क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
-भक्तपुर नगरबारे केही बताइदिनुहुन्छ कि !
भक्तपुर देशकै सानो नगरपालिकामध्ये एक हो । आकारको हिसाबले सानो भए पनि सांस्कृतिक, पर्यटकीय र विविध हिसाबले अत्यन्त महत्वपूर्ण नगर हो । भक्तपुरमा ८० हजारको हाराहारीमा स्थायी बासिन्दाहरू छन् । त्यतिकै सङ्ख्यामा नगर बाहिरका मानिसहरूको बसोबास छ । सबै गरेर भक्तपुर नगरपालिकाले दैनिक डेढ लाख मानिसहरूलाई सेवा दिइरहेको छ । १२ देखि १५ औँ शताब्दीमा भक्तपुर नेपालमण्डलको राजधानी थियो । त्यतिखेर बनेका थुप्रै सम्पदाहरू अहिलेसम्म जीवन्त छन् । भक्तपुर नपामा हामी २०७४ र २०७९ साल गरी दुईपटक निर्वाचित भयौँ । नेमकिपाको पुरै प्यानलले दुवै पटकको निर्वाचनमा जीत हासिल गर्यो ।
-भक्तपुरको विकास कसरी गर्दै हुनुहुन्छ ?
धेरै मानिस ठुलठुला भवनहरू, चौडा सडक र झिलिमिलीलाई विकास भनेर बुझ्छन् । तर, हाम्रो बुझाइ अलि फरक छ । जनताको चेतनास्तरको विकासलाई प्राथमिकतामा राखेर हामीले काम ग¥र्यौँ† शिक्षालाई जोड दियौँ । शिशुस्याहार केन्द्रदेखि विभिन्न विषयका उच्च शिक्षा अध्ययन गर्ने सातवटा शैक्षिक संस्थाहरू सञ्चालन गर्दै छौँ । सरकारी विद्यालयलाई राम्रो बनाउने हाम्रो प्रयास जारी छ । सरकारी विद्यालयको गुणस्तर बढेसँगै धेरैवटा निजी विद्यालय बन्द, खारेज वा मर्ज भइसकेका छन् । सरकारी विद्यालयहरूको गुणस्तर बढाउने काम गर्दै छौँ । शिक्षकहरूलाई विषयगत तालिम, विद्यालयलाई आर्थिक र भौतिक सहयोग, नियमित विद्यालय अनुगमन, पुस्तकालय निर्माणलगायतको व्यवस्थाले सरकारी विद्यालयहरूको स्तर राम्रो हुँदै आएको छ ।
-शिक्षामा भक्तपुर नपाले गरेका कामबारे अझ प्रस्ट पारिदिनुस् न !
हामीले दुईवटा इन्जिनियरिङ कलेजसहित सातवटा शैक्षिक संस्था सञ्चालन गरिरहेका छौँ । दुवै इन्जिनियरिङ कलेजले वर्षमा ४३२ जना इन्जिनियरहरू उत्पादन गर्छ । ख्वप कलेज अफ लले पनि न्यून शुल्कमा गुणस्तरीय कानुन शिक्षा प्रदान गर्दै आएको छ । शिक्षाको स्तर राम्रो बनाउन शिक्षकहरू राम्रो र योग्य हुनुपर्छ । एकजना शिक्षक राम्रो भए विद्यालयका सबै विद्यार्थी राम्रा हुन्छन् । अवकाश प्राप्त शिक्षक प्राध्यापकहरूलाई पनि हामीले आंशिक कक्षाहरू लिन लगाइरहेका छौँ ।
नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्रमा १५–१६ महिनादेखिका बालबालिकाहरूलाई भर्ना लिन्छौँ । महिलाहरूको श्रमशक्तिको उपयोगको लागि हामीले वडा–वडामा शिशुस्याहार केन्द्रहरू सञ्चालन गर्दै छौँ । प्रत्येक शिशुस्याहार केन्द्रमा ४० जनाको दरले विद्यार्थीहरू भर्ना लिने गरेका छौँ । अहिले नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी आदर निकेतन सञ्चालनको तयारी गर्दै छ ।
-मेडिकल कलेज सञ्चालनबारे पनि कुरा छ नि !
भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारहरू तयार गरिरहेको छ । सस्तोमा मेडिकल शिक्षा पनि पढाउने उद्देश्यले ख्वप विश्वविद्यालयको माग गरिरहेका छौँ । जनकपुरको राजश्री जनक विश्वविद्यालय ख्वप विश्वविद्यालत्न्दा पछि प्रस्ताव गरिएको हो । तर, ख्वप विश्वविद्यालयलाई सरकारले अहिलेसम्म स्वीकृति दिएको छैन । ख्वपले देशको लागि अरूले भन्दा फरक र मौलिक शैलीको जनशक्ति उत्पादन गरिरहेको छ ।
-कर्मचारीहरूमा अनुशासन कतिको पाउनुहुन्छ ?
हामीले अनुशासनमा जोड दिएका छौँ । संस्थाको विकासमा अनुशासनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गरिबहरूलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित हुन नपरोस् भनेर शैक्षिक ऋणको व्यवस्था गर्दै छौँ । नेपालभाषा, इतिहास, संस्कृति, अर्थशास्त्र, दर्शनशास्त्रलगायतका विषयमा नगरवासी विद्यार्थीहरूका लागि पीएचडीसम्मको शिक्षालाई छात्रवृत्ति प्रदान गर्दै आएका छौँ ।
-स्वास्थ्य अवस्था कस्तो छ ?
जनतालाई छिटो छरिटो स्वास्थ्य उपचारको लागि घरदैलो नर्सिङ, वडा–वडामा स्वास्थ्य केन्द्रहरू र १०० शøयाको ख्वप अस्पताल सञ्चालन गरिरहेका छौँ । ख्वप अस्पतालले गत आ.व. मा करिब २ लाख ९० हजार बिरामीलाई सेवा प्रदान ग¥यो । नगरवासीहरूलाई अक्सिजन र रगत निःशुल्क वितरण गर्दै छौँ । ख्वप अस्पतालमा बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म ३६५ दिन ११ घण्टा ओपीडी सेवा सञ्चालन हुन्छ । उक्त अस्पताल धेरै मानिसहरूको आकर्षणको केन्द्र बन्दै छ । गत वर्ष ७४ जिल्लाका बिरामीहरूले ख्वप अस्पतालबाट स्वास्थ्य उपचार सेवा लिएको तथ्याङ्क छ ।
भक्तपुर नगरपालिकाभित्र भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पताल सञ्चालनमा छन् । नगरभित्र निजी अस्पतालहरू खासै छैनन् । यही मङ्सिरबाट ख्वप अस्पतालमा सिटी स्क्यान सञ्चालन गर्ने तयारीमा छौँ । ल्यापरोस्कोपिक सर्जरीको सामग्रीहरूबाट थप सेवा दिने तयारी गरिरहेका छौँ । स्वास्थ्य बीमा पनि प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।
-शिक्षा, स्वास्थ्यबाहेक अरू कुन विषयलाई प्राथमिकतामा राख्नुभएको छ ?
भक्तपुर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ । सांस्कृतिक नगर भक्तपुरमा धेरै आन्तरिक र बाह्य पर्यटकहरू घुम्न आउँछन् । नेपालमा आउने पर्यटकमध्ये २५ देखि ३० प्रतिशत पर्यटक भक्तपुर आउने गरेको रेकर्ड छ । नगरको सरसफाइमा विशेष ध्यान दिएका छौँ । सम्पदा पुनःनिर्माण जनताको सहयोगमा उपभोक्ता समितिमार्फत गर्दै छौँ । सम्पदा पुनःनिर्माणमा जनताले आर्थिक र भौतिक सहयोग पनि उल्लेख्य रूपमा गरेका छन् । थुप्रै सम्पदाहरू अहिले निर्माणाधीन छन् । पर्यटन विकासको लागि आवश्यक पूर्वाधारहरू निर्माणमा जोड दिएका छौँ ।
-फोहोर व्यवस्थापन कसरी गर्नुभएको छ ?
फोहोर व्यवस्थापन गर्न कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरी किसानहरूलाई सहुलियत दरमा वितरण गर्दै छौँ । फोहोरलाई नगरपालिकाको आयस्रोतमा रूपान्तरण गर्ने कोसिस गरिरहेका छौँ । किसानहरूलाई मलको प्रयोग, माटो परीक्षण, विषादी प्रयोग आदिको पनि तालिमको व्यवस्था गरेका छौँ । कम जग्गामा कसरी धेरै उत्पादन गर्ने विषयमा पनि किसानहरूलाई तालिम दिएका छौँ ।
-एनजीओ तथा आईएनजीओबारे के अवस्था छ ?
नगरपालिकामा एनजीओ तथा आईएनजीओलाई स्वीकृति दिएका छैनौँ । हामीले सक्ने काम हामी आफै गर्दै छौँ, आवश्यक परे जनतालाई गुहार्छौँ । अरूको भरमा चल्ने बानी परेमा हामी अल्छी हुन्छौँ । जनतालाई नै सक्रिय बनाउने सोचले काम गरिरहेका छौँ । शिक्षित मान्छे स्वस्थ भएपछि उसले देशमा परिवर्तन ल्याउँछ भन्ने मान्यताले काम गर्दै छौँ । जनतालाई हरेक क्षेत्रमा सेवा गर्ने भावनाले काम गर्दै र्छौँ । ख्वप अस्पतालमा सुत्केरी गराउन प्रसूति सेवा सञ्चालनमा छ । अध्ययन तथा अध्यापनको लागि कलेजहरू सञ्चालनमा छन् र ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतन सञ्चालनको तयारी गरिरहेका छौँ । आधुनिक सुधारिएको शवदाह गृह निर्माण गरेका छौँ । जनता नगरपालिकाको कामबाट खुसी छन् । जनता खुसी भएपछि हामी पनि खुसी हुने नै भयौँ ।
-सम्पदा पुनःनिर्माण कसरी भइरहेको छ ?
सम्पदाको महत्व बुझेका स्थानीयलाई सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा काम गराइरहेका छौँ । हामी सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार ठेक्कामा गर्न नहुने पक्षमा छौँ । यसबारे महालेखासँग पनि धेरैपटक छलफल भएको छ ।
-अन्य ठाउँमा डुबानको समस्या छ, भक्तपुरमा कस्तो छ ?
नगरका मुख्य सडकहरूको दुवै क्षेत्रमा हरियाली व्यवस्थामा जोड दिँदै आएका छौँ । खोलाहरूलाई फराकिलो पारेको कारण यो वर्ष वर्षाको समयमा केही समस्या भएन । ठुलठुला खोलाहरू साँघुरिँदै जाँदा डुबानको समस्या भएको हो । खोलामा पानी बग्नुपर्नेमा माटो धेरै बगेकोले समस्या आएको हो । खोलामा फोहोर पानी नजाओस् भनी उपचार पोखरीहरू निर्माण गरिरहेका छौँ ।
-कुन उद्देश्यले तपाईँ यहाँ आउनुभएको हो ?
अनुभव आदानप्रदान गर्ने उद्देश्यले विभिन्न स्थानीय तहका जनप्रतिनिधि भक्तपुर भ्रमणमा आउनुहुन्छ भने हामी पनि नेपालका विभिन्न स्थानीय तहहरूमा अध्ययन तथा अवलोकन भ्रमणमा पुगेका हौँ । दुई नगरपालिकाहरूबिचको अनुभव आदानप्रदानले धेरै कुरा सिक्ने अवसर मिलेको छ । भौगोलिक बनोटअनुसारका स्थानीय तहहरू सबैको आ–आफ्ना विशेषताहरू हुन्छन् । सबै नगरवासीहरूलाई स्वस्थ राख्न ठाउँ–ठाउँमा व्यायामशालाहरू राखिदिएका छौँ । युवा, विद्यार्थी, ज्येष्ठ नागरिकहरू फुर्सदको समयमा व्यायाम गरिरहेका देख्छौँ । स्थानीय तहहरूले आत्मनिर्भर बन्ने प्रयत्न गर्नुपर्छ ।
-जनप्रतिनिधिहरूले कसरी काम गर्नुपर्छ भन्ने यहाँको अनुभव छ ?
जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले जनप्रतिनिधिहरूले काम गरेको खण्डमा एक दिन अवश्य सफल हुन्छ । जनप्रतिनिधिहरूले जनताको घर–घरमा पुगेर सेवा गर्नु आवश्यक छ । ‘जनप्रतिनिधिहरू जनताको सेवा गर्न निर्वाचित भएका हुन्’ भन्ने भावनाले काम गर्न सक्नुपर्छ । राजनीतिक कार्यकर्ताले व्यक्ति र समाजको समस्या बुझेर समाधान गर्न सक्ने एक कुशल ‘सामाजिक चिकित्सक’ बन्नुपर्ने देख्छु ।
-भक्तपुरको रोजगारीको अवस्था कस्तो छ ? नपाले ध्यान दिएको छ छैन ?
नगरवासीहरूलाई रोजगारीको सन्दर्भमा नगरपालिकाले सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको छ । जनताको हातमा सीप दिने हो भने उनीहरू आफै स्वरोजगार बन्छन् । रोजगारीले व्यक्तिलाई आत्मनिर्भर बनाउँछ । तालिम प्राप्तहरू धेरैले रोजगारी पाइरहेका छन् ।
-स्थानीय तहमा राजनीतिक पार्टी हुनुहुँदैन भन्ने विषयमा यहाँको विचार के छ ?
हरेक व्यक्ति सिद्धान्त र विचारले निर्देशित हुनुपर्छ । जुन विचारले निर्वाचित भएको हो, त्यो विचारअनुसार काम गर्नुपर्छ । समाजवादी विचार अङ्गीकार गरेका राजनीतिक पार्टीहरूले त्यही विचारअनुसारको काम गर्नुपर्छ । निर्वाचित पद सबैको साझा पद हो । जुनसुकै पार्टीबाट जिते पनि समानताको आधारमा काम गर्नुपर्ने हुन्छ । स्थानीय तहबिच सहयोग आदान–प्रदान हुनुपर्छ । चर्चामा आउनको लागि काम गर्ने होइन । कामको गुणस्तरमा प्रतिस्पर्धा गर्दा भक्तपुरले राम्रो काम गर्न सकेको हो ।
-वर्तमान सरकारलाई कसरी लिनुभएको छ ?
वर्तमान सरकार संविधानअनुसार बनेको होइन । देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै तत्कालीन सङ्कट व्यवस्थापनको लागि गठन गरिएको ‘निर्वाचन सरकार’ हो । यो सरकार निर्वाचन गराउनतिर केन्द्रित भएर लाग्नुपर्छ । निर्वाचन भएन भने देश अराजकतातर्फ जान सक्छ । राज्यले अकल्पनीय क्षति भोग्नुपर्ने हुन सक्छ । यसबारे सबै सचेत हुनुपर्छ ।
(नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग जनकपुरको मिथिलाञ्चल एफएम १०५ मेघाहर्जका प्रस्तोता मुकेश दुबेले गत कार्तिक २२ गते लिनुभएको अन्तर्वार्ता सामान्य सम्पादनसहित यहाँ प्रस्तुत गरिएको छ ।)
Leave a Reply