भर्खरै :

आजदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन

काठमाडौँ, १ वैशाख ९रासस० ः सरकारले नयाँ शैक्षिकसत्रका लागि आजदेखि भर्ना अभियान सञ्चालन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सञ्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।
उहाँले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक–एकजना विद्यार्थीलाई भर्ना गरेको बताउनुभयो ।
‘हामी सबैको इच्छा अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नारासहित यसवर्ष मन्त्रालयले पाठ्यपुस्तकसहित भर्ना अभियान सञ्चालन गरेको छ ।
उहाँले आजदेखि भर्ना अभियान सञ्चालन भए पनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि घरदैलो रुपमा सञ्चालन गर्ने बताउनुभयो ।
सहसचिव अर्यालले प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सञ्चालन गरिएको बताउनुभयो ।
“अहिले हामी साना बालबालिकालाई विद्यालयमा भर्ना गर्ने अभियानमा केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो, “ती बालबालिकालाई भर्ना गरेपछि विद्यालय छाड्नेलाई भर्ना अभियान सञ्चालन गर्ने छौँ ।”
विद्यालय तहको शैक्षिक तथ्याङ्क, २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि नौ वर्ष २।८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७।७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।
प्राथमिक तहमा ९४ हजार ६४६ जना र आधारभूत तहमा तीन लाख १३ हजार २८९ जना विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् । उहाँका अनुसार दुई हप्तासम्म विद्यालयमा भर्ना अभियान र त्यसपछि छिटफुट रुपमा रहेकालाई वैशाख मसान्तसम्म भर्ना अभियान सञ्चालन हुनेछ । सरकारले २०६१ सालदेखि भर्ना अभियान सञ्चालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *