भर्खरै :

राजनीति देश र जनताको सेवामा केन्द्रित हुनु जरुरी

राजनीति देश र जनताको सेवामा केन्द्रित हुनु जरुरी

भक्तपुर, १२ मङ्सिर । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा शुक्रबार नगरपालिकाबाट प्रवाहित सेवा र समसामयिक विषयमा क्वाठण्डौँमा जानकारी सभा सम्पन्न भयो ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले समाजवादउन्मुख काममा जोड दिँदै जनतासँग हातेमालो गर्दै अगाडि बढाइरहेको बताउनुभयो ।
“पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण गर्न मौलिक सीप नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार कार्य नगरवासीकै सहयोगमा नगरपालिकाले अगाडि बढाउँदै आएको छ”, प्रमुख प्रजापतिले भन्नुभयो ।
नगरपालिकाका गतिविधिहरूलाई विभिन्न सञ्चारमाध्यममार्फत पारदर्शी गर्दै आएको स्पष्ट पार्दै उहाँले नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भनपाका जनप्रतिनिधिले जनताको सेवा गर्दै आएको बताउनुभयो । अग्रजको योगदानलाई नगरपालिकाले सधैँ सम्मान गर्नेछ, उहाँले भन्नुभयो ।
सिद्धान्त र व्यवहारबिच सामीप्यता नगरी फरक ढङ्गले काम गर्ने राजनीतिक पार्टीहरूको अस्तित्व बिस्तारै हराउँदै जाने धारणा प्रमुख प्रजापतिले व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “युवाहरूलाई स्वरोजगार बनाउन नगरपालिकाले हेयर कटिङ, सिलाइ, पाक शिक्षा, टेलिभिजनसम्बन्धी क्षमता अभिवृद्धि तालिमहरू सञ्चालन गरिरहेको छ† हातमा सीप भएका व्यक्तिहरू कहिल्यै बेरोजगार हुनुपर्ने छैनन् ।”
नगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग सङ्कलन गरी कुहिने फोहोरबाट मल उत्पादन गरी जनतालाई सहुलियत दरमा वितरण गर्दै आएको जानकारी दिँदै प्रमुख प्रजापतिले सार्वजनिक र पर्ती जग्गा ओगटेर बनाइएका संरचनाहरू ढिलो चाँडो सरकारकै स्वामित्वमा आउने बताउनुभयो ।
राजनीतिलाई खेलाँचीको विषय बनाउनुहुँदैन† राजनीति देश र जनताको सेवामा केन्द्रित हुनु जरुरी छ, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवं भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले वडाको विकास निर्माण गतिविधिबारे अवगत गराउँदै भक्तपुर नपा वडा नं. १० धेरै जनसङ्ख्या र ठुलो क्षेत्रफल ओगटेको वडा भएको बताउनुभयो ।
उहाँले वडामा धेरै पाटीहरू रहेको र ती पाटी पुनःनिर्माणमा जोड दिँदै आएको उल्लेख गर्दै नपाले पर्ति जग्गा संरक्षणमा पनि आवश्यक पहल गर्दै आइरहेको बताउनुभयो ।
नेमकिपा १० वडाका इन्चार्ज लक्ष्मीप्रसाद चवालले युवाहरूलाई विदेसिनबाट रोक्न सकेन भने देशमा ठुलो सङ्कट निम्तिने आशङ्का व्यक्त गर्दै युवाहरूलाई राजनीतिक रूपमा सङ्गठित पार्नु आजको आवश्यकता हो भन्नुभयो ।
नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गङ्गाराम ज्याख्वले नेमकिपाका अग्रजहरूले गरेको सङ्घर्षको फल आज भक्तपुरवासीले उपभोग गरिरहेको छ भन्दै नेमकिपाले किसानहरूको हकहितमा गरेको विभिन्न आन्दोलनको परिणाम आज भक्तपुरका किसानहरू सबै क्षेत्रमा अगाडि बढिरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको सेवा प्रवाह र आगामी योजनाहरूबारे स्पष्ट पार्दै ख्वप अस्पताल जनताको अस्पतालको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।
सभामा वडा सदस्य कृष्णनारायण दुमरू र जितेन्द्र मुनंकर्मीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *