भर्खरै :

लैङ्गिक समानताले सघाउँछ आर्थिक वृद्धिमा

लैङ्गिक समानताले सघाउँछ आर्थिक वृद्धिमा

सम्पन्न देशमा संरक्षणवाद तथा औद्योगिक नीतिको पुनरागमन र बढ्दो भूराजनीतिक तनावबिच अब व्यापारप्रेरित विकास रणनीतिका कठिन दिन सुरु भएका छन् । अब भविष्यको आर्थिक वृद्धि राम्रो घरेलु नीतिमा निर्भर हुनेछ । न्यून र मध्यम आय भएका देशले विद्यमान स्रोतको पूर्ण र कुशलतापूर्वक प्रयोग सुनिश्चित गर्नमा ध्यान केन्द्रित गर्नुपर्ने दिन आउँदै छ । यस सन्दर्भमा मानव पुँजीभन्दा मूल्यवान् स्रोत अन्य कुनै हुनेछैन ।
अर्थशास्त्री र नीति–निर्माताले पहिलेदेखि नै मानव पुँजीको सञ्चयलाई (विशेषगरी शिक्षामाथि लगानी) आर्थिक वृद्धि र विकासको प्रमुख चालक मान्दै आएका छन् । तर, विद्यमान मानव पुँजीको कुशल विनियोजनतर्फ तिनको एकदम कम ध्यान जाने गरेको छ । विकासको जुनसुकै चरणमा रहे पनि हरेक अर्थतन्त्रले तब मात्र आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्छ, जब हरेक व्यक्तिले आफ्नो प्रतिभा र प्राथमिकताअनुरूप पेसाहरू अपनाउन सक्छन् । त्यसकारण, प्रतिभाको गलत वितरण हटाउन वा कम्तीमा घटाउन उच्च प्राथमिकता दिनुपर्छ । आर्थिक अनुसन्धानले बढ्दो रूपमा संयुक्त राज्य अमेरिकाजस्ता उन्नत अर्थतन्त्रमा समेत प्रतिभाको गलत वितरण घटाउँदा अर्थपूर्ण आर्थिक प्रभाव पर्ने देखाएको छ ।
उदाहरणका लागि केही वर्षअघि प्रकाशित एक चर्चित आलेखले सन् १९६०/२०१० बिच अमेरिकाको प्रतिव्यक्ति (बजार) उत्पादन वृद्धिको २०–४० प्रतिशत हिस्सा प्रतिभा विनियोजनले निम्त्याएको देखाएको थियो । त्यो श्रमबजारमा महिला र अश्वेत पुरुषप्रति कायम भेदभावले निम्त्याएको थियो । साथै, मानव पुँजी विकासमा यी समूहले सामना गरेका अवरोध घटाउँदा मात्रै पनि सकारात्मक असर देखिएको थियो । यस्ता लाभ बढाउने सम्भावना विपन्न देशमा थप बढी रहन्छ । किनकि, त्यहाँ प्रतिभाको गलत वितरण व्यापक हुन्छ । जातिगत वा अन्य पहिचानका आधारमा हुने अवरोध देश र परिस्थितिअनुसार फरक होला, लिङ्गका आधारमा देखिने भिन्नता भने सबैतिर देखिन्छ ।
कुनै पनि देशमा महिलाहरूले लगभग आधा जनसङ्ख्या ओगटेका हुन्छन् । तिनले आफ्नो सिप र प्रतिभा पूर्ण रूपमा प्रयोग गर्न सक्ने कुराको सुनिश्चित भए पर्याप्त आर्थिक प्रतिफल सिर्जना हुन्छ । अधिकांश देशमा श्रम–बजारमा महिलाहरूको सहभागिता दर र आम्दानी पुरुषको तुलनामा कम छ । बेतलबी वा अनौपचारिक क्षेत्रमा भने तिनको उपस्थिति बढी छ । घरभित्रका काममा तिनले निकै घण्टा बिताउँछन् । धेरै देशमा श्रमशक्तिमा महिलाको सहभागितामा अवरोध हटाउँदा १५–२० प्रतिशतले उत्पादन बढ्न सक्छ । यो भनेको ठुलो आय लाभ हो ।
तर, विकासको समान चरणमा रहेका देशबिचको भिन्नतासमेत उल्लेखनीय छ । उदाहरणका लागि, इजिप्टले लैङ्गिक अवरोध हटाएर लगभग २४ प्रतिशतले उत्पादन बढाउन सक्छन् । जबकि, समान स्तरको आय भए पनि पेरूले केवल पाँच प्रतिशत लाभ हासिल गर्न सक्छ । धेरै देशमा प्रतिभाको बाँडफाँट समयसँगै सुधार भएको छ, तर अपवाद पनि छन् । द्रुत आर्थिक वृद्धिका बाबजुद भारतले सन् १९९०–२०२२ को बिचमा यस्तो विकृतिमा थोरै मात्र सुधार देखियो । महिलाहरू उच्च–उत्पादकत्वयुक्त जागिरबाट बाहिरै रहे । परिणामस्वरूप अर्थतन्त्र सम्भावनाभन्दा कम मात्र वृद्धि भयो । आर्थिक वृद्धिले स्वतः समान अवसर सिर्जना गर्दैन, थप लाभ खुलाउन निरन्तर सुधार आवश्यक पर्छ ।
सुधार गर्नुपर्ने दुई पक्षका विकृति हुन्छन् । र, धेरैजसो देशमा मागपक्षको विकृति (जस्तो काममा भर्ती गरिँदा गरिने भेदभाव, लिङ्गअनुसार फरक तलब) ले आपूर्ति–पक्ष (घरायसी जिम्मेवारीको भारी, बाल स्याहारको सुविधाको अभाव, सुरक्षा चिन्ता र कठोर सामाजिक व्यवस्था) को भन्दा पछि असर गर्छ । पहिले पक्षको विकृति मात्र घटाउने हो भने पनि दुवैलाई सम्बोधन गरेर प्राप्त गरेजत्तिकै आर्थिक लाभ उत्पन्न हुन सक्छ । यो कुरा किन महत्वपूर्ण छ भने यसले नीति–निर्मातालाई गलत वितरण कम गर्दै स्रोतहरूको सही प्रयोग कहाँ हुन्छ भन्ने निर्णय गर्न मद्दत गर्दछ ।
माग–पक्षका विकृतिहरू (जस्तै– श्रमबजार भेदभाव) लाई आपूर्ति–पक्ष विकृतिभन्दा बढी नीतिगत हस्तक्षेपमार्फत सच्याउन सकिन्छ । किनकि, आपूर्ति पक्षका विकृति समाजमा लामो समयदेखि चलिआएको सामाजिक मान्यताहरू हुन्छन्, जसलाई नीतिमार्फत सच्याउन या त सकिँदैन या धेरै लामो समय लाग्छ । यसरी, मागपक्षको विकृतिमा ध्यान केन्द्रित भएमा मात्रै पनि देशले लिङ्गमा आधारित गलत वितरण घटाएर ठुलो लाभ हासिल गर्न सक्छ ।
हुन त आलोचकले प्रतिभाको गलत वितरणको न्यूनीकरणले दिने आर्थिक लाभभन्दा उत्पादकत्वको सुधारबाट हुने लाभ बढी हुने तर्क गर्छन् । त्यो सत्य होला । तर, उत्पादकत्वको लाभ वृद्धि प्रायः महँगो पर्ने र आजको बढ्दो अनिश्चित वैश्विक वातावरणमा मानव पुँजीको गलत वितरण न्यूनीकरण अपेक्षाकृत सस्तो र सटिक मार्ग हुन्छ । न्यून र मध्यम आय भएका देशमा दिगो विकास थप कठिन र अनिश्चित भएको समयमा नीति निर्माताले उपलब्ध हरेक विकास मार्गलाई पछ्याउनुपर्छ । यस्तोमा लगभग आधा जनसङ्ख्याको सिप र प्रतिभा पूर्ण रूपमा प्रयोगको सुनिश्चित गर्नु, सामाजिक न्यायको कुरा मात्र होइन, व्यावहारिक आर्थिक रणनीति पनि हुनेछ ।
(विश्व बैङ्ककी पूर्वप्रमुख अर्थशास्त्री गोल्डबर्ग येल विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक हुन् ।)

प्रोजेक्ट सिन्डिकेटबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *