भर्खरै :

जैव विविधताको संरक्षणको नारा अँगाल्दै बायोइथिक्स दिवस मनाइयो

जैव विविधताको संरक्षणको नारा अँगाल्दै बायोइथिक्स दिवस मनाइयो

धरान, १४ कार्तिक । वातावरण, पर्यावरण र जैव विविधताको संरक्षणको नारा अँगाल्दै गएका महिनामा नेपालका विभिन्न मेडिकल कलेजहरू सहभागी विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२५ अक्टोबर १९ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, जैव मण्डल र जैव विविधताको संरक्षण आवश्यक छ भन्ने तथ्य औँल्याउँदै यो वर्ष सन् २०२५को बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाइबाट आयोजित विविध चेतनामूलक कार्यक्रमहरूको अक्टोबर ३१ का दिन बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।
नेपाल एकाइका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यार्थी सङ्कायका अनिशा गिरी र क्रिस्टिना राईले सञ्चालन गरेका थिए । कार्यक्रममा मूल टिप्पणीमा नेपाल एकाइका प्रमुख प्रा.डा. धनरत्न शाक्यले एकाइ र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्वपूर्ण १७ औँ सिद्धान्त यस वर्षको नाराले मानव मानव अस्तित्व, स्वास्थ्य र विकासका लागि वातावरण, पर्यावरण, जैव मण्डल र जैव विविधताको संरक्षण अत्यावश्यक भएकोले सबैले आ–आफ्नो तर्फबाट भूमिका र पैरवी गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल एकाइका सदस्य प्रा.डा. सरून कोइरालाले चिकित्सा शिक्षा, डा. अशोक ऐरले दन्त चिकित्सा, खेमचन्द सुवेदीले नागरिक तथा कानुनी पहलुबारे प्रकाश पार्नुभयो । विद्यार्थी सङ्कायका समिप रेग्मीले यस वर्षको नाराबारे जानकारी दिनुभयो ।
प्रा.डा. रविराम श्रेष्ठ, प्रा.डा. सरून कोइराला र डा. अशोक ऐर निर्णायक रहेको फोटोग्राफी प्रतियोगितामा सुरजा शाक्य प्रथम, सम्पदा धिमाल दोस्रो तथा सुदिन भुषाल तेस्रा भए । प्रा.डा. रविराम श्रेष्ठ, डा. किशोर गुरुङ र डा. अशोक ऐर निर्णायक रहेको आर्ट पोस्टरमा उज्ज्वल ठाकुर र सुरजा शाक्य, प्रा.डा. धनरत्न शाक्य र प्रा.डा. रविराम श्रेष्ठ निर्णायक रहेको वैज्ञानिक पोस्टरमा प्रशान्त सापकोटा र प्रा.डा. धनरत्न शाक्य, प्रा.डा. सरून कोइराला र डा. किशोर गुरुङ निर्णायक रहेको कवितामा जीवन भुजेल पुरस्कृत भएका थिए ।
कार्यक्रमका संयोजक नेपाल एकाइ तथा प्रतिष्ठानको मानसिक रोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मननका यस्ता अवसर र कार्यक्रमहरू नियमित र विस्तारित हुँदै जानुपर्ने धारणा राख्नुभयो । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१३ मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएको छ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नीतिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *