समाज बनाउन
- कार्तिक २२, २०८२

चार–सिंह र गिद्ध !
त्यहाँ स्यालहरू थिए
असङ्ख्य रङ्गीन स्यालहरू !
कुनै राता, कुनै हरिया
कुनै नीला, कुनै बैजनी
आवाज भने सबैको एउटै
चालढाल सबैको उस्तै
चल्दैथ्यो मृत हात्तीको हाड–मासुमा समेत
दैनिक रजाइँ, हरपल रजाइँ
ती आफूलाई सिंह दाबी गर्थे !
बासको नामै घमण्डसाथ सिंहदरबार राखेथे !
गाउँगाउँमा सिंहदरबार बनाउने हुँकार बारबार गर्थे !
त्यही सिंहदरबारमाथि दावा गर्दैथे निकै अगाडिदेखि
बगलैका चार–सिंह ।
तलाउको डिलमा माछा कुरिरहेको बकुल्लोझैँ
र, लाख जुक्ति गर्दैथे भित्र पस्न ।
भदौ मासको चौबिसौँ दिन
पसे चार दक्षिणी सिंह !
हरिया स्यालहरू मूकदर्शक बने
छिरबिरे निला स्यालहरूले स्वागत नै गरे
राता–राता स्यालहरूले जयजयकार गरे
कैयौँ स्यालहरू पुच्छर लुकाएर भागे !
चार–सिंहले कैयौँ सिकार गरे
सिकार गर्दै छन्
रगतको खोलो बग्यो, बग्दै छ
आगोका लप्का, धुवाँ, खरानी सर्वत्र छ
चौतर्फी आतङ्क, त्रास व्याप्त छ
यत्रतत्र लास छरिएका छन्
त्यसैले,
सात समुद्रपारिको गिद्ध फेरि अट्टहास हाँसो हाँस्दै छ
त्यो गिद्ध मेरो आकासमा उडिरहेछ
गिद्ध माथिमाथिसम्म कावा खाँदै छ
हो, यतिखेर
चार–सिंहको गर्जन
र
गिद्धको घिनलाग्दो हाँसो हिमाल–पहाडमा गुन्जिरहेछ ¤
सिनो–महोत्सवको विराट सफलतामा खुसियाली मनाउँंदै छ ।
असोज ४ । शनिबार
Leave a Reply