जारशाही संसद्मा बोल्शेभिक सांसद–३
- कार्तिक २१, २०८२

म साहित्यकार, लेखक, कवि होइन, साहित्यनुरागी मात्रै हो । म साहित्यिक पुस्तकहरू पढ्न रूचि राख्छु । नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) को सभापतित्व ग्रहण गर्न पाउँदा तःमुंज्याप्रति म आभार व्यक्त गर्दछु ।
ने.स. ११०० देखि सुरू भएको नेपालभाषा साहित्य तःमुंज्या आज ४५ वर्ष भयो । आजको पुस्तालाई तःमुंज्या कसरी सुरू भयो थाहा नहुन सक्छ । त्यतिबेला म एस. एल. सी. सकाएर प्रमाणपत्र तहको पढाइ सुरू गरिरहेको थिएँ । तःमुंज्या सुरू हुनुभन्दा पहिले दसैँको एकादशीमा बाल साहित्य मण्डल र द्वादशी र त्रियोदशीका दिन विराट नेपालभाषा साहित्य सम्मेलन हुन्थ्यो । त्यतिबेला यस्तो मञ्च बनाउन आजको जस्तो सजिलो थिएन । घर–घरमा गएर ड्रम र लामो–लामो काठको मुढा बटुलेर ल्याई त्यसमाथि जस्ता पराल राख्ने र त्यसमाथि सुकुल बिछ्याएर मञ्च तयार गरिन्थ्यो । अलि हुने खाने कहाँबाट सोफा सापटमा ल्याइन्थ्यो । फलेक्स हातले लेखेर तयार गरिन्थ्यो ।
त्यतिबेला देशमा पञ्चायती राज थियो । राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । २०३५ सालमा पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैनिक शासकले फाँसी दियो । त्यसैको विरोध स्वरूप नेपालका विद्यार्थीहरूमा पनि वर्षौंदेखि गुम्सिरहेको आक्रोसको ज्वाला फुट्यो । विद्यार्थीहरूले भुट्टोलाई फाँसी दिएको विरोधमा जुलुस– प्रदर्शन हुन थाल्यो । त्यहीँ विद्यार्थी आन्दोलनसामु घुँडा टेक्न बाध्य पञ्चायती सरकारले सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था रोज्न जनमतसङ्ग्रहको घोषणा ग¥यो । प्रतिबन्धित पार्टी नेमकिपाले जनमतसङ्ग्रहमा भाग लिने निर्णय लियो । अरू वामपन्थी पार्टीहरूले जनमतसङ्ग्रह धोखा हो भनी बहिष्कारको नारा दिए । नेपालको वाम आन्दोलनभित्र अर्को सैद्धान्तिक सङ्घर्ष सुरु भयो । भक्तपुरका जनताले जनमतसङ्घर्षमा भाग लिएर पञ्चायती व्यवस्थाको भण्डाफोर गर्नुपर्छ भन्ने पक्ष लिए । पार्टीले विभिन्न स्थानमा जनमतसङ्ग्रह बहिष्कार ठीक छैन भन्ने विषयमा सभाहरू आयोजना गर्दै गयो । तर, त्यतिबेलाको विराटको मञ्चबाट जनमतसङ्ग्रह बहिष्कार गर्नुपर्ने पक्षमा विभिन्न वक्ताहरूलाई बोल्न लगाइयो । आयोजक समितिमा रहेका साथीहरूले जनमतसङ्ग्रहमा भाग लिनुपर्नेबारेमा बोल्नु पाउनुपर्ने कुरा उठाए तर बोल्न दिइएन । साथीहरू निरास भए र आफ्नै छुट्टै मञ्चको आवश्यकता त्यति नै बेला महसुस गरे ।
भक्तपुरमा साहित्य सम्मेलन हुँदा मञ्च बनाउन र अरू सबै कार्यमा सहयोग गरिदिने तर कहिल्यै मञ्चमा बोल्न नदिने भएपछि नेपालभाषा साहित्य तःमुंज्या आजभन्दा ४५ वर्ष अगाडि सुरु भएको थियो । त्यतिबेलादेखि यो सम्मेलनले साहित्यको माध्यमबाट तथा विभिन्न राजनैतिक नेता तथा विज्ञहरूलाई आमन्त्रित गरेर देश–विदेशको तत्कालीन परिस्थितिको बारेमा जनतालाई सुसूचित गर्ने गराउंँदै आएको छ । यो नै तःमुंज्या साहित्य सम्मेलनको विशेषता हो ।
गत असोज ९ गते विश्व प्रसिद्ध चिनियाँ लेखक लु सुनको जन्म जयन्तीको दिन थियो । लु सुन छात्रवृत्ति पाएर जापानको सेन्ताईको चिकित्साशास्त्र कलेजमा भर्ना भए । स्नातक उत्तीर्ण गरेपछि चीन फर्केर उनले रोगीहरूलाई सैनिक डाक्टरको रूपमा सेवा गर्ने योजना बुनेका थिए । उनले देशको पछौटेपनबाट मुक्त गर्ने सोचेका थिए । उनी चीनलाई स्वाधीन, समृद्धशाली र शक्तिशाली बनाउन चाहन्थे । सङ्कीर्णता र अन्धविश्वासको विरोध गरी जनताको सुखी जीवन निर्माण गर्नमा उनी लागिपरे । तर, दोस्रो वर्षको पढाइको क्रममा कक्षामा रूसमाथि जापानको विजयको प्रचार सामग्री रहेको स्लाइडमा र एक चिनियाँलाई जापानविरुद्ध रूसको लागि जासुसी गरेको आरोपमा जापानी सेनाले समातेर टाउको काटेको र अरू चिनियाँहरू केही वास्ता नराखी उभेर हेरिरहेको देखे । यो स्लाइड हेर्नेमा अरू चिनियाँहरूका साथ लुसुन पनि थिए । अरू चिनियाँहरूले हर्ष बधाई गरे । यो घटनाले लुसुनलाई चोट प¥यो । यो घटनापश्चात् लुसुनको सुरुको सोचलाई धुजाधुजा पारिदियो र चिकित्सा विज्ञान महत्वपूर्ण होइन रहेछ भन्ने कुरामा उनलाई गहिरो विश्वास भयो । कमजोर देशका मानिसहरू शारीरिक रूपले जतिसुकै बलिया र स्वस्थ भए पनि तिनीहरू तुच्छ साधनका रमिते मात्र हुने रहेछन् भन्ने कुरा उनले बुझे । तिनीहरूको भावना फेर्न साहित्य नै सर्वोत्तम साधन हो भन्ने उनमा विश्वास भयो । त्यसपछि चिकित्सा शास्त्रको पढाइ छोडेर उनी साहित्यिक आन्दोलनमा होमे ।
त्यसपछिका दिनहरूमा उनले १९११ को प्रजातान्त्रिक क्रान्ति, १९१९ को ४ मईको आन्दोलनदेखि जापानविरूद्धको प्रतिरोध युद्ध, चिनियाँ जनवादी क्रान्ति आदि क्रान्तिमा साहित्य रची सहयोग गरे । उनले क्रान्तिकारी साहित्यको रचना गरी विश्वका शोषित पीडित जनताको सेवा गरे । लुसुनले नव लेखनमा सक्रिय साथीहरूलाई दिएका केही सुझाव उल्लेख गर्ने म अनुमति चाहन्छु ।
१. प्रत्येक कुराको चाख लिएर राम्ररी अध्ययन गर्नुस् र अलिकति हेर्ने बित्तिकै लेखिनहाल्नुस् ।
२. लेख्न मन नलागेको बेला जबरजस्ती नलेख्नुस् ।
३. पात्रहरूका लागि खास नमुनाहरू नछान्नुस्, बरू आफूले देखेकाहरूबाटै पात्रहरू सिर्जना गर्नुस् ।
४. कथा लेखिसिध्याउनु भएपछि कमसेकम दुईपल्ट माथिदेखि तलसम्म पढ्नुस् र अनावश्यक सबै शब्द, वाक्यांश र भागहरूलाई अलिकति पनि माया नगरी कात्नुस् ।
५. कसैले बुझ्न नसक्ने विशेषण वा वाक्यांशहरू कहिल्यै प्रयोग नगर्नुस् आदि ।
तःमुंज्यामा वाचन भएका लेख रचनाहरू जनपक्षीय नै छन् । यो देशमा व्याप्त बेथिति र विसङ्गतिविरुद्धको सशक्त आवाज पनि हो । यस्तै आवाज गुञ्जिरहोस् । यही मेरो शुभकामना छ ।
(पैतालिसौँ नेपालभाषा साहित्य तःमुंज्याको पहिलो दिन असोज १८ गते सभापतित्व ग्रहण गर्दै व्यक्त गर्नुभएको मन्तव्य–सं.)
Leave a Reply