विदेशी हस्तक्षेप र भ्रष्टाचार
- आश्विन १०, २०८२
देशको हालत हेर बुझिनसक्नु छ
नयाँ पुस्ता उठेर यहाँ सत्ता पल्टाएको छ
भ्रष्टाचारविहीन सुशासन भनेका छन्
गरिबको पीरव्यथा बुझ्ने हो कि होइन ? ।।
कामदारलाई कामै छैन श्रमिकलाई श्रम
भ्रष्टाचारी कमिसनखोरी कहाँ लुकेका छन् ?
आशा र भरोसा मन मनमा लिएका छन्
के अबको सरकारले दुःखीलाई हेर्नेछ ? ।।
काम मामको ग्यारेन्टी दिने सरकार होइन र ?
शिक्षा स्वास्थ्य पाउने अधिकार होइन र ?
बलिदानी सङ्घर्षको फल सबैलाई दिनुपर्छ
अनर्थको परिवर्तन यो हुनु भएन हेर ।।
दिनका दिन यहाँ परिश्रम गर्नै पर्दछ
जहान परिवारहरूको पालनपोषण गर्न
श्रमिक बेकार हुन्छन् कामै नभए
अभाव के रहेछ बालबच्चालाई के थाहा त ।।
दसैँ आयो भन्दै बालबच्चा रमाए
आमा बुबाहरूको मन भने भक्कानिए
ढुकुटीको भकारीभित्र अन्न सब रित्तिए
दुःखी जनको ब्यथा बुझिदिने को होला र ? ।।
अरुको घरमा हेरी बुर्लुक्क उफ्रन्छन्
रातदिन खसी बोका कराएको सुनी सुनी
उज्यालो नहुँदै पिरोल्छन् आमाबुबालाई
हाम्रो घरमा पनि खसी बोका ल्याउने हैन र ? ।।
Leave a Reply