सबै हेर्दै बसेका….
- आश्विन १०, २०८२
एकजना देशभक्त, बटुवा देशको सम्पत्ति खरानी पारेको हेर्न बुझ्न माइतीघरबाट सिंहदरबारतर्फ जाँदै थिए । उक्त बटुवाले सर्वाेच्च अदालतअगाडि आइपुगेपछि त्यहाँ त्यस्तै हेर्न आएका वकिलजस्तो मान्छेसँग सोधे, “यो देशको सम्पत्ति न्यायको मन्दिरमा किन आगो लगाएर खरानी पारेको होला है ? त्यस्तो देशको सम्पत्तिमा आगो लगाएर खरानी पार्ने मान्छे पनि कहीँ देशभक्त हुन्छ र ?
बटुवाको जिज्ञासाको जवाफ दिँदै ती वकिल जस्तो मान्छेले भने, “ सबैमा तपाईँको जस्तो देशको माया भएको भए त्यस्तो हुने नै थिएन । न्यायको मन्दिरमा बस्ने न्यायमूर्ति, कर्मचारी बिचौलियाको प्रभावमा बस्ने भ्रष्टाचारी र देशघाती भएपछि के गर्नु ? त्यसको यो युवाहरूको आक्रोश पनि हुनसक्छ । फेरि कतिपय अपराधी र विदेशी दलालले त्यहाँको महत्वपूर्ण प्रमाण, अन्य कागजातहरू नष्ट गर्न जेनजीको मकुन्डो लगाएर पठाएको पनि हुनसक्छ । त्यसो भए त देशघाती, अपराधीहरूलाई निष्कलङ्क, देशभक्त, त्यागी इमानदार न्यायमूर्तिहरूले कसैको लोभ, धम्कीको अगाडि नझुकिकन कानुनी कारबाही गरेर जेल कोच्नुपर्छ, बटुवाले भने ।
त्यसपछि बटुवा केही अगाडि बढे । सिंहदरबारको हविगत देखेर मनमनै आक्रोश पोखे, “देशको सबभन्दा बढी सुरक्षा प्रबन्ध हुने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको यो हविगत ¤ देशमा सिंहजस्तो गर्जिने झुन्डै दुईतिहाइ बहुमतको सरकार कसैले केही गर्न नसक्ने, रौँ पनि हल्लाउन नसक्ने, देशमा आफूभन्दा ठुलो, सक्षम, देशभक्त भएको घमण्ड, अहङ्कार, नालायक कागजी बाघ ।” आफूमा बलेको आक्रोशको ज्वालालाई नियन्त्रण गर्दै त्यस्तै जलेको सिंहदरबार हेर्दै बसेका भूपू नेपाली सैनिकजस्तो मान्छेलाई ती बटुवाले सोधे, “देश बनाउँछु, देश बचाउँछु, देशको सूचना बेच्दिन भनेर शपथ खाने यी शासक दलहरू, सरकार देशको यत्रो सम्पत्ति खरानी हुँदा कुन दुलोमा लुके बसे होलान् ? कसरी टुलुटुलु हेरेर यिनीहरू बस्न सके होलान् है ! ”
ती सैनिकजस्तो मान्छेले भने, “यिनीहरूसँग देशको माया भएको भए देशको यो हविगत हुने थिएन । यिनीहरूले भ्रष्टाचार गरेर देशको सम्पत्ति लुट्ने नै थिएन । यिनीहरूका काठमाडौँमा त्यत्रात्यत्रा बङ्गला हुने नै थिएन । यिनीहरू सबै भ्रष्टाचारको दुङदुङती गन्हाउने फोहर पोखरीमा चुर्लम्म डुबिसके । यिनीहरूले देशलाई धमिराले जस्तै खोक्रो बनाइसके । यिनीहरू एनजीओ, आईएनजीओको पैसामा डुबे । अनि देशमा विदेशी हस्तक्षेप हुँदैन ? त्यसैको परिणाम आक्रोश युवाहरूको ज्वालामुखी विस्फोट हो । प्रम सुशीला कार्कीलगायतका मन्त्रीहरू जेएनजीको मकुन्डो लगाएका कतिपय युवाहरू पनि त्यस्तै गैरसरकारी संस्थासँग भएको समाचार सञ्चारमाध्यममा आएका छन् ।
त्यसो पो ! अब सबै नेपाली जनता मिलेर भ्रष्टाचारी, देशघातीहरूलाई कानुनको दायरामा ल्याएर भ्रष्टाचार गरी कुम्ल्याएको अकुत सम्पत्ति जफत गरेर देशको ढुकुटीमा ल्याउने र बिनामुलाहिजा जेल हाल्नुपर्छ । विदेशी हस्तक्षेपको विरोध गर्नुपर्छ । चुनावमा हराएर सजाय दिनुपर्छ भन्दै दुबै आ–आफ्नो बाटोमा लागे ।
Leave a Reply