समाज बनाउन
- कार्तिक २२, २०८२

हिजो अपराह्न म भक्तपुर बसपार्कतिरको बाटो हुँदै विद्यालयबाट फर्किंदै थिएँ । घाम मधुरो थियो, हावामा पोलिएको मकैको मीठो गन्ध मिसिएको । सडकछेउको सानो कुर्सीमा एक अधबैँसे उमेरकी महिला मकै पोल्दै थिइन् । हातका औँलाहरूमा काला डाम, अनुहारमा पसिनाको रेखा – तर आँखा शान्त र आत्मीय । उनले मकै घुमाउने तरिका, आगोसँगको उनको धैर्य र बेलाबेलामा मुस्कुराउने बानीले मलाई केही क्षण उनैलाई हेर्न बाध्य बनायो ।
त्यसैबेला अगाडि एउटा चम्किलो स्कुटर रोकियो । दुई युवतीहरू, सुन्दर पोशाकमा, हातमा दामी मोबाइलसहित नजिक आइपुगे । पफ्र्युमको बासना मेरो नाकले थाहा पायो ।
“एउटा मकैको कति आमा ?” एउटी युवतीले सोधिन् ।
महिलाले सहज स्वरमा भनिन्, “३० रूपैयाँ हो, छोरी ।”
“५० मा दुई ओटा दिनुस् न,” युवतीले मुस्कुराउँदै भनिन् ।
महिलाले क्षणभर सोचिन्, अनि मुस्कुराउँदै भनिन्, “बिहानदेखि एउटा पनि बेचिएको छैन, ठीक छ, लानु ५० मै दुई ओटा ।”
दुवै युवती खुसी हुँदै हाँसे । रोकिएको स्कुटरमै बसेर मकै खाइसके । अनि हिँडे ।
महिलाले फेरि अर्को मकै पोल्न थालिन् । उनको अनुहारमा थकाइ मिसिएको मुस्कान थियो – श्रमको सानो जित, जीवनको ठुलो सहनशीलता ।
केही बेरपछि म पनि त्यहाँबाट युवतीहरू गएको बाटो हुँदै–मेरो पनि जानु त्यतै थियो–अघि बढेँ । केही सय मिटर पर, एउटै रेस्टुरेन्टको सिसाको झ्यालबाट भित्र तिनै युवतीहरू देखिए – टेबलमा पिज्जा, बर्गर र जुस राखिएका थिए । मैले नजानिँदो गरी हेरेँ, हेरिरहेँ । थोरैबेरमै उनीहरू उठे । आधा खाना बाँकी थियो । एउटी कर्मचारीले काउन्टरमा पुगेर बिल बुझाइन् – ४५० रूपैयाँ रहेछ क्यारे ¤ अघि मकैको पैसा तिर्ने युवतीले नै ५०० दिइन् र सहजै भनिन्, “५० रुपियाँ टिप्स राखिदिनुस् ।”
त्यो दृश्यले मलाई गहिरो सोचमा डुबायो ।
ती महिलाले १० रूपैयाँ सस्तोमा मकै दिनुप¥यो – त्यो उनका लागि आफ्नै कोठामा चिया बनाएर खानु बराबरको घाटा थियो । तर, ती युवतीका लागि ५० रूपैयाँको टिप्स केबल सभ्यताको प्रदर्शन थियो । अब यहाँनेर कसले प्रश्न गर्ने कि – हाम्रो समाजमा मानवीय मूल्यको मापन पैसाले हुन्छ कि मानवीय भावनाले ?
मेरो मथिङ्गलमा सोच आइरह्यो, असमानता केबल धनको होइन, सोचको पनि हो । हामी असमानता भन्नासाथ सम्पत्ति र गरिबीबिचको अन्तर सम्झन्छौँ । तर, यस्तो दृश्यले देखाउँछ – असमानता सोचको तहमा गहिरिएर बसेको छ । हामी सडकछेउका पसलेसँग मोलमोलाइ गर्छौँ, रेस्टुरेन्टमा ‘टिप्स’ दिन गर्व गर्छौँ । किन ? किनभने हाम्रो चेतनामा ‘धनीसँग उदार, गरिबसँग कठोर’ बन्नु नै बुद्धिमानी बनेको छ ।
सायद यस्तै सोचले आर्थिक समानताको सपना ध्वस्त हुँदै छ ।
हामी समाजवादका फोस्रा नारा त जति पनि दिन सक्छौँ, तर ती अति निम्नवर्गीय महिलाले पोलेको मकैको मूल्य बुझ्न सक्दैनौँ । यस्तै चेतनाको असमानता नै समाजवादको सबैभन्दा ठुलो बाधा हुनसक्छ । किनभने, समाजवाद कागजमा होइन, आचरणमा लागु हुने विचार हो । राजनीतिमा घोषणा गरेर होइन, व्यवहारमा समानता देखाएरमात्र समाजवाद आउँछ । भाषण, बैठकमा छलफल पारित गरेर होइन, पहिला आफू नमुना बन्न सक्दामात्र समाजवादको पाइला सुरु हुन्छ । तर, हाम्रो दैनिक जीवनमै असमानताको रेखा तानिएको छ । हामी किसानको पसिनालाई सौदाबाजीको विषय बनाउँछौँ, भाटभटेनीमा सजाइएको सामानको बिललाई प्रश्न गर्दैनौँ । श्रमको मूल्यलाई घटाएर सस्तोमा किन्दा गर्व गर्छौँ । आधुनिकताको नाममा टिप्स दिएर गौरव खोज्छौँ । यस्तो विसङ्गत अवस्थामा समाजवाद सम्भव छैन ।
समाजवादका लागि प्रथमतः चेतनाको क्रान्ति हुनुपर्छ । देशले समाजवादउन्मुख अर्थतन्त्रको घोषणा गरिसकेको छ । तर, त्यो लक्ष्य शासनले मात्रै पूरा गर्न सक्दैन । हामीले सानातिना श्रमको मूल्य बुझ्न सिक्नुपर्छ । मकै पोल्ने महिलाको हरेक पसिनाको थोपा त्यति नै इमानदार छ, जति ठुला उद्योगपतिको लगानी हुन्छ । तर, हाम्रो दृष्टि अझै हैसियतको चस्माबाटै हेर्छ –त्यसैले अन्याय गहिरिन्छ ।
समानताको अभ्यास पनि व्यवहारमै सुरु हुन्छ । समाजवाद शासन परिवर्तनले होइन, सोच परिवर्तनले सम्भव हुन्छ । जब हामी सडकछेउका बिक्रेतासँग मोलमोलाइ नगरी सम्मानपूर्वक किनमेल गर्छौँ, जब हामी मजदुर, किसान, साना व्यापारीलाई ‘दयाको पात्र’ होइन, ‘आदरको पात्र’ ठान्छौँ, त्यस दिनदेखि समाजवादको यात्रा सुरु हुन्छ । मकै बेच्ने ती महिलाको आगोको धुवाँभित्र केवल मकै पोलिँदैन, त्यहाँ हाम्रो चेतना पनि परीक्षण हुँदै छ – हामी कुन वर्गको पक्षमा उभिएका छौँ भनेर ।
नेपालमा असमानता व्यवस्थाको मात्र दोष होइन, चेतनाको रोग पनि हो । राजनीतिक दलहरूले समाजवादका नारा लगाए पनि, नागरिकको सोचमा व्यापारी र मजदुरबिचको भिन्न दृष्टि रहुन्जेल त्यो सपना पूरा हुँदैन ।
यस्तै के के सोच्दै म, पाँचतले मन्दिर, दरबार स्क्वाएर, दूधपाटी हुँदै सिद्धपोखरीको पूर्वपट्टिको फल्चामा आइपुगेँ । अनि त्यहीँ सुस्ताएँ, अस्ताउँदै गरेको सूर्यलाई हेर्दै । मनमा तिनै मकै पोलेर बेच्ने महिला थिइन् । अहिलेसम्म तिनले कति मकै बेचिहोलिन् ¤ उनका आँखामा आगोको प्रतिबिम्ब थियो – तर, त्यो आगो केबल चुल्होको थिएन, त्यो आगो आत्मसम्मानको तिर्सना थियो । त्यो आगो निभ्दैन, यदि हामीले त्यस श्रमको मोल बुझ्यौँ भने ।
समाजवाद त्यही दिन सम्भव हुन्छ, जब हामी ‘सस्तो’ होइन, ‘न्यायपूर्ण’ व्यवहार गर्न सिक्छौँ र मकै पोल्ने आमाको पसिनामा देशको उज्यालो भविष्य देख्न थाल्छौँ ।
Leave a Reply