गरिब किसान जनताको लागि कृषि सहकारी खोल्नुपर्ने
- कार्तिक २३, २०८२

बाँके, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले पार्टीको बाँकेको चौथो जिल्ला सम्मेलन कोहलपुरमा शनिबार उद्घाटन गर्नुभयो ।
यसअघि कोहलपुरको साझा चोकबाट सुरू भएको उद्घाटन ¥याली न्युरोड, गोलपार्क हुँदै कोहलपुर शीत गृहको सभा कक्षामा सम्पन्न भयो ।
मजदुर, किसान, युवा, विद्यार्थी, महिला, बुद्धिजीवी, उद्योगी, व्यापारीलगायत सहभागी जुलुसमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क, स्वास्थ्य उपचार निःशुल्क, देशभित्र रोजगारी, भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण, ठुला भ्रष्टाचारीहरूलाई मृत्यु दण्डसमेतको कानुनी व्यवस्था, नेपालीको सम्पत्ति सीमाङ्कन र विदेशमा सम्पत्ति राख्न नपाउने, लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत अतिक्रमित नेपाली भूमि फिर्ता गर्ने, नेपालको नदीनाला र प्राकृतिक स्रोत भारतलाई दिइएको फिर्ता लिने, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने, नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती खारेज, नेपालको सुरक्षा मामिला भारतको छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज, अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद आदि नारा लगाइएको थियो ।
सभामा सचिव सुवालले पार्टीको विधानमा समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने, साम्यवादी समाज राज्यविहीन र वर्गविहीन हुने, शारीरिक बौद्धिक श्रम, किसान र मजदुर, गाउँ र सहरको भेद हट्ने उल्लेख भएको सबै कार्यकर्ताहरूले स्पष्ट बुझ्नु जरूरी भएको बताउनुभयो ।
उहाँले थप्नुभयो, “पार्टी कार्यकर्ताहरूले संसारका किसान, मजदुर, कम्युनिस्ट आन्दोलन परिवर्तनहरूबाट सिक्नु जरूरी छ । कार्यकर्ताहरूले जातीय, क्षेत्रीयलगायत साम्प्रदायिक भावना राख्नु हुँदैन । पार्टीले दिएको जिम्मेवारी निःस्वार्थपूर्वक पूरा गर्नु आवश्यक छ । नेका, एमाले, माओवादीलगायत शासक दलहरूले आफ्ना कार्यकर्ताहरू लाखौँ भएको दाबी गर्छन् । तर, तिनीहरूले आफ्ना कार्यकर्तालाई देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने अनुशासनमा नराखेको हुँदा देशमा एकपछि अर्को सङ्कट थपिँदै आएको हो । शासक दलहरूले गत भदौ २३ र २४ गते भएको जनधनको क्षति नहुने गरी पूर्वसावधानी अपनाउन सकेनन् । शासक दलका नेता र सांसदहरू पालैपालो प्रधानमन्त्री र मन्त्री हुन लागिपर्ने तर देश र जनताको हितमा काम नगर्ने हुँदा नेपाली जनतालाई दुःख भएको हो ।”
सचिव सुवालले स्पष्ट गर्नुभयो, “आर्थिक र वैदेशिक मामिला फरक नभएका यसअघि प्रम, उपप्रधानमन्त्री र मन्त्री भएका दल र तिनका नेताहरूलाई नेपाली जनताले विश्वास गर्ने ठाउँ छैन । अमेरिकी साम्राज्यवादको कारण लिविया, इराक, युक्रेन, प्यालेस्टिनलगायतमा जनधनको क्षति भइरहेकोतर्फ कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।”
नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले महान् नेता लेनिनको नेतृत्वमा भएको रूसी अक्टोबर क्रान्तिबाट कामदार वर्गको हुकुम स्थापना भएको बताउनुभयो । रूसी क्रान्ति तयारी गर्न साना साना अध्ययन गोष्ठी गरेर तल्लोस्तरसम्म सङ्गठनलाई सुदृढ पारेको बताउँदै उहाँले रोटी र शान्तिको लागि मजदुर किसानसँगै सैनिकहरूले पनि क्रान्तिमा भाग लिएको थियो भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलले कामदारवर्गको शासन सत्ता स्थापना गर्न वर्गसङ्घर्ष गर्नु अपरिहार्य छ भन्नुभयो ।
नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले भ्रष्टाचारीहरूको सम्पति राष्ट्रियकरण गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा बाँकेका संयोजक बखतबहादुर थापाको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा नेपाल क्रान्तिकारी महिला सङ्घका नारायणी चौधरी, डा. मजेशप्रताप मल्ल, नवीन शाही, गौरीकान्त आचार्यलगायतले नेमकिपा बाँकेको चौथो जिल्ला सम्मेलनको सफलताको शुभकामना दिनुभयो ।
Leave a Reply