समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२

सोमबार भएको भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिकोत्सव समारोहमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको मन्तव्य :
देशभरिकै क्यान्सर पीडित जनताको आशा र भरोसाको केन्द्र बन्न सफल यस भक्तपुर क्यान्सर अस्पताल ३० वर्ष पूरा गरी ३१ औँ वर्षमा प्रवेश गरेको सुखद् अवसरमा यहाँ कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासन र व्यवस्थापनमा योगदान गर्नुहुने सम्पूर्णमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक शुभकामना, बधाई र कृतज्ञता ज्ञापन गर्दछु ।
नेपाली समाजमा अझै पनि क्यान्सर रोग भन्नासाथ तर्सिने र रोग लुकाउने गरिन्छ । सबै उमेर समूहका मानिसहरूलाई प्रायः सबै अङ्गहरूमा यो रोग देखापरेको छ । रोगले धनी, गरिब भन्दैन । पहिलाको तुलनामा धेरैजनामा यो रोग देखिन थालेको छ । यस्तो कडा रोगको उपचार नेपालमै सम्भव छ र सुरुमा नै पहिचान भई उपचार भएमा निको हुन्छ भन्ने सकारात्मक सन्देश भक्तपुर क्यान्सर अस्पतालले दिइरहेकोमा हामी सबै खुसी छौँ ।
आजभन्दा ३० वर्षअगाडि क्यान्सर रोगको उपचारमा क्रियाशील अग्रज चिकित्सक, भक्तपुरका राजनैतिक अगुवा र जनप्रतिनिधिहरूको पहलमा भक्तपुर क्यान्सर प्रोजेक्टको रूपमा सञ्चालन भएको यो अस्पताल अहिले क्यान्सर रोगको उपचार गर्ने नेपालकै उत्कृष्ट गन्तव्यस्थलको रूपमा स्थापित हुनुमा यहाँ कार्यरत सम्पूर्ण जनशक्तिको अमूल्य योगदान रहेको स्मरण गर्न चाहन्छु ।
भक्तपुर अस्पताल परिसरको पुरानो भवनबाट सुरु भएको यस अस्पतालले थुप्रै चुनौतीहरूको सामना गर्दै र अनेकौँ आरोह–अवरोह पार गर्दै यहाँसम्मको यात्रा तय गरेको हामी सबैमा अवगत छ । भक्तपुर नगरपालिका स्थापनाकालदेखि नै यस अस्पतालसँग जोडिएको छ । बिरामीलाई उपचार सेवा दिने पवित्र उद्देश्य बोकेको यस अस्पताललाई नगरपालिकाले २०५८ सालमा ५ रोपनी ४ आना जग्गा उपलब्ध गराउनुका साथै भवन निर्माणको लागि आर्थिक सहयोग गरेको थियो । अस्पतालको पूर्वाधार विकासमा थुप्रै मनकारी व्यक्ति, सङ्घसंस्था र सरकारले पनि सहयोग गरेका छन् । सबै सहयोगीहरूलाई भक्तपुरवासी जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
यसका बिचमा पनि इतिहासको तीतो यथार्थ यहाँ उल्लेख गर्नैपर्छ । २०५८ सालमा निर्वाचित प्रतिनिधिसभा भङ्ग भएपछि र २०५९ सालबाट स्थानीय निकायमा जनप्रतिनिधिविहीन भएपछि एउटा गैरसरकारी संस्थाले यस अस्पतालको सञ्चालन, व्यवस्थापनमात्र नभई सम्पूर्ण स्वामित्व गैरकानुनी ढङ्गबाट आफूमा निहित ग¥यो । त्यस यताको करिब डेढ दशकको अवधिमा त्यस संस्थाका पदाधिकारीहरूले अस्पतालको नाममा भ्रष्टाचार र आर्थिक अनियमितता गरेको, कर्मचारीहरूको श्रम शोषण गरेको र अस्पताल परिसरभित्रै मेडिकल नाफाखोरहरूको चलखेल बढेको प्रमाणहरू बाहिर आएपछि स्वयम् कर्मचारीहरू र स्थानीय जनताबाट चर्को विरोध भयो । अस्पतालको नियमित उपचार सेवामा प्रत्यक्ष प्रभाव पर्दासमेत एनजीओका पदाधिकारीहरू गैरजिम्मेवार हुँदा २०७४ साउन ३० गते भक्तपुर नगरपालिकाले अस्पतालमा कार्यरत कर्मचारीहरूको भावनाबमोजिम अभिभावकीय भूमिका निर्वाह गरी अस्पतालको उपचार सेवालाई सुचारु गरेको स्मरण गराउन चाहन्छु । तर, सर्प मरे पनि पुच्छर हल्लिरहन्छ भनेझैँ अस्पतालका स्वाथ्यकर्मी र कर्मचारीहरूलाई दुःख दिने काम रोकिएको थिएन । ओपीडी र अप्रेसन थियटरमा बिरामीको उपचारमा अहोरात्र खटिनुपर्ने डाक्टरहरू र बिरामीको सेवार्थ दैनिक प्रशासनिक कार्यमा व्यस्त हुनुपर्ने कर्मचारीहरू अस्पतालको नियमित ड्युटी छोडेर वर्षाैँसम्म सर्वोच्च अदालतमा धाउनुप¥यो । भक्तपुर नगरपालिका र पदाधिकारीहरू पनि मुद्दामा तानिए । लामो समयसम्मको कानुनी सङ्घर्ष सँगसँगै यहाँका जनप्रतिनिधिहरू, नगरपालिका र अस्पताल परिवारले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवाला निकायहरूमा निरन्तर पहल गरेपछि २०७७ कार्तिक २४ गते यस अस्पताल सरकारी स्वामित्वमा जान सफल भएको हो ।
अस्पतालको इतिहास खोतल्नुको कारण यही हो कि आज अर्थात् कार्तिक २४ गते नेपाल सरकारले भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७७ जारी गरेर यस अस्पताललाई पूर्णतः सरकारी अस्पतालमा परिणत गरेको दिन हो । आर्थिकरूपमा विपन्न जनताले पनि सरकारी अस्पतालबाट क्यान्सर रोगको उपचार पाउने आशा जागेको दिन हो आजको दिन । यो चानचुने उपलब्धि होइन । यसका लागि निरन्तर प्रयत्नशील तपाईँहरू सबैमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
निश्चय पनि भक्तपुर क्यान्सर अस्पताल सरकारी भएपछि उपचारको दायरा बढेको छ, आधुनिक उपकरणहरू थपिएका छन् र भौतिक पूर्वाधारमा पनि प्रगति भइरहेको छ । तथापि अझै थुपै्र चुनौतीहरू बाँकी छन् । अस्पतालमा लामो समयदेखि कार्यरत कर्मचारीहरूको स्थायित्व र सेवा सुविधाको सुनिश्चितता भइसकेको छैन । नेपाल सरकारबाट कर्मचारी नियमावली अझै बनाइसकेको छैन । गरिब जनताको लागि अझै उपचार सेवा महँगो छ । अस्पतालको स्तरीकरणका लागि भवन र जग्गाको पर्याप्तता छैन । यी सबै चुनौतीहरू एक–एक गर्दै आगामी दिनमा सफलतापूर्वक समाधान हुँदै जानेमा भक्तपुर नगरपालिका विश्वस्त छ ।
समयक्रमसँगै यस भक्तपुर क्यान्सर अस्पताल फेरि पनि निजी स्वार्थ समूहको चङ्गुलमा त पर्ने होइन भन्ने शङ्का गर्ने ठाउँ देखापरेको सुन्नमा आएको छ । यस अस्पताललाई सरकारी बनाउन ठुलै सङ्घर्ष गर्नुपरेको हामीमध्ये कसैले पनि बिर्सेका छैनौँ । त्यसैले आगामी दिनमा अस्पतालको प्रगतिमा बाधा पु¥याउने कुनै पनि गतिविधि नगर्न, नगराउन सबैजना सचेत र सजग हुन हामीलाई आजको ऐतिहासिक दिनले झक्झकाइरहेको छ भन्ने लाग्छ ।
अन्त्यमा, यस अस्पताललाई क्यान्सर रोगको उपचार केन्द्रको रूपमा मात्रै सीमित नराखी क्यान्सर रोगको अध्ययन अनुसन्धान गर्ने केन्द्रको रूपमा विकास गरी रोग लाग्ने कारणहरूको बारेमा गहन अध्ययनसँगै यसको निवारणमा समेत योगदान गर्न सकोस् भनी यहाँहरू सबैलाई शुभकामना व्यक्त गर्दछु । धन्यवाद !
Leave a Reply