भर्खरै :

तःमुंज्या सन्देशमूलक खुला शिक्षालय

तःमुंज्या सन्देशमूलक खुला शिक्षालय

नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक र सांस्कृतिक आन्दोलनको एक महत्वपूर्ण पाटो हो । तःमुंज्यामा वाचित कथा, कविता, निबन्ध र सांस्कृतिक कार्यक्रममा प्रस्तुत भएका नृत्यका गीत, ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटकले सिङ्गो देश विदेशको स्थिति उजागर गरेको छ । तःमुंज्यामा सीमाविद्, चिकित्सक, संस्कृतिविद्, भूगोलविद्, इतिहासविद्, भाषाविद् जलस्रोतविद् तथा अन्य विज्ञहरूले आफूले आर्जन गरेका ज्ञान, अनुभव र विचार जनतालाई बाँडेर प्रशिक्षित गरे । तःमुंज्या यथार्थमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, शिक्षक, कर्मचारी, गायक–गायिका, कलाकार, वाद्यवादकहरूको मात्र होइन बुद्धिजीवी, अनुभवी र विज्ञहरूको भेला हो । यो विभिन्न ज्ञान हासिल गर्ने एक प्रशिक्षणालय या शिक्षालय पनि हो । अतः तःमुंज्याको साहित्य सम्मेलन र सांस्कृतिक कार्यक्रममा हजारौँ जनताको उपस्थिति रह्यो ।
तःमुंज्या सफल पार्न स्थानीय जनता महिनौँदेखि लागे । स्थानीय जनताको निःस्वार्थ सेवा र साथले मञ्च आकर्षक रह्यो । मञ्चको वरपर विभिन्न गमला र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूको भनाइ टाङ्गिएको थियो । एक बोर्डमा भियतनामका नेता होचि मिन्हको भनाइ लेखिएको छ, “इमानदारले सामना गर्छ, गद्दारले विश्वासघात गर्छ, वीरले सङ्घर्ष गर्छ† डरछेरुवाले घुँडा टेक्छ ।” प्रजग कोरियाका महान् नेता किम इल सङको भनाइ रहेको छ, “जनताको सेवा गर्नु एक क्रान्तिकारीको निम्ति सबैभन्दा उच्च आदर्श र कर्तव्य हो । आफ्नो सारा जीवन जनताको निम्ति समर्पित हुनुजस्तो यश र गौरवको कुरा अरु हुनसक्दैन ।”
सर्वहारावर्गका महान् नेता कार्ल माक्र्सको भनाइ उद्धृत गरिएको छ,“शासकवर्गलाई जनता शिक्षित होलान् भन्ने त्रास हुन्छ किनभने मानिसलाई आँखा चिम्ली आज्ञा पालन गर्न असम्भव बनाउँछ । अफ्रिकी एक नेता क्वामे एनक्रुमाको भनाइ छ, “क्रान्ति सामान्य मानिसहरूले ल्याउने गर्दैनन् बरु ती मानिसहरूले ल्याउँछन् जसले आफूलाई कार्यको मानिस ठान्छ र विचारयुक्त मानिसको रूपमा काम गर्छ ।” चिनियाँ साहित्यकार लुसुनको भनाइ छ, “क्रान्तिकारीले नलेखिकन क्रान्तिकारी साहित्य अघि बढ्दैन ।” क्युवाका नेता फिडेल क्यास्त्रोको उक्ति पनि देखिएको छ, “यदि तपाईँसित दृढ इच्छाशक्ति र साहस छ भने तपार्इँ कति सानो हुनुहुन्छ भन्ने कुराले त्यति अर्थ राख्दैन । शक्ति आकारले भन्दा पनि साहसले सिर्जना गर्दछ ।” सर्वहारावर्गका नेता फ्रेडरिक एङ्गेल्सको उक्ति पनि राखिएको छ, क्रान्तिको निम्ति एक टन सिद्धान्तभन्दा एक तोला कार्य बढी महत्वपूर्ण हुन्छ । कार्य सही सिद्धान्तले निर्देशित गर्छ ।” रुसी साहित्यकार म्याक्सिम गोर्कीको भनाइ छ, “स्वतन्त्रताको मूल्य तिर्नसक्ने मान्छे मात्रै स्वतन्त्र हुन्छ । जो व्यक्ति त्याग र बलिदान गर्न डराउँछ, त्यसले कहिल्यै स्वतन्त्रताको सास फेर्न सक्दैन ।” माक्र्सवादी साहित्यकार हरिबहादुर श्रेष्ठको उक्ति छ, “कामदारवर्गको साहित्य पुँजीवादी साहित्यलाई चकनाचुर पार्ने बन्दुक र बम हो ।” का. रोहितको उक्ति पनि उद्धृत गरिएको छ “एउटा नाच नाच्न जसरी सबै स्वर, ताल आवश्यक छ, त्यसरी नै देशमा परिवर्तन ल्याउन सबै चाँजोपाँजो मिलाउन आवश्यक छ ।”
यस्ता शिक्षामूलक उद्गारले जनतालाई सन्देश प्रवाह गरेको हुन्छ । यस्तै सिद्धान्त, दर्शन र विचारको आधारमा जनतामाझ राजनीति गरिएको हुन्छ । मञ्चको सजावट, व्यापक जनसहभागिता र वरपरको स्वच्छ वातावरण तःमुंज्या स्थलको पहिचानजस्तै बनिसकेको छ । यसले तःमुंज्या हेर्न जान्नैपर्ने स्थिति तयार गरेको छ । एकपछि अर्को अतिथिको आगमन उनीहरूको स्वागत सत्कार, जनतालाई प्रशिक्षत गर्ने विभिन्न विज्ञहरूको मन्तव्य तःमुंज्याको पहिचान बनेको छ । कार्यक्रमको सुरुदेखि अन्त्यसम्म बसिरहने सहभागीको धैर्यता, इमानदारिता र स्थानीय जनताको पानी खुवाउने कार्यदेखि सभामा बस्न, अतिथि आसन ग्रहण गरिने कार्यशैलीले अतिथिहरू मख्ख हुन्छन्† खुसी हुन्छन् र सन्देश बाँडेर आफ्नो जिम्मेवारी पूरा गरेको ठान्छन् । यही भएर नेपालभाषा साहित्य तःमुंज्या साहित्यिक कार्यक्रममात्र होइन सबैको लागि सिक्नलायकको उदाहरणीय मञ्च पनि हो । तःमुंज्या सभ्य र भव्य बनाउन स्थानीय जनताले रात दिन नभनी गरेको सहयोग र साथ निश्चय पनि अनुकरणीय छ । तःमुंज्याको पालो लिने वडा र आयोजक समितिको कार्य प्रशंसनीय छ । वडा र आयोजक समितिलाई साधुवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *