विदेशी हस्तक्षेप र भ्रष्टाचार
- आश्विन १०, २०८२
सन् २०४५
माइनस ३० डिग्रीको निर्दयी जाडोले क्यानाडा हिउँको सुकिलो सिरक ओढेर निदाएको जस्तो देखिन्छ । आकाशबाट झरिरहेका हिउँका कणले सडक, रूख र घरलाई सेतो मौनतामा गाडेको छ । तर, टोरेन्टो र ओटावा सहरको मुटुमा माइनस ३० डिग्रीको चिसोलाई पनि छोपिने खालको गर्मी प्रहरी सायरन र भीडले बढाएको छ । यो असामान्य गर्मी मौसमको नभई राजनीतिमा सल्किएको आगोको छायाँ हो । त्यो आगोको चिंगारी झन्डै २० वर्षअघि अमेरिकी सनकी राष्ट्रपतिको वाक्यबाट सुरु भएको थियो, “क्यानाडा त अमेरिकाको ५१ औँ राज्य हो ।”
सडकमा मानिसहरू “हामी अमेरिकी होइनौँ, हामी क्यानडेली हौँ” भन्दै नारा लगाइरहेका थिए । केही महिनाअघि मात्र क्यानाडाले चीनसँग सुरक्षा सम्झौता गरेको थियो र सम्झौताअनुसार ५० हजार चिनियाँ सैनिक क्युबेक र भिक्टोरियामा तैनाथ भइसकेका थिए ।
यो सबको बीउ त दुई दशक अघिदेखि नै रोपिएको थियो । सन् २०२४ को एक साँझ, अमेरिकाका विवादास्पद राष्ट्रपति डोनाल्ड ट्रम्पले भीडभाडपूर्ण सभामा हाँसो मिसाउँदै भनेका थिए, “क्यानाडा त हाम्रो ५१ औँ राज्य हो ।” अमेरिकाभित्र त्यो वाक्यलाई कतिले मजाकको रूपमा लिए, कतिले ताली ठोके । तर, त्यो शब्द क्यानडेलीहरूको कानमा पुग्दा भने चोटको काँडाझैँ गाडियो । जसले आफ्नो स्वतन्त्रता र पहिचानलाई गर्वका साथ जोगाइरहेका थिए, उनीहरूको मुटुमा त्यो वाक्यले आगो सल्काइदियो । त्यही क्षणदेखि अमेरिकासँगको सम्बन्ध बिस्तारै चिसो हुँदै गयो र चिसोपन दिनप्रतिदिन बाक्लिँदै गयो ।
क्यानाडामा चिनियाँ सैनिक तैनाथ गरिएको घटनाले अमेरिकालाई क्रोधित बनायो । वाशिङ्टनमा आपत्कालीन बैठक बस्दा एक जेनरलले टेबलमा हात ठोकेर भने, “हामीले १९६२ मा क्युवामा सोभियत मिसाइल सहन सकेनौँ । अहिले त चीन हाम्रो नाकमुनि छ । यो युद्ध हो ।” राष्ट्रपति मौन बसे । केहीबेरपछि उनले गहिरो सास फेरेर भने, “हामी नझुक्ने, तर प्रत्यक्ष आक्रमण पनि सजिलो छैन । हामीसँग विकल्प के छ ?”
त्यसै रात वाशिङ्टनले युरोपेली सङ्घलाई विशेष सन्देश पठायो । “हामीसँगै उभिनुहोस्,” राष्ट्रपतिले भिडियो सम्मेलनमा भने, “हामीलाई हाम्रो उत्तरी सिमाना बलियो बनाउन तपाईँहरूको सेनाको खाँचो छ ।” ब्रिटेन र पोल्यान्डले तुरुन्तै समर्थन जनाए । तर, जर्मनीका चान्सलरले कटु स्वरमा जवाफ दिए, “हामी उत्तरी अमेरिकामा सैनिक पठाउँदैनौँ । यो तपाईँहरूको समस्या हो, युरोपको होइन ।” फ्रान्सले पनि समर्थन नगरेपछि नाटोभित्रै फाटो गहिरियो ।
उता, रुस सतहमा तटस्थ देखिँदै थियो तर पर्दा पछाडि उसले चीनलाई इन्धन, हवाई रक्षा प्रणाली र साइबर विशेषज्ञ पठाइरहेको थियो । अमेरिकी गुप्तचर विभाग (सीआईए) ले गुप्त रिपोर्ट पायो – आर्कटिक हुँदै रुसी जहाजहरू चिनियाँ बेसमा पुगेका छन् । अमेरिकाले मस्कोलाई चेतावनी दियो, “तपाईँले चीनलाई सहयोग तुरुन्तै रोक्नुपर्छ । नत्र तपाईँलाई पनि हाम्रो शत्रु ठान्नेछौँ ।” रुसी विदेशमन्त्रीले प्रेस सम्मेलनमा व्यङ्ग्यात्मक स्वरमा जवाफ दिए, “तपाईँ युक्रेनमा पुग्न सक्नुहुन्छ भने हामी किन क्यानाडा जान नमिल्ने ? हामी पनि हाम्रो मित्रलाई सहयोग गर्न स्वतन्त्र छौँ ।”
हेर्दाहेर्दै क्यानाडामा गृहयुद्धको स्थिति आयो । एक समूहले चिनियाँ सेनालाई स्वागत गर्दै भन्यो, “अमेरिकी साम्राज्यवाद रोक्ने यहीमात्र उपाय हो ।” क्युबेकमा त झन् आन्दोलन चर्कियो, “अङ्ग्रेजी होइन, फ्रान्सेली हाम्रो भाषा हो !” यो भाषिक आन्दोलनले क्यानाडा अमेरिकासँगको सांस्कृतिक दूरी अझै बढायो ।
त्यसैबिच, अमेरिकी साइबर प्रणालीमा एक दिन ठुलो हमला भयो । सरकारी वेबसाइट, बैङ्किङ नेटवर्क र सैन्य उपग्रहहरू २४ घण्टासम्म बन्द भए । मिडियाले यसलाई “डिजिटल पर्ल हार्बर” नाम दियो । वाशिङ्टनमा पत्रकारहरूले राष्ट्रपतिलाई प्रश्न गरे, “यो चीन र रुसको संयुक्त हमला हो ?” राष्ट्रपतिले कठोर स्वरमा उत्तर दिए, “हामी प्रमाण सङ्कलन गरिरहेका छौँ । तर, जो कोही यो काममा संलग्न छन्, उनीहरूले भारी मूल्य चुकाउनुपर्नेछ ।”
अमेरिकी समाजभित्र पनि फूट देखापर्न थाल्यो । एकातिर सडकमा युवाहरू चिच्याइरहेका थिए, “हामी अर्को भियतनाम बन्न चाहन्नौँ ¤” अर्कोतर्फ राष्ट्रवादी समूहहरू झन्डा बोकेर हिँडिरहेका थिए, “क्यानाडालाई तुरुन्त नियन्त्रणमा लिनुपर्छ ¤” अमेरिकामै समाज दुई टुक्रा भएको स्पष्ट देखिन्थ्यो ।
क्यानाडाको भूमिमा अब केवल चिनियाँ सैनिकमात्र नभएर रुसी प्रविधि र रणनीति पनि मौनरूपमा काम गरिरहेको थियो । अमेरिकी सेनाले उत्तरी सीमा नजिकै विशाल सैन्य अभ्यास सुरु ग¥यो, जसमा युरोपेली ट्याङ्कहरू, अमेरिकी वायुसेना र नौसेना सबै सहभागी भए । आकाशभरि परेका बमवर्षक विमानहरूको गर्जनले क्यानाडेली नीलगगन थरथराउन थाल्यो ।
क्यानाडाका सामान्य नागरिकहरू द्विविधामा परे । कतिले अमेरिकालाई दोष दिन्थे –“हामीलाई राज्य बनाउन खोज्दा यही हालत भयो ।” कतिले भने चीन र रुसको उपस्थितिलाई खतराको रूपमा व्याख्या गर्थे । तर, सबैभन्दा ठुलो पीडित त सामान्य जनतामात्र थिए, जसले आफ्नो भूमिमा महाशक्तिहरूको खेल हेर्न बाध्य हुनुपरेको थियो ।
संसारले शीतयुद्धपछिको नयाँ द्वन्द्व देखिरहेको थियो – सधैँ विदेशी भूमिका युद्ध गर्ने अमेरिकाले यो चोटि आफ्नै भूमिमा युद्ध हुने छाँटकाँटले आक्रान्त देखिन थाल्यो । अमेरिकी राष्ट्रपतिको भाषणमा कठोर शब्दहरू गुञ्जिन थाले, “हामीले क्युवामा रुसलाई सहन गरेका थिएनौँ, क्यानाडामा चीनलाई त झन् सहन सक्दैनौँ ।” यो अभिव्यक्तिले स्थिति अझ विस्फोटक बनाउन थाल्यो ।
अमेरिकी सेनाको अर्को बैठकमा सबैभन्दा कठिन प्रश्न उठ्यो । एक जना जनरलले सोधे, “यदि हामी उत्तरी सीमामा चीनसँग भिड्छौँ र त्यही बेला युरोपमा रुसले मोर्चा खोल्यो भने, के हामी दुईतिर युद्ध लड्न सक्छौँ ?” कोहीले भने, “हाम्रो शक्ति पुग्दैन ।” अर्कोले भने, “अमेरिका कहिल्यै झुक्दैन । यदि दुई मोर्चे युद्ध पनि आयो भने हामी सामना गर्छौँ ।” कोठा तातियो, निर्णय अझै असमाधानमै रह्यो ।
संयुक्त राष्ट्रसङ्घले आपत्कालीन बैठक बोलायो । संसारभरका टेलिभिजन स्क्रिनमा एउटै प्रश्न लेखिएको थियो, “के यो तेस्रो विश्वयुद्धको सुरुवात हो ?” वाशिङ्टन, पेइचिङ र मस्को – तीनै सहरमा मानिसहरू शङ्कायुक्त नजरले आकाश हेर्दै थिए । आकाशमा बाक्लो बादल मडारिएको थियो, बिजुली चम्किन लागेको जस्तो ।
तर, ओटावाको सडकमा अझै एउटै नारा गुन्जिरहेको थियो, “हामी अमेरिकी होइनौँ, हामी क्यानडेली हौँ ।” त्यस नारामै सम्भावित भविष्यको आशा र त्रास दुवै मिसिएको थियो ।
सम्पूर्ण संसार अचम्ममा परेको थियो । कतिपयले यसलाई तेस्रो विश्वयुद्धको प्रारम्भ ठाने, सम्झौताका आवाजहरू पातलो भएर हराइरहेका थिए । हरेक महाशक्ति आफ्नो शक्ति प्रदर्शनमा डटिरहेको थियो ।
खाटमा पल्टँदै टेलिभिजनमा समाचार हेरिरहेको राष्ट्रपति अर्धनिद्रामै थियो । ऊ टक्क–टक्क हेरेर बस्यो, तर बिस्तारै निद्राले उसको आँखामाथि कब्जा गर्न थाल्यो । ऊ अर्ध निन्द्रामै समाचार सुन्दै थियो, ‘क्यानाडामा चिनियाँ सेना’, ‘अमेरिकाको चेतावनी’, ‘रुसी गोप्य सहयोग’ अनि ‘युरोपेली ट्याङ्क’ भन्ने समाचार उनको सपनामा गुञ्जिरह्यो । समाचार वाचकको आवाज अझै गुञ्जिरह्यो, तर ऊ अर्ध निद्रामै थिए ।
अब टीभीमा ब्रेकिङ न्यूज, ‘रुसलाई कमजोर पार्न युक्रेनमा अमेरिकी हतियारको आपूर्ति’ समाचार वाचकको आवाजले ऊ बिउँझियो । केही अस्पष्ट आवाजमा बर्बरायो । श्वास काँपिरहेको थियो, निधार भरि चिटचिट पसिना । आँखा खोल्दै उसले टीभी हे¥यो । युक्रेनको सुरक्षा प्रत्याभूतिको माग गर्दै नाटो सेना युक्रेनमा तैनाथ गर्नुपर्ने बहस चल्दै थियो ।
Leave a Reply