क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
सन् १९३८ अगस्ट महिनाको अन्तिम साताको एक साँझ । बम्बे सहरको ग्रान्ड रोडमा अवस्थित जिन्ना सभाहलमा आयोजित सभामा सबैको ध्यान थियो, त्यहाँ सहभागी पाँच जना चिकित्सकतिर । सभाको अध्यक्षता गरेकी थिइन् कवयित्रि तथा भारतीय स्वतन्त्रता आन्दोलनकी नेतृ सरोजिनी नायडुले । दुई दिनपछि ती चिकित्सकहरू बिलियार्ड पायरबाट जहाजमा बसेर चीनको लामो यात्रामा निस्कँदै थिए । चीन त्यत्तिबेला चिनियाँ जनताको शब्दमा जापानी हमलाविरुद्धको प्रतिरोध युद्धमा होमिएको थियो ।
चिकित्सकहरूका पाखुरामा रेडक्रसका पट्टि बाँध्दै नायडुले कुरा नचपाई भन्नुभयो, “तपाईँहरू एउटा निकै खतरनाक काममा जान लाग्नुभएको छ । …तपाईँहरूमध्ये केही अथवा कोही एक जना, हुनसक्छ अब कहिल्यै नफर्किने गरी जान लाग्नुभएको छ ।”
भारतीय चिकित्सक टोलीका ती सदस्यहरू आफू होमिन लागेको आगोका भुङ्ग्रोबारे सचेत थिए । यद्यपि, टोलीमा सामेल २८ वर्षका एक सदस्यले चीनतिरको यात्राबारे वर्णन गर्दै लेखेका थिए, “हाम्रो मनभित्र चिन्ताभन्दा बढी अन्तर्राष्ट्रवाद र साम्राज्यवादविरोधी सङ्घर्षमा सामेल हुन जान लाग्दाको गौरवबोध थियो ।”
यसरी आफ्नो यात्राबारे दैनिकी लेख्ने युवा चिकित्सक थिए डा. बेनोजकुमार बसु । उनले उतिबेला लेखेका दैनिकी धेरै वर्षपछि पुस्तकको रूपमा प्रकाशित भयो । त्यो पुस्तकको नाम हो येनानको बोलावट : चीनमा गएको भारतीय चिकित्सक टोली १९३८ देखि १९४३ को कथा (कल अफ येनान : स्टोरी अफ द इन्डियन मेडिकल मिसन टु चाइना १९३९–१९४३)
ऐक्यबद्धताका चिह्न
सन् १९३७ मा जापानले चीनमाथि पूर्ण कब्जा जमाउन हमला थाल्यो । चिनियाँ सैनिक कमान्डर चु तेहले जवाहरलाल नेहरू र भारतीय राष्ट्रिय काङ्ग्रेसलाई चिकित्सकीय सामग्री र चिकित्सकहरू पठाएर मद्दत गर्न आह्वान गरे । चीनका प्रतिबद्ध प्रशंसक नेहरूले चु तेहको आग्रह आफ्नो पार्टीसमक्ष पेस गरे । फलस्वरूप चीन पठाउन चन्दा सङ्कलन र स्वयम्सेवी चिकित्सक छनोटको काम थालियो ।
भारतीय राष्ट्रिय काङ्ग्रेसको त्यो आह्वान भारतको सीमाभन्दा निकै परसम्म फैलियो । मौरिसस, केन्या, सिरिया, बेलायतलगायत धेरै ठाउँबाट प्रतिक्रियाहरू ओइरियो । सात सयजना मानिसले सो आह्वानप्रति अभिरुचि देखाए जसमा एक सय जना चिकित्सकहरू थिए ।
समितिले ३५ हजार भारु (आजको मूल्यमा २.४ करोड भारु) सङ्कलन गर्यो । डा. मदनमोहन लाल अटलको नेतृत्वमा चिकित्सक टोली चीन पठाउने निधो गरियो । उनी स्पेनी गृहयुद्धमा जनरल फ्रान्कोको राष्ट्रवादी शासनविरुद्ध गणतन्त्रवादीहरूको सहायता गर्न बनेको स्पेनी चिकित्सकीय सहायता समितिका वरिष्ठ सदस्य पनि थिए । अटल नेतृत्वको टोलीका उपनेतामा मोहनलाल छोकर छानिए भने अरु सदस्यमा बसु, दिवेश मुखर्जी र द्वारिकानाथ कोटनिस थिए । तीमध्ये कोटनिसको चीनमै निधन भयो ।
सन् १९३८ को सेप्टेम्बर १ का दिन

डा. बीके बसु बसुले खिचेको चिनियाँ आठौँ मार्ग सेनाको तस्बिर
चीन जाने चिकित्सकहरूलाई बिदाइ गर्न मानिसहरूको ठुलो भीड बिलियार्ड पायरमा भेला भए । सरोजिनी नायडु आफै उनीहरूलाई बिदाइ गर्न त्यहाँ आउनुभएको थियो ।
चिनियाँ सहायक दूत र उनकी श्रीमतीसँगै चिनियाँ केटाकेटीहरूको ठुलो टोलीले हामीलाई फूल माला लगाइदियो । अनि उनीहरूले निकै जोशिलो पारामा चिनियाँ राष्ट्रिय गीत ‘छि लाई…’ गाए । बसु लेख्छन्, डा. कोटनिसको गल्लाभरि यति धेरै माला थिए, उनको थकित तर उत्साहित अनुहारबाहेक केही पनि देखिएको थिएन ।
भारतीय टोलीले औषधि र चिकित्सकीय सामग्री आफैले बोकेको थियो भने एउटा ट्रक र एम्बुलेन्स संरा अमेरिकाबाट चीन पठाउने प्रबन्ध मिलाइएको थियो ।
यात्राको बिचमा पनि चिकित्सकहरूप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्ने मानिसहरू भेटिए । कोलोम्बोमा एक जना उत्साहित चिनियाँ पसलेले आफ्नो पसलअगाडि सबै चिकित्सकहरूसँग तस्बिर खिचेका थिए । मलेसियाको फिनाङमा विशेषतः चिनियाँ र भारतीयहरू सम्मिलित स्वागत अभिलाषीहरूले चिकित्सकहरूलाई फूल माला लगाइदिएका थिए ।
“त्यहाँबाट उनीहरूका अगुवाहरूले हामीलाई गाडीमा राखेर अचीन बजारमा अवस्थित चीन मैत्री सङ्घको सभाकक्षमा लगे । त्यहाँ धेरै मानिस हाम्रो बाटो हेरिरहेका थिए,” बसुले लेखेका छन् ।
सिङ्गापुरमा पनि उस्तै । भारतीय र चिनियाँ झन्डा हल्लाउँदै ठुलो सङ्ख्यामा मानिसहरू चिच्याइरहेका थिए, बन्दे मातरम र छि लाई… । हङकङमा पनि उनीहरूको उस्तै हर्षोल्लासका साथ स्वागत भयो ।
युद्धग्रस्त चीनको अप्रिय दर्शन
क्यान्टन (अहिलेको ग्वाङचाउ) मा चिकित्सकहरूलाई डा. सन यात सेनकी श्रीमती सुङ छिङ लिङले हार्दिकतापूर्वक स्वागत गर्नुभयो । सुङ पछि जनगणतन्त्र चीनकी उपराष्ट्रपति बन्नुभयो । आज आधुनिक चीनकी जननी भनेर सम्मानित उहाँले भारतीय चिकित्सकहरूको स्वागतमा भोजको आयोजना गर्नुभएको थियो । भारतीय चिकित्सकहरूलाई सहज बनाउन उहाँ आफैँले अग्रसरता लिनुभएको थियो ।
बसुले लेखेका छन्, “हामीलाई चपस्टिक चलाउन अप्ठ्यारो भएको श्रीमती सुङले देख्नुभयो । हामी भोकै हौँला भनेर उहाँले आफ्नो अगाडि राखिएको कुखुराको मासु राखिएको भाँडोबाट हातले मासु झिक्दै भन्नुभयो, “भगवान्ले हामीलाई खाना खान दुई हात दिनुभएको हो ।” त्यत्ति भनेर उहाँले हातैले खाना खान थाल्नुभयो । उहाँको सिको गर्दै हामीले पनि हातैले खाना खायौँ ।”
क्यान्टन सहरमा भारतीय चिकित्सकहरूले बमले पारेका भ्वाङ र क्षतविक्षत भवनहरू देखे । उनीहरूले एउटा युद्धग्रस्त देशको अप्रिय दर्शन पाए । जापानी हमलाबाट सुरक्षित राख्न रेडक्रसले उनीहरूलाई हुनान प्रान्तको छाङसामा लाने बन्दोबस्त मिलायो ।
बसुले लेखेका छन्, “सैनिक र चिकित्सकीय सामान बोकेका सात वटा गाडीहरू लस्करै निकै सावधानीका साथ गुडिरहेका थिए । सबभन्दा अगाडिको गाडी हामी चढेको गाडीभन्दा सयौँ मिटर अगाडि धुलोको बादल छिचोल्दै पहाडी बाटोका धारिला घुम्ती पार गर्दै थियो । बाटो डरलाग्ने गरी साँघुरो थियो । सबैतिर खाल्डाखुल्डी मात्र थिए । तर, वरपरका पहाड, गाउँ र झरना खोल्साखोल्सी भने मनोरम थिए । दुर्घटना भएर खसेका धेरै ट्रकका अवशेष तल खोलातिर बेला बेला देखिन्थे ।”
छाङसा पुगेर भारतीय चिकित्सकहरूको टोली हानखोउ (अहिलेको उहान) मा गयो । त्यहाँ चिनियाँ रेडक्रसको उपचार टोली नं १५ मा उनीहरू मिसिए । यो नै युद्धको समयमा चिनियाँ चिकित्सकीय उद्धार कार्यमा उनीहरूको औपचारिक जिम्मेवारी बन्यो ।
बसु र छोकर एउटा शल्यक्रिया टोलीमा बसे भने कोटनिस र मुखर्जी अर्को टोलीमा समावेश भए । अटल भने सामान्य चिकित्सक (जनरल फिजिसियन) भएर काम गरे ।
छाङ्सामा अन्तर्राष्ट्रिय सहायताको भावना निकै भावपूर्ण थियो : संरा अमेरिका, युरोप, रुस र जाभाबाट समेत आएका स्वयम्सेवीहरू भारतीयहरूलाई ये च्याङयिङले दिनुभएको भोजमा सहभागी भए । ये च्याङयिङ जापानीहरूसँग लडेको चिनियाँ कम्युनिस्टहरूका दुई वटा सेनामध्ये ठुलो आठौँ मार्ग सेनाका प्रमुख हुनुुहुन्थ्यो । भोजमा सहभागी हुनेमा लेखक तथा पत्रकार एग्नस स्मेडले पनि हुनुहुन्थ्यो । उहाँ भारतीय स्वतन्त्रताका पक्षपाती हुनुहुन्थ्यो ।
भारतको स्वतन्त्रताको लागि जनरल येले टोस्ट प्रस्ताव राख्नुभयो । अनि सुरु भयो साढे दुई घण्टा लामो रात्रिभोज । बसुले लेखेका छन्, “विभिन्न देशका स्वयम्सेवकहरूले एकपछि अर्को आ–आफ्ना देशका गीत गाए, आठौँ मार्ग सेनाको मार्चपास गीत, पहेँलो नदी तर्दाको गीत, रुसी हवाई सेनाको गीत आदि । स्मेडलेले बन्देमातरम गीत सुनाएर हामीलाई चकित पार्नुभयो । मैले भने बङ्गाली भाषामा नजरुलको गीत सुनाएँ, चल रे चल रे चल । त्यो गीतको जोशिलो लयको कारण सुनेर सबै खुब रमाए ।”
तथापि, युद्धको अन्त्यहीन दबाब र तनावले उनीहरूलाई पछ्याउन भने छोडेको थिएन । बसुले आफ्नो टोलीका नेता अटलसँग भएका विवाद सम्झेका छन् । त्यस्तो विवाद अटल भारत फर्किने बेलासम्म मुक्कामुक्कीमा पुगेको थियो । सबभन्दा पछाडि उनीहरूबिच सुरक्षाको विषयमा विवाद भएको थियो । उनीहरू चीन आएको २१ महिनापछि छोकर र मुखर्जी पहिला नै भारत गइसकेका थिए भने अटल आफूसँग बसु र कोटनिस पनि सँगै फर्कनुपर्छ भनी जिद्दी गरिरहेका थिए । तर, दुई जना चिकित्सकहरू बसु र कोटनिस भने चीनमा अझै बस्ने अठोटमा अडिग थिए । उनीहरूले जोखिमको लेखाजोखा नगरी चीनमै बस्ने निधो गरिसकेका थिए ।
त्यतिबेला चीनमा कम्युनिस्ट र च्याङ काई सेकले नेतृत्व गरेको राष्ट्रवादीहरूबिच आपसी अविश्वास बढिरहेको थियो । उनीहरू मिलेर जापानसँग लड्नुअघि नै एउटा रक्तपातपूर्ण लडाइँ लडिसकेका थिए । सन् १९४१ मा उनीहरूबिचको तनाव अझ उत्कर्षमा पुगेको थियो । उतिबेला ६ दिनसम्म उनीहरूबिच भएको हिंसात्मक लडाइँ दक्षिण आन्हुई घटनाको नाममा चर्चित छ । आन्हुई प्रान्तमा राष्ट्रवादी शक्तिले कम्युनिस्टहरूको नयाँ चौथो सेनामाथि हमला गरेको थियो । यो लडाइँले चीनलाई अझै गृहयुद्धको सङ्घारमा पु¥याएको थियो । उनीहरूबिचको झगडाले जापानविरोधी प्रतिरोध युद्धलाई कमजोर बनाइरहेको थियो । एक जना प्रतिबद्ध कम्युनिस्ट भएकोले बसुले आफ्ना चिनियाँ कमरेडहरूको साथ नछोड्ने निधो गरिसकेका थिए ।
त्यत्तिबेलासम्म बसु र कोटनिसबिचको मित्रता पनि गहिरो भइसकेको थियो । उनीहरूको मित्रता घाइतेको उपचारको परिधिभन्दा बाहिर फैलिसकेको थियो । शत्रुको क्षेत्र पार गर्दा उनीहरू जापानीहरूले प्रयोग गरेका पूर्वाधार जस्तै रेलमार्गमा कब्जा गर्ने काममा सक्रियतापूर्वक सहभागी बन्थे ।
अनौपचारिक गुरिल्ला टोलीका कैयौँ लडाकुहरूले हातमा बञ्चरा बोकेका हुन्थे । उनीहरू गएर टेलिग्राफका खम्बामा ढाल्थे । बसुले लेखेका छन्, ‘अनायास हामी राजमार्गमा पुग्यौँ । हामी
शत्रुको सञ्चार रेखा पार गर्दै थियौँ । हामीले मुस्किलले एक किलोमिटरमात्र के पार गरेका थियौँ, अचानक अन्धाधुन्ध राइफल र तोप पड्केको आवाज सुन्यौँ । हाम्रो सुरक्षा दस्ता त्यसको निम्ति तयार थियो । उनीहरूले छेकामा छेकिएर जवाफी हमला गरे ।
जापानी हमलाविरुद्ध चिनियाँ जनसेनाको प्रतिरोधलाई चिनियाँ गाउँलेहरूले मद्दत गर्थे । बसुले कसरी गाउँलेहरूले आठौँ मार्ग सेनालाई सयौँ घाइतेको उपचार, चिकित्सकहरूलाई काम गर्न र शल्यक्रिया गर्न आफ्ना घर र गोठ उपलब्ध गराएका थिए भनी वर्णन गरेका छन् । ‘शत्रुको क्षेत्रमा बिरामी र स्वास्थ्यकर्मीहरूले पनि गाउँलेका लुगा लगाउँथे’, बसुले लेखे, “शत्रु गाउँ पस्दा किसानहरूले आफ्ना गाडा र खर्पनमा राखेर घाइतेलाई अर्को गाउँमा लान मद्दत गर्थे । यसरी ओसार्न नभ्याएका घाइतेलाई गाउँले महिलाहरूले साथ दिन्थे । उनीहरूले घाइते पुरुषलाई आफ्ना दाजुभाइ वा छोरा वा श्रीमान् भनी जोगाउँथे । खेतमा काम गर्दा उनीहरू घाइते भएको भनी जवाफ दिन्थे ।”
जनरल चु तेहसँगको भेटमा भारतीय चिकित्सकहरूले जापानी साम्राज्यविरुद्ध चिनियाँ सङ्घर्ष र भारतीय स्वतन्त्रता आन्दोलनबारे लामो समय कुराकानी गरेका थिए । चु तेहको विचारमा बेलायती शासनविरुद्ध सशस्त्र विद्रोह गर्नु नै भारतीय स्वतन्त्रताको सबभन्दा उ

क्यान्टनमा भारतीय चिकित्सक टोली
त्तम बाटो थियो । “डा. कोटनिस र म भारतको अवस्थासँग चीनको अवस्था धेरै मिल्दोजुल्दो भएको र हाम्रो स्वतन्त्रताको लागि साम्राज्यवादविरुद्ध उस्तै सङ्घर्ष गर्ने परिस्थिति बन्न सक्नेमा सहमत थियौँ,” बसुले लेखेका छन् ।
माओसँग भेट
बसुले चिनियाँ नेताहरू चाओ एनलाई र माओ त्सेतुङको भेटबारे पनि लेखेका छन् । ती नेताहरू उत्तिबेला प्रायशः पहाड खनेर बनाइएका घरमा बस्थे । माओलाई पहिलोपटक उनीहरूले भेट्दा उहाँले सद्भाव र सहायताको लागि भारतीय राष्ट्रिय काङ्ग्रेस पार्टी र भारतीय जनताप्रति क्रान्तिकारी आभार व्यक्त गर्नुभएको थियो ।
“उहाँले साम्राज्यवादविरोधी सङ्घर्षमा भारत र चीनबिचको शताब्दियौँ पहिलादेखिको परम्परागत मित्रता जोडिएको स्मरण गर्नुभयो । पुरानो समयमा बुद्धले आकाशमुनिको सबै भूमिमा शान्ति छर्न धार्मिक उपदेश दिनुभयो । अहिले भारतीय चिकित्सकीय टोली चीनमा आएर साम्राज्यवादविरुद्ध जनताको एकताको सन्देश प्रवाह गरेको छ,” बसुले माओको भनाइ स्मरण गर्दै लेखेका छन् ।
माओ फासीवादविरोधी, साम्राज्यवादविरोधी भारतीय नेता नेहरूबारे थप कुरा जान्न उत्सुक हुनुहुन्थ्यो । चिनियाँ भाषामा नेहरूको नाम नेहलु उच्चारण हुन्छ । त्यस्तै, उहाँले कान टी (गान्धी) बारे पनि जिज्ञासा राख्नुभयो । माओले आफ्ना भाषानुवादमार्फत कान टीको चिनियाँ शाब्दिक अर्थ ‘मिठो धर्ती’ हुने पनि बताउनुभयो ।
माओले गान्धीको अहिंसात्मक सङ्घर्षको बाटोबारे असहमति व्यक्त गर्नुभएको पनि बसुले सम्झेका छन् । उहाँले हामीलाई साम्राज्यवादीहरूमध्ये पनि बेलायत सबभन्दा धूर्त, अनुभवी भएको र हामी (भारतीय) ले निकै कठिन र अप्ठ्यारो बाटो हिँड्नुपर्ने बताउनुभएको थियो ।
चिकित्सक टोलीका अगुवा छोकर भने माओका कुरासँग असहमत थिए । छलफलको क्रममा हाम्रा सहायक टोली नेता वरिष्ठ चिकित्सक छोकरले भनेका थिए, “गान्धीकै नेतृत्वमा हामीले स्वाधीनता पाउनेछौँ ।” छोकर कट्टर गान्धीवादी तर हिन्दू सम्प्रदायवादी थिए । उनको कुराको जवाफमा माओले बेलायती प्रतिक्रियावादी हिंसाको प्रतिरोधको लागि क्रान्तिकारी हिंसा आवश्यक हुने बताउनुभएको थियो ।
सन् १९३९ को अगस्टमा नेहरू छोङछिङको भ्रमणमा आउने कुराले चिकित्सक टोली निकै उत्साहित भएको थियो । नेहरू येनान पनि आउने उनीहरूलाई आशा थियो । तर, त्यस्तो भएन ।
अपमानपूर्ण व्यवहार
सन् १९४२ मा कोटनिसको निधन भयो । भारतीय चिकित्सक टोलीका सदस्यमध्ये बसु एक जनामात्र चीनमा बाँकी रहे । उनी सन् १९४३ को जुलाईसम्म चीनमा बसे । सन् १९४३ को जुलाईमा छोङछिङबाट खुन्मिङ हुँदै उनी आसामबाट कोलकोत्ता पुगे ।
उनले फर्किँदा विमान भारत प्रवेश गरेपछि हिमालय पर्वतको टाकुरा अजम्बरी हिउँले छोपिएको लेखेका छन् । चिसो डाकोटा विमानमा उनलाई न्यानो बनाउन चिनियाँ परिचारिकाहरूले न्यानो कम्बलले शरीर छोपिदिएको बसुले सम्झेका छन् ।
‘विमानस्थलबाट बाहिर निस्कँदा मैले धेरै वर्षपछि पहिलोपटक आफ्नो देशका मान्छे देखेको थिएँ । कालो वर्ण, ठुला आँखा र नाक र पातला खुट्टा भएका भारतीयहरू हामीलाई खाना दिइरहेका थिए’, उनले लेखेका छन्, “उधुम गर्मीले मलाई आफ्नो देशमा पुगेको अनुभूति दिलाएको थियो ।”
कोलकोत्ता अवतरण भएपछि बसुलाई ग्रेट इस्टर्न होटलको पछाडि सुरक्षा कार्यालयमा लगिएको थियो । त्यहाँ बेलायती र भारतीय सुरक्षा अधिकारीहरूले उनको अपमानजनक सोधखोज र खानतलासी गरेका थिए । उनीहरूले बसुलाई भारतीय सुरक्षा कानुनअनुसार जेल कोच्ने धम्कीसमेत दिएका थिए ।
“यसरी म मेरो देश फर्केँ जहाँ भारतीयहरूमाथि यस्तो अपमानपूर्ण व्यवहार सामान्य भइसकेको थियो । पछि मात्र मलाई थाहा भयो, म सुभाषचन्द्र बोसको मान्छे हुन सक्ने भनी उनीहरू डराएका रहेछन् । त्यही भएर सबैजना हतियारसहित आएका रहेछन् । त्यत्तिबेला बोस सिङ्गापुरमा थिए ।”
चीनबाट फर्केपछि बसु भारतीय कम्युनिस्ट पार्टीका पूर्णकालीन कार्यकर्ता बने । सन् १९४४ मा उनले आफ्ना परममित्र कोटनिसबारे चलचित्र छायाङ्कन गर्न अहमद अब्बास र भी शान्तारामलाई मद्दत गरे ।
सन् १९५८ मा बसु अकुपञ्चर उपचार विधि अध्ययन गर्न पेइचिङ गए । फर्केर कोलकोत्तामा उनले चिनियाँ उपचार विधिमा आधारित पहिलो क्लिनिक खोले । उनको सन् १९८६ अक्टोबरमा ७४ वर्षको उमेरमा निधन भयो ।
सन् २०२५ को अगस्टमा चीन सरकारले बीके बसुलाई युद्धमा चिनियाँ जनताको सहायताको लागि अमूल्य योगदान गरेकोमा स्मृति पदकले सम्मान गर्यो ।
(लेखक कमलाकरण मुम्बईका लेखक हुनुहुन्छ ।)
स्रोत : स्क्रोल डट आईएन (सबै तस्बिरहरू बसुको निजी सङ्कलनबाट उपलब्ध गराइएको हो ।)
अनुवाद : नीरज
Leave a Reply