कला : जीवन–दर्शन र यथार्थ – ४
- आश्विन १०, २०८२
साथीसङ्गी मिलेर, बल लगाएर ढुङ्गा–पत्थर त हानेकै हो । तर, आकाशमा सुराख (प्वाल) नै बनाउने लक्ष्य भने थिएन रे जेनजी आन्दोलनको । भदौ २३ गते लहरो तान्न मात्र गएका थिए रे । तर, नसोचेको, नचिताएको भयो । पहरो नै गर्जियो ।
ससानो शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सोच थियो रे आयोजकको, २८ वर्षमुनिका युवा–विद्यार्थीको । भ्रष्टाचारको विरोधमा, सुशासनको पक्षमा, उठ्ने, जुट्ने र सरकारसँग वार्ताको टेबलमा बस्ने सोच थियो रे । तर, अपत्यारिलो भयो । भदौरे भेलले आँधीबेहरीको रूप लियो । वरपरका पाखा पहरा ताछ्दै र रुखबिरुवा उखेल्दै आन्दोलनले भष्मासुर अवतार लियो । सत्ताको रापताप भष्म भयो । दम्भी केपी ओलीको सातो गयो । गण गद्दीबाट उछेट्टिनुप¥यो, उखेलिनुप¥यो । उनीसँगै कुशासनका अन्य हर्ताकर्ता, चेलाचपेटा र आउरेबाउरे पनि तर्से, आत्तिए, निसासिए र केही दिनलाई दुलादुलामा लुक्न गए । काठमाडौँ र सहोदर सहरहरू अन्योलग्रस्त भए ।
नेपालको बौद्धिक बजार पनि निकै तातियो । यो त्यही बजार हो जसले कहिले हाँसेर, मुस्काएर त कहिले ठुस्केर, रिसाएर कुशासनका त्रिदेवहरूकै अघिपछि गरी गणतन्त्रका २० वर्ष माखा धपाएर, रोटी सेकेर कटायो । त्रिदेवमध्ये एक नेपाली काङ्ग्रेसनिकट बुद्धिजीवीले हालै गजबको बुटी ल्याए बजारमा । उनको मन्त्र छ – “समाजसेवा गर्ने अनेक तरिका छन् । (बुढा पुराना नेताले) राजनीतिबाट सन्न्यास लिऔँ । नयाँ पुस्तालाई बिटुलिने मौका दिऔँ ।” यसको अर्थ यी भविष्यद्रष्टा ढुक्क छन् – फागुन २१ गतेको निर्वाचनपछि सरकार परिवर्तन हुनेछ । नयाँ नेताहरू आउनेछन् । देशका तमाम समस्या बीसको उन्नाइस हुने छैनन् । जेनजी नेताहरू पनि विफल, विवश हुनेछन् र अन्ततः पुराना शासकहरू झैँ बिटुलिनेछन्, डुङडुङी गन्हाउनेछन् ।
भदौ २३ र २४ गते सबै युवा–विद्यार्थी ठुलो नेता बन्न गएका थिएनन् । धेरैजसो त झोलामा एकथान ‘नयाँ नेपाल’ बनाउने आशा, अभिलाषा र आदर्श बोकेर गएका थिए । प्रत्येक १०–२० वर्षमा नेपालमा नेपाललाई ‘नयाँ’ बनाउने यो आशा जाग्छ, जगाइन्छ । तर, बुद्धिबजारका तिनै काङ्ग्रेसी भविष्यद्रष्टाले भनेजस्तै हर्ताकर्ताहरू बिटुलिन्छन् । तिनले आफ्ना भातरदार र आसेपासेलाई बिटुलाउँछन् । सोझा जनताको बुद्धि भुट्छन् । यति गरेबापत देश–विदेशका तिनका मालिकले ऋण र सहयोगरूपी वरदान दिन्छन् । त्यही वरदान थापेर तिनीहरू मोटाउँछन्, मालामाल हुन्छन् । यसरी थामिन्छ नेपालको दलाल पुँजीवाद । यसैगरी चल्छ दलाल पुँजीवादी नेपालको पहरेदारी । घोडा फेरिन्छ, राजकोषको चोरीचकारी र विदेशीको दलाली चलिरहन्छ ।
जेनजी नेतृत्वले आशाको लहर ल्यायो । जानी–नजानी आदर्शको कथा हाल्यो । तर, आज ऊ भिजनरी नेताको पर्खाइमा छ । जेनजी पुस्तासँग मिहिनेत गर्नलाई कर्मठ पाखुरा छ, जात–भाषा–धर्मको पर्खाल नाघेर हातेमालो गर्ने उदात्त मुटु छ । तर, ‘नयाँ नेपाल’ को निर्माण गर्न ‘पाको पुस्ता’ को बुद्धिको सहारा खोज्दै छ । यही मौकामा पाको पुस्ताका बुद्धिबहादुरहरू ‘नेपाली नियति’ को राग अलाप्दै छन् । ‘यो देशमा केही हुन्न, सबै बिटुलिने हुन्’, ‘केटाकेटी आए, गुलेली हाने, मट्याङ्ग्राको सत्यनाश’ भन्दै छन् ।
दम्भप्रसाद ओलीकै उदाहरण हेरौँ । हालै दुलोबाट निस्किनेबित्तिकै ओलीले नयाँ शिक्षामा खोट निकाले । (मानौँ यो शिक्षालाई निरन्तरता दिनमा उनको कुनै हात छैन ।) ‘इमानदार, क्लिन र कल्चर्ड बन्नुपर्ने’ नीतिकथा हाले उनले । विडम्बना, ओलीको छेउमै बसेर ‘गुन्डा कल्चर’ का ‘एमाले खम्बा’ महेश काजीहरूले ताली पड्काइरहे । सोचाइ, भनाइ र गराइबिचको यही अन्तरबाट जोगिनुपर्छ अबको जेनजी नेतृत्व । नत्र, उनीहरू दलाल पुँजीवादको अर्को २० वर्षे नरक यात्राको जेनजी सूत्रधार मात्र कहलिनेछन् । आफू त बिटुलिने नै छन्, भर्खर पलाइरहेको आशाको पालुवाको घाँटी निमोठ्नेछन् ।
बिटुलिने कसरी ? सुगौली सन्धि यता शासकहरूले हामीलाई सिकाउँदै आएको एकमात्र पाठ यही हो । बुद्धिबजारमा यो कला सिकाउने धेरै करिसम्याटिकहरू भेटिन सक्छन् । जेनजी अगुवाहरूले खोज्नुपर्ने र मलजल गर्नुपर्ने कला अर्कै छ । जनतालाई सिकाउनु, बुझाउनु र हिँडाउनुपर्ने बाटो अर्कै छ । त्यो बाटो जात–धर्म–क्षेत्रको पर्खाल भत्काएर अघि बढ्छ । त्यो बाटो देशका प्राकृतिक स्रोतसाधनलाई बाँधिराखेका देशीविदेशी पुँजीपतिको साङ्लो छिनालेर अघि बढ्छ । त्यो बाटो पुराना शासकहरूको बपौती बनेको हुकुमी शैली, दलाली र चाकडीलाई निमिट्यान्न पार्ने नौलो जनमुखी चेतना र संस्कारको दियो बालेर अघि बढ्छ ।
के स्थिर सरकार बनाउँदैमा नयाँ युगको थालनी होला ? के सत्ता भ्रष्टाचारमुक्त हुँदैमा सबथोक ठाउँमा आउला ? के युवा वयका मान्छे सत्तासीन हुँदैमा सुशासन आउला ? बुद्धिबजारका भविष्यद्रष्टालाई थाहा छ – आउँदैन । त्यसैले उनी निर्धक्क ‘बिटुलिने पक्का छ’ भन्दै छन् । किन ? किनभने जबसम्म मुहान फोहोर हुन्छ, नदी फोहर नै रहनेछ । जबसम्म नेपालको पुँजीवादले विदेशी पुँजीपतिको दलाली गरिरहन्छ दलाली पलाइरहनेछ, भ्रष्टाचार मौलाइरहनेछ । फेरि कतिपय जेनजीले (हाल जेलको हावा खाइरहेका ‘युवा’ र ‘स्वतन्त्र’ नेताकै लयमा) भन्दै छन् – “व्यवस्था होइन, अवस्था फेरौँ ।” यहाँ ‘व्यवस्था’ दलाल पुँजीवाद हो भने ‘अवस्था’ नेपाली जनताको गरिबी, बेरोजगारी, अशिक्षा र अभाव हो ।
“अवस्था फेर्न व्यवस्था फेर्नुपर्छ ।” यहाँनिर एउटा भ्रमबाट मुक्त हुन जरुरी छ । भदौ २३–२४ गते राजावादीहरूले पनि यही नारा दिए । उनीहरूले ‘गणतन्त्र’ लाई व्यवस्था बुझे । राजतन्त्र ल्याए सबै ठीकठाक हुन्छ भन्छन् तिनीहरू । राजतन्त्रमा नेपाली जनताको ‘अवस्था’ (गरिबी, बेरोजगारी, अशिक्षा र अभाव) फेरिन्छ भनेर कुनै राजतन्त्रवादीले ‘भिजन’ दिन सकेको छैन । पुराना भातरदार र आसेपासेको ‘अवस्था’ मात्र फेर्ने राजतन्त्र दलाल पुँजीवादी गणतन्त्रभन्दा फरक हुनेछैन । वास्तवमा ‘राजतन्त्र’ र ‘गणतन्त्र’ शासनका फरक शैली मात्र हुन् । दुवै शैलीले दलाल पुँजीवादको सेवा गर्न सक्छन् । नेपालको इतिहासमा ‘राजतन्त्र’ र ‘गणतन्त्र’ दुवैले विदेशी पुँजीको सेवा गरेकै हुन् ।
त्यसो भए, व्यवस्था फेर्नु भनेको के हो ? अवस्था फेर्न कसरी व्यवस्था फेर्ने ? अहिले जेनजी अगुवाहरू सत्ताका तरमाराहरूमाथि मात्र खनिएका छन् । भ्रष्टाचार र सुशासनको कुरा गर्दै छन् । ऋषि धमलाकहाँ धाउँदै छन् । ‘नयाँ नेपाल’ को भिजन खोज्न संविधानका धारा पल्टाउँदै छन् । नियम–कानुनले मात्र हुने भए अमेरिका र बेलायतमा भ्रष्टाचारको जरा उहिल्यै उखेलिनुपथ्र्यो । यौन दूराचारी डोनाल्ड ट्रम्पले पुँजीवादी जगतका वर्तमान सम्राटको मुकुट लगाउन हुने थिएन । त्यसैले जेनजी पुस्ताले नियम–कानुन र संविधानका धाराभन्दा पर बसेर ‘नयाँ नेपाल’ को भिजन खोज्नुपर्छ ।
‘नयाँ नेपाल’ बनाउन सत्ताका तरमाराहरूलाई मात्र लघारेर पुग्दैन । नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाका तरमाराहरूलाई लघार्नुपर्छ । नेपालका नदीनाला, खानीखनिज र खेतखलियानलाई जनताको स्वामित्वमा ल्याउनुपर्छ । नेपालको पानीले नेपालीको प्यास मेट्नुप¥यो । नेपालको बिजुलीले नेपालका गाउँसहर, कृषि फार्म र उद्योगधन्दा उजेलिनुप¥यो । नेपालको युरेनियम बेचेको धन नेपाली जनताको खल्तीमा आउनुप¥यो । नेपालका चुनखानी नजिक इँटा, सिमेन्ट बनाउने कारखाना खोल्नुप¥यो । वास्तविक जोताहालाई देशविदेश पठाएर ड्रात्र, खँलासी, भाँडा–माझ्ने, पाले र भरिया बनाउने होइन, तिनलाई जमिनको मालिक बनाएर धर्तीमा सुन उमार्नुप¥यो । किसानलाई बीउबिजन र मलखाद् बाँड्न सरकारले नै मल कारखाना र अनुसन्धान केन्द्र खोल्नुप¥यो । सिँचाइको व्यवस्था गर्न नहरहरू निर्माण गर्नुप¥यो । पहाडी इलाकामा सामूहिक जडिबुटी खेती गराउनुप¥यो । ‘निजी क्षेत्र’ भन्दै चिच्याउने होइन, तिनमा भर पर्दा नै देशको अर्थतन्त्र टाट पल्टेको हो । सरकारले नै उद्योगधन्दा र कृषिमा हात हाल्नुप¥यो । देशको धन बढाउनुप¥यो । तब, शिक्षा र स्वास्थ्य सेवा निःशुल्क गराउन ‘भगवान्’ चाहिन्न ।
विदेशी पुँजीको दलाली गर्ने ‘व्यवस्था’ फेरेपछि नेपाली जनताको ‘अवस्था’ फेरिनेछ । नेपालको अर्थ–राजनीतिको सार र निकास यही हो । नेपालका बहुमत जनतालाई नेपालको प्रकृति र संस्कृतिको सचेत मालिक बनाउने बाटो नै नयाँ नेपाल, नयाँ युग र नयाँ राजनीतिको बाटो हो । योबाहेक नेपाली जनताको ‘अवस्था’ फेर्ने अर्को उपाय नै छैन । यसरी सोच्ने हो भने बच्चा–बुढा जोकोही ‘भिजनरी’ बन्न सक्छ । ‘भिजनरी’ बन्न कुनै थोत्रो बुद्धिबजारको ढोका ढक्ढकाउनु पर्दैन । पुराना शासकहरूको बपौती लिनु पर्दैन । आफैलाई हाँसोको पात्र बनाउने गरी दिउँसै बत्ती बालेर ‘करिस्म्याटिक लिडर’ खोज्नु पर्दैन ।
जेनजी युवा–विद्यार्थी अनुशासित, सुगठित र सङ्गठित भएर एउटा अभियानको रूपमा अघि बढ्नुपर्छ । समाज फेर्नलाई एकजना महानायक होइन, हजारौँ–लाखौँ लघुनायक चाहिन्छ । गाउँ–टोलदेखि सहर–बजारसम्म नायकहरू जन्माउने अभियान थाल्नुपर्छ । जेनजीले ब्वाँसाहरूलाई जिस्काए र कोपरे । आज ब्वाँसाहरू घाइते छन् । घाइते ब्वाँसाले झम्टिन सक्छन् । देश र विदेश दुवैतिर ब्वाँसा छन् । बुद्धिबजारका ब्वाँसा सक्रिय छन् । खुफिया र घुसपैठिया ब्वाँसा छन् । त्यसैले चनाखो बन्नुपर्छ । तिनका हर कर्तुतको भण्डाफोर गर्नुपर्छ । निर्वाचनको बेला ठाउँ–बेठाउँ भोट किन्ने हाटबजार लाग्छन् । त्यहाँ पहरेदारी गर्नुपर्छ । गाउँघरमा चौकीदारी गर्नुपर्छ । देशका पुराना शासकहरूले निजी सुखसयल र मोजमस्तीसँग नेपालको सार्वभौमसत्ता साटे । जनतालाई सङ्गठित र सचेत बनाएर त्यो सार्वभौमसत्ता फिर्ता ल्याउनु छ । जुरुक्क उचालिनु छ । नेपाल आमाको मुहारमा हाँसो ल्याउनु छ । हाँसो ल्याउन लडाइँ नगरी हुन्न । यो लडाइँमा सबै जाँगरिला, आँटिला र क्रान्तिकारी जनताको सङ्गठित शक्ति आवश्यक छ । भदौ २३ गते ज्यान गुमाउने सबै सहिद र सहिद–परिवारमा हार्दिक नमन तथा श्रद्धा ।
Leave a Reply