भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
- माघ ३, २०८२
भक्तपुर, २५ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता मङ्सिर २५ गते बिहीबारदेखि सुरु भयो । उक्त प्रतियोगिता पुस १ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फूटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय् र बाघचाल खेल प्रतियोगिताको उद्घाटन बिहीबार सहिदस्मृति खेलमैदानमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुद मित्रता, शिक्षा र संस्कृतिको पनि महत्वपूर्ण अङ्ग भएको बताउँदै खेलकुदले अनुशासन र कर्तव्यप्रति सचेत पार्ने बताउनुभयो । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्नुका साथै अनुशासित नागरिक तयार गर्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने उहाँले बताउनुभयो ।
विद्यालय, वडा, नगर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताले खेलाडीहरूले व्यक्तित्व विकासको अवसर पनि पाउने बताउँदै उहाँले विद्यार्थीहरूलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्ने बताउनुभयो ।
भदौ २३ र २४ गते नेपालमा घटेको अकल्पनीय घटनाले देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन र धेरै मन्त्रालय तथा देशभरका धेरै सरकारी कार्यालयहरू जलाइएको सन्दर्भ जोड्दै उहाँले नयाँ पुस्तालाई राजनैतिकरूपमा सङ्गठित पार्न नसक्दा देशले ठुलो क्षति व्यहोर्नुपरेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको लागि अनुशासित, नैतिकवान् र देशभक्त नागरिक तयार गर्ने उद्देश्यले खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधिबाट विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको खेलमा भाग लिन पाउने अवसर पाउने बताउनुभयो ।
उहाँले नगरपालिकाको आयोजनामा भएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा ८० भन्दा बढी विद्यालयका करिब ३ हजार ४५४ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बताउँदै भक्तपुर खेलकुद गतिविधिले उत्सवमय हुने बताउनुभयो ।
वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रतियोगिता सफलताको लागि शुभकामना दिँदै बालबालिकाको पढ्ने, लेख्ने र अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभयो ।
देश विकासमा खेलकुद क्षेत्र पनि जोडिएको हुन्छ भन्दै उहाँले खेलकुद क्षेत्रको विकासमा सरकारले खासै चासो नदिएको उहाँले प्रस्ट पार्नुभयो । नयाँ पुस्तालाई विध्वंस, विनाश, अराजकता, उत्तेजनातर्फ होइन, विज्ञान र रचनात्मक बाटो देखाउनु आजको आवश्यकता भएको बताउँदै उहाँले देशको उज्ज्वल भविष्य निर्माणको लागि खेलकुद पनि सशक्त माध्यम हो भन्नुभयो ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विद्यालयले हरेक विद्यार्थीलाई शिक्षा सँगसँगै खेलकुदमा पनि सक्रिय बनाउने काम गर्दै आएको उल्लेख गर्दै विद्यार्थीको अन्तरनिहित क्षमता उजागर गर्ने माध्यमको रूपमा खेलकुद क्षेत्रको विकास भइरहेको बताउनुभयो । यस्ता गतिविधिहरूले विद्यार्थीमा गतिशीलता विकास गराउने उहाँले बताउनुभयो ।
भक्तपुर नपाको युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकाससँगसँगै जीवन उपयोगी सीप पनि सिकाउने बताउनुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले जनतालाई गरेको बाचाअनुसार आफ्ना गतिविधिहरू सञ्चालन गरी जनमुखी काम गर्दै आएको बताउँदै सहिद स्मृति खेलमैदानलाई सुविधा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कराँतेका राष्ट्रिय निर्णायक राजुसिं बजिको र खेलाडीको तर्फबाट सुरभी श्रेष्ठले खेलकुदलाई अनुशासित र मर्यादित बनाउन शपथ लिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो । उद्घाटन कार्यक्रममा खेलाडीहरूले जिम्न्यास्टिक खेल पनि प्रदर्शन गरेका थिए भने आस्था सांस्कृतिक समूह र गणेश मावि भार्वाचोका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए ।
नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन ¥याली
भक्तपुर नगरव्यापी विद्यालयस्तरीय प्रतियोगिताको समुद्घाटन ¥याली दत्तात्रयबाट सुरु भई सहिद स्मृति खेलमैदानमा पुगी सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भएको ¥याली गोल्मढी, नासमना, भार्वाचो बसपार्क हुँदै सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥याली सुरु हुन अगाडि भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु र कार्यपालिका सदस्य सुनिता अवालले बोल्नुभएको थियो ।
¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न विद्यालयहरू, प्रतियोगी खेलाडीहरू, बाँसुरी बाजा, धिमे बाजा, नेपाल स्काउट टोली, नपाका खेलकुद प्रशिक्षार्थीहरू, टीम/क्लव/पुस्तकालय/सङ्घसंस्थाहरूका प्रतिनिधिहरू, नगरपालिकाका कर्मचारीहरू, खेलप्रेमी तथा वडाका खेलकुद समितिका स्वयम्सेवकहरूको सहभागिता थियो ।
Leave a Reply