नेपाली जनता नक्कली विद्रोहदेखि सचेत हुनुपर्ने
- आश्विन ५, २०८२
भक्तपुर, ८ असोज । ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिको आयोजनामा तःमुंज्या भव्यरूपमा सम्पन्न गर्न मङ्गलबार ब्यासीमा स्थानीय जनताको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालभाषा साहित्य तःमुंज्या कामदार वर्गको साझा दबु भएको र यो दबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे चर्चा हुने बताउनुभयो ।
उहाँले साहित्य राजनीतिको एउटा महत्वपूर्ण हतियार भएको उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नयाँ पुस्तालाई परीक्षामा धेरै नम्बर पाउने भन्दा पनि संस्कार राम्रो हुने शिक्षा जरुरी छ । भदौ २३ गते नयाँ पुस्ताले सुरु गरेको आन्दोलनको लक्ष्य संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतको भवनमा आगजनी गर्ने थिएन† परिणाम यस्तो भयो । यसको छानबिन हुनु जरुरी छ ।”
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरूलाई जेल पठाउने कानुन जरुरी भएको उल्लेख गर्दै सचिव सुवालले आगजनीले मात्र समस्या समाधान नहुने स्पष्ट गर्नुभयो ।
“नेमकिपाका अग्रजहरूले २०१९ सालयता भ्रष्टाचारविरोधी आन्दोलन उठाउनुभएको थियो । यो आवाजलाई पञ्चायती सरकार र बहुदलीय व्यवस्था स्थापनापछिको गणतन्त्रको सरकारले समेत बेवास्ता गरे”, सचिव सुवालले भन्नुभयो ।
शिक्षा–स्वास्थ्य निःशुल्क, नेपाली सम्पत्तिको सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, देशभित्र रोजगारी, व्यक्तित्व विकासमा समान अवसरको कानुनी व्यवस्था नभएसम्म देश र जनताको समस्या समाधान नहुने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पुरानै बन्दोबस्तमा प्रधानमन्त्री फेरिँदैमा वा मन्त्रीहरू नयाँ राखिँदैमा मौलिक परिवर्तन हुनेछैन । अन्तरिम सरकारका प्रधानमन्त्री र मन्त्रीहरू परोक्षरूपमा नेका, एमाले, माओवादीकै भएको सार्वजनिक भइरहेको छ । यसरी देश र जनतामाथि पुनः धोखा भइरहेको छ ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, तःमुंज्या आयोजक समितिका सदस्यहरू गणेशप्रसाद सुवाल र अजेन्द्र लघुले पनि तःमुंज्या सफल पार्न सहयोगको लागि अपिल गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् ४५ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले असोज १८ र १९ गते हुने नेपालभाषा साहित्य तःमुंज्या सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्न अपिल गर्नुभयो ।
४५ औँ नेपालभाषा साहित्य तःमुंज्याका सचिव राजन जतिले तःमुंज्याको तयारी र गतिविधिबारे जानकारी गराउनुभयो ।
Leave a Reply