भर्खरै :

ख्वप अस्पतालबाट १ हजारभन्दा बढीले लिए सुत्केरी सेवा

ख्वप अस्पतालबाट १ हजारभन्दा बढीले लिए सुत्केरी सेवा

भक्तपुर, १ मङ्सिर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट पछिल्लो २ वर्षमा १ हजारभन्दा बढीले सुत्केरी सेवा लिएका छन् । ख्वप अस्पतालका कर्मचारी भेटघाट कार्यक्रममा अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले अस्पतालबाट नर्मल र शल्यक्रियामार्फत १ हजारभन्दा बढीले सन्तान जन्माएको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् ख्वप अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई आदर्श नगर बनाउने परिकल्पनाअनुसार भक्तपुरको विकास अगाडि बढिरहेको बताउँदै नपाबाट सञ्चालित शैक्षिक संस्था र अस्पतालले गुणस्तरीय सेवामा प्रतिस्पर्धाको नीति अवलम्बन गरेको बताउनुभयो ।
जनताबाट प्राप्त सुझाव र गुनासोलाई मनन गर्दै ख्वप अस्पतालको सेवा सुविधालाई विशिष्टीकृत गर्दै लगिएको बताउँदै उहाँले विशेषज्ञहरूको सल्लाह र नगरपालिकाको व्यवस्थापनमा शैक्षिक संस्था र अस्पताल सञ्चालनमा रहेको बताउनुभयो ।
उहाँले भक्तपुरको शैक्षिक प्रगति र ख्वप अस्पतालको सेवा प्रवाहले गर्दा भक्तपुरप्रति आकर्षण बढिरहेको बताउँदै प्रतिकूलताबिच अनुकूलता खोज्दै भक्तपुरले आफ्नो विकासको गतिलाई अगाडि बढाउँदै छ भन्नुभयो ।
कोभिडको समयमा जनताको सहयोग लिएर ख्वप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी आज ख्वप अस्पतालले सम्पूर्ण नगरवासीहरूलाई निःशुल्क अक्सिजन वितरण गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले जनताले देखाएको सहयोगी भावनाले गर्दा नगरपालिकाका हरेक काममा सफलता मिलेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नागरिकहरूलाई स्वस्थ बनाउने उद्देश्यले ख्वप अस्पताल स्थापना भएको बताउँदै भक्तपुरमा सुरक्षित मातृत्व सेवा सञ्चालनले धेरै महिलाहरू लाभान्वित भएका छन् भन्नुभयो ।
उहाँले भक्तपुरका अग्रजहरूको दूरदर्शी सोचका कारण भक्तपुरले सबै क्षेत्रमा सफलता हासिल गरेको बताउँदै अस्पतालले नसर्ने रोगको जोखिम न्युनीकरणको लागि जनचेतनामूलक कार्यक्रमहरू अगाडि बढाउँदै जानुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले स्वस्थ नवजात शिशु जन्मको लागि सहजीकरण गर्ने ख्वप अस्पतालका सम्पूर्ण चिकित्सकहरूमा धन्यवादज्ञापन गर्दै अस्पतालका कमीकमजोरीहरूलाई छलफल गरी सुधार्दै अझ राम्रो बनाउँदै जानुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले सुरुदेखि नै महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको बताउँदै अस्पतालको प्रगतिमा सामूहिक कार्य अत्यन्त महत्वपूर्ण विषय भएको बताउनुभयो ।
ख्वप अस्पतालको प्रसूति विभागमा कार्यरत स्टाफ नर्स रमिता कुम्पाख र सुजना बासुकलाले पनि ख्वप अस्पतालबाट प्रवाहित सेवा सुविधाबारे जानकारी दिनुभयो । ख्वप अस्पतालले २०८० वैशाख १७ गतेबाट प्रसूति सेवा विस्तार गरेको थियो । ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालनसँगै धेरै महिलाहरूलाई सहज भएको छ । प्रसूति सेवाको लागि अन्य अस्पताल जानुपर्ने बाध्यताको अन्त्य भएको छ । ख्वप अस्पतालले वार्षिक साढे दुई लाखको हाराहारीमा बिरामीलाई उपचार सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *