भर्खरै :

दसैँ दशा नहोस्

दसैँ दशा नहोस्

दसैँ सुरु भइसकेको छ । मानिसहरू घरका लागि आवश्यक दैनिक उपयोग्य सामान, गहना तथा सजिसजाउका सामानहरू किन्न व्यस्त हुन थालेका छन् । घरमा सफा गर्ने र सजाउने काम पनि गर्न थालेका छन् । घर छोडेर बाहिर रहेका, गएका व्यक्तिहरू पनि आ–आफ्नो घरमा फर्कन थालेका छन् । कति शिक्षक, विद्यार्थी, बुद्धिजीवी, लेखकहरू बिदाको उपयोग गर्दै अध्ययनमा लागेका छन् । कति दसैँको बेला पुस्तक प्रकाशन गर्नेतर्फ जुटेका छन् । समयको उपयोग गर्नुपर्छ† समयको फाइदा लिनुपर्छ । दसैँलगत्तै नेपालभाषा साहित्य तःमुंज्या हुन्छ । यो वर्षको तःमुंज्या असोज १८ १९ गते वडा नं २ को नः पुखुनेर हुँदै छ । दिउँसो साहित्य सम्मेलन, मन्तव्य र बेलुका सांस्कृतिक कार्यक्रम हुनेछ । उक्त सम्मेलनको लागि कविता, कथा र निबन्ध लेखनमा कति व्यस्त भए । कति सांस्कृतिक विधाको लागि तयारी गरिँदै छ । कति सङ्घ संस्थाले शुभकामना आदानप्रदान कार्यक्रम राखेका छन् ।
दसैँ कसैको निम्ति दशा नहोस् । दसैँ ऋणको पासो नहोस् । सम्पूर्ण न्यायप्रेमी जनताको निम्ति सुख, शान्ति होस् । फूर्सदको समयलाई रचनात्मक काममा उपयोग गरियोस् । अध्ययन संस्कृतिको विकासमा टेवा पुगोस् । महँगीले ठाउँ नपाओस् या आकाश नछोओस् । जनताका लागि आवश्यक आधारभूत वस्तु सर्वसुलभ होस् । बजार मूल्यमा एकरूपता होस् । दसैँको नाउँमा महँगी नहोस्† गुणस्तरहीन मालसामान नबेचियोस्, म्याद नाघेको सामान बेचियोस् । बजारको मूल्य सार्वजनिक गरियोस् । बजारमा सामानको सूची राखियोस् । कसैले कसैलाई ठग्ने मौका नपाओस् । जनताका लागि आवश्यक सामान सहज भएमा जनताले दुःख पाउने छैनन् । अतः दसैँलाई शुभकामना दिने आशीर्वाद दिने, दुःख सुख बाँड्ने, भेटघाट गर्ने अवसरलाई उपयोग गरिनुपछ ।
कति युवाहरू यहीँ दसैँमा अधिक जाँड रक्सी खाएर झगडा गर्छन्† घर परिवारसँग बाझ्छन् त कति तास, जुवा खेलेर आफ्नो सम्पत्ति स्वाहा गर्छन् । वर्षभरि दुःख सुख गरेर आर्जन गरिएको पैसा क्षणभरमै सकाइन्छ । रात दिन जुवा–तासमा बिताएर घर झगडामात्र निम्त्याइँदैन, सम्पत्ति पनि नास गरिएको हुन्छ । यस्तो काममा कुनै पनि युवाहरू नफसून् । विगतमा दसैँमा जुवा तास खेलेर कति युवाहरू पक्राउमा परे । खेलमा राखिएको पैसा जफत गरिएको थियो । गत वर्ष प्रहरी कार्यालयमै तास खेलिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
दसैँमा चोरीचकारी, लुटपाट र डकैती बढेको हुन्छ । बालबालिकादेखि युवा युवतीको गहना, मोबाइल, घडी र नगदै लुटपाट गरिएको हुन्छ । दसैँमा अनेक गहना लुटिएको खबर पनि पहिले छापामा आएको थियो । बजारमा किनमेल गर्न जाँदा बिहान सबेरै र साँझ पख गहना, पैसा, मोबाइल लुट्ने गरेको पाइन्छ । बालबालिकाहरू बेपत्ता पार्ने, उनीहरूको गहना लुट्ने काम पनि बेलाबखत भएको हामीले सुनेका, देखेका र भोगेका छौँ । जाँड रक्सी खाएर हो हल्ला गर्ने, कुटपिट गर्ने काम पनि यस्तै बेला बढेको पाइन्छ । जेलबाट भागेका कति अपराधीहरू लुटपाट, हत्या हिंसा र बलात्कारमा लागेको खबर छ । ती अपराधीहरू सत्तल, पाटी तथा सुनसान स्थलमा राति जीवन बिताइरहेको खबरले पनि नेपाली जनता सचेत हुनुपर्छ । समाजमा हुनसक्ने कुनै असामाजिक, अमानवीय र हिंसात्मक घटनाबाट बच्न र बचाउन सुरक्षाकर्मीको बढी सतर्कता आवश्यक छ । कहीँ कतै झगडा नहोस्; शान्ति नबिथोलोस्† सम्पदा क्षति नहोस् भन्ने ध्येयले सबैतिर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने हुन्छ । प्रहरीको सतर्कताले नै धेरै धनजनको क्षति हुनबाट जोगाउन सकिन्छ । यसतर्फ सर्वसाधारण नागरिकदेखि सुरक्षाकर्मी सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *