चे, फिडेलको संस्मरणमा – ५
- आश्विन २४, २०८२
सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवारी दिँदा डोनाल्ड ट्रम्पले इराक र अफगानिस्तानजस्ता महँगो र विनाशकारी सैन्य हस्तक्षेपबाट अमेरिकालाई टाढा राख्ने वाचा गरेका थिए । तर, ट्रम्पले राष्ट्रपतिको शपथ लिएको केही महिनामै अमेरिकी सेनाले यमन र इरानमा बमबारी ग¥यो । त्यस्तै, ल्याटिन अमेरिकाको सन्दर्भमा ट्रम्पले पनामा नहर कब्जा गर्ने धम्की दिए । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) कोलम्बिया र मेक्सिकोका ‘आतङ्कवादी’ लागुपदार्थ कार्टेलहरूमाथि आक्रमणको तयारी गरिरहेको छ । तर, त्यसअघि नै ह्वाइटहाउस भेनेजुयलाको सत्ता परिवर्तन प्रयासमा संलग्न भएको आशङ्का बढेको छ ।
भेनेजुयलाका उग्रवामपन्थी अधिनायकवादी राष्ट्रपति निकोलस मदुरोले त युद्ध सुरु भइरहेको बताउन थालेका छन् । उनका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा भेनेजुयलाका जहाजहरूमा एकपछि अर्को आक्रमण गरेर अमेरिकाले ‘अघोषित युद्ध’ सुरु गरिसकेको छ । ट्रम्पले भर्खरै काङ्ग्रेस (संसद्) लाई अमेरिका लागुपदार्थ कार्टेलसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको सूचित गरे । उनले कुनै प्रमाण नदिई लक्षित डुङ्गाहरूले अमेरिकातर्फ लागुऔषध बोकेका र यसमा मदुरो जिम्मेवार रहेको दाबी गरेका छन् । ट्रम्पले मदुरोको टाउकोको मूल्य पाँच करोड डलरसमेत तोकेका छन् ।
ल्याटिन अमेरिकी सरकार भेनेजुयलावरिपरि ठुलो स्तरमा बढ्दो अमेरिकी सैन्य परिचालनलाई चिन्ताका साथ हेरिरहेका छन् । स्रोतका अनुसार भेनेजुयलानजिकको समुद्री भागमा अमेरिकाले युद्धपोत, एफ–३५ लडाकु विमान, आक्रमणकारी पनडुब्बी र २२०० नौसेना खटाइसकेको छ । यति ठुलो सैन्य परिचालन सामान्यतः लागुऔषध नियन्त्रणमा प्रयोग हुँदैन । आखिर, ट्रम्प के गर्न खोज्दै छन् ?
संयुक्त राष्ट्र सङ्घका अनुसार अमेरिकामा प्रवेश गर्ने अधिकांश लागुऔषध कोकेन कोलम्बिया, पेरु र इक्वेडरबाट आउँछ । अर्थात्, ट्रम्पले हाल निसाना बनाएको भेनेजुयला अमेरिका भित्रिने लागुऔषधको मूल स्रोत देश होइन । ट्रम्पको आँखा भेनेजुयलाको ठुलो परिमाणको तेल, ग्यास र खनिज स्रोत रहेको केही विश्लेषकहरूको अनुमान छ । ट्रम्प र उनका तत्कालीन राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सन् २०१९ मा पनि मदुरोलाई सत्ताच्युत गर्ने प्रयास गरेका थिए । त्यस्तै, यो पनि सत्य हो कि सन् २०२४ मा पुनः निर्वाचित भएका मादुरोले त्यो समय व्यापक धाँधली गरेका थिए । स्वतन्त्र रूपमा निर्वाचन हुने हो भने भेनेजुयलावासीले उनलाई जिताउने थिएन ।
अमेरिका र भेनेजुयलाबिचको टकरावपछाडि विचारधारात्मक कारणले पनि भूमिका खेलेको छ । ह्युगो चाभेज नेतृत्वको बोलिभारियन क्रान्तिको अयोग्य उत्तराधिकारी मदुरोले पश्चिमी गोलाद्र्धमा अमेरिकी प्रभुत्व रहनुपर्छ भन्ने ट्रम्पको साम्राज्यवादी विचारलाई चुनौती दिँदै आएका छन् । ‘सन् १८२३ को मोनरो सिद्धान्त’ ले पहिलोपटक अघि ल्याएको यो विचार सम्पूर्ण ल्याटिन अमेकिामा नवउदारवादी, स्वतन्त्र बजार पुँजीवादले बिना रोकटोक सञ्चालन गर्न पाउनुपर्ने जोड दिन्छ ।
अहिले नै भेनेजुयलामा पूर्णस्तरीय सैन्य हस्तक्षेप असम्भव देखिन्छ । अस्थिरता, प्रतिबन्ध, समुद्री हमला र हवाई तथा कमान्डो परिचालनमार्फत तीव्र दबाब अभियान चलाइएको हुन सक्छ । तर, मदुरोको शासनलाई कमजोर बनाउने वा एक्ल्याउने ट्रम्पको यी प्रयासले ठीकविपरीत परिणाम दिन सक्छ । मदुरोले पहिले नै अमेरिकी आक्रमणलाई देखाएर तानाशाही ‘विशेष शक्तिहरू’ लिइसकेका छन् । उनले पछिल्लो सङ्कटलाई राष्ट्रमाथिको सङ्कट बताउँदै देशका लागि एक हुन आह्वान गरिसके ।
ट्रम्पले कोलम्बियाजस्ता वामपन्थी सरकार भएका ल्याटिन अमेरिकी देशहरूलाई डरधम्की दिने र दक्षिणपन्थी सरकार रहेका अर्जेन्टिना तथा एल साल्भाडोरको खुला समर्थन गरिरहेका छन् । उग्र दक्षिणपन्थी विचार राख्ने पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई दन्डित गरेबापत ट्रम्पले ब्राजिलमाथि उच्च भन्सार शुल्क र प्रतिबन्ध लगाएका छन् । तर, ट्रम्पको यस प्रयासले ब्राजिलमा ठुलो आक्रोश निम्त्यायो । ठुलो सङ्ख्यामा ब्राजिलियन देशको सार्वभौमिकता र कानुनको शासनमाथिको आक्रमणको विरोधमा सडकमा उत्रिए । अमेरिकी कदमले उल्टो बोल्सोनारोका प्रतद्वन्द्वी वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको लोकप्रियता बढाएको छ ।
अमेरिका–ल्याटिन अमेरिका सम्बन्धमा देखिएको उल्टो छलाङमा मुख्यतः ट्रम्पका उग्र सल्लाहकार बढी जिम्मेबार देखिन्छन् । विशेषगरी, ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ स्टिफन मिलर र फ्लोरिडाका पूर्वरिपब्लिकन सिनेटर तथा वर्तमान विदेशमन्त्री मार्को रुबियोले कठोर नीतिमा ट्रम्पलाई अघि बढाएको मानिन्छ । क्युवा र निकारागुआमा वामपन्थी शासकहरूका पहिलेदेखिका आलोचक रहेका रुबियोका लागि मदुरो हटाइनुपर्ने शासक हुन् । रुबियोले डुङ्गामाथि भएका अमेरिकी आक्रमणको बचाउ गर्दै भनेका थिए, “प्रतिबन्धले काम गरेन । अब उनीहरूलाई रोक्न ध्वस्त पार्ने गरी अघि बढ्नुपर्छ … र यो फेरि हुनेछ ।”
ल्याटिन अमेरिकी देशहरूमा अमेरिकालाई ‘प्रहरीको भूमिका’ पुनः स्थापित गर्ने ट्रम्पको प्रयासमा पूर्वराष्ट्रपति थियोडोर रुजवेल्टको शृङ्खलावादी हस्तक्षेपवादी नीतिको छाया देखिन्छ । तर, यो एक प्रतिगामी, खतरनाक र आत्मघाती नीति हुनेछन् । दीर्घकालीन रूपमा, यस नीतिले सम्भवतः पेइचिङलाई फाइदा गर्नेछ । पछिल्लो समय चीन सो क्षेत्रमा प्रभावशाली पक्षका रूपमा लगानीकर्ता र ब्रिक्स राष्ट्रहरूको समूहको अग्रणी सदस्यका रूपमा आइरहेको छ । अमेरिकाले विश्वभर आफ्ना सम्बन्ध सेतु जलाउँदै गर्दा ट्रम्पले अमेरिकालाई होइन चीनलाई ‘फेरि महान्’ (ग्रेट अगेन) बनाउँदै छन् ।
(साइमन टिस्डल गार्जियनका विदेश मामिला टिप्पणीकार हुन् ।)
– ‘द गार्जियन’ बाट
Leave a Reply