भर्खरै :

कला : जीवन – दर्शन र यथार्थ – २

  • आश्विन ८, २०८२
  • गोविन्द लोहनी
  • विचार
कला : जीवन – दर्शन र यथार्थ – २

विज्ञानमा साधारणबाट विशिष्टतिर अध्ययन गरिन्छ । कलामा विशिष्टबाट साधारणतिर, विज्ञानमा कल्पनालाई यथार्थ मानेर प्रयोग गरिन्छ । कलामा यथार्थलाई कल्पनाले रङ्गाइन्छ । विज्ञानमा व्यष्टि समष्टिमा लुकेको हुन्छ र कलामा समष्टि व्यष्टिमा । कलाले इन्द्रियग्राह्य सरल चित्रहरूबाट जटिल र अरूप भावनाको सृजना गर्दछ, एकद्वारा अनेकको परिचय दिन्छ । साहित्यका पात्र ‘टाइप’ हुन्छन् र आफूजस्तै अनेकको प्रतिनिधित्व गर्छन् । हाम्रो अन्य ज्ञानझँै कलात्मक ज्ञान पनि स्नावयिक क्रियाको एक शृङ्खला हो । यो भौतिक जगत्का अनेक क्रिया–प्रतिक्रियाका लहरको एक सानो भाग हो । अतः कलात्मक सृजना भौतिक यथार्थबाट स्वतन्त्र रहन सक्तैन ।
तर, कलालाई अनुभूति र तात्कालिक प्रभावको वस्तु सम्झनु र विज्ञानलाई मात्र विचार बुद्धिको क्षेत्र मान्नु भूल हो । रूपवादी कलाकारहरू यस्तो भ्रमात्मक विचारको प्रचार गर्दछन् । उनको दृष्टिमा कलामा विचार र बौद्धिक पक्ष नभए पनि हुन्छ, विषयवस्तु र भाव नभए पनि हुन्छ केवल रूप, अभिव्यक्ति, अभिव्यन्जना यी नै कला हुन् । प्रारम्भिक चित्रहरूको एक विशेष सङ्गठनबाट उत्पन्न भावलाई उनीहरू अलौकिक वस्तु मान्दछन् । वास्तवमा त्यो भाव–स्मृति हो । स्मृतिबाटै सहानुभूति (लेखकको अनुभूतिसँग तादात्म्य) उत्पन्न हुन्छ, रसानुभूति हुन्छ । स्मृति मस्तिष्कमा साधारणीकरणको प्रक्रिया अहोरात्र चलिरहन्छ । व्यक्तिगत अनुभूति सामाजिक अनुभूति भएर व्यक्त भएपछि मात्र साहित्य बन्दछ । साहित्यकारले विभिन्न चित्रणको सङ्गठन विशिष्ट प्रभाव उत्पन्न गर्नको निम्ति गर्दछ । यसैले लेखक र पाठक, कवि र स्रोता दुवै बौद्धिक तत्वको सूत्रमा बाँधिन्छन् साधन मात्र अबौद्धिक सरल चित्रहरूको शृङ्खला हुन्छ । विचार नभई कला हुन सक्तैन, पागलको प्रलाप मात्र हुन्छ । जब कलामा विचार अवश्य नै हुन्छ भने त्यो विचार स्वस्थ, उपयोगी, सन्तुलित राख्ने प्रयास किन नगर्ने ? रूपवादी विचार विषयवस्तुको क्षुद्रता र जीर्णता लुकाउने, विकृति, अस्वथ्य र मृत्युमा आनन्द देख्ने जीवनदर्शनको फल हो । संसारका सबै महान् साहित्यिक कृतिमा भाव र विचार तथा कलात्मक रूपको सामञ्जस्य देख्न सकिन्छ । केवल रूप मात्र भएको कलाकृतिको कल्पना पनि गर्न सकिन्न । सौन्दर्य, स्वास्थ्यमा, जीवनको उल्लासमय प्रतीकमा, उपयोगिता र महानतामा मात्र पाइन्छ । सौन्दर्य तत्व कलाको महत्वपूर्ण अङ्ग हो । कलाको चमत्कारका निम्ति सद्विचार आवश्यक हुन्छ । रूप, विषयवस्तु र भावमाथि निर्भर छ र विषय र भाव बदलिएपछि मात्र रूप बदलिन्छ । विषय नभई रूप नै हुन्न जसरी कि पदार्थ नभई चेतना हुन्न । यथार्थ नभई कला हुन्न, वस्तु नभई विचार हुन्न । तर एकपल्ट उत्पन्न भइसकेपछि रूप, चेतना, कला, विचार आदिले आफ्नो आधारलाई पनि प्रभावित पार्न थाल्दछन् । तिनको बिचमा द्वन्द्वात्मक प्रक्रिया प्रारम्भ हुन्छ । साधारणतः उनीहरू आधारको परिवर्तनबाट स्वयम् परिवर्तित हुन्छन् । तर, आधारलाई प्रभावित पार्ने (छिटो परिवर्तन ल्याउने वा त्यसलाई ढिलो पार्ने) क्षमता पनि तिनमा हुन्छ । मानव मस्तिष्कमा पर्ने प्रतिबिम्ब फोटो क्यामेराको पर्दामा पर्ने निष्कृय प्रतिबिम्ब जस्तो होइन, हाम्रो मस्तिष्कमा पर्ने प्रतिबिम्बले पहिलेका अनुभूतिको भण्डारलाई जगाइदिन्छ, भावनाको प्रवाह चलाइदिन्छ । यस्ता प्रतिबिम्बमात्र कलात्मक प्रतिबिम्ब हुन् । हाम्रा इन्द्रियहरू प्रतिपल अनेक किसिमका दृश्य, ध्वनि, स्पर्श, गन्ध र स्वाद अनुभव गरिरहेछन् तर त्यसपट्टि न त हाम्रो ध्यान नै जान्छ न त्यसलाई हामी चेतनरूपले अनुभव नै गर्दछौँ । स्मृति जगाउने, प्रभाव उत्पन्न गर्ने प्रतिबिम्बहरूको सङ्गठन मात्र कलात्मक सृजना हो । कलात्मक अनुभूति र अभिव्यक्तिमा प्रतिनिधि रूप, सामूहिक अनुभूति, साधारणीकरणको विचार राख्नु, छान्न जान्नु यथार्थवादलाई आवश्यक हुन्छ । कलात्मक सृजना सचेतन प्रक्रिया हो । प्रत्येक सृजनात्मक प्रयासमा उद्देश्य हुन्छ र आफ्नो साधन बाह्य यथार्थ तथा साध्यको पर्याप्त ज्ञान भएपछि मात्र सफल कलाकृतिको सृजना हुन्छ । अनुभव गरेको यथार्थलाई बुझ्नु र यसबाट साधारणीकरण गर्न मिल्ने तत्वहरूलाई छान्न सक्नु, प्रतिनिधि रूपलाई पचाउन सक्नु र फाल्नु यथार्थलाई छुट्टयाउन सक्नु नै सृजनात्मक प्रक्रिया हो । अनेक र विभिन्न भित्र लुकेको समान र सम्पूर्णलाई नचिनी सफल–साहित्य बन्दैन । योजना (Planning) नभई कलासृजना हुँदैन । अतः कला स्वप्निल भएर पनि स्वप्न होइन किनभने स्वप्न अन्धस्नायविक प्रक्रिया (Innervation) हो जहाँ ‘अहम्’ को शासन अराकजतापूर्ण हुन्छ । असाधारणको सृजना गर्नु नै कला हो । कला जगत्को यथार्थ बाह्य र साधारण यथार्थबाट भिन्न हुन्छ । यो यथार्थको पुनः सृजना हो र वास्तविक जगत्को नयाँ रूप हो । संसारलाई बदलेर, प्रयोग गरेर, छानेर मानिसले बाहिरी सत्यको ज्ञान पाउँछ । त्यस्तै, बाहिरी यथार्थबाट छानेर, बदलेर आफ्नो कल्पनाद्वारा नयाँ सृजना गरेर नयाँ यथार्थ बनाएर मानिसले आन्तरिक सत्यको परिचय पाउँछ । विज्ञान र कला दुवै यथार्थलाई बुझ्ने र चिन्ने साधन हुन्, ज्ञानका बाटो हुन्, पुनः सृजनका साधन हुन् । ज्ञेयलाई बदल्नु नै ज्ञान हो, यही नै प्रगति हो । अतः ज्ञान वा सत्य व्यावहारिक र भौतिक हुन्छ । विज्ञानले संसारलाई प्रत्यक्षरूपमा बदल्छ, कलाले अप्रत्यक्षरूपमा । कलाले मानिसलाई बदल्छ र मानिसले विज्ञानद्वारा परिस्थितिलाई । इच्छा र परिस्थितिको सङ्घर्ष नै जीवन हो । विज्ञानले परिस्थितिलाई इच्छाको अनुकूल बनाउन खोज्छ र कलाले इच्छालाई परिस्थितिसँग सम्झौता गर्न सिकाउँछ । सङ्घर्ष र सम्झौता दुवै प्रगति र शान्तिका निम्ति आवश्यक हुन्छ । परिस्थिति एक सीमासम्म मात्र इच्छातिर तानिन सक्दछ । अतः इच्छाले पनि एक सीमासम्म परिस्थितितिर तानिएर आउनुपर्दछ नत्र परिस्थितिसँग इच्छाको सम्बन्ध टुट्दछ । इच्छाको दुःखान्त हुन्छ अथवा इच्छा आफ्नै ‘अहम्’ को संसारभित्र अन्तर्मुखी प्रवृत्ति लिएर गुम्सिन थाल्दछ । आफ्नो ‘अहम्’ लाई जगत्को केन्द्र सम्झन थाल्दछ अथवा ‘निर्दयी’ परिस्थितिलाई आफ्नो विरुद्ध अहोरात्र षड्यन्त्र गरिरहने आरोप लगाउन थाल्दछ ।
जीवन र जगत्लाई बदल्ने प्रयास नै ज्ञान हो । विज्ञानले पदार्थको एक भागलाई बाहिरी संसारका अनेक प्रवाहबाट छुट्टयाएर त्यसको रासायनिक र अरू गुणहरूको विश्लेषण गर्दछ र त्यो पदार्थको ज्ञान प्राप्त गर्दछ । कलाले जीवनको कुनै एक पक्षमा ध्यान केन्द्रित गरेर त्यसको विश्लेषण गर्दछ, त्यसलाई बढाएर देखाउँदछ र जीवनको त्यो पक्षको ज्ञान पाउँदछ, ज्ञेयलाई बदल्नु नै ज्ञान हो । ज्ञानको वृद्धि नै स्वतन्त्रताको वृद्धि हो । परिस्थितिका नियम, जगत्का नियम, समाज र इतिहासका नियम, मानिस र उसको इच्छा (मनोजगत्) को नियम यी सबैको ज्ञान जति बढ्ता हुन्छ उति हामी प्रकृतिको अन्ध आवश्यकताबाट मुक्त भएर आफ्नो इच्छा र सपनालाई वास्तविकतामा बदल्न सक्दछौँ । प्रकृति र मानवको द्वन्द्वात्मक सम्बन्धलाई प्रकृतिको बाहिरी नियमका दृष्टिले हेर्नु विज्ञान हो र मानवका मनको पर्दामा पर्ने प्रतिबिम्बको दृष्टिले, ‘अहम्’ को दृष्टिले, चेतन र अचेतन स्नायविक क्रियाको दृष्टिले हेर्नु कला हो ।
अन्ध स्नायविक क्रिया जीवकोष (Cell) का लाखौँलाखौँ वर्षका संस्कार र भौतिक परिस्थितिका अन्ध–नियमहरूको प्रभावले चल्दछ । यसैलाई हामी सहज प्रवृत्ति अथवा Unconditional Reflex भन्दछौँ । प्रवृत्तिलाई सामाजिक प्रभावले भावनाको रूप दिन्छ र भावनाले समाजलाई खँदिलो र पुष्ट बनाउँदछ । सहज प्रवृत्तिमा हामीले आफ्नो जीवनकालमा प्राप्त गरेका संस्कार र तिनको स्मृतिबाट उत्पन्न हुने प्रतिक्रिया पनि थप्दछौँ– जसलाई हामी स्वभाव, संस्कृति शिक्षा वा सम्बन्ध परावर्तन भन्दछौँ । प्रवृत्तिलाई सामाजिक प्रभावले भावनाको रूप दिने प्रक्रिया यही हो । मन, इच्छा, अहम्, भावना आदिको नियमप्रति हामी जति सचेत हुन्छौँ उति हाम्रा इच्छा स्वतन्त्र हुन्छन् । सामाजिक चेतनाले गर्दा नै पशुहरूको केवल जीव वैज्ञानिक मनबाट मानिसले चेतन मन (सामाजिक अहम्) पायो र चेतन मनले गर्दा नै मानिस त्यति उन्नत र स्वतन्त्र बन्न सक्यो । सामाजिक बनेकोले नै उसले व्यक्तित्व पायो, स्थायित्व पायो, अमरत्व पायो (नामको रूपमा, ऐतिहासिक व्यक्तित्वको रूपमा) । युरोपका एक विचारकको भनाइ छ– मनुष्यका दुई आमा छन् । पहिलो, ती जसको गर्भभित्र उसले जीव वैज्ञानिक प्रवृत्तिहरूको परम्परा (अचेत मन) र शारीरिक गठन प्राप्त गर्दछ । अर्को समाज जहाँ उसले मानिसको आजसम्मको ज्ञान, विज्ञान, कला र संस्कृतिको उत्तराधिकार पाउँदछ अथवा चेतन मन पाउँदछ । परम्परा र गतिशील यथार्थ अर्थात् पुरानो रूपको अवशेष र नयाँ सार वस्तुको द्वन्द्वबाट नै समाज अगाडि बढ्दछ, उच्चस्तरमा पुग्दछ । जीव वैज्ञानिक प्रेम (सेक्स) लाई सामाजिक तत्वहरूले नै भावनात्मक प्रेम बनाइदिन्छन् । भाव र यसलाई पनि अझ उदात्त (Sublimation) रूप दिएर महान् कलाकृति र सूक्ष्म सौन्दर्य बोधसम्म पु¥याइदिन्छन् । भाव समाजबाट बन्दछ र बुद्धिद्वारा परिष्कृत हुन्छ तथा बुद्धिद्वारा नै यसको ज्ञान पनि हुन्छ । बुद्धिको स्तर जस्तो हुन्छ भाव पनि त्यही अनुरूप हुन्छ । त्यसैले गहिरो भाव बुझ्न उच्च बौद्धिकस्तर चाहिन्छ (जो शिक्षा, अनुभव, चिन्तन आदिबाट प्राप्त हुन्छन्) ।
ज्ञान विचार बनेर कलामा व्यक्त हुन्छ तर विचार त निराकार धारणा मात्र हो, कलामा यसले रूप र व्यक्तित्व पाउँछ, एकको रूपमा अनेकलाई देखाउँछ । विचार स्वयम् कुनै शक्ति होइन, मानव समूहको विचार बनेपछि मात्र यसले इतिहासलाई प्रभावित पार्न सक्तछ । विचारलाई व्यवहारमा प्रयोग गर्दा, विचारको सत्यताको जाँच पनि हुन्छ र यही प्रक्रियामा विचारको विकास पनि हुन्छ । विचार पुरानो अनुभव हो र व्यवहारचाहिँ वर्तमान यथार्थसँग हाम्रो सङ्घर्ष । जीवनलाई बदल्ने यो सङ्घर्षमा हाम्रो अनुभव र विचार (सिद्धान्त) पनि बदलिन्छ किनभने यथार्थ गतिशील छ । जगत् र जीवनलाई स्थिर ठान्ने तथा जीवनको प्रवाहबाट विच्छिन्न संसार बदल्ने महान् सामाजिक प्रयासबाट उदासीन र तटस्थ व्यक्तिको विचार मात्र कहिल्यै बदलिन्न, काल्पनिक ‘अहम्’ लोकका मूल्यहरू मात्र शाश्वत हुन्छन् । पुनर्जागरणले ल्याएको यथार्थवादी र मानववादी साहित्यिक धारा मानव समाजको विचार, चिन्तन, रुचि, दृष्टिकोण, व्यवहार, समाजको गठन, नैतिक मूल्यहरू सबैलाई परिवर्तनशील त मान्दथ्यो तर परिवर्तनका नियमको उसलाई ज्ञान थिएन ।
साधारणीकरण नै विचार हो र साधारणीकरण नगरी कलाको सृजना हुन्न । अतः विचार नभएको कलाको कल्पनासम्म पनि गर्न सकिन्न । तर, विज्ञान र दर्शनमा झैँ कलामा विचार र भाव प्रत्यक्ष र सूत्र रूपमा (प्रत्ययको रूपमा) रहँदैन । एङ्गेल्सले मार्गरेट हार्केन्सलाई पठाएको पत्रमा लेखेका छन्, “म तिम्रो रचनाको आलोचना समाजवादी विचार किन घुसाइनौ भनेर गर्दिनँ जस्तो कि आजकल जर्मनहरूमा लेखकको सामाजिक राजनैतिक विचारको प्रचार गर्ने, तथाकथित सोद्देश्य प्रवृत्ति चलेको छ । मेरो भनाइ यस्तो ‘सोद्देश्यता’ कदापि होइन । कलात्मक कृतिको निम्ति लेखकको आफ्नो दृष्टिकोण जति लुकेको हुन्छ त्यत्ति नै बेस । … सोद्देश्य साहित्यको म विरोधी छैन । दुःखान्तको सृजना गर्ने सर्वप्रथम महान् कवि एस्किलस र सुखान्तको प्रवर्तक एरिस्टोफेन निश्चित रूपले सोद्देश्यतावादी थिए । त्यस्तै आधुनिक कालका महान् साहित्यकार दाँते र सर्वान्तेजका रचनाहरू र सिलरका Craft and love भन्ने महान् रचनाको महत्व नै पहिलो राजनैतिक विचारले भरिएको जर्मन नाटकका रूपमा मानिन्छ । आजका रुसी, फ्रेन्च र अन्य महान् उपन्यासहरू सबै सोद्देश्य साहित्य हुन् ।” मिन्ना काउस्कीलाई पठाएको एक पत्रमा एङ्गेल्सले लेखेका छन् – “तिमीले आर्नोल्ड (एक पात्र) को व्यक्तित्वलाई आफ्नो सिद्धान्तले थिचेकी छौ ।” भनाइको तात्पर्य यो हो कि कलामा साधारण र सार कुराले विशेषको रूप लिनुपर्दछ । विचार अथवा उद्देश्य प्रतिबिम्बबाट छुट्टिएर उपदेशात्मक सूत्र र धारणाको रूपमा व्यक्त हुनुहुन्न । ठाडै बुद्धिलाई अपिल गर्नुको सट्टा बिम्बहरूको रूपमा पसेर भावनालाई प्रभावित पार्ने, प्रवृत्तिहरूबाट जगाउने र विचारलाई उत्तेजित भावनाले रङ्गाउने प्रयास हुनुपर्दछ । अतः लेखकको सारा तात्कालिक उद्देश्य र प्रयास यस्ता बिम्बहरूको चयन र सङ्गठनपट्टि लाग्नु पर्दछ जसबाट स्वतः आफूले चाहेको प्रभाव पाठकको भावना र बुद्धिमा उत्पन्न होस् । केवल सिद्धान्तको निम्ति सजीव यथार्थलाई छोड्नु हुन्न । सिद्धान्तको बाहक, पात्रको व्यक्तित्व, घटना, परिस्थिति आदि हुनुपर्दछ ।
कलाकारका मनमा बिम्बहरू पर्दैमा स्वतः कलाको सिर्जना हुँदैन, सिर्जना गर्न बसेपछि, सिर्जनाको प्रक्रिया सुरु भएपछि मात्र सिर्जना हुन्छ । बिम्बहरूलाई नयाँ रूप दिएपछि, खल्बलिएको भावनालाई नयाँ चित्र–रूप दिएपछि मात्र सृजनको प्रक्रिया पूर्ण हुन्छ । मनोगतलाई वस्तुगत रूप दिने नै सृजना हो । वस्तुगत रूप नदिउञ्जेलसम्म लेखकको भावना उसको व्यक्तिगत भावनामात्र हुन्छ । सम्प्रेषण उत्पन्न गर्न अर्थात् सर्वग्राह्य रूप दिन, अरूमा आफ्नो विचार सार्न, लेखकले भावनालाई वस्तुगत रूप दिनुपर्दछ । सिर्जनात्मक प्रक्रियाको सबभन्दा कठिन, सक्रिय र सचेतन समय त्यही बेला हुन्छ । बिम्बहरूको सङ्गठनबाट उत्पन्न भावना सूजनकालमा साकार हुन थाल्दछन्, भावनाका उथलपुथल र उकुसमुकुसबाट उत्पन्न मानसिक भावना, वेदना र पीडा घट्दै जान्छ र एक प्रकारको शान्ति र सन्तोष प्राप्त हुन्छ । भावना र विचारले अन्तिम रूप सूजनकालमा नै पाउँदछन् । लेखक वा कलाकारको मनमा आफूले सृजना गर्न खोजेको वस्तुको स्पष्ट, सम्पूर्ण सूक्ष्म रूप पहिले नै बनेको कालमा नै त्यो भावना प्रस्ट, साकार र पूर्ण हुँदै जान्छ । कलम, छिना वा बुस चलाउँदा चलाउँदै भावनाहरूले वस्तुगत रूप लिन्छन् र कहिलेकाहीँ त त्यो अन्तिम र पूर्ण रूप लेखक वा कलाकारको प्रारम्भिक भावनाभन्दा अर्कै नै वस्तु बन्न जान्छ । यो अप्रत्यासित र अनौठो अन्तिम रूपले कलाकारलाई सन्तोष र शान्ति पनि हुन सक्तछ अथवा अशान्ति पनि । जर्ज बर्नार्ड शाले ठिक्कै भनेका छन्, “म नाटक लेख्तिनँ, नाटक त आफै लेखिँदै जान्छ ।”
आफ्नो कृतिलाई वास्तविकताको भ्रम हुने किसिमको बनाउनु, विचारलाई परिस्थिति, घटना, चरित्र, व्यक्तित्व आदिको सामञ्जस्य मिलाएर देखाउनु, पात्रहरूलाई स्वाभाविक रूप दिनु सफल रचनाको लागि अत्यन्त आवश्यक कुरा हुन् । यस्ता रचनामा विचार कमै बोलिन्छन् र बोले पनि परिस्थिति मिलाएरमात्र । कलामा विचार, चरित्र र घटना बनेर व्यक्त हुनुपर्दछ, सूक्ष्म भावहरूलाई चरित्रको रूप दिनु नै साहित्यको मुख्य समस्या हो । एच.जी. वेल्सको भनाइअनुसार चरित्रको अध्ययन र सूजनमा भावनाले भन्दा दार्शनिक तत्वले बढ्ता काम गर्दछ । चरित्रको अन्तर्विरोधमा हामी लेखकको जीवन दर्शनका असङ्गतिहरू खोज्न सक्तछौँ । जीवनको व्याख्या गर्नु र जीवनलाई बदल्नु कलाको मुख्य ध्येय हो तर जहिलेसम्म स्वयम् लेखकले नै जीवनको बृहत् र सूक्ष्म अनुभव गरेको हुँदैन† उसले जीवनको यथार्थ कसरी बुझ्न सक्दछ, जीवनको व्याख्या गर्न सक्तछ र कसरी जीवनको पुनः सृजना गर्न सक्तछ ? अनुभव व्यावहारिक हुन्छ । केवल किताबी ज्ञान र बाहिरी दृष्टिले हेरेर जीवनको मर्म बुझिन्न । जीवनलाई बदल्ने, संसारलाई बदल्ने मानव समूहको ऐतिहासिक प्रक्रियामा सक्रिय भाग लिएर मात्र बृहत् मानवको यथार्थ थाहा हुन्छ । आफ्नो सानो पोखरीबाट नदी, समुद्र र महासागरमा मिसिएपछि मात्र विराट् यथार्थको बोध हुन्छ र व्यक्तिगत अनुभूति समष्टिगत अनुभूति बन्छ र लेखकको अभिव्यक्ति युगवाणी बन्न जान्छ । रवीन्द्र र प्रेमचन्द, निराला र टाल्सटाय, रोमाँरोलाँ र गोर्की, बाल्जाक र जोला आदि महान् कलाकारहरूको स्वर त्यति सशक्त, उच्च र विराट बन्न सकेको यही कारणले नै हो । यथार्थवादको नाममा आफ्नो सङ्कीर्ण घेराभित्र बसेर चेतन–अचेतन मनका फोहोर र दुर्गन्धको मात्र विश्लेषण गरिरहने, सेक्सको स्वरूप र प्रक्रियाको विस्तृत तथा यथार्थ विवेचनमा नै डुबिरहने, समाजको विस्तृत धारापट्टि ध्यान नदिएर नाल र ढलभित्रका संसारमा नै अल्झिरहने, जीवनको सानातिना घटनाको निरूपणमा नै आफ्नो समस्त प्रतिभा लगाउने, अव्यावहारिक, अस्वाभाविक र नग्न वासनाले भरिएका रोमान्स देखाउनु र यस्तो बजारिया साहित्यलाई पेसेवर आलोचकहरूद्वारा व्यावसायिक प्रशंसा गराएर रातारातमा क्रान्तिकारी र यथार्थवादी बन्न खोज्नु, निर्लिप्त अनाशक्त किसिमबाट कुनै यथार्थको चित्रण गर्नु जस्तो कि फोटो क्यामराले खिचेको तस्बिर हुन्छ– यस्तो यथार्थवादी साहित्य न त युगको आवाज बन्न सक्तछ न युगयुगकै – शाश्वत साहित्य । युग जीवनको विशाल धाराबाटै पोषण पाएर पनि छुट्टै आफ्नो घोर ‘अहम्’ को एकान्त संसारमा बस्नु नै व्यक्तित्व र मौलिकता मान्ने साहित्यकारको जीवन–दर्शनको निम्ति ‘नदीको द्वीप’ कति ठीक प्रतीक छ । जडीभूत अचल पाषाणको शाश्वत रूप नै उनको आदर्श हुन्छ न कि नदीको गतिशील तरल र स्वच्छ प्रवाह । तर, जीवन त प्रवाहपट्टि नै हुन्छ, जड भएर अमर हुनुसट्टा सजीव भएर बरु अस्थायी हुनु नै जीवनको सफलता हो । आफूलाई साधारण सांसारिक मानवभन्दा भिन्नै र अनौठो लोकको प्राणीमा गन्ने यी शाश्वत, विशुद्ध, निरुद्देश्य, निष्पक्ष र वादहीन (विचार वा जीवन दृष्टिकोण नै नभएका र यसैमा गर्व ठान्ने) भविष्यवादी साहित्यकारहरू च्याउ पलाएझैँ पलाउँछन्, आफू जस्तै जीवनदर्शन (अवादवाद !) पाठकहरूको क्षणिक वाहवाही बटुल्दछन् र दस–पन्ध वर्षपछि उनीहरूको साहित्य इतिहासको विशाल प्रवाहमा कता हराउँदछ कता । कमसेकम लेखकले त ‘मेरो रचना शाश्वत भयो, युग–युगसम्म मेरो अस्तित्वको ग्यारेन्टी भयो …’ भन्ठानेकै होलान् र यही विश्वासले ‘अहम्’ को बढ्दो भेललाई शान्ति प्राप्त हुँदो हो । अमरताका यी पुजारीहरू मृत्युका प्रतीकहरू अन्धकार, निराशा, अस्पष्टता, एकान्त, हत्या, आत्महत्या आदि किन यति रुचाउँछन् यो पत्ता लगाउनु मनोविज्ञानको खोजका लागि मनोरञ्जक विषय हुन सक्दछ ।
उन्नाइसौँ शताब्दीभन्दा पहिलेको गद्य–साहित्यले जीवनको बाहिरी वस्तुगत रूपपट्टि मात्र ध्यान दियो । अतः पात्रहरूको आन्तरिक जीवन अन्धकारमा नै रहन्थ्यो । पात्रहरूको अनुभूति र आन्तरिक प्रवृत्तिहरूको विश्लेषण गरिएन । जीवनको ‘कसरी’ भन्ने पक्षपट्टि मात्र प्रकाश पर्दथ्यो । ‘किन’ भन्ने पक्ष अन्धकारमै रहन्थ्यो । पात्रहरूको व्यवहारबाट भित्र चलिरहेको अन्तरद्वन्द्वको केही अन्दाजसम्म गर्न सकिन्थ्यो तर अन्तर र बाहिरको जगत् एकै ताल सुरमा सधैँ कहाँ चलिरहन्छ र ।
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *