समाचार शीर्षकले आधा समाचारको आशय प्रस्ट !
- कार्तिक १८, २०८२

नेपालमा विशेषगरी वर्षा तथा गर्मीको प्रारम्भिक समयमा पानी तथा खाद्यजन्य स्रोत सहभागी भएर फैलिने झाडापखाला (कोलेरा) जस्ता रोगहरू सामाजिक स्वास्थ्यका ठुला चुनौती बनेका छन् ।
केन्द्रीय सरकार, प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरूले रोकथामका लागि कार्यक्रम सञ्चालन गरिरहेको भए पनि स्वच्छ पानीको पहुँच कमजोर हुनु र समयमै स्वास्थ्य सेवामा पहुँच नहुनु जस्ता कारणले सङ्क्रमण तथा मृत्युदर अझै उच्च रहेको समाचारहरूले देखाएका छन् ।
यस सन्दर्भमा हाम्रो समाज, स्थानीय तह र स्वास्थ्य संस्थाहरूको भूमिका महत्वपूर्ण हुन्छ, जसले जनचेतना बढाउने, पानी सफा प्रबन्ध मिलाउने र प्राथमिक उपचार सुविधाहरू प्रभावकारी बनाउने काम गरेको भए महामारीको रूपमा फैलिने थिएन ।
२०८२ कार्तिक १७ गतेको ‘कान्तिपुर दैनिक’ को समाचार छ, ‘झाडापखालाबाट परिवारका तीनजना गुमाएका बुचन सदा ऋण खोजेर गर्दै छन् किरिया’ । त्यस्तै ‘झाडापखालाको उपचार नपाएर एकै परिवारका तिनको मृत्यु भएको गाउँमा हैजा पुष्टि’, ‘हैजा फैलिँदै, स्वास्थ्य चौकीमा भने जीवनजल समेत अभाव’ (नयाँ पत्रिका, १८ कार्तिक २०८२)
यस्तो अवस्थामा सानो समस्या भएकै बेला स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र अस्पतालमा समेत समयमै उपचार गर्न नसक्नु सम्बन्धित कर्मचारी र हाकिमको अकर्मण्यता हो । समयमा उपचार र रोकथाम भएन भने समस्या जटिल हुनु स्वाभाविक हो ।
सरकार प्रदेश र स्थानीय संस्थाबाट सञ्चालित स्वास्थ्य निर्देशनालय वा स्थानीय तहबाट पुनरावलोकन, जनचेतना उठाउने तथा पूर्वतयारीसम्बन्धी पर्याप्त कदम नचलाएको आरोप जनताले लगाएका छन् ।
स्वास्थ्य विभाग र स्थानीय तहबाट तत्कालीन नियन्त्रण तथा उपचारका लागि पर्याप्त कदम नचालिएको भन्ने जनगुनासो पनि उठेको छ ।
विगतमा प्रकोपको रूपमा फैलिने हैजा औषधि र वैज्ञानिक उपचार पद्धतिको कारण पछिल्लो समय संसारमै कमैमात्र देखिने गरेको थियो । विशेषतः फोहोरमैला र दुषित पानीको कारण हैजा फैलिने गर्छ ।
शासक दलका नेताहरू समृद्धि र विकासको चर्को भाषण गरेर नथाकेको अवस्थामा यातायात सुविधाको हिसाबमा त्यत्ति असहज नरहेको पालिकामा हैजाको प्रकोप फैलिएको महिनौँ बितिसक्दा पनि नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता हो । एक्काइसौँ शताब्दीमा नेपालको तुलनात्मकरूपमा सुगम पालिकामा हैजाको कारण मानिसको मृत्यु हुनु र सरकार नियन्त्रण गर्न असफल हुनुले नेपालको स्वास्थ्य पूर्वाधारको भयावह अवस्था संसारसामु उजागर गरेको छ ।
नेपालले इतिहासमा पटक – पटक निकै घातक हैजाका प्रकोपको सामना गरेको छ । तर, देशमा पटक – पटक शासक फेरिए, शासकका नारा फेरिए । आजसम्म देशमा शासकहरूले जनताको हितमा गरे के ? जनतालाई सरसफाइ, उचित बानीव्यवहार, सफा दैनिकीका आधारभूत कुरासमेत सिकाउन सरकारहरू सफल भएनन् ।
के हैजाले मानिसको प्राण लिइरहेको बेला त्यसको नियन्त्रणको प्रयास गर्न पनि सरकारलाई कुनै विदेशी दाता वा गैरसरकारी संस्थाको भिक्षा आवश्यक हुन्छ ? किन प्रभावित क्षेत्रमा हैजा नियन्त्रणको निम्ति सघनरूपमा स्वास्थ्यकर्मी र अन्य आवश्यक जनशक्ति परिचालन गरिएन ? कुनै पनि समयमा अन्य जिल्ला र पालिकामा पनि हैजा वा अन्य त्यस्तै रोग फैलिए कुनै आश्चर्य हुनेछैन । विडम्बना ! सरकार भने जनताका यस्ता समस्या टुलुटुलु हेर्नेबाहेक केही गर्नसक्दैन । बिरामीको लागि अस्पतालको शøयासम्मको उचित व्यवस्थापन गर्न सरकार सक्षम छैन भने अरू कुराको अपेक्षा गर्नु नै बेकार हुने देखियो । सरकार आफ्नो दायित्वबाट कदापि भाग्न पाउँदैन । हैजाजस्ता रोगबाट बिरामी हुने गरिबहरू नै हुन् । उनीहरूसँग निजी अस्पतालमा गएर महँगो उपचार गर्ने आर्थिक क्षमता हुँदैन । सरकार नै हैजा नियन्त्रणको निम्ति थप सघन र जिम्मेवार भएर लाग्न जरुरी छ ।
Leave a Reply