भर्खरै :

भक्तपुर नगरपालिकाको अनुकरणीय नमुना फोहोर व्यवस्थापन

भक्तपुर नगरपालिकाको अनुकरणीय नमुना फोहोर व्यवस्थापन

नेपालमा फोहोर व्यवस्थापन (Waste Management) एक जटिल र गम्भीर समस्या हो । जनसङ्ख्या वृद्धि, सहरीकरण र जनचेतनाको अभावले गर्दा फोहोर व्यवस्थापनमा चुनौतीहरू थपिँदै आएका छन् ।
उपत्यकाका २१ मध्ये १७ स्थानीय तहलाई फोहोरमैला व्यवस्थापन टाउको दुखाइको विषय बन्ने गरेको छ । कहिले ल्यान्डफिल साइटका बासिन्दाको विरोध त कहिले यातायात मजदुरको हडताल । कहिले सरसफाइकर्मीको आन्दोलन त कहिले ल्यान्डफिल साइटसम्म पुग्ने बाटोमा अवरोधले स्थानीय तहका लागि यो विषय निकै जटिल बन्ने गरेको छ । उपत्यकाका १७ वटै स्थानीय तहको सबै फोहोर सिसडोल, बन्चरेडाँडामा सधैँ फोहोर लगेर समस्या समाधान हुँदैन । एक दिन मात्रै बाटो बन्द भयो भने सिङ्गो उपत्यका दुर्गन्धित हुन्छ । आफ्नै स्थानीय तहले नगर र वडामा फोहोरको व्यवस्थापन गर्नुपर्छ ।
नेपालमा उत्पन्न हुने मुख्य फोहोरहरू
१. जैविक फोहोर (Organic waste) : बासी खाना, तरकारीका अवशेष, बोटबिरुवा आदिबाट उत्पन्न हुने फोहोरलाई मलको रूपमा प्रयोग गरेर फोहोरको व्यवस्थापन गर्न सकिन्छ ।
२. अजैविक फोहोर (Inorganic waste): प्लास्टिक, फलाम, गिलास, कपडा आदिबाट उत्पन्न हुने फोहोरलाई पुनः प्रयोग, पुनः चक्रण विधिबाट फोहोरको व्यवस्थापन गर्न सकिन्छ ।
३. विषादीयुक्त फोहोर (Hazardous waste): अस्पताल, उद्योग वा रासायनिक पदार्थबाट आउने खतरनाक फोहोरको व्यवस्थापन चुनौतीपूर्ण बन्दै आएको छ ।
फोहोरको व्यवस्थापनमा हालको अवस्था
फोहोर सङ्कलनको लागि धेरैजसो ठाउँमा स्थानीय तह/नगरपालिकाले दैनिक वा साप्ताहिक रूपमा फोहोर सङ्कलन गर्दै आएको छ ।
काठमाडौं उपत्यकामा धेरैजसो स्थानीय पालिकाले सिसडोल, बन्चरेडाँडाजस्ता ठाउँमा फोहोर लगेर (Landfill) गर्ने गरिन्छ, जसले गर्दा त्यहाँ क्षमताभन्दा बढी फोहोर पुगेको छ ।
अधिकांश मानिसले आआफ्नो स्थानमा फोहोर छुट्याएर नफालिँदा पुनः प्रयोग/रिसाइकल गर्न गा¥हो छ । तैपनि केही सामाजिक संस्थाले रिसाइकल गर्ने काम गर्दै आएका छन्, तर यो प्रणाली अझै कमजोर छ ।
विगत केही दशक अघिसम्म माछा पाइने खोला, खोल्सा र सडकमा फोहोर फाल्दा दुर्गन्ध र प्रदूषणले मानव तथा विभिन्न प्राणीहरूको जीवनचक्रमा समेत नकारात्मक असर पर्दै आएको छ ।
जनचेतनाको कमीले प्लास्टिकको अत्यधिक प्रयोग, फोहोरको व्यवस्थापनको लागि पर्याप्त संरचना (Infrastructure) को अभाव, राजनीतिक अस्थिरता र नीति कार्यान्वयनको कमजोरी तथा ल्यान्डफिल साइटमा स्थानीय बासिन्दाको असन्तुष्टिले फोहोर समस्याको रूपमा रहन गएको हो ।
भक्तपुरमा फोहोरको व्यवस्थापन
भक्तपुर, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण सहर हो, जहाँ फोहोर व्यवस्थापनको विषय पनि समग्र नगर विकाससँग गहिरो रूपमा जोडिएको छ । भक्तपुर नगरपालिका (र अन्य नगरहरूः मध्यपुर ठिमी, चाँगुनारायण, सूर्यविनायक आदि) ले फोहोर व्यवस्थापनमा केही उल्लेखनीय प्रयास गरे तापनि अझै धेरै चुनौतीहरू छन् । भनपाले भने नगरपालिकाभरिको फोहोर नगरपालिकाभित्रै आफैँ व्यवस्थापन गर्दै आएको छ । भक्तपुर नगरपालिकाको फोहोर सिसडोल र बन्चरेडाँडामा लगेको छैन ।
भक्तपुर नगरपालिकाले वर्गीकरण गरेको फोहोरलाई छुट्याई स्थानीय कृषकहरूको लागि विषादीरहित मल बनाउने काम गर्दै आएको छ । डुबान हुने, घर निर्माण गर्न नमिल्ने जग्गाधनीको अनुमतिमा खाल्डो खनेर फोहोर व्यवस्थापन गर्दै आएको छ ।
भक्तपुरमा फोहोरका मुख्य स्रोतहरूः
१.घरायसी फोहोर (Household waste): बासी खाना, तरकारीका अवशेष, प्लास्टिक आदि घरायसी फोहोरको रूपमा निस्किन्छ ।
२.व्यावसायिक फोहोर : पसल, होटल, रेस्टुरेन्टबाट निस्कने फोहोर ।
३.पर्यटन र धार्मिक स्थलहरूबाट निस्कने फोहोर : पूजा सामग्री, प्लास्टिक, कागज आदि ।
४.निर्माणजन्य फोहोरः इँटा, ढुङ्गा, सिमेन्टको अवशेष ।
५.अस्पतालजन्य फोहोर : सिरिन्ज, सुई, ओखतीका खोल तथा बट्टाहरू, रगतका प्याकेट, बिरामीले प्रयोग गरेका विभिन्न वस्तु आदि ।
फोहोरको समस्या समाधानका उपायहरू
घरमै जैविक र अजैविक फोहोर छुट्याउने अभ्यास सुरु गरी फोहोर स्रोत नै छुट्याउने बानी (Source segregation) बसाल्न आवश्यक छ, त्यसको लागि जैविक फोहोरलाई घरमै कम्पोस्ट बनाउने प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति नियम बनाएर कार्यान्वयन र पालनामा जोड दिनुपर्छ ।
प्लास्टिक, कागज, र धातुजन्य वस्तुहरूलाई पुनः प्रयोग र रिसाइकल गरी आवश्यक लगानी प्रवद्र्धन गर्नुपर्दछ । विद्यालय, छापा तथा सञ्चार माध्यम/मिडिया र स्थानीय निकायजस्ता सार्वजनिक सहभागितामार्फत फोहोरको व्यवस्थापनको लागि सार्वजनिक शिक्षा र जनचेतना अभिवृद्धि गरिनुपर्छ ।
निष्कर्ष
नेपालमा फोहोर व्यवस्थापनको अवस्था अझै सुधार गर्नु आवश्यक छ । स्थानीय सरकार, नागरिक समाज र जनताबिच सहकार्य गरी व्यवस्थित, दिगो र वातावरणमैत्री प्रणाली स्थापना गर्न सकिन्छ । प्रत्येक व्यक्तिले “Reduce, Reuse, Recycle” को सिद्धान्त अपनाएमा यो समस्याको समाधान सम्भव रहेको छ । फोहोर व्यवस्थापनलाई सामूहिक जिम्मेवारीका रूपमा प्राविधिक सुधार, जनसहभागिता र स्थानीय नेतृत्वद्वारा दीर्घकालीन रणनीति आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *