“सरकारले भ्रष्टाचारीहरूलाई कारबाही र निर्वाचनकेन्द्रित काममात्र गर्नुपर्छ”
- कार्तिक २२, २०८२

काठमाडौँ, २१ असोज । राष्ट्रपति रामचन्द्र पौडेलबाट हालै नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएपछि अब आमाको नामबाट पनि नेपाली नागरिकता पाउने कानुनी व्यवस्था भएको छ । २०७२ सालमा नेपालको संविधान निर्माणपछि बाबु वा आमाको नाउँबाट नागरिकता पाउने व्यवस्था संविधानमै गरिएको भए पनि त्यसको कार्यान्वयनमा भने आउन सकेको थिएन । यसबारे बेलाबखत लैङ्गिक विभेद भयो भनी आलोचना हुँदै आएको हो । यो पटक भने प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित नागरिकता विधेयकले ऐनको रूप धारण गरिसकेको छ । आमाको नाउँबाट कुनै पनि उमेर पुगेको नेपालीले बेरोकतोक नागरिकता प्राप्त गर्नसक्ने भएको छ ।
नागरिकता राज्य र व्यक्तिबिच सम्बन्ध जोड्ने महत्वपूर्ण कानुनी दस्ताबेज हो । कुनै पनि नागरिकलाई संविधान र कानुनले निश्चित अधिकारको साथै कर्तव्य पनि तोकेका हुन्छन् । नागरिकबाहेकले त्यस्ता अधिकार प्रयोग गर्न नसकिने हुँदा नागरिकताले धेरै ठुलो महत्व राख्छ । त्यसैले जो पायो त्यसलाई कुनै पनि देशले सजिलै नागरिकता प्रदान गर्दैन । तर, नेपालमा नागरिकतामा बाबुका नाम उल्लेख गर्नुपर्ने बाध्यताले कतिपयले नागरिकता लिन नसकेर निकै दुःख पाइरहेको सत्य हो । नेपाली नागरिक छ भने ती व्यक्तिहरूलाई महिला र पुरुष जोसुकैको नाउँमा नागरिकता दिए पनि केही फरक पर्दैन । राज्यले आफ्ना नागरिकलाई सहज तरीकाले नागरिकता वितरणको व्यवस्था गर्नु आवश्यक छ । तर, सहजताको नाउँमा कुनै पनि विदेशीले नागरिकता लिन सक्नेबारे राज्य त्यतिकै सचेत पनि हुनु जरुरी छ ।
नेपालको भौगोलिक अवस्थिति र दैनिक हजारौँ युवाहरू बिदेसिने गरेको अवस्थामा कतै आमाको नाउँबाट नागरिकता दिने कानुनी व्यवस्थाले नेपाललाई थप समस्यामा पार्ने त होइन भन्ने आशङ्का पैदा गरेको छ । नेपाल
भारतबिच खुला सीमा छ । दैनिक हजारौँ नेपालीहरू सीमा पार गरेर भारत जाने र दैनिक हजारौँ भारतीयहरू नेपाल आउने गर्छन् । खुला सिमाना भएको कारण कति नेपालीहरू भारतमा गएर घरजम गरेर बसेका छन् । त्यसको कुनै यकिन तथ्याङ्क नेपालसँग छैन । त्यस्तै तराईका मानिसहरूको भाषा, संस्कृति र रहनसहन सबै मिल्ने भएकोले धेरैजसो विवाह भारतीय नागरिकसँग हुने गरेको पाइन्छ । आमाको नाउँबाट नेपाली नागरिकता प्रदान गर्ने कानुनी व्यवस्थाको छिद्रबाट हजारौँ नेपाली ‘भान्जा भान्जीहरू’ ले नेपाली नागरिकता पाउने अवस्था आउन सक्ने सम्भावनालाई बेवास्ता गर्न मिल्दैन । लैङ्गिक समानताको नाउँमा नेपालीहरूले त्यस्तो अवस्था चाहेको पक्कै होइन । विदेशी नागरिकसँग विवाह गरेका नेपाली छोरीको सन्तानले पनि नेपाली नागरिकता पाउने अवस्था आयो भने समस्या झन् विकराल बन्ने छ र नेपालको सार्वभौमिकता खतरामा पर्नेछ ।
अहिले नेपाली युवाहरू रोजगारी र उच्च शिक्षा हासिल गर्ने उद्देश्यले दैनिक हजारौँ विदेश गइरहेका छन् । संसारका १९३ देशमध्ये नेपालीहरू १७१ देशमा ८० लाखभन्दा बढी रहेको सार्वजनिक भएका छन् । रोजगारी वा अध्ययनका लागि विदेश जाने युवाहरू कैयौँले विवाह नगरी सँगै जीवन बिताउने (लिभिङ टुगेडरमा बस्ने) गरेको पाइएको छ । नेपाली युवतीहरू विशेषगरी पाकिस्तानी, बङ्गलादेशी र भारतीयहरूसँग सँगै बस्ने र गर्भ बोकेपछि बिचल्ली बनाएर छोडेका थुप्रै उदाहरणहरू छन् । विदेशीसँग अवैध सम्पर्कबाट जन्मेका जतिलाई नेपालको नागरिकता दिँंदै जाने हो भने भोलिको नेपालको अवस्था के होला ?
मानव तस्करहरूले थुप्रै युवतीहरूलाई अरबका देशहरूमा घरेलु कामदारको रूपमा बेचबिखन गर्ने गरेको पनि नौलो होइन । कुवेत, साउदी अरबजस्ता देशहरूमा घरेलु कामदार महिलामाथि घरधनी स्वयम्ले यौन सम्पर्क गरेर गर्भ भएपछि विभिन्न बहानामा घरबाट निकाला गरेका घटनाहरू थुपैै्र छन् । आमाको नाउँबाट नागरिकता दिने कानुनी व्यवस्थाले त्यसरी अवैध सन्तान जन्माउनेहरूलाई प्रोत्साहित गर्ने त होइन ? सोचनीय छ ।
अहिले नेपालमै पनि विदेशी पुरुषहरूसँगै बस्ने तर विवाह नगरी सन्तान जन्माउनेहरू पनि छन् । यो एक प्रकारको आधुनिकताको नाउँमा देखिएका सामाजिक विकृति हो । देशलाई यस्ता विकृतिबाट जोगाउनेतर्पm सबैले ध्यान दिनुपर्छ ।
कुनै पनि नागरिक राज्यविहीन हुनु हुँदैन भन्नेमा कसैको दुईमत नहोला । तर, नागरिकता सहज ढङ्गले वितरण गर्ने भन्दैमा जर्मनी नागरिकसँग विवाह गरेकी सुजाता कोइराला (जोस्ट) का सन्तानहरूलाई पनि नेपाली नागरिकता दिन सकिने कानुनी प्रावधान कुनै पनि देशभक्त नेपालीहरूको लागि स्वीकार्य हुनेछैन । नेपालमा त्यस्ता हजारौँ सुजाताहरू छन् तिनीहरू कानुनको छिद्र खोजिरहेका छन् । यस्ता विषयमा राज्य गम्भीर हुनुपर्छ ।
विभिन्न पक्षको दबाबमा परेर नेपालले नागरिकता प्राप्त गर्ने कानुनी प्रावधानलाई झन्झन् खुकुलो बनाउँदै लगेको छ । नेपाली नागरिकसँग विवाह हुनेबित्तिकै विदेशी महिलालाई नागरिकता दिने, नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बनिसकेका (एनआरएन) हरूलाई आर्थिक र सांस्कृतिक अधिकारसहितको दोहोरो नागरिकताको व्यवस्थाजस्ता कानुनहरू यसअघि नै पारित गरिसकेको थियो । पछिल्लो नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणले विश्वमा सजिलै नागरिकता पाउने मुलुकहरूको सूचीमा नेपाल पनि एक पर्ने निश्चित छ ।
नेपाली नागरिकहरूबाट जन्मेका भए आमा वा बुबा जोसुकैको नाउँबाट नागरिकता दिए पनि केही फरक पर्नेछैन । तर, विदेशीको गर्भबाट जन्मेको, विदेशीसँग विवाह गरी विदेशमै जन्मेका, विदेशीसँग सँगै बसेर जन्मेका बच्चाहरूले नागरिकता पाउनेबारे राज्य सचेत हुनैपर्छ नत्र भविष्यमा नेपाल अहिलेको अवस्थामा नरहन सक्छ ।
Leave a Reply