भर्खरै :

जोहरन : प्रगतिशील राजनीतिका नयाँ मुहार

  • कार्तिक २५, २०८२
  • मोहम्मद जियाउल्लाह खान
  • विचार
जोहरन : प्रगतिशील राजनीतिका नयाँ मुहार

न्युयोर्क सहरको मेयरको चुनावी दौड जितेर जोहरन ममदानीले इतिहास रचे । दौडमा उनले पूर्व गभर्नर एन्ड्रयू क्वमो र रिपब्लिकन पार्टीका उम्मेदवार कर्टिस स्लिवालाई पछारे । उमेरले उनी जम्मा ३४ वर्षका छन् । उनी आफूलाई प्रजातान्त्रिक समाजवादी भन्छन् । अहिले उनी विश्वनगर (न्युयोर्क) का प्रथम मुसलमान मेयर बनेका छन् । साथै, दक्षिण एसियाली मूलका प्रथम मेयर बनेका छन् । अमेरिकामा एक शताब्दी यताकै सबैभन्दा कान्छा मेयर पनि उनै बनेका छन् ।
उनको निर्वाचनको विश्लेषण गरौँ । उनले महँगी र कामदार वर्गका मुद्दाहरू उठाए । यसले गर्दा सारा देशको ध्यान उनीतिर गयो । विरोधीहरूले चर्को बद्ख्वाइँ गरे । तैपनि उनी व्यापक जनसमर्थन बटुल्न सफल भए । जात–भाषा–धर्म आदिका जनसाङ्ख्यिक तगाराहरू छिचोले ।
तैपनि भारतीय मतदाताका लागि उनको जितले गहिरोसँग छोयो । पहिचान, विचारधारा र पुस्ता परिवर्तन एकैबाजि उनमा मुर्तियो । उनको विजयले अमेरिका र भारतको राजनीतिमा स्थापित भाष्यलाई चुनौती दियो । ममदानी र भारतमा उनको विजयको महत्वबारे छोटो चर्चा गरौँ ।
आधुनिक मुसलमान पहिचान बोकेका ममदानी
भारतीय मिडियाले उनको विजयबारे यसरी लेखे – ‘एक बेलाका ¥याप गायक र अहिले न्युयोर्कका प्रथम मेयर’ । यो भाषा हेर्दा भारतीय मिडियाको साँघुरो र घृणामिश्रित विचार झल्किहाल्छ । एक मुसलमानले एक विश्वनगरमा ठुलै काम गरेको भारतीय मिडियालाई चित्त नबुझे जस्तो छ । ममदानीको मुसलमान पहिचान प्रगतिशील छ । यो नौलो पहिचानले भारत र अमेरिकाका दक्षिणपन्थीहरूले प्रचार गर्ने मुसलमानसम्बन्धी थोत्रो मानकलाई भत्काएको छ । ममदानीले मुसलमान जीवनशैलीको पालन गर्छन् । उनी आफ्नो आस्थाबारे खुलेर बोल्छन् । तर, उनी धर्मनिरपेक्ष प्रजातान्त्रिक समाजवादको पैरवी गर्छन् । उनी महिलावादको उद्देश्य र महिला हकअधिकारको पक्ष लिन्छन् । यसले उनलाई रुढीवादी वा चरमपन्थी मुसलमान पहिचानभन्दा एकदम भिन्न उचाइमा उभ्याएको छ ।
मस्जिदबाहिर सेप्टेम्बर ११ पछि मुसलमानहरूले भोगेको अपमानलाई सम्झिँदै उनी भावुक भाषण गर्छन् । भाषणमा उनी धार्मिक चारमपन्थभन्दा पनि करुणा र नागरिक चेतलाई महत्व दिन्छन् ।
ममदानी संस्कृति र समुदायबिच पुल बाँध्छन् । उर्दू र स्पेनीलगायत विभिन्न भाषामा चुनाव प्रचार गर्छन् । यति गर्दा पनि उनले आफ्नो मुसलमान पहिचानलाई लुकाउँदैनन् । बरु निर्धक्क आफ्नो पहिचान कायम राख्छन् । अर्कोतर्फ मुसलमान पहिचान आधुनिकतासँग ठ्याम्मै मेल खान्न भन्ने चित्रणमा विमति राख्छन् । उनी त्यसलाई चुनौती दिने प्रतिरोधी भाष्य अघि सार्छन् । राजनीतिको विसङ्गतिपूर्ण चस्माविरुद्ध उनी बोल्छन् । जस्तो, देशमा मुसलमानहरूलाई घृणा गर्ने भारतका वर्तमान शासकहरूले तालिबान नेताहरूसँग कूटनीतिक सम्बन्ध राखेकोमा उनी व्यङ्ग्य गर्छन् ।
सीमापारिको शिक्षा
ममदानीको पारिवारिक पृष्ठभूमि सप्तरङ्गी छ । त्यसले विभिन्न संस्कृति र महादेशहरूलाई छिचोल्छ । युगान्डाको काम्पालामा जन्मेका उनी प्रसिद्ध फिल्मकार मिरा नायरका छोरा हुन् । उनका बुबा चर्चित विद्वान् महमूद ममदानी हुन् । यसरी उनमा भारतीय, अफ्रिकी र अमेरिकी संस्कृतिको मेल छ । उनको परिवार सन् १९७२ मा दमनचक्रमा परेर अमेरिका सरेको थियो । त्यो वर्ष युगान्डाका नेता इदी अमिनले एसियालीहरूलाई देश निकाला गर्ने अभियान चलाएका थिए । यो अनुभवले ममदानीलाई उपनिवेशवाद, निर्वासन र अल्पसङ्ख्यकको अनुभूतिसँग नजिक लग्यो ।
यो पृष्ठभूमिमा उनको राजनीति बुझ्न सकिन्छ । उनको राजनीतिको जरा समानुभूति, साम्राज्यवादको विरोध र समावेशितामा गढेको छ । यहाँनिर भारतीय जनताले बुझ्नुपर्छ – उनको विश्वनागरी पहिचान जातीय राष्ट्रवादको खण्डन पनि हो । उनका बुबाले ‘राजनीतिको जातिकरण’ को आलोचना लेखे । त्यो आलोचना छोराको राजनीतिमा नवीन किरणको रूपमा घुस्यो । भारतमा होस् वा युगान्डामा अहिले जनता भाँड्ने लोकरिझ्याइँको बिगबिगी छ । बाबुको ज्ञानबाट दीक्षित ममदानीले त्यसखाले लोकरिझ्याइँलाई अस्वीकार गरे ।
हिन्दुत्वको आलोचना र बहुलवादको प्रतिरक्षा
ममदानीले नरेन्द्र मोदी र हिन्दुत्वको राजनीतिको सीधा र निर्मम खण्डन गर्दै आएका छन् । उनले मोदीलाई युद्ध अपराधी भने र भारतीय जनता पार्टीले भारतलाई ‘एकै किसिमका भारतीयहरू बस्ने कोठामा’ परिणत गरेको आरोप लगाए । दिपावलीको बेला भारतीय मूलका मतदातासँग भोट माग्दा ममदानीले आफू सानो छँदाको बहुलवादी भारतको सम्झना गरे । त्यो बेला कसैलाई अपनाउन धर्मलाई आधार बनाइँदैनथ्यो भने ।
ममदानीका टिप्पणीहरूमा उनको व्यक्तिगत अठोट मात्र प्रतिविम्बित हुँदैन । बरु उनका बुबाको बौद्धिक विरासत पनि गुञ्जायमान हुन्छ । राजनीतिका कुलिन खेलाडीहरूले सत्ता जमाउनका लागि कसरी पहिचानको दुरूपयोग गर्छन् भन्ने चेतना ममदानीलाई उनका बुबाले नै दिएको देखिन्छ । यता भारतमा मोदीको फौजले ममदानीलाई मजाक बनाउन कुनै कसर बाँकी राखेनन् । भारतीय मिडियाले ममदानीको पृष्ठभूमिलाई बेवास्ता गरिरहे । यहाँ भारतीय जनताले सिक्नुपर्ने एउटा पाठ छ । ममदानीले आफ्नो मुसलमान पहिचानलाई अङ्गाल्दै निडर भएर धर्मनिरपेक्ष बहुलवादको बचाउ गरे । यसमा उनी सफल पनि भए । यसले नेतृत्वको नयाँ मोडल नै स्थापित गरेको छ । यसले धर्ममिलान र अलगाव दुवैलाई अस्वीकार गरेको छ ।
युवा र पुस्ता परिवर्तन
३४ वर्षको उमेरमा ममदानी न्युयोर्कको इतिहासमा सन् १९१३ पछिका सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी ‘ठिटा मेयर’ भनिने न्युयोर्कका जोन मिशेलभन्दा पनि कान्छा छन् । उनले युवा मतदाताहरूको मनलाई ताने । पचास वर्षमुनिका मतदातामध्ये दुईतिहाइ मतदाताले उनलाई चुने । यसबाट पनि ऋण, किन्नै नसकिने आवास र अवरुद्ध राजनीतिले गर्दा निराश र हतास पुस्ताले ममदानीलाई रोजे ।
धेरैले नचिनेका एक सभासदबाट एकाएक ठुलो विजय हात पारे ममदानीले । उनको यो यात्राले भुइँतहको जनपरिचालन र पुस्ता परिवर्तनको शक्ति कति छ भन्ने कुरा देखाइदियो । भारतमा राजनीतिक वर्चस्व झन्डै अटल जस्तो देखिन्छ । भारतीयहरूले सिक्नुपर्ने अर्को पाठ यहाँनिर छ । ममदानीको जितले साबित गरेको छ – युवाले आन्दोलनको नेतृत्व लियो भने गहिरो जरा गाढेर बसेको व्यवस्थालाई पनि चुनौती दिन सकिन्छ ।
गाजाबारे नैतिक स्पष्टता
गाजाको मामिलामा ममदानीले लिएको अडानले उनलाई वर्तमान सत्ता र सत्ताधारीहरूभन्दा फरक बनायो । उनले अक्टोबर ७ को हमासको आक्रमणलाई युद्ध अपराध भनी निन्दा गरे । तर, सँगै उनले गाजामा इजरायली हमलालाई जातिसंहार भन्न पनि कहिल्यै छोडेनन् । न्युयोर्क सहरको मेयर बनेका खण्डमा नेतन्याहुलाई पक्राउ गर्ने उनले घोषणा नै गरे ।
ममदानी निजी र सार्वजनिक जीवन दुवैतिर आफ्नो बोली–वचनमा अडिग देखिन्छन् । यसको लागि उनले मूल्य पनि चुकाए । उनले कतिपय बुढा–पुराना यहुदी मतदाताको समर्थन गुमाए । तर, उनले युवा उमेरका प्रगतिशील यहुदीहरूको सम्मान आर्जन पनि गरे । उनको अडानमा युवाहरूले नैतिक साहस र विश्वसनीयता देखे । राजनीतिक स्वार्थसिद्धीका लागि सिद्धान्तमा सम्झौता गर्न उनले अस्वीकार गरे । यो चरित्र राजनीतिक दुईजिब्रेपनमा सिद्धहस्त भारतका मोदीलगायत नेताको भन्दा ठिक विपरीत छ ।
अन्तिम विचार
ममदानीको विजय न्युयोर्कभन्दा टाढा धेरै टाढासम्म गुञ्जायमान भएको छ । डेमोक्र्याट पार्टीका लागि यो भुइँतहको, डिजिटल र युवा सञ्चालित चुनावी प्रचार अभियानको नयाँ मोडल हो । रिपब्लिकन पार्टीका लागि यो युवा मतदाताबिच समाजवादी अर्थनीतितर्फको बढ्दो आकर्षण हो, एउटा चेतावनी हो । तर, भारतबाट हेर्ने हो भने यसको शिक्षा गहिरो छ । विश्वासिलो प्रगतिशीलता, नैतिक स्पष्टता र आर्थिक न्यायको बलमा विश्व पुँजीवादको मुटुमै बसेर पनि विजयको ढ्याङ्ग्रो ठोक्न सकिन्छ भन्ने प्रमाण हो ममदानीको सफलता । एक मुसलमान, दक्षिण एसियाली र प्रजातान्त्रिक समाजवादीले आफ्नो पहिचान नफेरी त्यसलाई प्रगतिको समावेशी भिजनमा समेटेर उच्चतम जनप्रतिनिधि बन्न सक्छ – ममदानीको कथाले यही भन्छ । उनको कार्यकालको मूल्याङ्कन उनले दिने सुशासन हेरेर गरिनेछ । तर, उनको निर्वाचन वा छनोट मात्रले पनि न्युयोर्कदेखि नयाँ दिल्लीसम्म लोकतन्त्रभित्र के–के गर्न सम्भव छ भन्ने कुरालाई पुनः परिभाषित गरेको छ ।
(लेखक मोहम्मद जियाउल्लाह खान नागपुरमा बस्नुहुन्छ । लेखक तथा सम्पादक हुन् । उनी सामाजिक अभियन्ता र अधिकारकर्मी हुन् । उनी ‘ट्रयुथस्केप’ नामक समूहका सहसंस्थापक हुन् । यो संस्थाले सामाजिक सञ्जालमा आउने झूटा सूचनाविरुद्ध डिजिटल अभियान चलाउँछ ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *