प्यालेस्टिनलाई स्वतन्त्र राज्यको मान्यता दिने पश्चिमा लहर र इजरायलको असन्तुष्टि
- आश्विन ९, २०८२
जीवनका यी दुवै पक्षलाई टाल्सटाय र बाल्जाकले धेरै सफल रूपमा सामञ्जस्य मिलाएर देखाए । बीसौँ शताब्दीका महान् साहित्यकारहरूले दुवै पक्षलाई पुष्ट गर्दै लगेका छन् । न आजको साहित्य तीव्रगतिले सामूहिकता र महान् परिवर्तनहरूले भरिएको यस यान्त्रिक युगमा केवल अन्तरमुखी भएर टिक्न सक्दछ न मानवलाई कठपुतली बनाउने बहिर्मुखा भएर । आजको कला सूक्ष्ममा मात्र सत्य–शिव र सुन्दर देख्दैन । भीमकाय, विशाल, विस्तृत र गगनचुम्बीमा पनि सत्य, शिव र सुन्दर देख्दछ । आजको संसार इलेक्ट्रनदेखि ब्रह्माण्डसम्मको नापजोख गर्दछ । मन र शरीर, वस्तु र विचार, कर्ता र कर्मका द्वन्द्वलाई नबुझ्नाले नै एकाङ्गी दृष्टिकोण हुन जान्छ । आजको मानव समाजबाट छुट्टिएर ‘स्वतन्त्र’ बन्ने कल्पना गर्दछ भने यो एउटा विकृत भावुकता सिवाय अरू के हुन सक्दछ । समाजमा नै बस्ने हो भने सामाजिक दायित्व र बन्धनबाट ‘मुक्ति’ को के अर्थ ? सबैले यस्तै मुक्तिको चाह गरे ‘मुक्ति’ को निम्ति चाहिने सामाजिक, भौतिक साधन र सुविधा जुटाउने झन्झटै कसले गर्दछ । समष्टिवादी वैज्ञानिक, व्यावहारिक र मानवको निरन्तर प्रगतिमा आस्था राख्ने साहित्यिक प्रवृत्ति मात्र आजको युगमा सच्चा यथार्थवादी हुन सक्तछ । केवल खोक्रो भावुकताको आधारमा जीवन र जगत्को अस्तित्व रहन्न । जीवन त व्यावहारिक हुन्छ ।
यथार्थ जगत्का सबै कुरा कलाकारलाई काम लाग्दैनन्, छान्नु नै सृजनको अभिन्न अङ्ग हो, छान्न जान्नु लेखकको निम्ति ठुलो गुण हुन्छ । छान्नु बौद्धिक प्रक्रिया हो । जीवनको बृहत् अध्ययन र अनुभव नभई राम्रोसँग छान्न सकिन्न । छान्न सक्नु सक्रिय व्यापार हो । आफ्नो उद्देश्य आफैलाई स्पष्ट नभई, प्राप्य साधनको ज्ञान नभई, आफ्ना शिल्पगत सीमाहरूको चेतना नभई छान्न सकिन्न । कसैले छानेको कुराबाट पनि उसको उद्देश्य र उसको व्यक्तित्व केही मात्रामा जान्न सकिन्छ । यथार्थवादका निम्ति यथार्थ चित्रण नै लक्ष्य होइन, यो त साधन मात्र हो । घटनाहरू आफै केही बोल्ने बनाउनुपर्दछ । लेखकले आफै बोलेर होइन कि अनुभूतिको बौद्धिकीकरण र विवेकीकरण पनि हो । आदर्श र निष्कर्ष नभई साहित्यको केही अर्थ नै हुँदैन । प्राणहीन, गतिहीन, यथार्थको जस्ताको तस्तै तस्बिरलाई प्राकृतवादी (Naturalism) भनिन्छ । यसमा विस्तृत वर्णन मात्र हुन्छ । लेखकको व्यक्तित्व झल्किँदैन । प्राकृतवाद एक एक वस्तुलाई देख्तछ तर त्यसको सामूहिकतालाई बुझ्दैन, यसको दृष्टिकोण यान्त्रिक हुन्छ । सम्पूर्णलाई टुक्राहरूको जोड सम्झिन्छ । मानव समूहलाई मानिसहरूको थुप्रो सम्झिन्छ । गुणको उत्पत्ति भएको देख्दैन । घटनाक्रमभित्र चलिरहेको नियम र निष्कर्षमा उसको ध्यान जाँदैन । त्यसैले उसको चित्रण चिसो, निर्जीव र ज्यादै वस्तुगत हुन्छ । यस्तो अभावनात्मक यथार्थ चित्रणले समाजलाई न केही सन्देश नै दिन्छ न केही आनन्द नै किनभने कलात्मक आनन्द रसानुभूतिको आनन्द हो र रस–स्थितको निम्ति भाव आवश्यक छ । कला यथार्थको अनुकृति मात्र होइन, पुनःसुजन पनि हो । पुनःसुजन नभए कलाको न केही अर्थ नै हुन्छ न उपयोगिता नै । जीवनको नाटक त हाम्रो आँखा अगाडि चलिरहेकै छ, कलाको के आवश्यकता ? कलाले यथार्थलाई यस्तो रूपमा हाम्रो अगाडि ल्याउँदछ र यथार्थको विशेष अङ्गलाई यति प्रभावशाली बनाइदिन्छ जसले गर्दा नित्य देख्ने कुरामा पनि नयाँ सत्यहरू देख्दछौँ, यसले नदेखिने यथार्थलाई बढाएर देखाउँदछ, अरूसँग मिसिएको, ढाकिएको यथार्थको उद्घाटन गर्दछ, विश्लेषण गर्दछ, यही नै सृजना हो । प्रकृतिवादको यथार्थ चित्रणमा भने यथार्थ चित्रण नै लक्ष्य हुन्छ । एङ्गेल्स लेख्छन्, “Realism to my mind, implies, besides truth of detail, the true reproduction of typical characters in typical circumstance।”
केही आधुनिक ‘यथार्थवादी’ घोर अश्लीलता देखाउनु, नग्नता देखाउनु नै यथार्थवाद सम्झन्छन् । उनको तर्क हुन्छ – के वास्तविक जीवनमा नग्नपन छैन ? छ भने किन नदेखाउने ? उनीहरू साहित्यको सामाजिक दायित्व बिर्सिन्छन् । नग्न चित्रण, वासनात्मक वातावरण, कामातुरता आदि देखाउनु नै हुन्न भन्ने कट्टरतालाई यथार्थवादमा स्थान अवश्य छैन । साधनको रूपमा यस्ता कुराको प्रयोग गर्न पर्ने आवश्यकता पर्न सक्दछ तर साध्यको रूपमा नै अश्लीलता प्रयोग गरिन्छ भने त्यो विकृत यथार्थवाद मात्र हो । जोला, कुप्रिन, मोपासाँ, टाल्सटाय, गोर्की आदि महान् साहित्यकारहरूले अश्लील प्रयोग प्रशस्त गरेका छन् तर साधनको रूपमा साध्यलाई प्रभावशाली बनाउनको निमित्त मात्र । भारतका उग्र, जैनेन्द्र, यसपाल, कृष्णचन्द्र, अस्क आदिले पनि साधनको रूपमा अश्लीललाई स्थान दिएका छन् । सेक्स प्रवृत्ति एक मौलिक प्रवृत्ति भएकोले यसको प्रयोग प्रभावशाली हुन्छ । पौराणिक र मध्ययुगीन साहित्यमा अश्लील र शृङ्गारिक तत्व प्रशस्त र खुलारूपमा पाइन्छ । यहाँसम्म कि देवी–देवताहरूको जगत् समेत यसबाट बाँच्न पाएको छैन । भक्तिकालका साहित्यमा समेत राधा, कृष्ण र गोपिनीका क्रीडाहरूमै बढ्ता चाख लिएको देखिन्छ । आदिम कालदेखि आजसम्म मानवको निम्ति सेक्स र यससँग सम्बन्धित कुरामा आकर्षण छँदै छ र फ्रायडीय मनोविज्ञान अनुसार त मानवको सम्पूर्ण व्यवहार सेक्स प्रवृत्तिका विभिन्न रूप मात्र हुन् । यति हदसम्म नगए तापनि यो त मान्नै पर्दछ कि मानव जीवनमा सेक्सको ठुलो महत्व र प्रेम, स्निग्धता, प्रणय आदिमा सेक्स प्रवृत्तिको ठुलो छाप हुन्छ । वासनाको उभारलाई नै लक्ष्य नबनाएर सेक्स जीवनमा यससँग सम्बन्धित कुनै मनोवैज्ञानिक सत्यको उद्घाटन गर्ने लक्ष्यको निम्ति, समाजको दुर्गन्ध र फोहोर देखाउनको निम्ति, भद्रताभित्र लुकेको कालो विषाक्त रूप देखाउनका निम्ति, आभिजात्य यौन नैतिकताका वास्तविकता देखाउन या खलनायक वा आसुरी शक्तिप्रति घृणा र वितृष्णा उत्पन्न गर्नका निम्ति सेक्सको प्रयोग वर्जित छैन ।
यथार्थवादी रचनामा प्रकृति, वातावरण, पोसाक, मुखाकृति हावभाव, चाल, गति आदि विषय पृष्ठभूमिका रूपमा आवश्यक हुन्छन् र कहीँ कहीँ त सानोतिनो कुराको निकै नै महत्व हुन्छ । तर, विषयको सफल सञ्चालनका निम्ति आवश्यकताभन्दा बढ्ता विस्तृत रूपमा यस्ता कुराको चित्रण गर्दा विषयवस्तुबाट पाठकहरूको ध्यान मोडिन्छ । अलङ्कार, रूपक, प्रतीक आदिको ज्यादा प्रयोग गद्यको निम्ति विशेष रूपले हानीकारक छ किनभने यसले कथाको प्रवाहमा बाधा पार्दछ, शब्दको प्रतीक रूपबाट चित्र रूपतिर ध्यान आकर्षित गरेर काव्यजगत्को हावा ख्वाउन थाल्दछ । फलतः कथाको प्रभाव मन्द हुन्छ ।
यथार्थवादमा समाजको चित्रण मात्र गरिन्न, आदर्शको सृष्टि पनि गरिन्छ । आदर्श मानवको आकाङ्क्षा हो । अतः वर्तमान यथार्थसँग मिल्दैन । आदर्श स्वप्निल हुन्छ, भूतमुखी वा भविष्यमुखी स्वप्न । आदर्श बनाउनमा जीवन दर्शनको ठुलो हात हुन्छ । मानिसको जस्तो जीवनदर्शन छ, उस्तै आदर्श हुन्छ । आदर्श नै कलाको प्रेरक शक्ति हो । अरस्तुले त विज्ञान र कलामा भिन्नता नै यही आधारमा देखाएका छन् कि विज्ञान संसारको वास्तविक चित्र हो र कला आदर्श चित्र । आदर्शको उत्पत्तिमा जीव वैज्ञानिक आवश्यकता, सामाजिक भावुकता, अनुभव र संवेदनाको मुख्य हात हुन्छ । आदिम युगदेखि नै मानवले धर्म, कला, दर्शन आदिमा एक न एक आदर्शको सृष्टि गर्दै आएको छ । राम र कृष्णको आदर्श चरित्रले हजारौँ वर्षदेखि भारतीय जनताको आदर्शलाई प्रभावित पार्दै आएको छ र यो मनोवैज्ञानिक सत्यलाई बुझेका गान्धीले रामराज्यलाई आदर्श बनाएर करोडौँ भारतीय नरनारीलाई सरल ढङ्गबाट भावी भारतको रूपरेखा बुझाउने प्रयास गरे । राष्ट्रको मनोभाव बुझ्न त्यस राष्ट्रको आदर्शका परम्पराहरू बुझ्नुपर्दछ । राष्ट्रको आत्मा नचिनी राष्ट्रलाई बदल्न सकिन्न । प्रत्येक राष्ट्रको आफ्नो वैयक्तिक रूप हुन्छ । यो राष्ट्रिय रूपलाई महत्व नदिइकन राष्ट्रको गठनमा परिवर्तन ल्याउन खोज्नु बालुवाबाट तेल निकाल्न खोज्नु मात्र हो ।
आजको यथार्थवाद बीसौँ शताब्दीको यथार्थवाद भएकाले हाम्रो आदर्श व्यावहारिक र बुद्धिसङ्गत हुनुपर्दछ, हाम्रो नायकमा साधारणभित्र असाधारणता देखिनुपर्दछ । दन्त्यकथा, परिलोकका कथा, पुराण र संस्कृत नाटकका धीरोदात्त तथा मन्त्रतन्त्र र शारीरिक बलमा असाधारण बनेका नायक हाम्रो युगमा बालसाहित्यलाई मात्र काम लाग्दछ । आदर्श सृष्टिका निम्ति नायकको सुखान्त नै देखाउनुपर्दछ भन्ने मत पनि ठीक होइन । दुःखान्तमा पनि उदात्त आदर्श धेरै लेखकहरूले देखाएकै छन् ।
स्वाभाविकतालाई आजको साहित्यशास्त्रले अवश्य महत्व दिन्छ तर कला जगत्को यथार्थ वास्तविक जगत्को यथार्थभन्दा केही भिन्न हुन्छ । वास्तविक जीवन र वास्तविक जीवनको सञ्चालन कुनै निर्दिष्ट उद्देश्यले भएको छैन, अन्ध–नियमहरूको संयोगले स्वतः सबै घटनाहरू घटिरहेका छन् । अतः वास्तविक जगत्मा, वास्तविक जीवनमा हामी आकस्मिक घटनाहरू मात्र पाउँदछौँ, घटनाक्रमको बिचैमा निरर्थक अन्त्य पनि हुन सक्तछ । जीवन कहानी जस्तो हुँदैन किनभने जीवनका घटनाहरूमा हाम्रो इच्छाको नियन्त्रण थोरै र अन्ध–नियमहरूको हात ज्यादै बढ्ता हुन्छ । सायद यही कारणले गर्दा दैव, भाग्य, पुर्पुरोजस्ता अज्ञात तर मनुष्यका सारा कुराको सञ्चालन गर्ने सत्ताको कल्पना मानवले आदिम युगदेखि नै गर्दै आएको छ । यी अन्ध–नियमहरू कसरी चलिरहेका छन् भन्ने पक्षपट्टि त आधुनिक विज्ञानले केही प्रकाश हाल्दै आएको छ तर किन चलिरहेछन् भन्ने पक्ष आज पनि पूर्ण अन्धकारमै छ । अतः अनेक किसिमका दार्शनिक तथा धार्मिक अड्कल र कल्पनाका निम्ति प्रशस्त क्षेत्र खाली नै छ । उद्देश्य नबुझी कारण र कार्य पनि बुझिन्न । अतः अन्ध–नियम संयोगजस्तो देखिन्छ । उद्देश्य बुझ्न वैज्ञानिकहरू बहिर्मुखी (Extroversion) प्रक्रियाद्वारा तथा योगीहरू अन्तरमुखी प्रक्रिया (Introverstion) द्वारा प्रयास गरिरहेका छन् तर आजसम्म दुवै पक्षले विशेष सफलता पाएका छैनन् । केवल ढोँगी योगी र केही विक्षिप्त वैज्ञानिकले मात्र उद्देश्य बुझिसकेको दाबी गरेका छन् । अनन्त आकाशको विस्तृत र विराट् समय र स्थान (Time and Space) छुद्र पृथ्वीको पनि सानो ‘काल र देश’ बाट प्राप्त केही ज्ञानद्वारा जान्न–बुझ्न असम्भव नहोला तर कठिन अवश्य छ । के के थाहा पाइने हो, हामी अहिले कल्पनासम्म गर्न पनि असमर्थ छौँ । अतः वास्तविक जीवन र जगत् कलाको जगत्जस्तो हुँदैन । कलामा कलाकारले केही देखाउन खोज्दछ, केही बुझाउन खोज्दछ उसको केही उद्देश्य हुन्छ र त्यो उद्देश्यलाई सफल ढङ्गबाट पूरा गर्ने केही विशिष्ट शिल्प हुन्छ । अतः कला जगत्का घटनाहरू अर्थपूर्ण हुन्छन्, साङ्केतिक र प्रतीकात्मक हुन्छन् । नियोजित र सञ्चालित हुन्छन् । पात्रहरूको संयोजन पनि लक्ष्यलाई दृष्टिमा राखेर गरेको हुन्छ र घटनाक्रम (कथा) आफ्नो उद्देश्य पूरा गरेर मात्र टुङ्गिन्छ । कलाका पारखी सचेतन कलाकार र आलोचकहरूबाट यो कुरा लुकेको छैन । कला जगत्को यथार्थमा बाहिरी जगत्को यथार्थभन्दा बढ्ता स्वतन्त्रता हुन्छ र आफ्नो उद्देश्यपूर्तिको निम्ति कलाकारलाई धेरै कुरामा बाह्य यथार्थको अतिक्रमण गर्ने आवश्यकता पनि पर्न सक्तछ । विषयलाई सफलतापूर्वक देखाउनलाई वास्तविक संसारबाट कल्पना लोकको सम्भव र असम्भवको कचिङ्गल नै नउठ्ने संसारमा पनि जाने आवश्यकता पर्न सक्तछ । परी, देव, दानव, भूत–प्रेत, जादुगर, तन्त्रमन्त्र आदिको चमत्कार, असाधारण दैवीशक्ति प्राप्त गर्ने राजकुमार वा उसको शत्रु, रहस्यमय अनुभूतिहरू, एच.जी. वेल्सका वैज्ञानिक रोमान्सहरू विज्ञानको चरमावस्थामा विकास भइसकेको समाजको कल्पना (Brave New World जस्तो), पशुलोक वा विलक्षण प्राणीहरूको वा अन्य ग्रहका प्राणीहरूको जीवनको कल्पना (Gulliver’s Travel, Robinsion crousoe) पञ्चतन्त्र कथाहरू, जर्ज अर्बेलको Animal Farm जस्ता तत्वहरूको माध्यमबाट पनि लेखकले आफ्नो विचार व्यक्त गर्न सक्तछ र विषयको राम्रो अभिव्यक्ति केवल यस्तै साधनद्वारा मात्र हुन सक्ने अवस्था पनि पर्दछ । आदर्शको सृष्टि बाह्य यथार्थको कडा अनुशासनमा बसेर हुन ज्यादै गाहारो छ । फेरि वास्तविक संसारको कलात्मक रूपान्तर विभिन्न कलाहरूको आफ्नो–आफ्नो शिल्पगत विशेषता र सीमाहरूले गर्दा पनि फरक हुन्छ । विभिन्न कलाहरूको शिल्पगत विशेषता र कठिनाइहरू नबुझी कलाको यथार्थ बुझ्न गाहारो छ । सिनेमा, मञ्च–नाटक, रेडियो–नाटक, टेलिभिजन–नाटक र काव्य–नाटक यिनीहरूकै आफ्नो–आफ्नो कति विशेषता र सीमाहरू छन् । कथा, लोककथा, रेखाचित्र, रूपक, उपन्यास, नाटक, रिपोर्ताज यिनीहरूमध्ये प्रत्येकका आफ्ना शिल्पगत विशेषता छन् । कलाका प्रत्येक रूपको यथार्थलाई प्रतिबिम्बित गर्ने आ–आफ्नो विशिष्ट साधन र शिल्प हुन्छ, आफ्नो आफ्नो विशिष्ट सीमाहरू हुन्छन् । अतः कलाको जगत् वास्तविक संसारको विकृत या परिवर्तित रूप मात्र हो । कलामा बाह्य यथार्थलाई टुक्राएर नयाँ किसिमबाट सङ्गठन गरेर, नयाँ रूपरङ्ग दिएर देखाइन्छ । अतः कलाले आफ्नै भाषामा सन्देश दिन्छ, जीवनको कुनै पक्षपट्टि हामीलाई ज्यादै भावुक बनाइदिन्छ । हाम्रो हृदयमा ज्यादै गहिरो संवेदना उत्पन्न गराइदिन्छ । हामीलाई आफ्नै व्यक्तिगत अनुभवबाट जानेको संसारभन्दा धेरै विस्तृत संसारको विभिन्न पक्षको ज्ञान प्राप्त गराउँदछ । पाठकहरूले आफ्नो अनुभव र ज्ञानको विश्लेषण गर्नु भो भने त्यसको धेरैजसो भाग विभिन्न कलाहरूबाट विशेष रूपले फोटो, फिल्म, साहित्य, थिएटर र नाटकहरू, चित्र तथा अरूले गरेको वर्णन आदि बाटै प्राप्त भएको देख्नु हुनेछ । समाज, भाषा, कला, शिक्षा आदिले गर्दा लाखौँ करोडौँ व्यक्तिको भूत र वर्तमानको ज्ञान र अनुभव मानिसले सजिलैसँग प्राप्त गर्दछ । पशुहरूमा ज्ञानको परम्परा र विनिमय हुँदैन । अतः तिनका ज्ञानको स्तर बढ्न पाउन्न । जीव–वैज्ञानिक परिवर्तन सिवाय उनीहरूको अरू केही प्रगति हुन्न ।
कला जगत् पुनः सुजन गर्ने कारखाना हो । वस्तुगत पदार्थलाई मनोगत यथार्थको अनुरूप बनाउने रङ्गशाला हो । यदि आदर्शको सृजना साधारण मानिसहरूको उच्च आध्यात्मिक गुण र चरित्रको प्रतिनिधित्व गर्ने (Typical) स्वाभाविक विशेषता र रचनात्मक गुणहरूको अतिशयोक्ति हो भने यसलाई अस्वाभाविक र यथार्थवादी भन्न हुन्न । यसमा अतिशयोक्तिपूर्ण हुनेछ ।
आदर्श अरूहरूको निम्ति अनुकरणीय हुन्छ, अरूको चरित्र चित्रणमा यसको ठुलो प्रभाव पर्दछ । जसरी बाहिरी जगत्का अनेक सौन्दर्यहरू मिसाएर चित्रकारले अपूर्व सौन्दर्यको सृजना गर्दछ । त्यसैगरी साहित्यकारले पनि विशेष गुणहरू चारैतिरबाट सोरेर आफ्नो आदर्शचरित्रको सृजना गर्दछ । विशुद्ध यथार्थद्वारा कलाको उद्देश्य पूरा हुन्न किनभने कला इच्छापूर्ति (Wishflufilment) हो । प्रोमेथियस, हरक्यूलिज, राम र कृष्ण, डनक्विजोट, फास्ट, अन्ना, ह्यामलेट, पावेल आदि चरित्रको सृजना वस्तु सत्यका आवश्यक र तार्किक अतिशयोक्ति हुन् । सिद्धहस्त कलाकारले यी अतिशयोक्तिपूर्ण चरित्रलाई यति सशक्त, सजीव र संपुष्ट बनाइदिन्छ कि तिनीहरूको वास्तविक अस्तित्वको भ्रान्तिसम्म हुन थाल्दछ । पाठकहरूको जीवन आदर्श नै ती काल्पनिक चरित्रहरूबाट प्रभावित हुन थाल्दछन् । यस्ता आदर्श चरित्रले लाखौँ जनतालाई विशिष्ट आदर्शतिर प्रेरित गर्दछन् – यस्तो सजीव कला एक महान् प्रेरक शक्ति बन्दछ । यस्तो साहित्यको सृजना गर्न खोज्ने लेखकले हजारौँ प्रतिनिधि–रूपहरू चिन्नुपर्दछ र तिनमा भएका विशेषताहरूलाई राम्ररी बुझ्नुपर्दछ । यसका निम्ति विस्तृत र गहन अनुभव, सूक्ष्म निरीक्षण, तुलना र विश्लेषण गर्ने क्षमता तथा घटनाक्रमभित्र चलिरहेका ऐतिहासिक कार्यकारण (Casuality) लाई पनि बुझ्नुपर्दछ । यस विषयमा गोर्की लेख्दछन् –“Without fantasy, there is not art and so, exaggeration in art is one of the means of the typization.” अतः कला यथार्थको वेशमा कृत्रिमता हो ।
ऋणात्मक चरित्रको सृजना नगरी आदर्श चरित्रको सृष्टि गर्न गाहारो छ । ऋण र धनको द्वन्द्व नै जीवनको शाश्वत सत्य हो । प्रेम, स्निग्धता, कोमलता, उदात्त तथा सहानुभूतिको भावनालाई कला–कृतिमा उतार्नका निमित्त यिनका विरोधी र निधेषात्मक तत्वहरूलाई पनि देखाउनु आवश्यक हुन्छ । महानता तुच्छ चीजसँग तुलना गर्दा मात्र देखिन्छ । गुण र मात्राको ज्ञान तुलनात्मक ज्ञान मात्र हो । अनन्त, अनादि, शाश्वत अविनाशी, असीम आदि सबै भावनात्मक शब्दको अर्थ त्यसको उल्टो अर्थसँग तुलना गरेर मात्र बुझ्न सकिन्छ । दानवलाई नदेखी देवको महत्व बुझिन्न, दुःखको अनुभव नगरी सुखको महात्म्य थाहा पाइन्न, श्रम नगरी सम्पत्तिको रहस्य जानिन्न । दानवी, पाशविक, अवरोधक र कुरूप तत्वको पनि व्यक्तित्व हुन्छ । आफ्नो निषेधात्मक, ध्वंसात्मक, कठोर र कुत्सित रूप नै उसको व्यक्तित्व हो र आदर्श चरित्र वा नायकका विभिन्न गुणहरू पनि अन्धकारपूर्ण वातावरणमा मात्र चम्काउन सकिन्छ । बत्तीको महत्व जान्न अन्धकार चाहिन्छ, नदीको शक्ति थाहा पाउन बाँध बान्नुपर्दछ, वेग र गति थाहा पाउन स्थीर वस्तु चाहिन्छ । खलनायक (Villain) पाशविक प्रवृत्तिहरूको अतिशयोक्तिपूर्ण प्रतीक हो । ऋणात्मक तत्व व्यक्ति नै हुनु पनि सधैँ आवश्यक छैन ।
स्रोत : गोविन्द लोहनीका दार्शनिक रचनाहरू
Leave a Reply