भर्खरै :

देशमा अन्योल र अविश्वास कायम

देशमा अन्योल र अविश्वास कायम

जेन–जी आन्दोलनका मुख्य अगुवा को को हुन् भन्ने स्पष्ट नहुँदा र अगुवा भन्नेहरूले स्पष्ट दिशा निर्देश गर्न नसक्दा जेन–जीमा संलग्न युवाहरू नै अन्योलमा परेका छन् । कुण्डकुण्ड पानी मुन्दमुन्द बुद्धि भनेझैँ आफूलाई अगुवा भन्ने जेन–जीका व्यक्तिहरूको भनाइ बाझिएका कारण उनीहरू अन्योलमा परेका हुन् । जेन–जीका कोही अगुवाहरू आन्दोलनको मर्म नबुझ्ने प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्छन् भने कोही जन–जीहरूको आन्दोलन निर्वाचन गर्न र गराउन होइन भनी संविधान संशोधन गर्नुपर्ने विचार खोक्छन् । कोही कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने त कोही ‘राजा चाहियो’ भनी अभिव्यक्ति दिन्छन् । जेन–जीहरूको दृष्टिकोण या उद्देश्य स्पष्ट नहुँदा उनीहरू अन्योल मात्र होइन विभाजित भएका छन् । कोही अगुवाहरू काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको निन्दा गर्छन् भने कोही समर्थन गर्छन् । कोही निवर्तमान प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग गर्दै छन् भने कोही प्रधानन्यायाधीश र अख्तियार आयोग प्रमुखको राजीनामा माग्दै छन् । यसरी उनीहरूको विचार फरक फरक भएको हुँदा उनीहरूप्रति जनताको विश्वास गुम्दै छ ।
यता जेन–जी घाइतेहरूको माग छुट्टै छ । उनीहरूले आफ्नो रगतमाथि राजनीति नगर, गोली हान्ने र आदेश दिनेलाई कारबाही गर्न माग गरेका छन् । घाइते र मृतकलाई न्याय दिने ठोस काम सरकारले नगरेको उनीहरूको गुनासो छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न र आन्दोलनमा गोली चलाउने र आदेश दिनेलाई कारबाही गर्नुपर्छ भन्ने उनीहरूको माग हो । घाइतेहरूको दबाबकै कारण प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी लिएर सुदन गुरुङहरू प्रहरीकहाँ पुगे । तर, प्रहरीले सो जाहेरी दर्ता गरेनन् । यता नेपाल प्रहरीले प्रमको लिखित आदेश आए मात्र ओलीविरुद्ध जाहेरी दर्ता गर्ने जनाएको छ । दबाबको भरमा कसैलाई पक्राउ गर्न नमिल्ने सरकारको दाबी छ । यसरी सरकार, आन्दोलनकारी जेन–जी समूह र प्रहरी प्रशासनको फरक फरक दृष्टिकोण देखिएको छ । सरकारको कुरा जेन–जी समूहलाई नमिल्ने, जेन–जीको कुरा सरकारलाई नहुने र सुरक्षाकर्मीहरू पनि सरकारको कुरा सुन्ने कि जेन–जीको कुरा सुन्ने अलमलमा परेका छन् ।
कति राजनीतिक विश्लेषकहरूले त यो अन्तिम सरकार निर्वाचनसम्म नटिक्ने टिप्पणी गर्न थालेका छन् । तैपनि सरकारले फागुन २१ गते निर्वाचन गर्न र गराउनको लागि गृहकार्य सुरु गर्न थालेको छ । निर्वाचन आयोगलाई राजनीतिक दलसँग परामर्श गर्न सरकारले सुझाएको छ । यस हिसाबले सरकार मात्र होइन जेन–जी समूह र स्वयं प्रहरी प्रशासन पनि अन्योलमा छन् । सरकारप्रति जेन–जीको विश्वास नहुनु, जेन–जीको अगुवा भन्नेहरूको फरक फरक विचार हुनु र सुरक्षाकर्मीहरू न सरकारको न जेन–जीको कुरा सुन्ने भनी द्विविधामा परेका छन् । एकथरी जेन–जीका केही अगुवाहरू संविधानभन्दा बाहिर गएर हुने कुनै कुरामा सहमति नहुने बताउँछन् भने अर्को थरीका अगुवाहरू यो अन्तरिम सरकार जेन–जी आन्दोलनको कारण बनेको हुँदा आन्दोलनकारीको माग सम्बोधन हुनुपर्छ भन्ने पक्षमा छन् । समग्रमा अहिले देशमा अन्योल छ । देशलाई अब कसरी अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोण देखिँदैन । दृष्टिकोण नै स्पष्ट नभएपछि सरकार कसरी अघि बढ्छ ? सरकारप्रति जनताको विश्वास कसरी हुन्छ ? सुरक्षाकर्मीहरू पनि निश्चित स्थानमा मात्र केन्द्रित छन् । प्रहरी चौकी जलाएको, बन्दुक र गोली लगेको खबरले उनीहरूमा अहिले पनि मनोबल छैन । उनीहरू जिल्लामै केन्द्रित छन्; हिजोझैँ जनतामाझ पुग्न सकेका छैनन् । सारमा सरकार, जेन–जी र प्रहरी प्रशासनमा काम गर्ने जाँगर देखिँदैन: एकले अर्कोप्रति विश्वास दिलाउन सकेको छैन । यसरी देश कसरी चल्छ ?
– शिवराम माक, सिपाडोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *