐतिहासिक र समाजशास्त्रीय दृष्टिकोणले हेर्नुपर्दछ ।
पुनर्जागरण युग युग मध्ययुगको प्रतिक्रिया स्वरूप आएकोले मध्ययुगीन सबै परम्पराको यसले विरोध ग¥यो । ती बन्धनको जसले समाजलाई अगाडि बढ्न दिँदैनथे र ती बन्धनको पनि जो मानवका उदात्त गौरवमय र विशिष्ट उपलब्धि थिए । पुनर्जागरण युगको समस्त भावनालाई एक वाक्यमा व्यक्त गर्ने हो भने त्यो यही हो– “व्यक्तिगत स्वतन्त्रता, प्राकृतिक व्यवस्था, सबै कुरामा व्यापारिक सम्बन्ध ।” साहित्यमा पुनर्जागरण काल साहित्यशास्त्रीय बन्धनको विरुद्ध विद्रोह, आभिजात्य जीवनको आलोचना, काल्पनिक जीवनको सट्टा यथार्थ मानव जीवनको चित्रण, प्रवृत्ति र त्यसको बाहिरी रूपको उद्घाटन, जीवनको कुनै क्षेत्रलाई पनि ‘बर्जित प्रदेश’ नामले तर्क र बौद्धिक दृष्टिले नैतिक मूल्यहरूको नयाँ मापदण्ड खडा गर्ने व्यापक सौन्दर्य प्रेम, सूक्ष्म रहस्यात्मक अनुभूति, अभिव्यक्तिका नयाँ–नयाँ माध्यम र शैली, शिल्प–विधान आदिमा प्रयोग गर्ने आदि रूपमा व्यक्त भयो । नैतिक मूल्य बदलियो । धार्मिक विश्वासको स्थानमा तर्क र बुद्धिको प्रभाव बढ्यो । भावनामा बौद्धिकताको समावेश भएर त्यसमा परिपक्वता, उदारता र व्यापकताले भरिएको मानवतावादी भावना जन्मियो । यद्यपि, मानवताको दुःख, दर्द र वेदना आर्ष साहित्यमा पुनर्जागरणभन्दा पहिले पनि धेरै मात्रामा थियो र पहिलेको साहित्यमा देखिने कल्पना–लोकका महल पनि आफ्नो युगको यथार्थकै आधारमा खडा भएको थियो । यहाँसम्म कि प्रस्तर युगको मानवले आफ्ना गुफाचित्रमा आफ्नै युग जीवनको चित्रण गरेका छन् । वेदहरूले आर्यहरूको जीवनलाई नै व्यक्त गरेका छन् । पौराणिक युगको स्वर्ग र नरक, देव र राक्षस, आफ्नो युगका यथार्थ र त्यसबाट उत्पन्न भावनाको विकृत रूप हुन् । मनुष्यले आफ्नो आदर्शलाई देव बनायो र उनको महानता देखाउन उनमा असाधारण शक्ति र अनौठा रूपरङ्ग जोडेर काल्पनिक सत्ता खडा ग¥यो । यसैगरी मनुष्यको घृणा, भय आदिले पनि विभिन्न प्रतीक–रूप पाए । धर्मको जगत् यथार्थ संसार र वास्तविक जीवनको भावनात्मक उल्टो रूप हो, निर्दयी बाह्य यथार्थका विरुद्ध हृदय ‘अहम्’ को आर्तनाद हो । त्यस युगको कलामा धार्मिक जगत्को प्रभाव रहनु स्वाभाविकै हो किनभने धर्म कलाकै क्षेत्र हो, विज्ञान होइन । मनुष्यको धर्म र कलाको जगत् चेतनरूपले खडा गरेको होइन । अतः मानिस आफैले अचेतन रूपले खडा गरेको काल्पनिक सत्तामा आफै अल्झियो । आफ्नो अन्तरलाई बाहिर पल्टाएर मानव त्यो बाहिरी रूपलाई नै सत्य मान्न थाल्यो । कला र धर्मको जगत्ले वस्तुगत सत्य जत्तिकै महत्व पाए । कति कुरामा त वास्तविक जीवनको व्यवहारलाई काल्पनिक जगत्का प्रतीकहरूले नै निर्धारित गर्न थाले । यो अचेतन–यथार्थवादको ठाउँमा पुनर्जागरणले चेतन–यथार्थवाद ल्यायो । मानव अब सुल्टो दृष्टिले संसारलाई हेर्न थाल्यो । भौतिक जगत्बाट मनोजगत्को विश्लेषण गर्न थाल्यो । देवलोकको भौतिक आधार पत्ता लगाउन लाग्यो । विचार र चेतनाको सामाजिक आधार र स्रोत खोज्न बाल्यो । कल्पना–युगको मनोगत यथार्थवादका सट्टा यो बौद्धिक युगको वस्तुगत यथार्थवाद थियो । यो कुरालाई अझ राम्रोसँग बुझ्न कला र विज्ञानको विशेषता र सीमाहरूपट्टि ध्यान दिनु तथा कलात्मक यथार्थको सृजनबाट समस्याहरू बुझ्नु आवश्यक छ । कला जगत् भौतिक जगत्को प्रतिबिम्ब हो र कलाको अस्तित्व भौतिक जगत्माथि पूर्णतः निर्भर छ । अतः भौतिक जगत् र भौतिक जीवनको यथार्थबाट कला जगत् स्वतन्त्र हुनसक्तैन । भौतिक जीवनको एक सानो पक्षमा दृष्टि केन्द्रित गरेर कला जगत्को यथार्थको सृष्टि हुन्छ । भौतिक जगत् नै कलाको अक्षय स्रोत हो । भौतिक जगत्लाई अस्वीकार गरेर मौलिकता देखाउन खोज्नु हास्यास्पद हो । भौतिक जगत् र जीवनको विशालता र विविधतालाई बुझ्न नसकेका मानिस नै मौलिकताको निम्ति अतियथार्थवाद (Surrealism), प्रतीकवाद, रहस्यवाद र प्रयोगवाद आदि धारामा बग्दछन् ।
कला र विज्ञान दुवै यथार्थलाई बुझ्ने साधन हुन् । अन्तरप्रवृत्तिको मनोगत रङ्गमा रङ्गाएर भावनात्मक दृष्टिले संसारलाई हेर्नु कला हो । कलाद्वारा संसारमाथि आफ्नो भावनाको प्रकाश हालेर मानवले आफ्ना भावना, आकाङ्क्षा र मनोजगत्को गतिविधि बुझ्दछ । कलाजगत्मा बाहिरी यथार्थ स्वप्निल हुन्छ । ‘अहम्’ मात्र वास्तविक हुन्छ । कलामा बाह्य यथार्थलाई मनोभावनाको अनुकूल विकृत गरिन्छ । कला चेतन रूपले खडा गरिएको वैयक्तिक भ्रम हो ।
बाह्य प्रकृतिको दृष्टिले आफूलाई हेर्नु, वस्तुगत दृष्टिले सबै बाह्य र आन्तरिक (मनोगत) कुरालाई जाँच्नु विज्ञान हो । विज्ञानमा भित्री यथार्थ (अहम्, भावना, इच्छा) लाई बाहिरी यथार्थको अनुकूल विकृत गरिन्छ । प्रत्यक्ष भावनालाई प्रयोग र तर्कद्वारा प्राप्त बुद्धिले अनुशासनमा राख्दछ । यहाँ हामी प्रकृतिलाई माता भन्न पाउँदैनौँ । जुनेली रातलाई चन्द्रमाको पातलो रेशमी सारी भन्न पाउन्नौँ । यहाँ झञ्झावात, बादल र वर्षाको भावनात्मक मूल्य छैन† यहाँ गुलाफको सौन्दर्यमा भन्दा त्यसको वनस्पतीशास्त्रीय विश्लेषणमा बढ्ता चाख लिइन्छ । कोइलीको उच्छ्वासभन्दा उसको जीव वैज्ञानिक गठनलाई बढ्ता महत्व दिइन्छ । सुन्दरीजलको अल्हड नृत्य र सङ्गीतभन्दा तरल धाराको तोड, चाप, उचाइ आदिमा ध्यान दिइन्छ । यहाँ भावभन्दा भावना र उद्वेगको स्नायविक कार्यकारणमा खोज गरिन्छ । स्वप्निल कल्पना विज्ञानमा पनि हुन्छ तर पदार्थको नियमको सीमाभित्र रहेर । ‘अहम्’ र भावनालाई स्वाभाविक अवस्थाबाट विकृत पारेर बाह्य जगत्को यथार्थसँग त्यसको सामञ्जस्य मिलाउनु विज्ञान हो । अभावनात्मक, निवैयक्तिक, सर्वव्यापी ‘अहम्’ को राज्य विज्ञान हो । विज्ञान निर्वैयक्तिक र अचेतन सत्य हो । कला र विज्ञानले जीवनलाई सम्पूर्णता (Concrete) र प्रगतितिर लैजान्छन् । भित्री र बाहिरी यथार्थको ज्ञान दिन्छन् । वस्तुको सूक्ष्मता र जगत्को व्यापकता हामी विज्ञानद्वारा थाहा पाउँदछौँ । भावको सूक्ष्मता र गहिराइ तथा जीवनको व्यापकता, विलक्षणता र महत्ता हामी कलाद्वारा बुझ्दछौँ ।
कलाले यथार्थलाई प्रतिबिम्बद्वारा बुझ्दछ । विज्ञानले धारणा (Concept) द्वारा, बेसिन्स्कीले ठिक्कै लेखेका छन् – ‘Art is thinking in images – अर्थात् प्रतिबिम्बहरूद्वारा विचार गर्नु नै कला हो । ’ विज्ञानले एकेक वस्तुको निरीक्षण गरेर त्यसबाट अथवा त्यस्ता वस्तुको एक सिलसिलाबाट केही धारणाहरू बनाउँछ । यसकारण, विज्ञानको निम्ति वस्तुगत र वर्णनात्मक तत्वहरू अपरिहार्य छन् । कलामा वस्तुगत जगत्को ज्ञान यो रूपमा नभई प्रत्यक्ष चित्रहरूको रूपमा हुन्छ । अतः कलामा वास्तविकतालाई निराकार धारणा (Abstract concept) को रूपमा देखाइन्न, बुझ्न सकिने कुरा, घटना वा व्यक्तित्वको रूपमा देखाइन्छ । विज्ञानमा भने धेरै निराकार, चित्र रूपमा बुझ्न नसकिने, काल्पनिक कुराको प्रयोग गर्न करै लाग्दछ । विज्ञानको खोजको क्षेत्र कलाको क्षेत्रभन्दा धेरै विस्तृत भएकोले र मनुष्यका इन्द्रियहरूको यथार्थका विभिन्न रूपहरूलाई अनुभव गर्नसक्ने क्षमता, मात्रा र गुण दुवै दृष्टिबाट सीमित भएकाले विज्ञानले कल्पनासित र अवास्तविक कुराको धारणा नबनाई खोज र प्रयोग गर्न सक्तैन । शून्य, बिन्दु, सरल रेखा, अनन्त र इचर आदिको अस्तित्व छैन तैपनि विज्ञानमा यी काल्पनिक सत्ता नभई कामै चल्दैन । इलेक्ट्रन परमाणु, चुम्बकत्व, एक्स–किरण, कस्मिक रेज, विद्युत् चुम्बकीय लहरहरू र फोटनका कणहरूलाई हामी कुनै इन्द्रियबाट पनि अनुभव गर्न सक्तैनौँ । यसैले यसको रूपरङ्गको कल्पना पनि केवल कल्पना नै हो । तैपनि, विज्ञान यसको अस्तित्व मान्दछ र यिनीहरूको प्रयोगबाट अनेक चमत्कार देखाउँछ । कलाजगत्मा भने चित्रमय कल्पना र धारणामात्र सम्भव छ । कलाको सत्य प्रत्यक्ष अनुभूति हुने र बुझ्न सकिने हुनाले मनमा छिटो प्रभाव पार्दछ, हृदयस्पर्शी हुन्छ । विज्ञानमा बुद्धिग्राह्यताको मात्रा ज्यादा हुन्छ किनभने चित्रको प्रयोग त्यहाँ कम हुन्छ र धारणाको बढ्ता । कलाका प्रत्येक विचार, धारणा, अनुभूति र प्रभाव चित्रहरूको संयोगले उत्पन्न हुन्छ । साहित्यमा विचार र धारणाका बाहक, पात्र, घटना, परिस्थिति, व्यक्तित्व, चरित्र आदि हुन्छन् र यिनीहरूको चित्रमय सिलसिलाले नै पाठकको मनमा लेखकका विचारको अनुभूति उत्पन्न गरिदिन्छ । वैज्ञानिकलाई झैँ कलाकारलाई पहिले नै केही सूत्र वा खोजद्वारा प्राप्त धारणा बनाउने आवश्यकता पर्दैन । वास्तविक जीवनका विभिन्न चरित्र, व्यक्तित्व, घटना आदिको ज्ञान भए पुग्दछ । वास्तवमा कला र विज्ञानलाई एकदम छुट्टयाउन मिल्दैन । विज्ञानमा पनि चित्रमय विचार प्रशस्त पाइन्छ । यहाँसम्म कि हाम्रो दैनिक बोलचाल, भाषण, दर्शन आदिमा पनि यस्ता कलात्मक तत्व हुन्छन् । प्रभावशाली शैली, प्रतीक र शब्दचित्रमय भावहरूको प्रयोग, राजनीति, दर्शन, विज्ञान आदिको क्षेत्रमा पनि देखिन्छ र शुष्क र कठोर तर्कभन्दा कलात्मक तत्वहरूले सिँगारेको तर्कले बढ्ता असर गर्दछ । जति बढ्ता मात्रामा कुनै कृतिमा चित्रहरूको प्रयोग गरिन्छ उति कलात्मक तत्व बर्ता हुन्छ र जति बढ्ता जटिल निराकार धारणाको प्रयोग गरिन्छ उति वैज्ञानिक । कलाले हाम्रो मनको स्वाभाविक प्रक्रियाअनुसार काम गर्दछ किनभने हाम्रो विचार गर्ने, बुझ्ने प्रक्रिया चित्रमय हुन्छ । जटिल विषयका निम्ति मात्र हामी शब्द–प्रतीकको प्रयोग गर्दछौँ । निराकार र भावनात्मक वस्तुहरूको कल्पना साकार रूपमा मात्रै गर्न सकिन्छ । निराकारलाई हामी प्रतीकद्वारा व्यक्त गर्दछौँ । यो अप्रत्यक्ष उपाय भएकोले मनको साधारण र स्वाभाविक प्रक्रियाबाट असाधारण प्रक्रियातिर जानु हो । यसैले प्रतीकात्मक कुराहरू बुझ्न गाहारो हुन्छ । बुद्धिग्राह्य भएकोले भावनामा ठाडै असर पर्दैन । चित्रहरूको प्रभाव भावनामा ठाडै पर्दछ, बुद्धिमा पछि मात्र । कलाकृतिमा बौद्धिकताभन्दा भावनात्मक तत्व बढी हुन्छ । यसैले आदिम मानवदेखि आजका मानवसम्मलाई कलाले प्रभाव पार्दै आएको छ । विज्ञान र दर्शनले भने मानव समूहको ज्यादै सानो भागलाई मात्र आकर्षित गरेको देखिन्छ । विज्ञान र दर्शनको सत्य बुझ्न मनलाई जटिल रूपले चलाउनु पर्दछ । शिक्षा र अभ्यास चाहिन्छ । कलाको निम्ति भने स्वाभाविक मन भए पुग्दछ । मानव समाजको जति आदिम रूपपट्टि हामी बढ्दछौँ उति उनको भावना, विचार, व्यवहार, भाषा आदिमा चित्रमय, लययुक्त र प्रत्यक्ष तत्व बढ्ता पाउँदछौँ । मानवको भावना, कल्पना, अनुभूति र विचार, शब्दावली र शैली दिन प्रतिदिन अस्वाभाविक र प्रतीकात्मक तथा जटिल हुँदै गएको छ । शिशु अवस्थाबाट परिपक्वतातर्फ बढ्ने यो क्रम हाम्रो मानसिकताको बाल्यावस्थाबाट वृद्धावस्थातिर विकासमा पनि पाउँछौँ । अनुभूतिको स्तरको विकास अभिव्यक्तिको रूपसँग जोडिएको छ । वेद र पुराण, महाकाव्य र दन्त्यकथा आदिको शिशुसुलभ चित्रमय कल्पना र सरल स्वाभाविक भावना आजको बौद्धिक तत्वले भरिएको कृतिमा पाइन्छ । आजको मानव गहन अनुभूतिमा डुब्दछ । यसैले उसको अभिव्यक्तिको माध्यम पनि जटिल हुने नै भयो ।
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *