भर्खरै :

नेपालभाषा साहित्य तःमुंज्या हाम्रो समाजमा एक स्थापित कार्यक्रम हो

नेपालभाषा साहित्य तःमुंज्या हाम्रो समाजमा एक स्थापित कार्यक्रम हो

(भादगाउँ टेलिभिजनमा प्रसारित ‘हलिमय् थ्वयाच्वंगु सः’ कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या कीर्तिपुरको आयोजनामा मङ्सिर १८ गते पूर्णिमाको दिन हुन गइरहेको १२ औँ नेपालभाषा साहित्य तःमुंज्याको विषयमा आयोजक संस्थाका सचिव नारायण महर्जनसँग गरिएको कुराकानीमा आधारित)

-१२ औँ नेपालभाषा साहित्य तःमुंज्याको तयारी कसरी भइरहेको छ ?
विभिन्न समितिहरू गठन गरी कार्य विभाजनअनुसार काम भइरहेको छ । हामीले प्रचार–प्रसार तथा साहित्य सङ्कलनलाई विशेष प्राथमिकता दिएका छौँ ।

-साहित्य सम्मेलनमा कस्तो साहित्यको अपेक्षा गर्नुभएको छ ?
सम्मेलनको उद्देश्य भनेको नै साहित्यको माध्यमबाट जनतालाई जागृत तथा सचेत बनाउने हो । यथास्थितिवादी साहित्त्न्दा प्रगतिशील जनसाहित्यले यस सम्मेलनमा स्थान पाउने छ ।

-जनतालाई सचेत तथा जागृत बनाउने उद्देश्यले आयोजना भइरहेको यस सम्मेलन किन नेपालभाषा साहित्य तःमुंज्याको नाममा नेपालभाषामा मात्र गर्नुपर्यो ?
हामीले यो कार्यक्रम नेवार समुदायको बाहुल्यता भएको काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू जस्तैः– भक्तपुर नगरपालिकाका विभिन्न वडा, काठमाडौँ महानगपालिकाका विभिन्न टोल, ललितपुर जिल्लाको विभिन्न पालिकाका वडा, काभ्रेको बनेपा तथा कीर्तिपुर नगरपालिकाको विभिन्न वडामा कार्यक्रम भइरहेको छ । नयाँ पुस्तामा नेपालभाषाको प्रसार कममात्र भएकोले नेपालभाषाको संरक्षणको लागि पनि नेपालभाषा साहित्य तःमुंज्या आयोजना भएको छ । सांस्कृतिक स्तर उठाउन र राजनीतिक चेतना दिन पनि यो सम्मेलन हुँदै आएको हो । जनतालाई राजनीतिकरूपमा जागरुक गर्न यस प्रकारको साहित्यिक कार्यक्रमको आयोजना हुँदै आइरहेको छ ।

-मङ्सिर १८ गते हुन गइरहेको यस कार्यक्रमको मुख्य आकर्षण के रहेको छ ?
विगतका वर्षमा जस्तै यो वर्षमा पनि कार्यक्रम हुने टोलका ज्येष्ठ सांस्कृतिक गुरुबाट सम्मेलनको उद्घाटन हुनेछ । टोलमा रहेका सांस्कृतिक समूहबाट प्रस्तुति हुनेछ । साथमा सांस्कृतिक गुरुहरूको सम्मान हुनेछ । यसको अलावा विषय विज्ञहरूको तर्फबाट विशेष प्रवचन प्रस्तुत हुनेछ ।

-कार्यक्रम सञ्चालन गर्दा के–कस्ता चुनौतीको सामना गर्नुभएको छ ?
नेपालभाषा साहित्य तःमुंज्या हाम्रो समाजमा एक स्थापित कार्यक्रम हो । वर्तमान समयमा यस प्रकारका कार्यक्रम कममात्र भइरहेकोले साहित्य सङ्कलन तथा सांस्कृतिक समूहको उपस्थिति सजिलै हुनेछ । तर, देशमा रहेको आर्थिक मन्दीको कारण आर्थिक व्यवस्थापन चुनौतीको रूपमा रहेको छ । स्थानीय सरकारबाट अपेक्षाकृत सहयोग प्राप्त हुनसकेको छैन । यद्यपि, यस कार्यक्रममा आबद्ध साथीहरूको व्यक्तिगत सहयोगबाट भए पनि कार्यक्रमलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी सम्पन्न गर्नेछौँ ।

-अन्त्यमा, केही भन्नु छ कि ?
मङ्सिर १८ गते हुन गइरहेको नेपालभाषा साहित्य तःमुंज्यामा साहित्यिक प्रतिस्पर्धा हुने भएकोले मङ्सिर १४ गतेसम्म आफ्नो साहित्य समावेश गरिदिनुहुन सम्पूर्ण साहित्यप्रेमीमा अनुरोध छ । कार्यक्रममा सहभागिताको लागि पनि सम्पूर्णमा अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *