भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – २४

  • मंसिर १२, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – २४

त्यसबेलासम्म सभामुखले ‘सांसदहरूलाई दण्ड नलाग्ने’ नियम कार्यान्वयन गराउन सिन्को भाँचेका थिएनन् । अब उनले यो मुद्दामा हात हाल्ने सोचे । यसको लागि सभामुख रोदजान्कोले मैले नै पहल गर्नुपर्ने बताएँ । मलाई सुरक्षाका लागि दर्खास्त हाल्न भने । यसरी उनले आफूलाई कालासयहरूको नजरमा आफू जोगिन पाउने थिए । सरकारको शत्रुलाई मैले बचाएको होइन बरु सांसदबाट प्राप्त अर्जी सही अधिकारीहरूलाई बुझाएको मात्र हुँ भन्न पाउने थिए । तर, मैले यस्तो अर्जी दिन चाहिने । मेरो आसय बुझेर उनले घुमाउरो बाटोबाट यो काम गर्न खोजे । उनले आफ्ना एक कर्मचारीलाई मकहाँ सहानुभूति दिन पठाए । त्यो कर्मचारीले सभामुखको तर्फबाट मलाई ढाडस दियो । जवाफमा मैले सुरक्षाको लागि अर्जी हाल्छु भन्ने रोद्जान्कोले सोचेका थिए । मैले यो भेटको अर्थ बुझिहालेँ । मैले भनिदिएँ, “एक सांसदको हैसियतलाई म सुरक्षाको हकदार छु । पक्रिने भए उनीहरूले मलाई पक्रून् ।”
मेरो यो मुद्दा जनताको लागि एउटा काण्ड बन्ने निश्चित भइसकेको थियो । यसकारण, रोद्जान्कोले गृहमन्त्री माक्लाकोभलाई एउटा पत्र पठाए । जवाफमा गृहमन्त्रीले मेरो संसदीय सुरक्षाको म्याद सक्किएपछि मात्र मलाई गिरफ्तार गरिने बेहोराको पत्र लेखेछन् ।
हामी ‘६ बोल्शेभिकहरू’ माथिको प्रहार केही समयलाई थाती राखियो । यद्यपि, यसैलाई मुद्दा बनाएर हामीले सदनमा प्रश्नोत्तर गर्ने यत्न ग¥यौँ । एकातिर यो मुद्दाले प्रतिक्रियावादीहरूको आक्रामक रवैया देखाइदियो । यसर्थ, यसले हाम्रो प्रचारात्मक सामग्रीको काम ग¥यो । अर्कोतिर, मजदुर सांसदहरूमाथि कारबाही भएको खबर फैलिएपछि जनतासँग हाम्रो समूहको सम्बन्ध अझ प्रगाढ भयो ।
हाम्रो प्रश्न निम्न शब्दसँगै टुङ्गिन्थ्यो, “सेन्ट पिटर्सबर्गका नगर गभर्नरले संसद् सदस्यलाई जरिवाना तिराउनु गैरकानुनी भएको एकदम प्रस्ट छ । तसर्थ, संसद् सञ्चालन गर्ने नियमको धारा ३३ बमोजिम गृहमन्त्रीलाई निम्न प्रश्न गर्न हाम्रो सामाजिक जनवादी समूह आह्वान गर्छ – एक, के सेन्ट पिटर्सबर्गका नगर गभर्नरले जारी गरेको आदेशबारे उहाँ जानकार हुनुहुन्छ ? दुई, जानकार हुनुहुन्छ भने भविष्यमा प्रशासनिक निकायबाट यस्ता क्रियाकलाप नहोस् भनेर यो अवैध कदम तथा संसद् सदस्यहरूको रक्षा गर्ने सम्बन्धमा उहाँले कस्तो आदेश जारी गर्ने प्रस्ताव राख्नुहुन्छ ? हामी यो प्रश्नलाई आपत्कालीन करार गरियोस् भनी अनुरोध गर्दछौँ ।”
हाम्रो यो प्रश्नमा क्याडेट र प्रगतिशील पार्टीका केही सांसदले हस्ताक्षर गरेका थिए । तर, क्रिसमसको बिदापछि जब बहस सुरु भयो तिनीहरूमध्ये २३ ‘उदार’ सांसदहरूले आफ्नो हस्ताक्षर फिर्ता लिए । यसरी हाम्रो प्रश्नलाई सदनमा राख्नै लागेको बेला हठात् रद्दीको टोकरीमा फालियो । यही एउटा उदाहरण क्याडेटहरूको मजदुर सांसदविरोधी रवैया झल्काउन काफी छ ।
ऐनमा उल्लेख प्रावधान पूरा गर्न हामीले थप हस्ताक्षरको जोहो ग¥यौँ र एक हप्तापछि सदनमा प्रश्न राख्यौँ । हाम्रो समूहको तर्फबाट पेत्रोभ्स्कीले बोले ।
पेत्रोभ्स्कीले भने, “कारबाही र प्रहरी अत्याचारका बाबजुद मजदुरहरूका सांसद सदैव र सर्वत्र तिनको पक्षमा उभिनेछन् । प्रहरी वा संसद्को कालासय बहुमतले मजदुरवर्गलाई तिनका सांसदहरूको आवाज सुन्नबाट रोक्न सक्ने छैनन् ।”
बुर्यानोभ अहिले मेन्शेभिक रहेनन् । त्यसबेला उनले सदनमा हाम्रो मुद्दालाई आपत्कालीन करार गर्नुपर्ने पक्षमा बोले । उनले सांसदलाई दण्ड नलाग्ने नियमको ठाडो उल्लङ्घन भएको र सदनले आफ्नो आत्मसम्मान जोगाउने हो भने यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।
तर, सदनले जारशाही प्रहरीलाई नियन्त्रणमा राख्न केही गरेन । यो मुद्दामा मजदुर सांसदहरूले मात्र चासो लिए । संसद्का कालासय सांसदहरूले प्रहरीको कारबाहीलाई खुला दिनले स्वागत गरे । हाम्रो प्रश्नलाई ठुलो बहुमतले किनार लगाइयो । मजदुर सांसदहरूविरुद्ध जतिसुकै दमनकारी कारबाही गरे पनि सदनले चुपचाप सदर गर्नेछ भनेर सरकार ढुक्क भयो ।
खण्ड ३
संसद्को सामाजिक जनवादी समूहमा फुट
पाठ ११
संसदीय समूहको अवस्था
‘६ बोल्शेभिक’ र ‘७ मेन्शेभिक’ को सम्बन्ध । ‘लुच’ मा सहकार्यको सवाल । फुट हुनुभन्दा अगाडि मेन्शेभिकहरूका ‘कार्य जति महिना बित्दै जान्थे संसद्को सामाजिक जनवादी समूहको एकता औपचारिक मात्र हो र ढिलोचाँडो यो चुँड्नेछ भन्ने प्रस्ट हुँदै गयो । हाम्रो समूहको अवस्था रुसी सामाजिक जनवादी पार्टीभित्रको अवस्थाको छायाँ थियो । यसले पार्टीभित्रको अन्तर्विरोधलाई धेरै चर्कायो । बोल्शेभिक र मेन्शेभिक सांसदहरू एक औपचारिक हिसाबले समूहको रूपमा काम गर्न बाध्य थिए । तर, क्रान्तिकारी आन्दोलनको सवालमा थुप्रै प्रश्नमा दिनकै जुधिरहन्थे । ‘६ बोल्शेभिक’ र ‘७ मेन्शेभिक’ बिचको विमतिको खास कारण रुसी क्रान्तिको मार्गचित्र थियो । क्रान्तिकारी आन्दोलन बढ्दै जाँदा यी मतभेद पनि बढ्दै गए । यसकारण, ढिलोचाँडो समूह दुई अलग खेमामा बाँडिने निश्चित थियो । हाम्रो पार्टीले सुरुदेखि अँगाल्दै आएको दुई खेमाबिचको खाडल ढिलोचाँडो गहिरिने निश्चित थियो ।
हाम्रो संसदीय समूह बन्दाको पहिलो दिनदेखि नै बोल्शेभिक र मेन्शेभिक खेमाबिच चर्काचर्की सुरु भयो । सदनमा सामाजिक जनवादी समूहको नीति उद्घोष गर्ने र सांसद जागेल्लोको विषयमा भएको सङ्घर्षबारे मैले यसअघि नै बताइसकेको छु । हामी ‘६ बोल्शेभिक’ हरूले ती दुवै घटनामा मेन्शेभिकहरूसँग दृढतापूर्वक सङ्घर्ष ग¥यौँ र तिनलाई कतिपय अडान छोड्न बाध्य पा¥यौँ ।
समूहमा भएको पहिलो विवाद ठुलो छलफलको विषय बन्यो । पार्टीभित्र मात्र होइन आम मजदुरहरू पनि त्यो बहसमा उत्रे । बोल्शेभिक सांसदहरूले मेन्शेभिक पत्रिका ‘लुच’ मा सहकार्य गर्नुपर्छ भन्ने थियो । यो प्रश्नमा तीतो सङ्घर्ष भयो । यो प्रश्नले हाम्रो संसदीय समूहको वास्तविक अवस्था उजागर गरिदियो । यो प्रश्न के अर्थमा पनि अत्यन्त अहम थियो भने ‘६ बोल्शेभिक’ प्रतिको मजदुरहरूको सोच र मेन्शेभिकहरूसँग पछिको नाता तोडाइ यही ठोस आधारबाट तय हुनसक्थ्यो ।
सन् १९१२ डिसेम्बरमा मजदुर सांसदहरूले तत्कालीन कार्यनीति ख्याल गर्दै आफ्नो नाम ‘लुच’ को साझेदारी सूचीमा राख्न दिए ।
सन् १९१३ जनवरीको अन्त्यतिर पार्टीको सहमतिमा र खासगरी केन्द्रीय समितिको निर्देशनमा हामीले ‘लुच’ को सम्पादन मण्डलबाट हाम्रो नाम झिक्न भन्यौँ । हामी खुलेरै क्रान्ति विघटनको पैरवी गर्ने पत्रिकामा कुनै काम गर्न चाहँदैनथ्यौँ ।
‘लुच’ मा सहकार्य गर्न अस्वीकार गरेको निहुँमा ‘७ मेन्शेभिक’ हरूले हामी बोल्शेभिकमाथि प्रहार सुरु गरे ।
मेन्शेभिकहरूसँग अब पूर्णतः छुट्टिछाम गर्नुपर्ने बेला नजिकिँदै गरेको हामी सबैले महसुस गरिसकेका थियौँ । तर, कसैगरी सामाजिक जनवादी पार्टीभित्रको एकता जोगाउने बलियो इच्छा अझै धेरै मजदुरमा थियो । निश्चय नै पार्टी सङ्गठनभित्र हाम्रा भूमिगत समिति वा केन्द्रहरूमा केके चलिरहेको छ भन्ने कुरा साधारण जनतालाई थाहा थिएन । (प्रहरीको कडा निगरानीका कारण हामीले देशैभरि यस्ता भूमिगत सङ्गठन बनाएका थियौँ ।) तर, हाम्रो संसदीय समूहले गर्ने गतिविधि एकदम खुला थियो । सेन्ट पिटर्सबर्गका मात्र होइन रुसका कुनाकन्दरासम्म हाम्रो यो समूहका क्रियाकलापको खबर पुग्थ्यो । जनता यो समूह र यसका गतिविधिबारे अवगत थिए । पार्टी एकताको कुरा आयो कि व्यापक जनताले मूलतः यही समूहको एकता बुझ्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *