समाज बनाउन
- कार्तिक २२, २०८२

एउटा किसान परिवारकी लगनशील छोरी सृजना साहित्यप्रति लगाव राख्छिन् । उनी विद्यालयमा बरोबर हुने साहित्यिक कार्यक्रममा भाग लिन्छिन् । उनी कहिले साहित्य गोष्ठी, कहिले कविता, कथा, निबन्ध लेखन त कहिले वक्तृत्वकला, वादविवाद प्रतियोगितामा सहभागी हुन छोड्दिनन् । त्यसैले उनलाई साहित्य रच्न र बोल्न सजिलो हुन्थ्यो । त्यहीँ साहित्यप्रति लगाव भएर नै उनी एक दिन एउटा साहित्य सम्मेलनमा साथी बबितासँग सहभागी हुन्छिन् ।
भरिभराउ स्रोता, दर्शक साहित्यकारहरू भएको सम्मेलनमा सबैका कविता, कथा, निबन्ध एकसेएक छन् । सबैको लेख रचनाले कला, संस्कृति, साहित्य अन्याय अत्याचारको विरोधमा, प्यालेस्टिनी जनताको समर्थनमा, विश्वका शोषित पीडित जनताको पक्षमा र साम्राज्यवादी विस्तारवादी, उपनिवेशवादीको विरुद्धमा आवाज बुलन्द गरेको पाइन्छ । साहित्यको श्रवण, रसपान गरिरहेकी सृजनाले आफ्नो अनुभव सुनाइन्, “आहा ¤ साहित्यको रस र तागत कति हुँदो रहेछ । त्यसमा शक्ति हुन्छ भनेको आज अनुभव गर्न पाएँ ।” ‘भक्तपुरको चङ्गा’ र ‘देशमा शान्तिको झन्डा फहराउनुपर्छ’ शीर्षकको कविता राम्रो लाग्यो । ‘विश्वास’ शीर्षकको कविता जुन हाउभाउ र लयमा वाचन गरिएको थियो । त्यसको रस र तागत झन् बेजोडको पाएँ । त्यसको केही हरफ ः
हिमाली नदीको यात्रा रोकेको कहाँ छ र ?
आँधीबेहरी आयो भन्दैमा हिमाल झुकेको कहाँ छ र ?
एउटा घर ढल्यो भने अर्को घर खडा गर
रात लामो भयो भन्दैमा बिहान कहिल्यै आउँदैन र ?
मान्छेलाई निरासाले बचाएको कहाँ छ र ?
विश्वासमै अडेको छ हाम्रो राम्रो संसार होइन र ?
साथी सृजनाको कुरालाई समर्थन गर्दै बबिताले पनि आफ्नो अनुभव बाँडिन्, “त्यही भएर चीनका महान् साहित्यकार लुसुन डाक्टर भई केही चिनियाँ जनताको उपचार गर्नुभन्दा साहित्यको माध्यमबाट देशकै उपचार सक्ने देखेर डाक्टरी अध्ययनलाई बिचमा छाडेर देशकै उपचार गर्न फर्के, जनतालाई सचेत पारे, सङ्गठित गरे र मुक्ति सङ्घर्षमा होमे । सामाज्यवादी, विस्तारवादी, उपनिवेशवादीहरूले चिथोरेर, आक्रमण गरेर लुछाचुँडी गरेर घाइते पारेको चीनलाई उनीहरूको पञ्जाबाट मुक्त गरे । त्यसैको परिणाम आजको चीन बन्न सफल भयो । हामीले पनि लुसुन र गोर्कीले जस्तो साहित्य रचेर देशलाई मुक्त गर्नुपर्छ, विश्वका अन्याय शोषणबाट पीडित गरिब जनताको पक्षमा लड्नुपर्छ है भन्दै दुबै नजिकैको पुस्तक बिक्री स्थलतिर लागे ।”
Leave a Reply