भर्खरै :

बुटवलमा नेमकिपाको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

बुटवलमा नेमकिपाको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

बुटवल, २४ असोज । नेपाल मजदुर किसान पार्टी रुपन्देही जिल्ला समितिको आयोजनामा शुक्रबार बुटवलमा कार्यकर्ता प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले अमेरिकी साम्राज्यवादले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालको राज्यसत्ता परिवर्तनमा भूमिका खेलेको घटनाक्रमले पुष्टि हुँदै आएको चर्चा गर्नुभयो । उहाँले एनजीओ आइएनजीओहरूले नयाँपुस्तालाई पद, पैसा र अवसरको प्रलोभनमा पारेर आप्mनो स्वार्थपूर्तिका लागि उपयोग गर्नसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने राजनैतिक संस्कारबाट नयाँ पुस्तालाई बञ्चित गराउने षड्यन्त्र गरिँदा शासक दल र नेताहरूका भ्रष्टाचार, नातावाद र अपराधको विरोधमा जेन–जी पुस्ताको आक्रोशलाई निहुँ बनाएर स्वार्थ समूहहरूले अराजकता फैलाएको र सार्वजनिक सम्पत्तिमा क्षति पु¥याएको उहाँले उल्लेख गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य हरिसुन्दर बासीले नेपालका शासक दलहरूमा मात्र नभई सेना, प्रहरी, गुप्तचर संस्था र कर्मचारीतन्त्रमा समेत विदेशी शक्ति राष्ट्रहरूको प्रभाव रहेकोले आन्दोलनमा सरकारको तर्फबाट चरम दमन तथा जेन–जीलाई मानव ढाल बनाएर उपद्रो गरेको प्रस्ट पार्नुभयो । उहाँले देश र जनताविरुद्ध अपराध गर्नेहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै अराजकताले देशलाई अस्थिरतामा फसाउने र धमिलो पानीमा माछा मार्नेहरूको चलखेल हुनसक्नेमा चनाखो हुनुपर्ने बताउनुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य मञ्जु चौधरीले कामदार जनतालाई पनि भाषा, जाति, क्षेत्र र आर्थिक–सांस्कृतिक आधारमा विभेद गरिएको उल्लेख गर्दै समतामूलक समाज निर्माणका लागि सङ्घर्षशील रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य केपी धन्छाले फ्रान्सेली क्रान्तिको इतिहासबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय घटनाक्रमबाट पाठ सिकेर समाजवादी क्रान्तिका लागि जनतामाझ पुग्नुपर्ने बताउनुभयो ।
पार्टीका लक्ष्मीप्रसाद ह्यौँमिखाले पार्टी स्थापनाका आधार र त्यसपछिका सङ्घर्षहरूको बारेमा विस्तृत जानकारी दिँदै पार्टीको नीति र निर्देशनबमोजिम जनप्रतिनिधिहरूले जनताको सेवा गरिरहेको चर्चा गर्नुभयो ।
पार्टीका जिल्ला सचिव जगीलाल थापाले पार्टी प्रकाशनहरूको अध्ययनले जनताबिच राजनैतिक गतिविधि गर्न तथा समाजवादी आन्दोलनको वातावरण तयार गर्न कार्यकर्ताहरूलाई ऊर्जा प्रदान गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *