भर्खरै :

अबको निर्वाचनमा भ्रष्टाचारीलाई जिताउनु हुन्न

अबको निर्वाचनमा भ्रष्टाचारीलाई जिताउनु हुन्न

सप्तरी, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भ्रष्टाचारीहरूलाई जिताउन नदिन मतदाताहरू सचेत हुनुपर्ने बताउनुभयो ।
मधेस प्रदेश समितिको आयोजनामा आज राजविराजस्थित डुमारीमा आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिस्ट पार्टीको नाममा शासन सत्ता सञ्चालन गरेकाहरूले गरिब जनताको हितमा केही काम गर्न नसकेको बताउनुभयो ।
सामन्तवादी र पुँजीवादी समाजमा कामदारवर्गको अस्तित्व नहुने बताउँदै उहाँले शोषित पीडित जनताको समस्या समाधानको लागि समाजवादी व्यवस्था नै आवश्यक भएको बताउनुभयो ।
नेपालको राजनैतिक व्यवस्था पटक–पटक परिवर्तन भए । तर, मधेसी जनताको जीवनस्तरमा कुनै परिवर्तन नदेखिएको बताउँदै उहाँले आजभन्दा ३०।४० वर्षअघि तराईको जुन स्थिति छ, ग्रामीण क्षेत्रमा बस्ने गरिबहरूको अवस्था अहिले पनि जस्ताको तस्तै रहनु विडम्बनापूर्ण रहेको बताउनुभयो ।
‘अन्नको भण्डार’ को रूपमा परिचित तराईका उर्वरभूमि अहिले सिँचाइ, मलखाद र जनशक्तिको अभावमा उब्जाउविहीन भूमिमा रूपान्तरित हुनु विडम्बनापूर्ण रहेको बताउँदै उहाँले नेमकिपाले देशभरि समाजवादका बीउ छर्दै समाजवादी प्रचार अभियानलाई व्यापकता दिँदै आएको बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले विदेशीको पैसाबाट राजनीति गर्ने पार्टीले कहिल्यै देशको हितमा काम गर्दैन भन्दै भारतीय विस्तारवादी नीतिको विरोधमा देशभक्त जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
मधेस प्रदेश समितिका सदस्य रोशनमैंया सुवालले नेमकिपा देशमा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत देशभक्त पार्टी भएको बताउँदै महिलाहरूलाई शिक्षित र सङ्गठित बनाउन सके समाज अगाडि बढ्ने धारणा राख्नुभयो ।
नेमकिपा मधेस प्रदेश समितिका सदस्य सरोज साहले नेमकिपाले पार्टी प्रकाशनमार्फत जनतालाई पठन संस्कृतिको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पनि सुसूचित गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति मिथिलेश यादवले जनताको राजनैतिक सचेतनाले मात्र देशमा परिवर्तन सम्भव हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *