समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२

जनताबिच मुख्य प्रभाव बोल्शेभिकहरूकै थियो । मजदुरहरूको निर्वाचन मण्डलले अघिल्ला संसद्मा भन्दा यसपालि बढी सांसद निर्वाचित गरेको तथ्यले पनि यही कुरा साबित गथ्र्यो । दोस्रो संसद्मा मजदुर क्षेत्रबाट १२ मेन्शेभिक र ११ बोल्शेभिकहरू निर्वाचित भएका थिए । तेस्रो संसद्मा मेन्शेभिक र बोल्शेभिक सांसद बराबरीमा थिए । चौथो संसद्मा मजदुर क्षेत्रबाट ६ सांसद मात्र निर्वाचित भए । तर, ती सबै बोल्शेभिक थिए । दोस्रो संसद्को निर्वाचन हुँदा रुसी सामाजिक जनवादी मजदुर पार्टीको लन्डन महाधिवेशन चलिरहेको थियो । त्यो बेला बहुमत पार्टी सदस्य बोल्शेभिक थिए । चौथो संसद्को बेला कम्तीमा पनि तीन चौथाइ क्रान्तिकारी मजदुरहरूको समर्थन बोल्शेभिकहरूलाई आयो ।
सामाजिक जनवादी समूहको बनोट पार्टीको बनोटसँग मिलेन । यो संयोग मात्र थिएन । संसद्वादी मजदुर पार्टीहरूको अवसरवादी चरित्र संसारका सबै पुँजीवादी देशमा हेर्न पाइन्छ । एक त यस्तो किन पनि हुन्छ भने पुँजीवादी शासनमा सबैभन्दा प्रगतिशील, क्रान्तिकारी मजदुरहरूको मताधिकारलाई सीमित पार्ने गरी निर्वाचन प्रणालीलाई मोडिन्छ । दोस्रो, पुँजीवादी शासनमा समाजवादी पार्टीहरूको गैर–सर्वहारा तप्काले संसदीय गतिविधिमा बडो रुचि देखाउँछ । यो तप्कामा निम्न पुँजीपति, सरकारी जागिरे र बुद्धिजीवीहरू पर्छन् ।
सामाजिक जनवादी समूहको बोल्शेभिक खेमामा मजदुरहरू मात्र थिए । उनीहरू सिधै कलकारखाना र ज्यासलहरूबाट निर्वाचित भएर संसद्मा आएका थिए । यस्तोमा सात मेन्शेभिक सांसदमध्ये तीनजना बुद्धिजीवी थिए । चखेइद्जे पत्रकार थिए, स्कोबेलेभ इन्जिनियर थिए र चखेनकेली वकिल थिए । यी तीनजना ककेसस क्षेत्रबाट निर्वाचित भएका थिए । अघिल्ला संसद्हरूमा पनि त्यहाँबाट मेन्शेभिक सांसद निर्वाचित हुन्थे । ककेसस क्षेत्रमा मेन्शेभिकहरूले निरन्तर निर्वाचित हुनुको खास कारण जारशाही सरकारको नीति थियो । जारशाही सरकार त्यहाँका रैथाने जनतालाई रुसीकरण गर्न चाहन्थ्यो । जवाफमा ती जनता मेन्शेभिकहरूलाई जिताउँथे । यसबाट पनि मेन्शेभिकहरू निम्न पुँजीवादी मतमा निर्भर थिए भन्ने पुष्टि हुन्छ । मेन्शेभिकका चार मजदुर सांसद पनि सीमान्त प्रान्तहरूबाट निर्वाचित भएका थिए । बुर्यानोभ तुराइद गुबेर्निया (क्रिमिया) बाट, तुल्याकोभ दोन क्षेत्रबाट, खाउस्तोभ उफा गुबेर्नियाबाट, मानकोभ इर्कुत्स्क गुबेर्नियाबाट निर्वाचित भएका थिए । ती क्षेत्रका मतदातालाई राजनीतिकरूपमा उति चासो थिएन । उनीहरू त जारशाही सरकारको साम्राज्यवादी नीतिविरुद्ध राष्ट्रवादी आन्दोलनबाट प्रभावित थिए । मजदुर मेन्शेभिकहरू निर्वाचित हुनुमा तिनको यही भावनाले काम गरेको थियो ।
मान्कोभको छनोट खासमा मजदुर मतदाताहरूको चाहनाविपरीत भएको थियो । इर्कुत्स्क प्रान्तको निर्वाचनमण्डलमा २० मध्ये जम्मा १२ निर्वाचकले भाग लिएका थिए । बाँकी ८ निर्वाचकलाई ‘अयोग्य’ करार गरियो र तिनको ठाउँमा नयाँ निर्वाचक छनोट गर्न पुनः निर्वाचन गरिएन । यो चुनावी छलछामले इर्कुत्स्कका मजदुरहरूलाई आफ्नो उम्मेदवार चुन्नबाट रोक्यो । कसैले नचिताउने गरी मान्कोभ विजयी भए । यद्यपि, उनको मेन्शेभिक विचारलाई मजदुरहरूले अस्वीकार गरिसकेका थिए । मान्कोभको विजयले मजदुरहरू खुसी थिएनन् । यसकारण, मान्कोभ सेन्ट पिटर्सबर्ग आउनासाथ सामाजिक जनवादी समूहले इर्कुत्स्कका मजदुरहरूको विरोधपत्र पनि पायो । मान्कोभलाई राजीनामा दिन लगाउनुपर्ने र इर्कुत्स्कको निर्वाचन रद्द गर्नुपर्ने माग थियो । मान्कोभविरुद्ध ‘बयानहरू’ आइसकेको हुनाले उनलाई सामाजिक जनवादी समूहमा लिने कि नलिने भनेर सुरुमा मेन्शेभिकहरू पनि अलमलिए ।
मेन्शेभिकहरूलाई समर्थन गर्न जाने वार्सा सहरका सांसद जागेल्लोको निर्वाचन अझ पेचिलो थियो । जागेल्लो पोलिस समाजवादी पार्टीका सदस्य थिए । त्यो पार्टीमा निम्न पुँजीवादी र राष्ट्रवादी विचारले जरा गाडेको थियो । सामाजिक जनवादीहरूविरुद्ध बुन्द पार्टीले त्यो पार्टीसँग चुनावी गठबन्धन बनायो । (टिपोट : यहुदी सामाजिक जनवादी लीगलाई नै छोटकरीमा ‘बुन्द’ भनिन्थ्यो । यो एउटा अवसरवादी दल थियो । यसले मेन्शेभिक र ‘अर्थवादी’ हरूको पक्ष लिन्थ्यो । सन् १८९८ मा बनेको यो दल सन् १९०६ को चौथो (एकता) महाधिवेशनपछि केही समयलाई रुसी सामाजिक जनवादी पार्टीमा सम्मिलित भएको थियो ।) यो गठबन्धनबाटै बुन्द पृथकतावादी सङ्गठन थियो भन्ने पुष्टि हुन्छ । यसले
(सामाजिक जनवादी) पार्टीको निर्देशन र निर्णय मिचेको थियो । किनभने, पार्टीले कडा शब्दमा पोलिस समाजवादी पार्टीसँग मिल्न मनाही गरेको थियो । सामाजिक जनवादीहरूले निर्वाचनमा बहुमत ल्याएका थिए । तीन मजदुर निर्वाचकमध्ये दुई जना ब्रोनोभ्स्की र जालेभ्स्की सामाजिक जनवादी थिए । जागेल्लो भने गठबन्धनका उम्मेदवार थिए । त्यसैले उनलाई अल्पसङ्ख्यक मजदुरको मात्र उम्मेदवार भन्न मिल्थ्यो । यहुदी पुँजीपतिहरूले आफ्नो उम्मेदवार उठाउने आँट गरेनन् । बरु, तिनीहरूले पोलिस राष्ट्रवादी र यहुदीविरोधी व्यक्ति निर्वाचित नहोस् भनेर अल्पसङ्ख्यक मजदुरका प्रतिनिधि जागेल्लोलाई मतदान गरे । यसरी उनलाई एउटा गठबन्धन गुटले मत दिएको थियो । यो गुटमा पोलिस समाजवादी पार्टी, बुन्द र यहुदी पुँजीपतिहरू थिए । वार्सा सहरका बहुमत मजदुरहरू पोलिस सामाजिक जनवादी पार्टीलाई समर्थन गर्थे । तर, गठबन्धन बनाएर उनीहरूले बहुमत मजदुरहरूविरुद्ध जागेल्लोलाई जिताए ।
जागेल्लोले सामाजिक जनवादी समूहका सम्पूर्ण निर्णय स्वीकार्ने घोषणा गरे । तैपनि उनलाई समूहमा लिनुहुन्न भनेर हामीले कडा विरोध जनायौँ । बोल्शेभिकहरू बुन्द पार्टीले लिएको पृथकतावादी विचारलाई अनुमोदन गर्न चाहँदैनथे । बढीमा हामी उनलाई लिथुआनियाली सामाजिक जनवादीको हैसियतमा सम्बन्धनप्रदत्त व्यक्तिको रूपमा मात्र समूहमा स्वीकार्न चाहन्थ्यौँ । लिथुआनियाली सामाजिक जनवादीहरू त्यो बेला रुसी सामाजिक जनवादी मजदुर पार्टीका सदस्य थिएनन् । तर, उनीहरूलाई दोस्रो संसद्मा स्वीकार गरिएको थियो ।
मेन्शेभिकहरूले जागेल्लोलाई मित्रको रूपमा स्वागत गरे । उनलाई बोल्शेभिक खेमाविरुद्ध सङ्घर्षमा अतिरिक्त मतको रूपमा हेरे । तिनीहरू उनलाई अन्य सांसदलाई जत्तिकै अधिकार दिएर सामाजिक जनवादी समूहको सदस्य बनाउन चाहन्थे । हामीले पार्टी निर्णयको ठाडो उल्लङ्घनविरुद्ध प्रतिकार ग¥यौँ । लामो र दृढ सङ्घर्षपछि हामीले मेन्शेभिकहरूलाई बाटो छोड्न बाध्य पा¥यौँ । दुई खेमाले लडेका सुरुका लडाइँमध्ये एउटा त्यही मुद्दालाई लिएर भएको थियो । जागेल्लोलाई सीमित अधिकारसहित सामाजिक जनवादी खेमाको सदस्य बनाइयो । संसद्को गतिविधिको सवालमा उनले मतदान गर्न र राय दिन पाउने भए । तर, पार्टीको आन्तरिक जीवनको सवालमा उनले मत हाल्न नपाउने भए । यो निर्णयबारे नेता स्तालिनले ‘प्राभ्दा’ मा लेख लेख्नुभयो :
“सामाजिक जनवादी समूहको निर्णय सम्झौताको प्रकृतिमा केही खोज्ने प्रयास हो । समूहले शान्ति कायम गर्ने बाटो पहिल्यायो वा पहिल्याएन, हेर्न बाँकी छ । जे होस् बुन्दले आफ्नो पृथकतावादी विचारलाई गरेको भगीरथ प्रयास विफल भयो, उसको विचार अनुमोदन भएन ।”
पछि घटनाक्रमले बोल्शेभिक र मेन्शेभिकहरूबिच सम्झौताको सम्भावनालाई लिएर स्तालिनले राख्नुभएको आशङ्कालाई सही ठह¥यायो । मजदुरहरूका बोल्शेभिक सांसदहरू आफूलाई सदनमा पठाउने मजदुरहरूको आकाङ्क्षा पूरा गर्न प्रतिबद्ध थिए । उनीहरूले मेन्शेभिक विध्वंसकारीहरूविरुद्ध निरन्तर सङ्घर्ष चलाए ।
हाम्रा सबै ६ जना बोल्शेभिकहरू मजदुर थिए । हामी सबै मजदुरवर्गको मुटुबाट संसद्मा आएका थियौँ । हामीमध्ये प्रत्येक सांसदले बच्चैदेखि पुँजीवादी शासनका सबै ‘आकर्षण’ व्यक्तिगत रूपमै भोगेका थियौँ । हाम्रो नजरमा जारशाही सरकारको थिचोमिचो तथा पुँजीपति वर्ग र उसका जल्लादहरूले मजदुरवर्गमाथि गर्ने निर्मम शोषण कुनै अमूर्त सिद्धान्त थिएन । हामी आफैले त्यो शोषण र थिचोमिचो भोगेका थियौँ ।
ठुलठुला बाधाअड्चन व्यहोरेपछि, धेरै क्षति र क्रूर पराजय भोगेपछि मजदुरवर्गले संसद्मा आफ्ना प्रतिनिधिहरू पठाउने अधिकार पाएको थियो । हामीले शत्रुको दा¥हानङ्ग्राअघि विद्यमान शासन सत्ताविरुद्ध सङ्घर्ष ग¥यौँ । रुसी मजदुरहरूले दिएको ठुलो बलिदानीपछि हामीले तिनको बलिदानीलाई न्याय गर्नैपथ्र्यो । हाम्रो काँधमा महान् र जिम्मेवारीपूर्ण अभिभारा छ भन्ने भावनाले मात्र पनि हाम्रो क्रान्तिकारी उत्साह बढेर आउँथ्यो । सर्वहारावर्गका खुला र भित्री शत्रुहरूविरुद्ध लड्दा त्यो भावनाले मजदुर सांसदहरूको मनोबल बढाउँथ्यो । यस्ता भित्री शत्रुले हाम्रो क्रान्तिकारी आन्दोलनको खुट्टा तान्ने प्रयास गर्थे ।
चार धातु मजदुर र दुई टेक्सटाइल मजदुरले चौथो संसद्मा जाने ‘६ जना’ को बोल्शेभिक खेमा बनेको थियो । पेत्रोभ्स्की, मुरानोभ, मालिनोभ्स्की र म धातु मजदुर थियौँ । शागोभ र सामोइलोभ टेक्सटाइल मजदुर थिए । बोल्शेभिक सांसदहरू रुसकै सबैभन्दा ठुला औद्योगिक क्षेत्रबाट निर्वाचित भएका थिए । जिआई पेत्रोभ्स्की एकातेरिनोस्लाभ गुबेर्नियाका सांसद थिए । एमके मुरानोभ खार्कोभ गुबेर्नियाका सांसद थिए । एनआर शागोभ कोस्त्रोमा गुबेर्नियाका सांसद थिए । एफएन सामोइलोभ भ्लादिमिर गुबेर्नियाका सांसद थिए । आरभी मालिनोभ्स्की मस्को गुबेर्नियाका सांसद थिए । म चाहिँ सेन्ट पिटर्सबर्गको थिएँ ।
वास्तवमा भन्ने हो भने मजदुर सांसदहरूले आफू निर्वाचित भएको क्षेत्रको मात्र प्रतिनिधित्व गर्दैनथे । निर्वाचित भए लगत्तै हाम्रो नाम टाढाटाढासम्म पुग्यो । त्यसपछि हामीले विभिन्न क्षेत्रका मजदुरहरूबाट अनेक चिठीपत्र, घोषणापत्र र प्रस्तावहरू प्राप्त गर्न थाल्यौँ । उनीहरू हामीले तिनका हितको प्रतिनिधित्व गर्न सक्छौँ भनी विश्वास गरेर यी सामग्री पठाउँथे । सन् १९१२ नोभेम्बरको सुरुतिर मैले पाएको एउटा पत्र यहाँ उदाहरणको रूपमा पेस गर्छु :
“प्रिय कामरेड,
हामीले अखबारबाट कुस्र्क गुबेर्नियाको दुःखद निर्वाचन परिणाम थाहा पायौँ । जून ३ गतेको निर्वाचन ऐनअनुसार मार्कोभिस्तहरूले जितेछन् । उनीहरू मजदुरहरूका सबैभन्दा दुष्ट शत्रु हुन् । यहाँका सर्वहाराहरूका महत्वपूर्ण हितको रक्षा गर्ने कोही नहुने भयो । तपाईँलाई सेन्ट पिटर्सबर्गका मजदुरहरूले निर्वाचित गरेका छन् । तसर्थ, हामी कुस्र्कका प्रतिनिधिहरू तपाईँ र चौथो संसद्को सामाजिक जनवादी समूहका अन्य सदस्यलाई हाम्रो हितको रक्षा गर्ने जिम्मेवारी सुम्पिन्छौँ । साथै, हामी ती मजदुरले तपाईँलाई दिएका निर्देशनहरू पनि अनुमोदन गर्छौँ ।
भाइचारापूर्ण अभिवादनसहित,
कुस्र्क गुबेर्नियाका प्रतिनिधिहरू ।”
द्विन्स्कका मजदुरहरूले यस्तो लेखे :
“भितेब्स्क गुबेर्नियाबाट कालासयहरू मात्र निर्वाचित भए । जून ३ को निर्वाचन ऐनले ठड्याएको तगारोले गर्दा मजदुरवर्गको एकजना प्रतिनिधि पनि तुराइद दरबार (संसद् भवन) पस्न सकेन । हामी द्विन्स्कका प्रगतिशील मजदुरहरू सामाजिक जनवादी समूहलाई हाम्रो न्यानो भाइचारापूर्ण अभिवादन पठाउँछौँ । साथै, भितेब्स्क गुबेर्नियामा प्रजातन्त्रको रक्षा गर्ने जिम्मेवारी पनि सो समूहलाई सुम्पिन्छौँ ।”
बोल्शेभिक सांसदहरूसँग पत्राचार गरेको थाहा पाए प्रहरीले पक्रिने र जाली मुद्दामा फसाउने खतरा थियो । तैपनि, रुसका सबै कुनाकन्दराबाट मजदुरहरूले हामीलाई आफ्नो निर्देशन, अभिवादन र समर्थन गर्ने वचनहरू लेखेर पठाए ।
मजदुरहरूले सांसदहरूसँग सम्पर्कमा रहने आकाङ्क्षा व्यक्त गरे । त्यस्तै, उनीहरूले आआफ्ना सांसदहरूलाई सेन्ट पिटर्सबर्गका सर्वहारा जनतासँग घनिष्ट हुन भने । किनभने, पिटर्सबर्गका सर्वहारा क्रान्तिकारी आन्दोलनको अग्रदस्ता रहँदै आएका थिए । खार्कोभ सहरमा गाडीको पुर्जा बनाउने मजदुरहरूले त्यो सहर, त्यहाँका उद्योग र रेलवेमा काम गर्ने सामाजिक जनवादी समूहसँग मिलेर एउटा पत्र पठाए । पत्र मुरानोभलाई पठाइएको थियो । त्यसमा यस्तो निर्देशन थियो ः
“कुनै राजनीतिक सङ्कट आउँदाका घडीमा सांसदहरूले आफूलाई संसद्मा निर्वाचित गर्ने मजदुरहरूसँग सल्लाह लिनैपर्छ । साथै, उनीहरूले सेन्ट पिटर्सबर्गका सर्वहारा जनतासँग घनिष्ट सम्बन्ध राख्नुपर्छ ।”
यसै शैलीका निर्देशनहरू अन्य मजदुर सांसदहरूले पनि पाए । सेन्ट पिटर्सबर्गका मजदुरहरूको समर्थन बोल्शेभिक सांसदहरूको लागि निकै महत्वपूर्ण ठहरियो । संसद्को दबुबाट बोल्दा बोल्शेभिकहरू सरकारलाई आरोप लगाउँथे । उनीहरूले सरकारका नकामहरू उदाङ्ग्याउँथे । त्यो बेला तुराइद दरबारको पर्खालबाहिर सेन्ट पिटर्सबर्गका तमाम मजदुरले आफूलाई साथ दिनेछन् भनेर उनीहरू सधैँ निर्धक्क रहन्थे । ती मजदुरले हडताल र जुलुस प्रदर्शन गरेर धेरैपल्ट संसद्मा बोल्शेभिकहरूले राखेका विचारलाई प्रभावशाली बनाइदिएका थिए । रुसका अन्य भेगका मजदुरहरू पनि चाँडै नै यो बाटोमा आए । तर, सबैभन्दा पहिलो र चोटिलो मार जहिल्यै सेन्ट पिटर्सबर्गका मजदुरले हान्थे ।
संसद्मा हाम्रो काम सुरु भएपछि ‘प्राभ्दा’ ले त्यसलाई स्वागत ग¥यो । उसको सन्देशमा सेन्ट पिटर्सबर्गका मजदुरहरूको भावना प्रतिबिम्बित थियो :
“‘प्राभ्दा’ का सम्पादकहरू चौथो ड्युमा (संसद्) मा सामाजिक जनवादी समूहलाई स्वागत गर्छौँ । समूहले गाह्रो र जिम्मेवारीपूर्ण काम गर्नुपर्नेछ । त्यो कर्तव्यमा यो समूह सर्वहारा जनताको हित एवम् प्रजातन्त्रको रक्षामा निरन्तर दृढ भएर लाग्नेछ र सफल पनि हुनेछ भन्ने कामना गर्छौँ ।”
सेन्ट पिटर्सबर्गका मजदुरहरूको एक समूहले ‘प्राभ्दा’ मा यस्तो अभिवादन प्रकाशित ग¥यो ः
“चौथो ड्युमाका केही कुर्सीमा केही सांसद बस्छन् । अर्ध गोलो घेराको एउटा कुनामा बस्ने तिनै सांसदले जनताको साँचो प्रतिनिधित्व गर्छन् । तिनको मुटु रुसका सारा मजदुर र किसानहरूको मुटुसँगै ढुकढुक गर्छ । तिनीहरू नै मजदुरका सांसद हुन्, सामाजिक जनवादी समूहका सांसद हुन् ।”
यी सबै सन्देशले हामीलाई ढुक्क बनाए । निर्वाचनमा प्रत्यक्ष भाग लिने मजदुरहरूले मात्र हामीलाई संसद्मा पठाएका होइनन् बरु रुसका सम्पूर्ण सर्वहारा जनताले पठाएका हुन् भन्ने विश्वास भएर आयो । जनतासँगको यो बलियो र आत्मीय लगावले संसद्को काममा जटिलता र अप्ठ्याराहरू आउँदा हामीलाई असाध्यै सहयोग ग¥यो । समय बित्दै जाँदा जनतासँगको हाम्रो सम्बन्ध झन्झन् प्रगाढ हुँदै गयो ।
संसद्मा अप्ठ्यारो पर्दा मेन्शेभिकहरूले त्यसलाई सजिलै सल्टाउँथे किनभने तिनीहरूलाई यस्तो कामको अनुभव थियो । उनीहरूसँग अनुभवी सांसदहरू थिए । मेन्शेभिक नेता चखेइद्जे तेस्रो संसद्मा पाँच वर्षसम्म सामाजिक जनवादी समूहका अध्यक्ष थिए । त्यो अवधिमा उनले पर्याप्त अनुभव लिएका थिए । संसदीय प्रक्रियाका गञ्जागोल नियमहरूबाट कसरी काम लिने भन्ने उनले जानेका थिए । संसद्को दबुमा गएर बोल्ने बानी निकै महत्वपूर्ण थियो । सभापतिले दिने दबाब थेग्न र बहुसङ्ख्यक कालासयहरूमाथि हमला गरेर हराउन विशेष विधि अपनाउनुपथ्र्यो । त्यो विधिको ज्ञान पनि उत्तिकै महत्वपूर्ण थियो ।
संसद्का सबै समूहलाई सघाउनका लागि तथाकथित विज्ञहरूको बन्दोबस्त हुन्थ्यो । तिनीहरू संसद्मा निर्वाचित पार्टीहरूकै सदस्य र समर्थक हुन्थे । तिनकै मद्दतले मन्तव्य तयार पार्नका लागि आवश्यक सामग्री जम्मा गरिन्थ्यो । साथै, विधेयकका मस्यौदा, सुनियोजित प्रश्नोत्तर र मन्तव्यको भाषाबारे छलफल गरेर अनुमोदन गरिन्थ्यो । सामाजिक जनवादी समूहका लागि यस्ता विज्ञहरूको विशेष महत्व थियो किनभने हाम्रो पार्टी गैरकानुनी थियो ।
सामाजिक जनवादी समूहका सांसदहरूको काममा पार्टीका प्रचारक र पत्रकारहरूले सघाउँथे । साथै, विभिन्न पेसामा लागेका (वकिल, अर्थविद्जस्ता) पार्टी सदस्यहरूले पनि मद्दत गर्थे । यिनीहरू बोल्शेभिक र मेन्शेभिक दुवै हुन्थे । यस्तो पेसामा बोल्शेभिकभन्दा बढी मेन्शेभिक नै थिए । किनभने, बोल्शेभिकहरू जार सरकारका डरलाग्दा शत्रु थिए । त्यसैले उनीहरू गुप्त प्रहरीको निसानामा परिहाल्थे र धेरै दुःखकष्ट भोग्थे । मेन्शेभिकहरूलाई अलि बढी कानुनी सुविधा थियो । तिनका महत्वपूर्ण सदस्यहरू लामो समयदेखि सेन्ट पिटर्सबर्गमा बसोबास गर्दै आएका थिए । यसरी बस्नेहरूको जमात ठुलै थियो । उनीहरू मज्जाले साहित्यिक र सामाजिक काम गर्थे । उदाहरणको लागि मेन्शेभिक नेता डान, पोत्रेसोभ र यजोभ कानुनी रूपमै पिटर्सबर्गमा थिए ।
बोल्शेभिकहरूको हाल अर्कै थियो । कामरेड स्तालिन, स्वेर्दलोभ, कामेनेभ, ओल्मिन्स्की, मोलोतोभ, क्रेस्तिन्स्की, क्रिलेन्को, कुइरिङ, कोन्कोर्दिया सामोइलोभालगायत पार्टीका अग्रणी कार्यकर्ताहरूले संसदीय बोल्शेभिक टोलीमा आलोपालो काम गर्नुहुन्थ्यो । तर, सेन्ट पिटर्सबर्गमा उहाँहरूको बसाइँ गैरकानुनी थियो । उहाँहरू छोटो समयलाई काम गर्नुहुन्थ्यो । पक्राउ प¥यो कि उहाँहरूलाई निर्वासनमा पठाइन्थ्यो । निर्वासनबाट भागेर उहाँहरू पुनः छोटो समयका लागि काममा लाग्नुहुन्थ्यो ।
Leave a Reply