भर्खरै :

भक्तपुर बचतको २९ औँ स्थापना दिवसमा डा. मिश्र र अन्तर्राष्ट्रिय खेलाडी राय सम्मानित

भक्तपुर बचतको २९ औँ स्थापना दिवसमा डा. मिश्र र अन्तर्राष्ट्रिय खेलाडी राय सम्मानित

भक्तपुर, २२ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य क्षेत्रका डा. अशोकानन्द मिश्र र भलिबलका प्रशिक्षक एवं रेफ्रि विनोदचरण रायलाई शनिबार संस्थाको प्राङ्गणमा आयोजित एक समारोहबिच सम्मान गरियो ।
वि.सं. २०५४ कार्तिक १९ गते भक्तपुरको च्याम्हासिंहमा ४० जना संस्थापक सदस्यहरूको १ लाख २० हजार पुँजीबाट विधिवत रूपमा डिभिजन सहकारी कार्यालय भक्तपुरमा दर्ता भएको उक्त संस्थामा कार्तिक १९ सम्ममा ४ अर्ब ४६ करोड, ३६ लाख ६८ हजार ५२८ रुपैयाँको वासलात बनेको संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्मानित व्यक्तित्वलाई सम्मानपत्र वितरण गर्दै देश र जनताको लागि निःस्वार्थ सेवा गरेकालाई जनताले अभिनन्दन गर्ने बताउनुभयो । सहकारी क्षेत्रमा लाग्नेले इमानदारीपूर्वक काम गर्दा पनि कानुनी कठिनाइ आउन सक्ने भएकाले उहाँले सचेत भई कानुनी ज्ञान अध्यावधिक गरिरहनुपर्ने बताउनुभयो । वर्तमान राजनीति पुँजीवादी व्यवस्थाबाट निर्देशित भएकोले राम्रो विचारलाई अनुशरण गर्नुपर्ने र विचार नबुझिकन कुनै पनि पार्टीमा लाग्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “कि राजनीति गर्दै नगर्ने, गर्ने भए नडराउने ।” मल किन्न पैसा नहुने, बीउबिजन किन्न पैसा नहुने भएकाले कृषिजन्य क्रियाकलाप गर्नका लागि सहकारी स्थापना भएकोमा अहिले करोडपतिहरूले कतिपय सहकारी संस्थामा हैकम चलाएको उहाँको कथन छ । अहिलेका सहकारी संस्थामा हरप्रकारका मानिस सदस्य हुने भएकोले सहकारीको नीतिबमोजिम काम गर्न गाह्रो हुने र कृषि सहकारी संस्थामा त्यस क्षेत्रका मात्र आबद्ध हुने भएकोले सहज हुने उहाँले बताउनुभयो ।
सम्मानित व्यक्ति डा. अशोकानन्द मिश्रले कसैका लागि कुनै योगदानबिनाको सम्मान आपूmले अस्वीकार गरेको बताउँदै यो सम्मान भक्तपुरका जनताका तर्फबाट पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भक्तपुरका जनताको सेवा गर्ने क्रममा भएको अनुभव सुनाउँदै सम्मान गरेकोमा भक्तपुर बचतप्रति आभार प्रकट गर्नुभयो ।
अर्का सम्मानित व्यक्ति भलिबलका प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनोदचरण रायले खेल क्षेत्रमा आपूmले गरेको कार्यको मूल्याङ्कन गरी सम्मान गरेकोमा आभार प्रकट गर्दै खेलाडी रहँदा अनुशासनका कुरा गर्नेहरू खेल छोडिसकेपछि बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले खेलसँगै सामाजिक क्रियाकलापमा समाहित भइरहेको बताउनुभयो ।
वाग्मती प्रदेशसभाका सभासद् सृजना सैंजूले पुँजीपतिलाई ठगी गर्न हौस्याउने र जनतालाई डुबाउने खालको नीति पुँजीवादी सरकारले ल्याउने भएकोले त्यसबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले लेनिनको आदर्श सोचलाई आत्मसात गर्दै आर्थिकसँगै सामाजिक गतिविधिमा भक्तपुर बचत लागेकोमा खुसी व्यक्त गर्नुभयो । भक्तपुर बचतले खोलेको आदर निकेतनसँगै अब शिशु स्याहार र बालउद्यानहरूको बन्दोबस्त गर्नुपर्ने उहाँको कथन छ । उहाँले भक्तपुरमा एक वडा एक शिशुस्याहार र आदर निकेतन बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिका ९ वडाका अध्यक्ष रवीन्द्र ज्याख्वले ब्याजको लोभमा लागेर बचत गर्दा जनताले दुःख पाएको बताउँदै सामाजिक रूपमा लागेका सहकारीलाई मात्र विश्वास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भक्तपुर नगरपालिकाका प्रतिनिधिहरू तिब्बतको शाननान सहरमा अवलोकनमा जाँदाको अनुभव सुनाउँदै त्यहाँको सहकारीजस्तै हामी पनि लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजको आर्थिक स्तर उकास्न भक्तपुर बचत लागिरहेको बताउँदै उहाँले तिब्बतमा जस्तै नेपालमा गर्न सके धेरै कुरामा विकास गर्नसक्ने स्पष्ट पार्नुभयो ।
भक्तपुर बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाले न्यून आय भएका जनताका लागि सहकारी खोल्ने ऐन, कानुनमा रहे पनि पुँजीपतिवर्गले आफ्नो व्यक्तिगत स्वार्थका लागि सहकारी संस्थाहरू खोलिरहेको बताउनुभयो । उहाँले त्यस्ता व्यक्तिहरूबाटै सहकारी अनियमितता, अपारदर्शिता र ठगी कार्य भइरहेको स्पष्ट पार्नुभयो ।
संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले संस्था स्थापना गर्नुको उद्देश्य र आजको सहकारी सम्बन्धमा स्पष्ट पार्दै संस्थाको दिगो विकासमा लागेका सदस्यहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
संस्थाका उपाध्यक्ष एवम् भक्तपुर आदर निकेतन व्यवस्थापनका अध्यक्ष लक्ष्मीप्रसाद कुसीले प्राधिकरणबाट सहकारीमा गरेको अनुगमनबारे स्पष्ट पार्दै प्राधिकरणका निर्देशन, मापदण्डअनुसार मात्र चल्ने हो भने सहकारी संस्था नै नहुने बताउनुभयो । उहाँले आर्थिकसँगै सामाजिक उत्तरदायित्वको रूपमा भक्तपुर आदर निकेतन खोलेकोमा यसको दिगो विकास र कार्यान्वयनका लागि सहयोगी हातहरूको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । त्यसै कार्यक्रममार्फत संस्थाका सदस्य शमशेर प्रजापति र मन्दिरा प्रजापतिले आदर निकेतनको लागि २ लाख रूपैयाँको चेक अध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।
भक्तपुर बचतको २८ औँ वार्षिक साधारणसभाबाट पारित भक्तपुर साकोस छात्रवृत्ति कार्यविधि २०८२ यस वर्ष समाज सुधार मावि र ब्रह्मायणी आधारभूत विद्यालय छनोटमा परेका छन् । त्यसअनुसार समाज सुधार माविलाई ७ लाख ३५ हजार रूपैयाँ र ब्रम्हायणी आविलाई २ लाख ४४ हजार रूपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा संस्थाका सचिव जगन्नाथ प्रजापति र सदस्य रामेश्वरी कोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *