भर्खरै :

बर्दियाको बैदीमा कार्यकर्ता भेला

बर्दियाको बैदीमा कार्यकर्ता भेला

बर्दिया, २५ असोज । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा शनिबार बैदी गाउँमा कार्यकर्ता भेला भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य रविन्द्र ज्याख्वले श्रमिक जनताको आर्थिक, सामाजिक परिवर्तनका लागि समाजवादी क्रान्ति आवश्यक हुने बताउनुभयो । कामदार जनतालाई राजनैतिक रूपमा सचेत र वर्गीय रूपमा सङ्गठित गरी क्रान्तिको वातावरण तयार गर्न समय लाग्ने चर्चा गर्दै उहाँले पार्टीले जनतालाई सचेत पार्ने अभियान अघि बढाइरहेको बताउनुभयो ।
राजनैतिक सिद्धान्तबाट निर्देशित नभई गरिएको आन्दोलन वा विद्रोह अराजक हुने र त्यसले दीर्घकालका लागि सकारात्मक परिणाम नल्याउने उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार र अपराध छायाँको रूपमा रहने हुँदा व्यापक जनताको हित हुने समाजवादी व्यवस्था लागु गर्न सबैजना एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
अर्का केन्द्रीय सदस्य हरिसुन्दर बासीले समाजमा हुने हरेक घटनालाई आलोचनात्मक ढङ्गबाट विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै भदौ २३ र २४ गतेको आन्दोलन भ्रष्टाचारविरुद्धको आक्रोश मात्र नभई विदेशी शक्ति राष्ट्रहरूको चलखेलसमेत रहेको घटनाक्रमले पुष्टि हुँदै आएको तर्क गर्नुभयो ।
उहाँले वर्तमान मन्त्रीमण्डलका सदस्यहरू नेपाली युवाहरूको तर्फबाट भन्दा पनि अमुक शक्तिबाट छनोट भई आएको हुँदा देशको सार्वभौमसत्ता कमजोर बनेको बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य केपी धन्छाले नेपाली किसानहरू प्राकृतिक प्रतिकूलताको बिचमा पनि अन्न उत्पादनमा रातदिन मेहनत गरिरहेको तर सरकारले किसानहरूको हितमा कुनै योजना नल्याउँदा परिश्रमी किसानहरूको दुःख यथावत रहेको बताउनुभयो ।
उहाँले जमिन जोत्ने किसानलाई जमिनको स्वामित्व प्रदान गर्ने क्रान्तिकारी भूमिसुधार लागू गर्ने, उन्नत बीउबिजन तथा मलको व्यवस्था गर्ने, सिंचाइको बन्दोबस्त गर्ने, कृषि उत्पादनको उचित बजारीकरण र मूल्य निर्धारण गर्ने कार्य सरकारको तर्फबाट हुनुपर्ने र यसको लागि समाजवादी व्यवस्था नै आवश्यक हुने चर्चा गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष हरिलाल न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टीका वैकल्पिक सदस्य मञ्जु चौधरी, लक्ष्मीप्रसाद ह्यौमिखा, डिल्ली खड्का र थिरबहादुर वंलीले वर्तमान सरकार जनभावनाअनुसार चल्न नसकेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *