भर्खरै :

शासकहरू देश र जनताप्रति समर्पित हुनु आवश्यक

शासकहरू देश र जनताप्रति समर्पित हुनु आवश्यक

नेपालका शासकहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विदेशी शक्ति राष्ट्र, बिचौलिया र ठुलठुला उद्योगी, व्यापारीहरूबाट प्रभावित भएको हुँदा सरकारले न बहुमत जनताको सेवामा ऐन कानुन बनाएको छ न त विकासलाई उचाइमा पु¥याएर जनताको जीवन सुनिश्चित गर्ने बाटो नै कोरेको छ । नेपाल र नेपाली जनताको सेवा र विकासभन्दा विदेश, विदेशी, बिचौलिया र गैरसरकारी संस्थाको कुरा सुनेर शासकहरूले देशलाई अनिर्णयको बन्दी बनाउँदै छन् । शासकहरूको पछाडि भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी, आपराधिक व्यक्ति, ठेकेदारहरू लागेको कारण देशमा सुशासन छैन; विधिको शासन छैन । शासकहरूको पछि लाग्ने समूहका व्यक्तिहरू इमानदार भएनन्, देश र जनताप्रति समर्पित भएनन् । आफ्नो जीवनको मात्र स्वार्थ हेर्नेहरूको विचार र दृष्टिकोण सङ्कीर्ण हुन्छ ।
राज्यका सबै संरचना र निकायमा सेटिङमार्फत नीतिगत भ्रष्टाचार गरेर खरबौँ रूपैयाँ बिचौलियाहरूले आर्जन गरेको खबर प्रकाशमा आएको छ । यस कार्यमा दीपक भट्ट र सुलभ अग्रवाल समूह संलग्न भएको खबर समाचारपत्रमा प्रकाशित भएको छ । यस्ता बिचौलियाहरूले वर्तमान सुशीला कार्कीको सरकारलाई पनि प्रभाव पारेको हुनसक्ने आशङ्का छ । मङ्सिर ३ गतेको ‘नेपाल समाचारपत्र’ मा ‘के यो देश सधैँ बिचौलियाहरूकै सेवा हो ?’ शीर्षकको समाचार छापियो । समाचारमा जेन–जी सरकारलाई प्रभावमा पार्दै भट्ट समूह रहेको र अनुसन्धान सुस्त भएको उल्लेख छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नेपाल राष्ट्र बैङ्क, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका प्रतिनिधि सम्मिलित संयुक्त टोलीको अनुसन्धान प्रक्रियामा पनि असर परेको चर्चाको विषय बनेको छ ।
बिचौलियाहरूले शासकहरूलाई राम्रो काम गर्न दिँदैनन् या शासकहरूलाई चक्कर घुमाउँछन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरकानुनी संस्थाले देशमा विकास गर्न दिँदैन† पैसाको छेलोखेलो गरेर पैसामा बिकाउने, बिगार्ने काममा सघाउँछ । अरुको ठुलठुला उद्योगपति, व्यवसायीहरू आफूले उत्पादन गरेको सामानमा कर छुट गराउन सक्रिय हुन्छन् । भ्रष्टाचारी, कालाबजारी र कमिसनखोरहरू शासक दललाई चन्दा दिन्छन् या आर्थिक सहयोग गर्छन् । शासक दललाई चन्दा दिने कारण शासकहरू उनीहरूको विरोधमा बोल्दैनन्; बोले पनि बोलेजस्तो गरेर कारबाहीको प्रक्रिया अघि बढाउँदैनन् । देशमा भ्रष्टाचार नियन्त्रण गर्न नसक्नुको कारण शासकहरू भ्रष्टाचारीहरूको वरिपरि घुमिरहनु हो । भ्रष्टाचारीहरूलाई बचाउन शासकहरू एक आपसमा मिल्छन् । भ्रष्टाचार प्रकरणका मुद्दाहरू सार्वजनिक भए पनि त्यसको प्रक्रिया अघि बढाइएको छैन । आ–आफ्नो दलमा आबद्ध भ्रष्टाचारीहरू कारबाहीमा पर्ला भनेरै प्रक्रिया अघि बढाइँदैन । यही कारण ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपाललाई बढी भ्रष्टाचार हुने देशको सूचीमा राखेको छ । हुन पनि नेपाल बेथितै बेथिति भएको देश बनेको छ । यो देशको निम्ति दुर्भाग्यको विषय हो ।
शासकहरू आफ्नो बुद्धि र विवेकभन्दा, नेपाल र नेपालीको हितभन्दा अरुकै लहै लहैमा लागेको कारण देशको राजनीति भताभुङ्ग भइरहेको हो† अराजक गतिविधि बढेको हो, अस्थिर राजनीतिमा मुछिएको हो । यी सबै शासकीय कमजोरीका कारण भएका हुन् । सुशासन र समृद्धको निम्ति लागेका भनिएका शासकहरूसँग असल सोच, असल बुझाइ र असल कार्य नहुँदा जनतामा निराशा छाएको हो । सर्वसाधारण जनतामा राजनीति र शासनप्रति जनताको विश्वास गुम्दै गएको यथार्थ हो । शासक दलभित्रका नेताहरू असल, इमानदार, निःस्वार्थी हुनुपर्छ । शासक पार्टीमा खराब र अनैतिक नेता तथा कार्यकर्ताहरू फसेपछि, सदाचारी र इमानदार व्यक्तिहरूलाई पाखामा राखेपछि देशको राजनीति कसरी सङलो हुन्छ । राजनीतिलाई जवाफदेही बनाउने, सत्य बोल्ने, झूट कुरा उदाङ्ग्याउने काममा दलका नेताहरू सक्रिय हुनुपर्छ । अतः शासक या हरेक राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू नैतिकवान्, चरित्रवान्, देशभक्त, निःस्वार्थी, इमानदार, देश र जनताप्रति जिम्मेवार तथा बहुमत जनताको पक्षमा उभिनुपर्छ । आमूल परिवर्तनको निम्ति सबै जुट्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *