२५० वर्षमा अमेरिका विवादित विगतबाट फासीवादी भविष्यतर्फ ? – २
- असार ३०, २०८३
गुप्त प्रहरीको सोही रिपोर्टमा ‘७ मेन्शेभिकहरू’ का अन्य बैठकहरूको विवरण पनि पाइन्छ । त्यसमा मेन्शेभिक समूहको ढुलमुले र धरमरे विचारका अनेक उदाहरण छन् । क्रान्तिकारी उभारको शक्ति र दायराले मेन्शेभिकहरू प्रभावित थिए । प्रहरी रिपोर्टअनुसार चखेन्केलीले तर्क गरे, “हाम्रो समूहले विशुद्ध संसदीय कार्य गर्ने र ‘जुनसुकै हालतमा संसद् जोगाउने’ पुरानो रणनीति त्याग्नुपर्छ र अझ क्रान्तिकारी गतिविधिमा जोड दिनुपर्छ ।” यो तर्कमा अन्य ‘मेन्शेभिक’ ले समर्थन जनाएनन् । चखाइद्जेले विरोध जनाए । उनले समूहका सदस्यहरूलाई ‘कठिन समयमा दिमाग ठन्डा राख्न र कानुनले तोकिदिएको दायराभित्रै केही हासिल गर्न प्रयत्नशील हुन’ भने ।
क्रान्तिकारी उभारको यस्तो अवधिमा हडताललाई सुस्त पार्नुपर्छ भन्ने सोच हानिकारक थियो भन्नु नपर्ला । तैपनि, मेन्शेभिकहरूको प्रभाव यो बेला कमजोर भइसकेको थियो । त्यसैले आन्दोलनको फैलावलाई रोक्न उनीहरू असमर्थ थिए । वामपन्थी सांसदहरूलाई १५ बैठकबाट निलम्बन गरेको विरोधमा ८० हजार मजदुरहरू विरोध हडतालमा सहभागी भए । देशभरि नै यसको शक्तिशाली प्रभाव फैलियो ।
वामपन्थीहरूको अनुपस्थितिमा सदनमा उदारवादीहरूले सरकारविरुद्ध बोले र सरकारको निन्दा गरे । तैपनि उनीहरूले बजेटको अनुमोदन ढिलो पार्न सकेनन् । सदनको बहुमतबाट बजेट पारित भयो । यो शान्त माहोलबाट सरकार खुसी भयो र सबै मन्त्रीहरूले निलम्बित सांसदहरू फर्किनुअघि नै आआफ्ना मन्त्रालयका हिसाब मिलान गर्न जोडबल लगाए । एक अखबारी रिपोर्टअनुसार खासगरी दैवीप्रकोप मन्त्रालय एकदम हतारोमा थियो । त्यहाँका एक हाकिमले भने, “जबरजस्ती निकालेको हुनाले तिनीहरू अझ आक्रोशित भएर फर्किनेछन् । तिनले टोक्नेछन् ।”
यसबिच तीन वामपन्थी समूहका सांसदहरूले सदनमा फर्केपछि कसरी जाने भन्ने विषयमा रणनीति तय गरे । कसैलेसंसद् अवरोध जारी राख्नुपर्ने प्रस्ताव राखे त कसैले द्वन्द्व टुङ्गिसकेको हुनाले पुरानै संसदीय क्रियाकलापमा जानुपर्ने बताए । अन्त्यमा सबै समूहका सांसदहरू फर्किने बेला एउटा संयुक्त वक्तव्य जारी गर्ने र त्यसलाई सदनमा पढ्नुपर्नेमा एकमत भए ।
वक्तव्य खेस्रा गरियो र तीन समूहको संयुक्त बैठक डाकियो । हामीले सावधानी अपनाउँदा अपनाउँदै पनि गुप्त प्रहरीले हाम्रो वक्तव्यलाई रोद्जान्कोलाई बुझाएको रहेछ । यो कुरा हामीले पछि मात्र थाहा पायौँ । यसकारण, मे ७ गते सांसदहरू सदनमा फर्किँदा रोद्जान्को हाम्रो वक्तव्यको वाचन रोक्न गजधम्म परेर बसेका थिए । तर, हामी पनि तम्तयार थियौँ । हामीले धेरै वक्ता तयार पारेका थियौँ । (त्रुदोभिक सांसद) करेन्स्कीलाई वक्तव्य पढ्ने जिम्मा दिइएको थियो । कदाचित उनलाई बिचमै रोके अर्का वक्ताले पढ्ने भन्ने थियो । सभामुख र वामपन्थी समूहहरूबिच लामै सङ्घर्ष भयो । अन्त्यमा सदनलाई पूरै वक्तव्य पढेर सुनाइयो ।
यसरी रोद्जान्कोको अनैच्छिक सहयोगमा सदनबाट निलम्बित सांसदहरूको पुनः आगमन समेत सरकारविरुद्ध प्रदर्शनमा बदलियो । सारा देशले यसमा चासो लियो ।
संसद्मा अप्रिल महिनाभरि जे भयो र त्यसले जनतामा जस्तो उभार ल्यायो त्यसले पछि क्रान्तिकारी आन्दोलनलाई सदृढ र विकसित बनाउन महत्वपूर्ण भूमिका खेल्यो । परिणाम लगत्तै मे दिवसको प्रदर्शनमा प्रकट भयो । सन् १९१४ को मे दिवसको जुलुस पोहोरको भन्दा कता हो कता ठुलो थियो । सेन्ट पिटर्सबर्गमा मात्र साढे २ लाख र मस्कोमा ५० हजार मजदुरले हडतालमा भाग लिए । त्यस्तै, मजदुर आन्दोलन अलि कमजोर रहेका अन्य प्रान्तका सहरहरूमा आयोजित प्रदर्शनहरूमा पनि ठुलो उत्साह देखियो । मजदुरवर्गले जारशाहीविरुद्ध निर्णायक सङ्घर्षको तयारी गर्दै छ भन्ने स्पष्ट भयो । सबै कोणबाट यही निष्कर्ष निस्किन्थ्यो । क्रान्तिका सबैभन्दा ठुला शत्रु पुरिश्केभिचको स्वीकारोक्तिबाट यसमा उल्लेख्य रह्यो । मे दिवसको हडतालले दुखेको टाउको लिएर मे २ गते सदनमा उनले भने :
“हामीले उल्लेखनीय दृश्य देख्दै छौँ । हामी सन् १९०४ को जस्तै हडताली अवधिबाट गुज्रिँदै छौँ । आँखा नटाली हेर्ने हो भने हामीले देख्नुपर्छ केही भिन्नता भए पनि आजको घटनाक्रम र सन् १९०४ बिच धेरै समानता छ । हामीले आवश्यक निष्कर्ष निकाल्नैपर्छ ।”
यो भनाइ कुनै मजदुर सांसदको थिएन । स्वयम् कालासयहरूका ठुला नेता पुरिश्केभिचको थियो । उनले नयाँ क्रान्तिकारी वर्षको आगमनबारे बोले । यसले नै मजदुर वर्गबिच फैलिँदो क्रान्तिकारी आन्दोलनको घनत्व छर्लङ्ग पार्छ ।
सांसदहरू सदनमा फर्किनु अघि नै बजेटका प्रमुख प्रावधान पारित भइसकेका थिए । तैपनि हामीले बाँकी छलफलमा भाग लियौँ । हामी बोल्दा जहिल्यै कुनै मन्त्रालय विशेषको बजेट विनियोजबारे नबोली जारशाही सरकारको समग्र नीतिबारे बोलिरह्यौँ । समूहको अनुरोधमा मैले शिक्षा मन्त्रालयको बजेटबारे बोलेँ । त्यतिबेला जनताले त्यसमा ठुलो चासो लिइरहेको अवस्था थियो ।
नयाँ शिक्षामन्त्री कास्सोले केही दमनकारी नीति अघि सारेका थिए । उनले विश्वविद्यालयबाट प्रोफेसरहरूलाई निकाला गरेका थिए । त्यस्तै, उनले विद्यार्थीहरूलाई पक्राउ र निष्कासित गरेका थिए । उनले ‘घातक मण्डलीहरू’ मा भाग लिएको हुनाले माध्यमिक विद्यालयका कलिला विद्यार्थीलाई समेत पक्राउ गरेका थिए । मेरो मन्तव्य धेरै त क्राको सहरबाट लेनिनले पठाउनुभएको सामग्रीमा आधारित थियो । नवनियुक्त मन्त्रीका नीतिको निन्दा गर्नुका साथै क्याडेटलगायत अन्य उदारवादी दलहरूले अघि सारेका ‘समाधान’ भित्र लुकेको पाखण्ड उदङ्ग्याउनु नै मेरो मन्तव्य सार थियो ।
पाठ १७
रोमन मालिनोभ्स्की
मालिनोभ्स्कीले संसद् छोडे । मजदुरहरूलाई समूहको अपिल । एजेन्ट प्रोभोकेटर मालिनोभ्स्की । मालिनोभ्स्की र गुप्त प्रहरी । स्वेर्दलोभ र स्तालिनको गिरफ्तारी । मालिनोभ्स्कीले किन छोडे सदन । मालिनोभ्स्कीको मुद्दा ।
निलम्बित सांसदहरू सदन फर्केको दिन दिउँसोपख मालिनोभ्स्की सभामुख रोद्जान्कोको कार्यालयमा पसे । टेबलमा एउटा कागत फाल्दै सभामुखलाई उनले ‘अलबिदा’ भने ।
रोद्जान्कोले यसको अर्थ के हो भनी सोधे । जवाफमा मालिनोभ्स्कीले भने, “त्यो पढ्नुहोस् । आफै बुझ्नुहुनेछ ।” उनले हतारिँदै आफूले सदनबाट राजीनामा दिएको र अब विदेश जाने भने ।
त्यो बेला सदनमा बचेका हाम्रा एकमात्र सदस्य थिए मुरानोभ । उनले तुरुन्तै समूहसँग सम्पर्क राखे । तर, समूहको कक्षमा हाम्रो बैठक हुनुभन्दा अगाडि नै रोद्जान्कोले मालिनोभ्स्कीको राजीनामा पत्र पढिसकेका थिए ।
मालिनोभ्स्कीको राजीनामा एकाएक आएको चट्याङ जस्तो भयो । त्यतिञ्जेल उनले राजीनामा दिने सोचिरहेको कुनै पूर्व सङ्केत नै थिएन । पार्टीलाई जानकारी नदिई, स्वीकृति नै नलिई राजीनामा दिनु पार्टी अनुशासनको खुला र असामान्य उल्लङ्घन थियो । हामीले उनको राजीनामाको कारण पत्ता लगाउनै सकेनौँ ।
पेत्रोभ्स्कीसँग समूहले मालिनोभ्स्कीलाई तुरुन्तै बोलाएर समूहको कक्षमा ल्याउन र स्पष्टीकरण दिन लगाउन भन्यो । मालिनोभ्स्कीले अस्वीकार गरेछन् । यसबेला आफू निकै उत्तेजित हुनाले स्पष्टीकरण दिन नसक्ने बताएछन् । तैपनि, हामीले बैठकमा उपस्थित भए पुग्ने भन्दै पेत्रोभ्स्कीसँग जसरी हुन्छ मालिनोभ्स्कीलाई ल्याउन भन्यौँ । दोस्रोपल्ट पनि उनले अस्वीकार गरेछन् र एक उत्तेजित पागलकै स्वरमा चिच्याएछन्, “ममाथि मुद्दा चलाऊ, जे मन लाग्छ गर तर म बोल्नेवाला छैन ।” त्यही बेला उनले साँझ देश छोड्ने बताएछन् ।
मालिनोभ्स्कीबाट स्पष्टीकरण हासिल गर्ने सबै प्रयास काम लागेनन् । समूहले उनी र कामरेड कामेनेभलाई पठाएको पत्र उनी रेल चढ्नुभन्दा ठीक अघि मात्र उनको हातमा परेछ ।
सदन र सेन्ट पिटर्सबर्गबाटै मालिनोभ्स्कीको आकस्मिक बहिर्गमनले हाम्रो समूहलाई अक्करमा पारिदियो । उनको कदम पार्टीका लागि मात्र नभई समस्त मजदुरहरूको सङ्घर्षका लागि विश्वासघाती थियो । यसले शत्रु हँसाउने काम भयो । सनसनीपूर्ण विज्ञप्तिहरू प्रकाशित भए । हाम्रो पार्टीभित्र ठुलै गडबडी मच्चिएको शङ्का उपशङ्का गरियो । पार्टी र हाम्रो समूहबारे अनेक आक्षेप र झूटा हल्ला फैलाइयो ।
त्यो बेला मालिनोभ्स्कीको वास्तविक क्रियाकलापबाट कुनै यथार्थ पत्ता लगाउन सकिएन । पुँजीवादी दलहरू र मेन्शेभिक विघटनकारीहरूले फैलाएका सबैथरी हल्ला र किस्साबारे हामीसँग केही थिएन । निश्चय नै यसले हाम्रो समग्र समूहको प्रतिष्ठामा आँच आयो । विषय स्पष्ट पार्न जरुरी थियो । समूहले मजदुरहरूसँग भएका सबै सूचनालाई एक ठाउँ ल्याउने निर्णय ग¥यो ।
हामीले ‘प्राभ्दा’ मा समूहलाई थाहा भएका सम्पूर्ण तथ्यलाई राखेर एउटा विज्ञप्तिको पूर्ण पाठ छाप्यौँ । कस्तो अवस्थामा र के कति कारणले मालिनोभ्स्कीले त्यस्तो निर्णय गरे भन्ने विषयमा जान्न समूहले गरेका सबै प्रयासको सटिक समयक्रम थियो त्यसमा । मालिनोभ्स्कीविरुद्ध आरोप लगाउनका लागि हाम्रो समूहसँग कुनै ठोस आधार थिएन । त्यसकारण, उनको अनुशासनहीन कदमको कडा र सम्झौताहीन भत्र्सना गर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन । विज्ञप्तिको निष्कर्ष यस्तो थियो :
“निर्वाचनको बेला मालिनोभ्स्कीले रुसी सामाजिक जनवादी मजदुर पार्टीको अनुरोधका कारण आफूले निर्वाचनमा उठ्न सहमति जनाएको बताएका थिए । त्यो भनाइअनुसार पार्टीको अनुशासनभित्र रहेर काम गर्नु उनको दायित्व थियो । सम्पूर्ण पुँजीवादी दलहरूविरुद्ध सङ्घर्ष चलाउनका लागि सिद्धान्तमा कटिबद्ध हुनु अत्यावश्यक रहेको वर्गसचेत मजदुरहरूले बुझेका छन् । यो सिद्धान्तका विरुद्ध गएर मालिनोभ्स्कीले अगुवा पार्टी समिति वा आफू रहेकै रुसी सामाजिक जनवादी मजदुर समूहसँग सल्लाह नगरी सांसदको जिम्मेवारीबाट राजीनामा दिए । अनुशासनको यस्तो उल्लङ्घन अमान्य र अराजक छ । यसको निन्दा गर्न जरुरी छ । यो उल्लङ्घन पहरेदारले चौकी छोडेर भागेझैँ हो । यस्तो बाटोमा हिँडेर मालिनोभ्स्की जिम्मेवारीबाट भागेको सन्देश दिएका छन् । यसबाट उनको आक्रामक कदम सही ठहरिनेछैन । उनले आफूलाई हाम्रो समूहबाहिर उभ्याएका छन् । रुसी सामाजिक जनवादी मजदुर समूह भविष्यमा सङ्गठित सर्वहारा जनताबिच यस्तो घटना पुनः नदोहोरियोस् भनेर सम्पूर्ण वर्गसचेत मजदुरहरूलाई हाम्रो निर्णय अनुमोदन गरिदिन आग्रह गर्दछ ।”
मालिनोभ्स्कीको बहिर्गमनप्रति जनताले हामीले सोचेजस्तै प्रतिक्रिया जनाए । हाम्रो समूह र ‘प्राभ्दा’ को कार्यालयमा मालिनोभ्स्कीको विश्वासघाती कदमको निन्दा गरिएका अनेक तार सन्देश, अभिवादन र निर्णयहरूको चाङ लाग्यो । हाम्रो समूहको काममा पूर्ण भरोसा भएका सन्देश आए । मालिनोभ्स्कीको बहिर्गमनले पु¥याएको अस्थायी घाउलाई विशाल सङ्ख्यामा हाम्रो पक्षमा एकजुट भएर सचेत र सङ्गठित मजदुरहरूले परिदिए । हाम्रो समूह अब पाँच जनामा घट्यो । समूहको पुनर्गठन भयो र संसद्भित्र र बाहिर दुवैतिर समूहले क्रान्तिकारी सङ्घर्षको काम जारी राख्यो ।
त्यो बेला मालिनोभ्स्कीको कदमबारे सत्यतथ्य बाहिर आउन सकेन । हामीले त्यसलाई उनको आनीबानीबाट व्याख्या गर्न खोज्यौँ । उनी बेलाबेला आत्तिन्थे, उत्ताउलिन्थे र सन्तुलन गुमाउँथे । साथीहरूसँगको व्यवहारमा उनले प्रायः आफ्नो यो रूप देखाइरहन्थे । क्रान्तिपछि मात्र वास्तविकता बाहिर आयो । उनले त्यस्तो व्यवहार गर्नुको खास कारण खुल्यो । प्रहरी विभागका अभिलेखहरूबाट मालिनोभ्स्कीले प्रहरीको घुसपैठिया (एजेन्ट प्रोभोकेटर) को काम गरेको खुल्यो । क्रान्तिपछि ती सामग्री सार्वजनिक गरियो र उनीविरुद्ध मुद्दा चलाइयो । त्यसबाट हामीले उनको विश्वासघातको सारा इतिहास थाहा पायौँ ।
मालिनोभ्स्कीले सन् १९१० देखि प्रहरीको घुसपैठियाको रूपमा काम थाले । उनलाई गुप्त प्रहरीको मस्को शाखाले एजेन्टमा भर्ती गरेको थियो । उनको गुप्त नाम पोर्तनोइ थियो । सेन्ट पिटर्सबर्गबाट निकालिएपछि उनी मस्कोमा बसेका थिए । हुन त उनले गुप्त प्रहरीसँग त्यस अघिदेखि नै साँठगाँठ गर्न थालेको प्रमाण पाइन्छ । तर, मस्कोबाटै उनले एजेन्टको वास्तविक काम थालेका थिए ।
पार्टीका मजदुरहरूको एउटा समूहसँगै पक्राउ परेपछि उनले प्रहरीलाई सघाउने प्रस्ताव राखे । छिट्टै उनी एकदम सक्रिय र महत्वपूर्ण गुप्त एजेन्ट बने । मालिनोभ्स्की निकै योग्य र तेज थिए । उनी पार्टी सङ्गठनको भित्रैसम्म घुस्न सफल भए । उनी बैठकहरूमा देखापर्थे । मजदुरहरूका क्लव, ट्रेड युनियन आदिका कार्यक्रममा जान्थे । सङ्गठित गतिविधिमा उनी निकै सक्रिय थिए । लामो समयसम्म उनले मेन्शेभिक र बोल्शेभिक दुवैसँग राम्रो सम्बन्ध बनाइरहे र तिनलाई धोका दिइरहे । पार्टी कार्यकर्ताहरूको पक्राउ, समग्र सङ्गठन ध्वस्त हुनुका पछाडि उनकै हात थियो । उनले प्रहरीलाई गोप्य बैठकका जानकारी, अवैध रूपमा बसिरहेका पार्टी समितिका अगुवा कामरेडहरूको गुप्त र वास्तविक नाम, पार्टी साहित्य लुकाइराखेका ठेगानालगायत पार्टी जीवनका सबै पक्षबारे प्रहरीलाई सूचना दिन्थे ।
उनले पोलेकै हुनाले मस्कोमा रहेको पार्टीको केन्द्रीय समितिको रुसी सल्लाहकार समूह र मिल्युतिनको नेतृत्वमा रहेको समन्वयकारी समूहलाई गुप्त प्रहरीले पक्राउ ग¥यो । उनकै कारण तुला सहरको नवगठित बोल्शेभिक केन्द्रका केही अगुवा कामरेड पक्राउ परेपछि समिति नै विघटित भयो ।
मालिनोभ्स्कीको पहिचान नखुलोस् भनेर प्रहरीले अवैध बैठकहरूमा उपस्थिति अरू कामरेडसँगै उनलाई पनि पक्राउ गथ्र्यो । तर, अरूलाई लामो समयसम्म कारागार वा निर्वासनमा पठाउँदा उनलाई भने केही दिनमै रिहा गथ्र्यो । कहिलेकाही चलाखी अपनाउँदै गुप्त प्रहरीले पक्राउ परेका सबैलाई रिहा गथ्र्यो र दुईचार हप्ताभित्रै मालिनोभ्स्कीलाई छोडी अरू सबैलाई पुनः पक्राउ गथ्र्यो ।
आफ्नो चतु¥याइँ र प्रतिभालाई प्रयोग गर्दै मालिनोभ्स्कीले छिट्टै पार्टीभित्र नाम कमाए । सुरुमा सेन्ट पिटर्सबर्गमा छँदा नै उनले आफूलाई ट्रेड युनियनको योग्य र सशक्त कार्यकर्ताको रूपमा प्रस्तुत गरेका थिए । सन् १९०६ देखि १९०९ सम्म उनी सेन्ट पिटर्सबर्ग धातु मजदुरहरूको ट्रेड युनियनका सचिव थिए । यो युनियन ठुला युनियनमा पथ्र्यो र सबैभन्दा प्रगतिशील युनियन थियो । यसबाट नै उनको सङ्गठनात्मक क्षमता र मजदुरहरूको मन जित्ने खुबी झल्किन्छ ।
मालिनोभ्स्की अत्यन्त महत्वाकाङ्क्षी थिए । यसरी उनले संसद्को निर्वाचनमा आफ्नो उम्मेदवारी पक्का पारेका थिए । उम्मेदवारी लिनका लागि उनको लोकप्रियता नै काफी थियो । तर, उनी अर्कै नियतले पनि चलिरहेका रहेछन् । गुप्त प्रहरी विभागका निर्देशक बिलेत्स्कीले मालिनोभ्स्की काण्डको विषयमा एउटा प्रमाण दिए । (क्रान्तिलगत्तै बिलेत्स्कीलाई मृत्युदण्ड दिइएको थियो ।) जसरी हुन्छ संसद्मा घुस्ने सोचका साथ मालिनोभ्स्कीले गुप्त प्रहरीमा आफ्नो स्थान बलियो पारे । यसरी उनले त्यहाँ आफ्नो तलब बढाए । मालिनोभ्स्की आफ्नो विश्वासघाती कार्यबाट खुसी हुन थालिसकेका थिए । उनले आफ्नो दायरा बढाउने तयारी गर्न थाले ।
सदनमै तिनको एकजना ‘खबरी’ भए कति काइदा हुनेछ भनेर मालिनोभ्स्कीले गुप्त प्रहरीलाई प्रभावित गरे । प्रहरीले सजिलै मान्यो र यस विषयमा उच्च प्रहरी अधिकारीहरूबिच छलफल भयो । यो योजनामा तत्कालीन गृहमन्त्री माकारोभले मञ्जुरी जनाए । बिलेत्स्कीले मस्कोमा आफ्ना कुख्यात सहयोगी भिसारियोनोभलाई एउटा गुप्त सन्देश पठाए । सन्देशमा मालिनोभ्स्कीको छनोटलाई सहज पार्न मस्को प्रहरीलाई निर्देशन दिइएको थियो ।
मालिनोभ्स्की धेरैपल्ट आपराधिक अभियोगमा पक्राउ परेका थिए । पहिलो बाधा यो थियो । यो बाधा हटाउन जरुरी थियो । कानुनअनुसार आपराधिक अभियोग लागेका व्यक्ति संसद्को निर्वाचनमा उठ्न अयोग्य हुन्थे । गुप्त प्रहरीको मद्दतमा मालिनोभ्स्की पोल्यान्डस्थित आफ्नो गृह जिल्ला गए र घुस खुवाएर आफूमाथि कहिल्यै मुद्दा नचलाइएको झूटो प्रमाणपत्र बनाए ।
उम्मेदवारले निर्वाचन हुनुभन्दा ६ महिना अगाडिदेखि कुनै कारखानामा काम गरेको हुनुपथ्र्यो । दोस्रो बाधा यो थियो । मालिनोभ्स्की मस्कोनजिकै एउटा सानो कारखानामा काम गर्थे । निर्वाचन हुनुभन्दा केही साताअघि फोरमेनसँग झगडा गरेको हुनाले उनी कामबाट निकालिने स्थितिमा थिए । यसकारण, प्रहरीले फोरमेनलाई पक्राउ ग¥यो र निर्वाचनपछि मात्र निस्किनेगरी थुनामा राख्यो । तैपनि, मालिनोभ्स्कीलाई कारखानाबाट निकालियो । उनले कारखानाको अधिकारीलाई घुस खुवाएर ‘बिदामा रहेको’ प्रमाणपत्र बनाए । यसरी गुप्त प्रहरीको मद्दतले निर्वाचनको लागि उनको ढोका खुल्यो ।
संसद्मा निर्वाचित भइसकेपछि मालिनोभ्स्की प्रहरीका एक अति महत्वपूर्ण एजेन्ट बने । नयाँ जिम्मेवारीमा उनलाई बिलेत्स्की आफैले तालिम दिए । सेन्ट पिटर्सबर्गको गुप्त प्रहरीले आफ्ना दस्तावेजहरूमा उनलाई ‘एक्स’ भनी लेख्थ्यो । उनलाई प्रति महिना ५ सय रुबल तलब दिन्थ्यो । विशेष सूचनाका लागि पछि उनको तलब बढाएर ७ सय रुबल पु¥याइएको थियो । प्रहरीकै खर्चमा उनको घरमा टेलिफोन जडान गरिएको थियो । बिलेत्स्कीसँग उनका सबै कुराकानी गुप्त भाषामा हुन्थ्यो । उनले बिलेत्स्की र उनका सहयोगी भिसारियोनोभसँग कुनै रेस्टुराँको निजी कोठामा भेट्थे । मुद्दाका क्रममा बिलेत्स्कीले बकेअनुसार सोध्नुपर्ने प्रश्नावली आफै तयार पार्थे र मालिनोभ्स्कीले दिने जवाफ उनका सहयोगीले लेख्थे । धरपकड, खानतलासी र देशनिकालाको काम धमाधम चल्यो । तर, मालिनोभ्स्कीलाई जोगाउन ठुलो सावधानी अपनाइयो । सन् १९१३ फेब्रुअरीमा प्रहरी विभागले कामरेड रोज्मिरोभिचलाई पक्राउ गर्ने निर्णय गर्दा मालिनोभ्स्कीले किभ सहरमा पक्राउ गर्न सल्लाह दिए । एक महिनापछि उहाँलाई पक्राउ गरियो । यसले गर्दा विदेशमा रहेको पार्टी केन्द्र सशंकित भयो । मालिनोभ्स्कीकै अनुरोधमा उहाँलाई पछि रिहा गरियो । (प्रहरीले सन् १९१४ अप्रिलमा कामरेड सामोइलोभा र कुदेलीसँगै कामरेड रोज्मिरोभिचलाई ‘राबोत्नित्सा’ (महिला मजदुर) को कार्यालयमा पक्राउ ग¥यो ।)
मालिनोभ्स्कीले दिने सूचना निकै मूल्यवान थिए । किनभने, उनलाई संसदीय समूहका साथै पार्टीको भूमिगत गतिविधिको राम्रो जानकारी थियो । ‘प्राभ्दा’ को सम्पादकीय कार्यालयमा हुने सबैथोकको सूचना उनी नियमितजसो प्रहरीलाई दिन्थे । बैठकमा सहभागी हुने प्रत्येकको व्यक्तिगत विवरण, बैठकको निर्णय र पत्रिकाको वित्तीय अवस्थाबारे उनी प्रहरीलाई भन्थे । यही सूचनाका आधारमा बिलेत्स्कीले पत्रिकालाई एकदम अप्ठ्यारो परिरहेको बेला जरिवाना तिराउने, पत्रिका जफत गर्ने आदि कारबाही गर्थे । त्यस्तै, मालिनोभ्स्कीले ‘प्राभ्दा’ का सबै चन्दादाता र नियमित ग्राहकको नामावली प्रहरीलाई बुझाए । पत्रिकाविरुद्ध दमनमा उत्रिने बेला यो सूची प्रहरीलाई निकै काम लाग्यो ।
मालिनोभ्स्कीको वाककलाका कारण हाम्रो समूहको तर्फबाट उनलाई बरोबर वक्ता बनाइन्थ्यो । तर, उनको मन्तव्यको मसिना विश्लेषण गर्दा त्यसमा हामी मजदुर सांसदहरूको मन्तव्यमा हुनुपर्ने तिखो क्रान्तिकारी कथ्य हुँदैनथ्यो । अन्य मजदुर सांसदहरू आफ्ना मन्तव्यलाई जानाजान तिखार्थे, कहीँ अड्किँदैनथे । तर, मालिनोभ्स्कीले जहिल्यै खतरनाक अनुच्छेदलाई बङ्ग्याउन खोज्थे । प्रश्नलाई क्रान्तिकारी शैलीमा प्रस्तुत गर्नबाट बच्थे । पार्टीले हाम्रो समूहका सदस्यहरूले आफ्ना सबै मन्तव्यमा क्रान्तिकारी कथ्य राख्नुपर्नेमा जोड दिन्थ्यो । मालिनोभ्स्की भने आफ्नो मन्तव्यबाट क्रान्तिकारी कथ्य हटाउन र त्यसलाई हानिरहित बनाउन निकै मिहिनेत गर्थे । खुला सभाहरूमा बोल्ने बेला उनले प्रहरी विभागलाई भनेर मन्तव्यको काट्नुपर्ने अनुच्छेदमा पुग्दा प्रहरी एजेन्टले हस्तक्षेप गर्नुपर्ने चाँजो मिलाउँथे । मस्कोमा छापा मजदुरहरूको अधिवेशनमा उनले मन्तव्य दिने बेला यस्तै भएको थियो ।
सदनमा छँदा उनको मुख्य गतिविधि सेन्ट पिटर्सबर्गमा केन्द्रित रह्यो । मस्को गुप्त प्रहरीसँग आफ्नो सम्बन्धलाई उनले पूर्णतः तोडेनन् । मस्को भ्रमणमा जाँदा जहिल्यै क्रान्तिकारी मजदुरहरू पक्राउ परेकै हुन्थे । उनले प्रहरीलाई सूचना दिन्थे र बदलामा विशेष आमदानी गर्थे ।
सेन्ट पिटर्सबर्गमा मालिनोभ्स्कीले बिलेत्स्कीलाई समूहका बैठक, सांसदहरूको विचार र योजना, भ्रमणको नक्सा र स्थानीय अवस्थाको जानकारी दिन्थे । यही जानकारीका आधारमा प्रहरी मुख्यालयबाट आउने निर्देशनका आधारमा स्थानीय प्रहरीले भ्रमणमा जाने सांसदहरूका बैठकमा भाँजो हाल्थे । एकपल्ट त मालिनोभ्स्कीले बिलेत्स्कीलाई संसदीय समूहको दस्तावेज जाँचबुझ गर्न र आवश्यक अनुच्छेदको प्रतिलिपि उतार्न दिएका थिए ।
बिलेत्स्कीले कबुल गरे अनुसार एकपल्ट मालिनोभ्स्कीले प्रहरीलाई गैरकानुनी साहित्यको ठुलै चाङ प्रहरीको हात पारेका थिए । धेरै अप्ठ्यराहरू झेल्दै भर्खर सेन्ट पिटर्सबर्ग पुगेको साहित्य प्रहरीकहाँ पुगेको थियो ।
‘एजेन्ट प्रोभोकेर’ को परिचय खुल्ने हुनाले गुप्त प्रहरी निकै चनाखो रहन्थ्यो । मालिनोभ्स्कीसँग एकदम नजिक रहेर काम गर्ने पार्टीका कामरेडहरूलाई पक्राउ गर्दा निकै सतर्कता अपनाउँथ्यो । तर, स्वेर्दलोभ र स्तालिन सेन्ट पिटर्सबर्ग फर्केपछि प्रहरी विभागले ती दुवै कामरेडलाई पक्रिन मालिनोभ्स्कीसँग चाँजो मिलाउन भन्यो ।
कामरेड स्वेर्दलोभको पक्राउ यसरी भयो – निर्वासचनबाट भागेर उहाँ मकहाँ लुक्नुभएको थियो । मालिनोभ्स्कीले दिएको सूचनाका आधारमा प्रहरीले उहाँलाई खोजतलास गर्न थाल्यो । एक दिन मकहाँ आएर चौकिदारले स्वेर्दलोभको हुलिया बताएर कतै उनी मकहाँ त छैनन् भनी सोध्यो । मैले मकहाँ कोही पाहुना नभएको बताएँ । तर, हामी स्वेर्दलोभ मकहाँ बस्नु सुरक्षित नभएको र उहाँले तुरुन्तै त्यो ठाउँ छोड्नुपर्ने टुङ्गोमा पुग्यौँ । झमक्क साँझ परेपछि मालिनोभ्स्की र म बाहिर गयौँ र त्यहाँ कसैलाई नदेखेपछि चुरोट सल्कायौँ । यो सङ्केतका आधारमा स्वेर्दलोभ पछिल्लो ढोकाबाट बाहिर निस्किनुभयो । हामीले उहाँलाई पर्खाल उक्लिन सघायौँ । त्यसपछि काठ गोदाम हुँदै हामी अर्को पर्खाल उक्लियौँ । त्यसपछि तटबन्ध आयो । त्यहाँ एउटा घोडागाडीले पर्खिराखेको थियो । उहाँलाई त्यहाँ छोडेर हामी दुई मालिनोभ्स्कीको कोठामा गयौँ । यसपछि स्वेर्दलोभ पेत्रोभ्स्कीकहाँ जानुभयो । त्यही रात त्यहाँबाट उहाँलाई गिरफ्तार गरियो । स्वेर्दलोभको सुरक्षाबारे खुब चासो देखाइरहेका मालिनोभ्स्कीले नै फोन गरेर प्रहरीलाई उहाँको नयाँ शरणस्थलबारे सूचना दिएका रहेछन् ।
Leave a Reply