भर्खरै :

विदेशी हस्तक्षेपतर्फ सरकार चनाखो हुनुपर्ने

विदेशी हस्तक्षेपतर्फ सरकार चनाखो हुनुपर्ने

जेनजीको दुईदिने आन्दोलनले हालसम्मकै शक्तिशाली सरकारलाई ढाल्यो र अन्तरिम सरकार गठन भयो । दुई दिनभित्रै सरकार ढलेको यो नेपालको इतिहासमा पहिलोपटक होला । आन्दोलन थालेको भोलिपल्टै देशका सिंहदरबार, सर्वाेच्च अदालत, संसद् भवन, प्रहरी चौकी र शासक दलका धेरै नेताहरूको घर तोडफोड र आगजनी पनि यो सम्भवतः पहिलो होला । धेरै व्यापारिक भवन, प्रहरी कार्यालय, अन्य सरकारी कार्यालय तथा असङ्ख्य गाडी र मोटरसाइकल जलेको पनि यो पहिलो घटना हुनुपर्छ । त्यसो त विगतको आन्दोलनमा भवन र गाडीमा तोडफोड र आगजनी नभएको होइन । तर, यति ठुलो सङ्ख्यामा पहिले तोडफोड तथा आगजनी भएको थिएन । हुन त माओवादीले त्यसबेला विशेषतः प्रहरी चौकीमाथि आक्रमण गर्ने, सुरक्षाकर्मी मार्ने, बन्दुक र गोली लुट्ने तथा बैङ्क कब्जा गर्ने काम गरेको थियो । त्यो युद्ध १० वर्ष चलेको थियो । ‘सशस्त्र सङ्घर्ष’ भनिएको त्यो युद्ध अन्ततः असफल भयो । युद्ध असफल भए पनि माओवादीले त्यसबाट धेरै फाइदा लियो । माओवादीले सरकार चलाउने अवसर पायो । तर, त्यो सरकार पनि लामो समयसम्म चलेन ।
संविधानसभाको निर्वाचनपछि माओवादीको सरकार बन्यो । माओवादीको सरकार बनेपछि देशमा धेरै परिवर्तन होला र सुख पाउला भन्ने जनताको आशा थियो । सरकारको नेतृत्व परिवर्तन भए पनि अरू परिवर्तन भएन । बरू देशमा बेथिति बढ्यो† भ्रष्टाचार र अनियमितता बढ्यो । शासक दलका नेता, मन्त्री र सांसदहरू नै भ्रष्टाचार र अनियमिततामा फसे । शासकहरू व्यक्तिगत र दलगत स्वार्थमा लागे । भ्रष्टाचारी र अपराधीहरू कारबाहीमा परेनन् । सिद्धान्त र विचार थाती राखेर उनीहरू भागबन्डाको राजनीतिमा लागे; चुनावी गठबन्धनमा लागे । यसको कारण सरकारले दिशा निर्देश गर्न सकेन† सरकार स्थिर रहेन । देशमा अराजकता बढ्यो । विदेशी हस्तक्षेप, दबाब र प्रभाव बढ्यो । सरकार विदेशीहरूको इसारा र उठबसमा चल्यो ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनमा पनि विदेशी शक्ति राष्ट्रहरूको हात रहेको खबर प्रकाशमा आयो । जेनजी आन्दोलनमै विदेशीहरूको चलखेल रहेको चर्चा भयो । भारत र अमेरिकाको हात भएको चर्चा भयो । अन्तरिम सरकार गठन गर्न केही दिनमै पछि परेको भए विदेशी सेना नेपाल पस्न सक्नेसम्मको खबर सञ्चारमाध्यममा आयो । साँच्चै विदेशी शक्ति राष्ट्र (भारत र अमेरिका) ले नेपालमा पाइला हालेका भए नेपालको हालत के हुन्थ्यो ? विदेशी शक्ति राष्ट्रहरूको चलखेल बढेको भए नेपाल र नेपालीको स्थिति के हुन्थ्यो ?
अन्तरिम सरकारसामु विगतको तुलनामा बढी चुनौती छ । चुनौती पार गर्दै देश र जनताको समस्या समाधान गर्नेतर्फ सरकारले अझ द¥होका साथ पाइला चाल्नुपर्ने तड्कारो आवश्यकता छ । सरकार कसैको लहलहैमा अघि बढ्दा थप समस्या हुनसक्छ । कसैको उठबस या इसारामा चल्दा देश अधोगतितिर जान सक्छ । सरकारले निकास दिने हो; समस्या चर्काउने होइन । सरकारको ध्यान देश र जनताकेन्द्रित हुनुपर्छ । सरकारले छिनछिनमा नीति नियम बदल्ने उद्घोष गर्नु उपयुक्त हुँदैन । प्रजातान्त्रिक देशमा राजनीतिक दल अपरिहार्य हुन्छ । आखिर देश सञ्चालन राजनीतिक दलले नै गरेको हुन्छ । सरकार चलाउन निर्वाचनमा भाग लिनुपर्छ । निर्वाचनमा नजितिकन कुनै दलले सरकार चलाउन पाउँदैन । सरकार चलाउन युवाहरू भए पनि निर्वाचनमा जित्नुपर्छ बरू अबको निर्वाचनमा सच्चा राजनीतिक दलका सच्चा उम्मेदवारहरूलाई जिताउनुपर्छ । संसद्मा असल सांसदहरूको अभाव छ । अबको निर्वाचनमा विगतको संसद्मा जस्तै ठेकेदार, भ्रष्टाचारी, हिंसा र अनियमिततामा फसेका कुनै पनि उम्मेदवारलाई निर्वाचित नगर्न जनता सचेत हुनुपर्छ । देश ठग्ने, जनतालाई धोका दिने एक एक उम्मेदवारलाई फाल्नुपर्छ† फाल्न जनता तयार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *