भर्खरै :

देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने

देशको रक्षा गर्न र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधैँ सचेत रहनुपर्ने

रौतहट, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी मधेश प्रदेश समितिको आयोजनामा शनिबार रौतहटको देवाही गोनाहीमा समसामयिक विषयमा कार्यकर्ताहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले देशको सार्वभौमिकता रक्षा र स्वाभिमान जोगाइराख्न नागरिकहरू सधँै सचेत रहनुपर्छ भन्नुभयो ।
उहाँले पुँजीवादमा बहुसङ्ख्यक जनताको हित सम्भव नहुने प्रस्ट पार्दै समाजवादी व्यवस्था स्थापनाको लागि नेमकिपा निरन्तर प्रयासरत रहेको बताउनुभयो ।
भारतीय एकाधिकार पुँजीलाई उदाङ्ग्याउँदै आत्मनिर्भरतातर्फ उन्मुख हुनु नेपाली जनताको हितमा हुने धारणा राख्दै उहाँले जेन–जी आन्दोलनको क्रममा भ्रष्टाचारीहरूलाई जनतासामु उदाङ्ग्याउने काम भएको बताउनुभयो ।
देशमा आमूल परिवर्तनको लागि बलियो राजनैतिक सङ्गठन र सचेत सङ्गठित जनताको खाँचो रहेको आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य प्रजापतिले लुटिएको धन सुरक्षित हुँदैन, अत्याचारीहरू कतै सुरक्षित हुँदैन भन्ने कुरा नेपालको वर्तमान राजनैतिक घटनाक्रमले स्पष्ट पारेको बताउनुभयो ।
प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा जनता नै सचेत भएर इमानदार र देशभक्त जनप्रतिनिधिलाई निर्वाचनमा जिताउन आग्रह गर्दै उहाँले जनता सचेत र इमानदार भए मात्र नेताहरू इमानदार हुने स्पष्ट पार्नुभयो ।
शासन सत्ता धेरै पटक परिवर्तन भए, देशमा ठुल्ठुला आन्दोलनहरू भए तर गरिब जनताको जीवनस्तरमा खासै कुनै परिवर्तन नदेखिएको उल्लेख गर्दै उहाँले देशमा शासकहरू मात्र परिवर्तन गर्ने होइन, व्यवस्था नै परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले देशको विकास गर्न भ्रष्टाचारको अन्त्य हुन जरूरी रहेको बताउनुभयो ।
उहाँले नेमकिपाले समाज परिवर्तनको लागि वैचारिक सङ्घर्ष गर्दै आएको बताउँदै तराईको विकासमा अरूको भर नपरी यहाँका स्थानीयहरू नै अग्रसर भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले समाजवाद नै कामदार जनताको वास्तविक प्रजातन्त्र भएको बताउँदै जनताको राजनैतिक चेतनास्तर उकास्दै देशलाई आत्मनिर्भर बनाउनु नेमकिपाको उद्देश्य हो भन्नुभयो ।
उहाँले नेमकिपाको स्थापनाले जमिनदारहरूको हालीमुहालीको अन्त्य भएको बताउँदै दुर्गम तथा विकट जिल्लाका जनतामा राजनैतिक चेतना पु¥याउन नेमकिपाले सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नेमकिपा मधेश प्रदेश समितिका सदस्य सरोज साहले नेमकिपाले सडकदेखि सदनमा वैचारिक सङ्घर्षलाई जोड दिँदै आएको स्पष्ट पार्दै सभ्य, सुसंस्कृत र शोषणरहित समाज निर्माणमा पार्टीले जोड दिँदै आएको बताउनुभयो ।
शोषणरहित समाज निर्माण समाजवादी व्यवस्थामा मात्र सम्भव भएको उल्लेख गर्दै उहाँले वर्तमान राजनीतिक अवस्थामा देशमा चुनाव भएन भने देश सङ्कटतर्फ जाने खतरा भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *