भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – १७

  • मंसिर ५, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – १७

प्रहरीहरू हामीमाथि खुलेरै जाइलाग्दैनथे । हामीलाई केही गरे विरोध हडताल हुँदै क्रान्ति सुरु हुनसक्छ भनी उनीहरू डराउँथे । तर, उनीहरू हाम्रा हरेक गतिविधिमाथि कडा निगरानी राख्थे । अर्कोतर्फ मजदुर सांसदहरूसँग अलिकति मात्र सम्बन्ध राख्ने जोकोहीलाई उनीहरू सताउनु सताउँथे । मजदुर सांसदहरूको जीवन निकै कठोर थियो । अलिकति पनि गडबडी गरे खौलामा खसिन्थ्यो । व्यक्ति विशेष जेलमा पर्ने मात्र होइन, पूरै सङ्गठन नै कारबाहीमा पर्न सक्थ्यो । त्यसकारण, बाहिरफेर भ्रमणमा जाँदा हामी सकेसम्म गुप्त तवरले जान खोज्थ्यौँ र काउसोझैँ पछि लाग्ने सुराकीबाट जोगिन खोज्थ्यौँ । सेन्ट पिटर्सबर्गमै पनि यस्तो गुप्त तरिका अपनाउनुपथ्र्यो । सुदूर प्रान्तका साना नगरहरूमा जानु अर्को कष्टपूर्ण काम थियो । त्यहाँ को आयो, को गयो भनी सजिलै थाहा पाउन सकिन्थ्यो । त्यसमा पनि संसद् सदस्यको आगमन महत्वपूर्ण घटना हुने भयो । यसले गर्दा गोप्यता राख्न सजिलो थिएन । तैपनि हाम्रो संसदीय समूहका सदस्यहरूले प्रान्तहरूमा कडा मिहिनेत गर्थे र त्यहाँका स्थानीय कानुनी र गैरकानुनी सङ्गठनको गतिविधिलाई सुदृढ पार्थे । मजदुर सांसदहरूको भ्रमणका कारण प्रायः हडतालको आह्वान गरिन्थ्यो, नयाँ पार्टी समिति गठन हुन्थ्यो, ‘प्राभ्दा’ को ग्राहक सङ्ख्या बढ्थ्यो र सामान्यतया क्रान्तिकारी गतिविधि चर्किन्थ्यो ।
सन् १९१३ को जनवरीमा प्रान्तको पहिलो भ्रमणबाट फर्केपछि मजदुर सांसदहरूले मजदुरहरूबिच क्रान्तिकारी भावनामा ठुलो उभार आएको बताए । अघिल्ला वर्षहरूमा जस्तो निराशाको माहोल अब हराइसकेको थियो । मजदुरवर्गमा सङ्घर्ष गर्ने मनोबल, साङ्गठनिक गतिविधि गर्ने हुटहुटी र देशको राजनीतिक जीवनमा जीवन्त रुचि बढेको थियो ।
हाम्रो संसदीय समितिका कामरेडहरूले ठुला वैधानिक सभाहरूमा आआफ्नो भ्रमण प्रतिवेदन दिन पाएनन् । यस्ता सभामाथि गभर्नरले बन्देज लगाएका थिए । यसको लागि उनीहरूले गैरकानुनी बाटो लिनुप¥यो । प्रहरीको अनुमति नलिई कारखानाहरूमा ससाना बैठक डाकेर उनीहरूले अवैध तरिकाले आफ्ना रिपोर्टहरू सुनाए ।
समग्रमा संसद्को पहिलो महिनाभरि हामीले गरेको कामलाई मजदुरहरूले स्वागत गरे । मजदुरवर्गका ‘सक्कली’ माग राखी आफ्नो नीति उद्घोष गरेकोमा उनीहरूले सन्तुष्टि जनाए । पहिलो प्रश्नोत्तरमा हामीले दिएको मन्तव्यलाई मजदुर मतदाताले अनुमोदन गरे । मजदुरहरूले संसद्को विषयमा कैयन् प्रश्न गरे । उनीहरू संसद्को कामकारबाहीमा निकै चासो लिए । उनीहरूले कालासय ‘राजभक्त’ हरूको शत्रु शिविरबारे पनि जिज्ञासा राखे । तीमध्ये पनि पुरिश्केभिच र मार्कोभजस्ता दक्षिणपन्थीहरूले विशेष कुख्याति कमाएको पाइयो ।
संसद्प्रतिको मजदुरहरूको धारणा एकदम प्रस्ट थियो । त्यहाँबाट आफ्नो जीवनमा केही सुधार होला भन्ने अपेक्षा नै थिएन । लगातार क्रान्तिकारी सङ्घर्ष गरेर मात्र सर्वहारा जनताले राहत पाउन सक्छन् भन्ने मजदुरहरूले बुझिसकेका थिए । निर्वाचन क्षेत्र भ्रमणको बेला बोल्शेभिक सांसदहरूले क्राको सम्मेलनले लिएका निर्णय सही थिए भन्ने आँखैले देखे । पार्टी एकताबारे मेन्शेभिकहरूको धारणा कति गलत रहेछ भनेर बुझे । मेन्शेभिकहरूको विध्वंसकारी विचारलाई मूलतः बुद्धिजीवी प्रचारकहरूले समर्थन गर्थे । तर, मजदुरहरूका लागि ती विचार बिराना थिए । धेरै जिल्लामा तिनको विचार पुगेकै थिएन । फलतः धेरै सामाजिक जनवादी समूहमा ‘प्राभ्दा’ र ‘लुच’ मा छेडिने निर्मम वादविवाद धेरैले बुझ्दैनथे । यसकारण, पार्टी एकताको लागि माथिल्ला नेताहरूबिच कूटनीतिक सम्झौता गरेर पुग्दैनथ्यो । बरु त्यसमा भूमिगत गतिविधि गरिरहेका स्थानीय पार्टी सङ्गठनका सदस्यहरू नै लाग्नुपथ्र्यो र (मेन्शेभिकहरूले) त्यस्ता गतिविधिको खोइरो खन्न गर्नुपथ्र्यो । यसरी मात्र पार्टी एकताको विचारले मूर्त रूप लिन सक्थ्यो ।
तल्लो तहको भ्रमणबाट बनेको यो विचार पार्टीको क्राको सम्मेलनले तय गरेको नीतिसँग ठ्याम्मै मिल्थ्यो ।

खण्ड २
सेन्ट पिटर्सबर्गमा सन् १९१३ मा भएको मजदुर आन्दोलन

पाठ ७
ओख्ता विस्फोट
सन् १९१३ को आरम्भ । ओख्ता पाउडर उद्योगमा विस्फोट । विस्फोटको कारण । सदनमा प्रश्नोत्तर । युद्धमन्त्रीको जवाफलाई जवाफ ।
सेन्ट पिटर्सबर्गका सर्वहाराले आँधीमय माहोलमा सन् १९१३ को नववर्ष मनाए । संसद्मा सामाजिक जनवादी समूहको पहिलो प्रश्नोत्तरसँगै सुरु भएको पछिल्लो हडताल र जुलुस प्रदर्शन एउटा आँधीभन्दा कम थिएन । म्याक्सवेलका कारखानाहरूमा काम गर्ने मजदुरहरू १५ दिनको तालाबन्दीपछि काममा फर्के । तालाबन्दीको बेला उनीहरूलाई सेन्ट पिटर्सबर्गका सम्पूर्ण मजदुरले सघाएका थिए ।
नयाँ वर्षको पहिलो राजनीतिक हडताल जनवरी ९ गते भयो । हडतालमा सेन्ट पिटर्सबर्गका मजदुरहरूले उर्लिँदो उत्साहले समर्थन जनाए । ‘आइतबारे हत्याकाण्ड’ को सम्झनामा ८० हजार मजदुरहरूले कामबन्दी गरे । अघिल्लो दिन नै जुलुस प्रदर्शन हुन सक्ने अनुमान गरी पूरै प्रहरी बल परिचालन गरियो । मजदुरहरू बस्ने सुकुमबासी बस्तीहरूमा धेरैलाई पक्राउ गरियो । पैदल र घोढचढी प्रहरीले सबै पुलपुलेसा र सहर पस्ने नाकाहरूमा कडा पहरा दिए । सहरका बन्द ढोकापछाडि जगेडा प्रहरीलाई लुकाएर राखियो । नेभ्स्की सडकमा देखिएको सानो मजदुर समूहलाई प्रहरीले जबरजस्ती सडकपेटीमा हिँड्न लगायो ।
एकाबिहानै काममा गएका सेन्ट पिटर्सबर्गका सानाठुला सबै कारखानाका मजदुरहरू तुरुन्तै काम छोडेर निस्के र क्रान्तिकारी गीत गाउँदै सडकमा ओर्ले । भिबोर्ग, नेभालगायत केही जिल्लामा काला धारी भएका राता झन्डा बोकेर मजदुरहरू सडकमा आए ।
बिहानैदेखि मजदुरहरूको लस्कर प्रेओब्राजेन्स्की समाधितर्फ लाग्यो । त्यहाँ जनवरी ९ (सन् १९०५) का सहिदहरूलाई गाडिएको थियो । दिनैभरि समाधिमा प्रहरीको बलियो पालोपहरा थियो । दिनभरि उनीहरूले त्यहाँ आउने मजदुरहरूलाई हटाइरहे ।
त्यही दिन धेरै कारखानाहरूमा बैठक भयो । जनवरी ९ का मृतकहरूको स्मृतिमा स्मारक निर्माण गर्न र प्रहरीले सजाय दिएका मजदुरहरूलाई सघाउन चन्दा सङ्कलन गरियो । केही कारखानाहरूमा एक दिनको ज्याला जम्मा गर्ने र हाम्रो संसदीय समूहलाई पठाउने निर्णय गरियो । बैठकमा मजदुरवर्गका नागरिक अधिकार, वाक स्वतन्त्रता, सङ्गठनको हक, प्रेस स्वतन्त्रतालगायत राजनीतिक माग झल्किने प्रस्तावहरू पारित गरियो र हाम्रो समूहलाई पठाइयो । आन्दोलनलाई एकताबद्ध पार्न विभिन्न सुझाव राखियो । साथै, तथाकथित ‘५२ ठाउँ’ विरुद्ध प्रस्ताव पारित गरियो । सरकारले राजनीतिक निर्वासनमा गएकाहरूलाई यी ५२ स्थानमा पस्न प्रतिबन्ध लगाएको थियो । त्यस्तै, बीमा आयोगमा मजदुरहरूलाई प्रतिनिधि चुन्ने अधिकार नदिएर सरकार आफैले प्रतिनिधि नियुक्त गरेको र ट्रेड युनियनमाथि गरिएको कारबाही आदिको विरोधमा प्रस्ताव पारित गरियो ।
जनवरी ९ को दिन हडताल र प्रदर्शनले मजदुरवर्गको सङ्घर्ष माथि चढ्दो अवस्थामा छ भन्ने देखायो । सेन्ट पिटर्सबर्गका मजदुरहरूबिच क्रान्तिकारी भावना महिनैपिच्छे बढ्दै थियो । रुसभरि नै यही स्थिति थियो ।
यही माहोलबिच जनवरी २१ गते चौथो राज्य संसद् खुल्यो । जमिनदार र राजावादी सांसदहरू आफ्नो विधायकी काम सुरु गर्न कुनै हतारो थिएन । पहिलो बैठकमा तिनीहरूमध्ये थोरै सांसद मात्र उपस्थित भए । निर्वाचनहरूको अनुमोदनको पुरानो लेठोबाट संसद्को यो सत्र अल्छी पारामा सुरु भयो । हाम्रो समूहले नयाँ प्रश्नोत्तरको प्रस्ताव राखेपछि मात्र संसद्मा प्राण भरियो । हामीले ओख्ता पाउडर उद्योगमा भएको विस्फोट, राजनीतिक बन्दीहरूलाई दिइएको यातना र कपडा कारखानामा भएको तालाबन्दीबारे सदनमा प्रश्न उठायौँ ।
ओख्ता कारखानामा युद्ध मन्त्रालयले विष्फोटक पदार्थ उत्पादन गथ्र्यो । डिसेम्बरको अन्त्यतिर त्यहाँ विस्फोट भएको थियो । दिउँसोपख भएको त्यो विस्फोटको खबर साँझपख सहरभरि फैलिसकेको थियो । विस्फोटमा थुप्रै मानिस घाइते भएका थिए ।
पाँच जनाको मृत्यु भएको थियो । तिनको लास पछि मात्र पत्ता लागेको थियो । कतिपय लास चिन्नै नसकिने गरी डढेका थिए । एकजना मजदुरको शरीर उनको लुगाको झुत्रो हेरेर सनाखत गरिएको थियो । पचास जना गम्भीर घाइते भएका थिए । घाइते हुनेहरूमा धेरै महिला थिए किनभने विस्फोट भएको पाइप ज्यासलमा मूलतः महिलाहरूले काम गर्थे ।
विष्फोटका कारण उद्योगमा भागाभाग मच्चिएको थियो । संयोगले धेरै मान्छे विस्फोटमा पर्नबाट जोगिए । पीडितका लागि कुनै डाक्टरी सुविधा थिएन । एक घण्टापछि डाक्टर आए । तर, उनले केही गर्न सकेनन् ।
भोलिपल्ट विस्फोटको आकार र कारण बुझ्न म त्यो कारखाना गएँ । त्यहाँ खटिएको सरकारी अधिकारीले मलाई विष्फोट भएको स्थानलाई अनुमतिपत्र दिन मानेन । म कारखाना प्रमुख जर्नेल सोमोभकहाँ गएँ । उनले पनि अनुमतिपत्र तोपखानाले मात्र दिन्छ भन्दै मलाई भित्र जानबाट रोके । उद्योग प्रशासन हामीसँग डरायो । सांसदहरू उद्योगभित्र पसे सत्यतथ्य थाहा पाउँछन् भनेर उनीहरूले मलाई भित्र पस्नबाट रोके ।
जर्नेल सोमोभले भनेअनुसार त्यो विष्फोट सामान्य दुर्घटना मात्र थियो । उनले भने, “यस्ता दुर्घटना भइरहन्छन् । सकेपछि पनि भइरहनेछन् । म आफै पनि ईश्वरलाई नपुकारी कारखानाभित्र पस्दिन ।” उद्योग प्रशासनले यस्तो अति जोखिमपूर्ण उद्योगमा ‘ईश्वर पुकार्ने’ बाहेक दुर्घटनाबाट मजदुरहरूको जीवन जोगाउन अर्को उपाय नअपनाएको देखियो ।
म घटनास्थल पुग्न सकिन । तर, झट्ट हेर्दा ठुलो क्षति भएको पाएँ ।
मैले घटनाबारे धेरै मजदुरहरूसँग सोधपुछ गरेँ । उनीहरू आत्तिएका थिए । कतिपयको नसा बाउँडिएको थियो । उनीहरू कुनै पनि बेला अर्को विस्फोट हुनसक्ने डरले त्राहीमाम थिए । बिहान घरबाट काममा निस्किँदा कतिपय मजदुरले मृत्युको सामना गर्न गइरहेको महसुस गरेर चिसो भित्री लुगा लगाएका थिए । मजदुरहरूले मसँग विस्फोटका कारणहरूबारे विस्तृत छानबिन गराउन भने । युद्ध मन्त्रालयसँग कामकाजी अवस्था र सुरक्षा उपायमा सुधार गर्न माग गर्नुपर्ने बताए । तत्कालै पीडित र तिनका जहान परिवारलाई सहयोगको प्रबन्ध मिलाउन भने ।
–क्रमशः

Leave a Reply

Your email address will not be published. Required fields are marked *