भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद

  • कार्तिक १९, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद

(धातु मजदुर अलेक्सेइ बादायेभ बोल्शेभिक कार्यकर्ता थिए । उनी पुरानो बोल्शेभिक गार्डका सदस्य थिए ।
सन् १९१२ मा रुसी संसद् ‘ड्युमा’ को चौथो निर्वाचन भयो । यसलाई चौथो ड्युमा÷संसद् भनिन्छ । बादायेभ पिटर्सबर्ग सहरबाट सांसद् बने । बादायेभलगायत पाँच बोल्शेभिक कार्यकर्ता संसद्मा निर्वाचित भएका थिए ।
सन् १९१४ को अगस्तमा प्रथम विश्वयुद्ध सुरु भयो । युरोपका साम्राज्यवादी देशहरू गरिब उपनिवेशका प्राकृतिक स्रोतसाधन लुछाचुँडी गर्न नृशंस युद्धमा होमिए । त्यही वर्ष नोभेम्बर महिनामा बोल्शेभिक सांसदहरूलाई पक्राउ गरी साइबेरिया निर्वासनमा पठाइयो ।
सन् १९१७ मा लेनिनको नेतृत्वमा महान् अक्टोबर समाजवादी क्रान्ति भयो । क्रान्तिका १५ वर्षपछि सन् १९२९ मा बादायेभको आत्मवृत्तान्त प्रकाशित भयो । पुस्तकको नाम थियो – ‘जारशाही संसद्मा बोल्शेभिक सांसद’ (The Bolsheviks in the Tsarist Duma) । यो पुस्तक बादायेभको निजी अनुभव, टिपोट र ऐतिहासिक दस्तावेजहरूमा आधारित छ ।
सन् १९०५ को क्रान्तिपछि क्रान्तिकारी उभार कसरी सेलायो ? संसद्मा बोल्शेभिक पार्टीको नीति र कार्यशैली कस्तो थियो ? जारशाही रुसका विसङ्गतिहरूलाई बोल्शेभिक सांसदहरूले कसरी उदाङ्गो पार्दै गए ? रुसका कामदार जनतालाई राजनीतिक शिक्षा दिन संसद् र ‘प्राभ्दा’ पत्रिकाको भूमिका कस्तो रह्यो ? क्रान्तिकारी सङ्घर्ष के–कस्ता उतारचढावबाट गुज्रियो ? सन् १९१७ को अक्टोबर समाजवादी क्रान्तिले कस्तो परिवेशमा आकार लियो ? यी तमाम विषयको जीवन्त चित्रण छ पुस्तकमा । यस हिसाबले बादायेभको आत्मवृत्तान्त संसद्को क्रान्तिकारी उपयोगबारे एक गम्भीर साहित्य तथा ऐतिहासिक दस्तावेज पनि हो ।
अक्टोबर क्रान्ति दिवसको अवसरमा ‘मजदुर’ दैनिक का आगामी अङ्कमा यही पुस्तकको अनौपचारिक अनुवाद प्रकाशित गरिनेछ । सम्पादक)

खण्ड १ – निर्वाचन अभियान र चौथो संसद्को कार्यकालको थालनी
पाठ १
चौथो संसद्को निर्वाचन
(सामाजिक जनवादीहरूले किन निर्वाचनमा भाग लिए ? बोल्शेभिकहरूको चुनावी कार्यक्रम । मजदुरहरूको मताधिकार । ठुला नगरमा निर्वाचन । सरकारले कसरी चुनावको तयारी ग¥यो ? अन्य दलहरूको खेमाबारे बोल्शेभिकहरूको धारणा । निर्वाचन अभियानमा ‘प्राभ्दा’ पत्रिकाको भूमिका ।)
रुसको इतिहासमा तेस्रो संसद् आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्ने पहिलो संसद् थियो । सन् १९१२ को गर्मीयाममा त्यो संसद्को कार्यावधि सकियो । त्यसमा कुलीन र जमिनदारहरूको बहुमत थियो । सरकारको आज्ञाकारी औजार साबित भएको थियो त्यो संसद् । त्यसमा सामाजिक जनवादीहरू र बुर्जुवा प्रजातन्त्रवादीहरू (त्रुदोभिकहरू) को सानो उपस्थिति थियो । त्यसकारण, सरकारले पेस गर्ने सम्पूर्ण विधेयक सजिलै पास हुन्थ्यो । तिनको सानो खेमाले कुनै पनि विधेयक रोक्न सक्दैनथ्यो । उदार बुर्जुवाहरूको दल क्याडेटहरूले आफूलाई सरकारको विपक्षी घोषणा गरेका थिए । तर, तिनीहरू सरकारविरुद्ध कडा शब्द प्रयोग गर्न र साँच्चै केही गर्न डराउँथे । ‘संसद्लाई जोगाउने’ नारामुनि क्याडेट र तिनीहरू निकटस्थ सानो समूह ‘प्रगतिशीलहरू’ चुपचाप घुँडा टेकी बस्थे । यसले गर्दा बहुमतमा रहेका दक्षिणपन्थीहरू मनलाग्दी गर्थे । तेस्रो संसद्ले सरकारलाई चाहेको सबथोक गर्न दियो । यसरी त्यो संसद्लाई ‘विधि मान्ने प्रभावकारी’ जनताको प्रतिनिधित्व भनियो ।
तेस्रो संसद्ले पाँच वर्षमा गरेका कामको मूल्याङ्कन गर्दै संसद्को कार्यावधि सकिएको भोलिपल्ट ‘प्राभ्दा’ मा एउटा लेख छापियो । त्यसमा लेखिएको थियो –
संसद्का सबै क्रियाकलाप त्यसका बहुमत सदस्यको वर्गीय स्वार्थ जोगाउनमा केन्द्रित थिए । यसकारण, यो ‘प्रभावकारी’ संसद्का पाँच वर्षले देशका अत्यन्त महत्वपूर्ण र जल्दाबल्दा सवालहरूको समाधानमा कुनै पनि तवरले टेवा दिएनन् । प्रश्नोत्तरमार्फत वामपन्थी दलहरूले रुसी जनजीवनका अँध्यारा पक्षहरूमाथि प्रकाश पार्न र ती विषयमा देशको ध्यान तान्न हर प्रयास गरे । तर, प्रभुत्वशाली बहुमतले त्यो आवाजलाई सधैँ दबाइरह्यो । छुटकारा पाउने कति सजिलो उपाय !
यी शब्दका साथ प्राभ्दाले मजदुर र किसानहरूको आम धारणा अभिव्यक्त ग¥यो र तेस्रो संसद्लाई बिदाइ ग¥यो ।
चौथो संसद्ले तेस्रो संसद्कै पाइला पछ्याउने निश्चित थियो । चुनावी कानुन उही थियो । त्यसैले नयाँ संसद्मा समेत पहिलेझैँ कालासयहरू (ब्ल्याक हन्ड्रेड्स, उग्र–राजावादीहरू) को बहुमत ल्याउने तय थियो । चौथो संसद्का क्रियाकलाप समेत कामदार जनताविरुद्ध लक्षित हुने र त्यसले ल्याउने ऐन–कानुन मजदुर वा किसानहरूलाई केही काम नलाग्ने कुरामा कुनै शङ्का थिएन ।
यी आकलन हुँदाहुँदै पनि सामाजिक जनवादी पार्टीले दोस्रो र तेस्रो संसद्मा जस्तै निर्वाचनमा सक्रिय सहभागिता जनाउने निर्णय ग¥यो । अघिल्ला वर्षहरूको अनुभवले खासगरी आन्दोलनका दृष्टिले निर्वाचन अभियानको ठुलो महत्व रहेको देखाइसकेको थियो । कानुन निर्माणको तथाकथित ‘सकारात्मक’ काममा भाग लिन अस्वीकार गर्दै हाम्रो खेमाले संसद्को दबुलाई क्रान्तिकारी आन्दोलनको निम्ति उपयोग ग¥यो । सामाजिक जनवादी खेमाले संसद्बाहिर गर्ने गतिविधि झन् महत्वपूर्ण थियो । यिनै गतिविधिमार्फत पार्टीले रुसभरि सङ्गठन निर्माण गर्दै थियो । तसर्थ, हाम्रो पार्टीले चुनावमा सक्रिय सहभागिता जनाउन जरुरी रहेको ठहर ग¥यो ।
निर्वाचनमा सहभागी हुने विषयलाई लिएर सामाजिक जनवादी पार्टीको कार्यकर्ता तहमा कुनै मतभेद थिएन । तर, चुनावी कार्यनीति र पछि संसद्मा जाने कार्यकर्ताको भूमिकालाई लिएर बोल्शेभिक र मेन्शेभिकहरूबिच तीखो मतभेद थियो ।
चौथो संसद्को समस्या पार्टीका तत्कालीन समस्याहरूमध्ये एउटा समस्या मात्र थियो । तैपनि, त्यसमा रुसी सामाजिक जनवादी पार्टीका दुई खेमाबिच रहेका सम्पूर्ण विमतिको छाप प¥यो । सन् १९१२ को जनवरीमा अथवा तेस्रो संसद्को म्याद सकिनुभन्दा ६ महिनाअघि प्राग सहरमा पार्टी सम्मेलन भएको थियो । सम्मेलनले आसन्न निर्वाचन अभियानको कार्यक्रम तय गरेको थियो । सम्मेलनले निर्दिष्ट गरेको थियो, “हाम्रा सबै गतिविधि वर्गीय लाइन अनुसार समाजवादको प्रचार गर्ने र श्रमजीवीवर्गलाई सङ्गठित गर्ने कार्यमा केन्द्रित हुनुपर्छ ।” निर्वाचनमा पार्टीको कार्यनीति यस्तो हुने तय भएको थियो ।
“पार्टीले जारशाही स्वेच्छाचार तथा त्यसलाई समर्थन गर्ने जमिनदार एवम पुँजीपतिहरूका विभिन्न दलविरुद्ध निरन्तर निर्मम लडाइँ लड्नुपर्छ । साथै, पार्टीले प्रतिक्रियावादी विचार र (क्याडेट पार्टीको नेतृत्वमा रहेका) बुर्जुवा उदारवादीहरूको झूटो लोकतन्त्रलाई उदाङ्गो पार्दै जानुपर्छ । निर्वाचन अभियानका दौरान अन्य सबै गैरसर्वहारा पार्टीहरूबाट सर्वहारा पार्टीको अलग्गै स्वतन्त्र अस्तित्व कायम राख्नमा विशेष ध्यान दिनुपर्छ । (मुख्यतः त्रुदोभिक, नारोदनिक र समाजवादी क्रान्तिकारीहरूजस्ता) लोकतान्त्रिक भनाउँदा समूहहरूको छद्म समाजवादभित्र लुकेको निम्न पुँजीवादी प्रवृत्तिलाई उदाङ्गो पार्नमा ध्यान दिनुपर्छ । त्यस्तै, जनताको क्रान्तिकारी सङ्घर्षको सवालमा धर्मराउने तिनको रवैयाले गर्दा वास्तविक प्रजातन्त्रको आजुमा पुगेको क्षतिबारे खुलेर बोल्नुपर्छ ।”
संसद्को निर्वाचनलाई बोल्शेभिकहरूले दीर्घकालीन आन्दोलन चलाउने र पार्टीको विचार प्रचारप्रसार गर्ने अवसरका साथै जनता सङ्गठित गर्ने माध्यमको रूपमा लिए । आफ्नो उम्मेदवारहरूलाई जिताउने प्रयास गर्दागर्दै पनि बोल्शेभिकहरूले चुनावी अभियानलाई संसद्मा मात्र दुईचार सीट जित्ने सङ्घर्षमा फेरेनन् । बरु संसद्मा जाने समूहले संसद्भित्र र बाहिर दुवैतिर गर्ने गतिविधिको ठुलो क्रान्तिकारी महत्व थियो । तैपनि, चुनावी अभियानको महत्व कम थिएन । अभियानको अवधिभरि सामाजिक जनवादी पार्टीको क्रान्तिकारी अडानको शुद्धता जोगाउनुपथ्र्यो । त्यसमा कमी आउनु हुँदैनथ्यो वा अन्य कुनै कारणले त्यसमा तलमाथि गर्नु हुँदैनथ्यो ।
मेन्शेभिक विध्वंसकारीहरू के–कस्ता तर्क गर्थे त ? चौथो संसद्को आसन्न निर्वाचनमा खालि दुई खेमाबिच लडाइँ पर्ने तिनको आकलन थियो । एउटा खेमामा प्रतिक्रियावादीहरू र कालासयहरू हुने अनि अर्को खेमामा उदारवादीहरू (क्याडेट, प्रगतिशील र वाम अक्टोबरवादीहरूको अपेक्षित गठबन्धन) हुने मेन्शेभिकहरूको अनुमान थियो । यो अनुमानबाट सुरु गरेर तिनीहरूले चुनावी अभियानको नारा यस्तो राख्नुपर्ने अड्डी लिए – ‘संसद्बाट प्रतिक्रियावादलाई निकाला गर्नैपर्छ’, ‘प्रतिक्रियावादीहरूको हातबाट खोस्नैपर्छ’ आदि । मेन्शेभिकहरूले भने जस्तो गरेको भए निर्वाचन प्रचारको बेला उदारवादीहरूसँग हात हालाहालको स्थिति आउने निश्चित थियो ।
निर्वाचन प्रचारप्रसारको क्रममा बोल्शेभिक र मेन्शेभिकहरूबिचको मतभेद झन् चर्कियो । तिनका आ–आफ्ना राजनीतिक मञ्चहरूमा त्यो मतभेद प्रस्टरूपमा प्रकट भयो । प्राग सम्मेलनले अनुमोदन गरेको प्रस्तावमा बोल्शेभिकहरूले निर्वाचनको बेला राजनीतिक मञ्चहरूमा निम्न विचार प्रसार गर्ने किटान गरेका थिए :
“आसन्न निर्वाचनमा हाम्रो पार्टीका मूल नाराहरू यसप्रकार हुनुपर्नेछ – (१) लोकतान्त्रिक गणतन्त्र, (२) आठ घण्टा कामको बन्दोबस्त, (३) सबै जमिनदारहरूका मौजाको अधिग्रहण । तेस्रो संसद्को अनुभव र त्यसबेला सरकारले केन्द्रीय र स्थानीय प्रशासन दुवै तहमा गरेका समग्र गतिविधिको आधारमा निर्वाचन अभियानको अवधिभरि प्रस्ट भाषामा यी मागको व्याख्या गर्नुपर्नेछ । यसबाहेक बालिग मताधिकार, सङ्गठनको अधिकार, न्यायाधीश र सरकारी अधिकारीको प्रत्यक्ष निर्वाचन, स्थायी सेनालाई सशस्त्र जनताद्वारा विस्थापनलगायत सामाजिक जनवादीहरूको न्यूनतम कार्यक्रमलाई पनि माथिका तीन नारासँगै प्रचारप्रसारमा लानुपर्नेछ ।”
बोल्शेभिक पार्टीका तीन आधारभूत नारालाई पछि ‘तीन भैरव’ भन्न थालियो । यी नारा नै रुसका मजदुर र किसानहरूका मूल नारा बने । जारशाहीले नियन्त्रित संसद्को मकुन्डो लगाएको भए तापनि ‘लोकतान्त्रिक गणतन्त्र’ को नाराले सिधै जारशाही हटाउने विषय उठायो । यो नाराले ‘संवैधानिक भ्रमहरू’ लाई उदाङ्गो पा¥यो र संसद्बाट गरिने सुधारले श्रमजीवीवर्गलाई कसैगरी पनि टेवा दिन सक्दैन भन्ने देखायो । त्यस्तै, विद्यमान सरकारी संरचनाभित्र श्रमजीवीवर्गको दिन फिर्ने कुनै पनि सम्भावना नरहेको उक्त नाराले दर्शायो ।
अन्य दुई ‘भैरव’ ले मजदुरहरूको आर्थिक माग अभिव्यक्त गरे । कामको अवधि आठघण्टे गराउनुपर्ने नारा मजदुरवर्गको आर्थिक सङ्घर्षको मुख्य माग थियो । मजदुर हडतालहरू झन्झन् फैलिने क्रममा थिए र सबैजसो हडतालमा आठघण्टे कामको माग लागेकै हुन्थ्यो । जमिनदारहरूका मौजा अधिग्रहण गर्नुपर्ने नाराले भूमिसुधारको प्रश्नलाई क्रान्तिकारी समाधान दियो । यसले करोडौँ रुसी किसानको माग र मनोभावना अभिव्यक्त ग¥यो ।
यी तीन मूल मागसँग न्यूनतम कार्यक्रम गाँस्नुमा बोल्शेभिकहरूको वैचारिक जोड झल्किन्थ्यो । उनीहरूको जोड थियो – क्रान्तिकारी आन्दोलनका मूल माग पूरा भएपछि मात्र न्यूनतम कार्यक्रम लागु हुनसक्छ ।
मेन्शेभिकहरूको चुनावी कार्यक्रम के थियो त ? बोल्शेभिकहरूले मूल क्रान्तिकारी नारासँगै राखेका यिनै तपसिलका मागलाई नै मेन्शेभिकहरूले स्वतन्त्र नाराका रूपमा अघि बढाए ।
बोल्शेभिकहरूका नारालाई खुकुलो पारामा मेन्शेभिकहरूले खुकुलो पारामा तीन मूल नाराको रूपमा प्रस्तुत गरे । ‘लोकतान्त्रिक गणतन्त्र’ को ठाउँमा तिनीहरूले ‘जनप्रतिनिधिको सार्वभौम अधिकार’ भने । ‘जमिनदारहरूका मौजाको अधिग्रहण’ को सट्टा तिनले ‘भूमिसुधार कानुनमा संशोधन’ को अस्पष्ट माग राखे ।
मेन्शेभिक खेमाभरि बोल्शेभिक नारालाई अर्कोले विस्थापित गर्ने र श्रमजीवीवर्गको क्रान्तिकारी सङ्घर्षअनुरूप भइरहेको कानुनी आन्दोलनको आकस्मिक स्थिति हेरी माग तय गर्ने काम भयो ।
सरकारले पहिलो संसद्को निर्वाचनको लागि निर्वाचन कानुन पारित गरेको थियो । त्यो कानुनको खाका नै संसद्मा पुँजीपति र जमिनदारहरूको बहुमत आउने गरी कोरिएको थियो । प्रत्यक्ष मतदान नगरी विभिन्न चरणमा मतदान हुन्थ्यो । विभिन्न तह–तप्काका जनता (जमिनदार, ठुला सहरिया धनाढ्य, किसान, मजदुर आदि) ले पहिले निर्वाचकहरू चुन्थे र पछि तिनै निर्वाचकले आफूआफूबाट सांसद निर्वाचित गर्थे । किसान र मजदुरको लागि यो प्रणाली झन् जेलिएको थियो । उदाहरणको लागि मजदुरहरूले पहिले आफ्नो प्रतिनिधि छनोट गर्नुपथ्र्यो । ती प्रतिनिधिले निर्वाचक चुन्थे र यी निर्वाचक पछि गुर्बेनिया (जिल्ला) को निर्वाचन मण्डलमा सहभागी हुन्थे । सोही निर्वाचन मण्डलले सांसद निर्वाचित गथ्र्यो । यसबाहेक मतदान गर्न न्यूनतम सम्पत्तिको योग्यता चाहिन्थ्यो । उदाहरणको लागि सहरिया भए घर बहालमा लिएका नागरिकलाई मात्र मत दिने अधिकार थियो ।
सरकारले बनाएको पेचिलो निर्वाचन प्रक्रियाबाट पहिलो र दोस्रो संसदीय निर्वाचनमा सरकारले चाहेजस्तो परिणाम आएन । ती संसद्का बहुमत सांसद सरकारविरोधी निस्के । यसकारण, दुवै संसद्लाई कार्यकाल नपुगी भङ्ग गरियो । सन् १९०७ जून ३ गते दोस्रो संसद् भङ्ग भयो । त्यसपछि नयाँ निर्वाचन कानुन ल्याइयो । यसले मताधिकारमा झन् कटौती ग¥यो र जनताको ठुलो हिस्सालाई निर्वाचन प्रक्रियाबाट बाहिर धपायो । मजदुरवर्गलाई निसानामा राखेर मजदुर समितिहरूको मतदाता सङ्ख्यामा ठुलो काँटछाँट गरियो । यद्यपि, नयाँ निर्वाचन कानुनका मस्यौदाकारहरूले मजदुरहरूलाई संसद्मा प्रतिनिधि नै पठाउन नसक्ने गरी रोक्ने दुस्साहस गर्न सकेनन् । नयाँ कानुनले ६ जिल्ला (सेन्ट पिटर्सबर्ग, मस्को, खार्कोभ, कोस्त्रोमा, भ्लादिमिर र येकातेरिनोस्लाभ) का निर्वाचनमण्डलले मजदुर समितिबाट एक सांसद मात्र चुन्न पाउने नियम तोक्यो । तर, मजदुरवर्गको सङ्ख्या बढी भएका युराल, पोल्यान्ड, ककेससलगायत चुनावी क्षेत्रमा यो नियम थिएन ।
यो सीमित मताधिकार पनि सबै मजदुरले पाउँदैनथे । तोकिएको उद्योगमा कम्तीमा ६ महिना काम गरेका मजदुरले मात्र निर्वाचनमा (प्रारम्भिक चरणमा) आफ्ना प्रतिनिधि छनोट गर्न पाउँथे । एकातिर यो प्रावधानले भ्रष्टाचार गर्ने अनेक ढोका खोल्यो । अर्कोतिर, यसले सुरुमै आफ्ना उम्मेदवार तय गर्न क्रान्तिकारी पार्टीहरूलाई असाध्यै अप्ठेरो पा¥यो । चुनावको मुखमै मजदुरलाई हटाएर मतदानको अधिकारबाट वञ्चित गर्न मिल्ने भयो । ती मजदुरले अर्को उद्योगमा काम पाइहाले भने पनि उनले मत खसाल्न वा उम्मेदवारी दिन नपाउने भए । किनभने, त्यहाँ उनको कार्य अवधि नपुग्दा निर्वाचन प्रक्रियाका लागि योग्य नहुने भए ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *