भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ३८

  • मंसिर २६, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ३८

जुलाई ५ को दिन प्रदर्शनहरू भए । प्रहरीहरूसँग झडपका घटनाहरू भए । तर, त्यो दिन प्रहरीले गोली चलाएन बरु तरबार र कोर्रा प्रयोग ग¥यो । जुलाई ६ गते आइतबार प¥यो । त्यसैले ठुला प्रदर्शन भएनन् । तर, मजदुरबहुल जिल्लाहरूमा भोलिपल्टका लागि तय भएको विशाल जनप्रदर्शनको तयारी गरियो ।
जुलाई ७ को बिहानीपख सहर ठिक त्यस्तै देखियो जस्तो सन् १९०५ मा देखिएको थियो । केही कारखानाबाहेक सहरका सम्पूर्ण कारखाना बन्द भए । १ लाख ३० हजार मजदुर हडतालमा आए । मजदुरहरू सडकमा आए । प्रहरी गस्तीले तिनलाई नियन्त्रणमा राख्नै सकेनन् । उनीहरूले नेभ्स्की सडकका केही प्रदर्शन मात्र रोक्न सके । फ्रान्सेली राष्ट्रपतिको उपस्थितिमा कुनै ‘काण्ड’ नहोस् भनेर मजदुरहरूलाई सहरको मुटुमा पस्नबाट रोक्न ठुलो प्रहरी बललाई त्यहाँ केन्द्रित गरिएको थियो । आन्दोलन खालि जुलुस गर्नमै सीमित थिएन । सामान्य यातायात अवरुद्ध पारियो । ट्रामगाडीलाई रोकियो । यात्रुहरूलाई बाहिर झारियो र सरकारी नियन्त्रक उपकरणहरू हटाइयो । गाडीमा मजदुरको घुइँचो लाग्यो । तिनलाई हलचल गर्न दिइएन । त्यही दिन एउटा ट्राम डिपोका कामदारहरू पनि हडतालमा मिसिए ।
मजदुरहरूले फेरि पनि सम्पूर्ण सरकारी भोड्का र बियर पसल बन्द गरे । केही स्थानमा बोतल फोर्ने र बियर माटोमा खन्याउने घटना पनि भयो । तिनताक मजदुरबहुल जिल्लाहरूमा अपनाइएको संयमबारे कतिपय पुँजीवादी अखबारहरूले समेत उल्लेख गरेका थिए । अघिल्ला दिनहरूको अनुभवबाट सिकेर प्रहरीले गोलाबारुद प्रयोग गरेन । तर, उसले छरिएका ससाना समूह र व्यक्तिमाथि तरबार र कोर्रा चलायो । प्रहरी देखेर मजदुरहरू डराउन छोडेका थिए । उनीहरू प्रहरीको क्रूरताविरुद्ध साहसपूर्वक लडे । धेरै ठाउँमा घम्साघम्सी भयो ।
सोही साँझ नगर गभर्नर र गृहमन्त्रीले दिनभरिको घटनाबारे एउटा आपत्कालिन परामर्श बैठक डाके र कडा नीति अपनाउने निर्णय गरे । भोलिपल्ट बिहान नगर गभर्नरले यी अव्यवस्थाको परिणाम जनाउँदै चेतावनी जारी गरे । सन् १९०५ मा त्रेपोभले जारी गरेकै आदेशको झल्को दिने गरी आदेश दिइयो – ‘एउटा गोली पनि खेर नफाल्नू ।’
यति हुँदाहुँदै पनि आन्दोलनमा शिथिलता आएन । जुलाई १२ सम्म आन्दोलन झन्झन् बढ्दै गयो । हडतालीहरूको सङ्ख्या बढेर साढे १ लाख पुग्यो । जुलाई ९ को दिन सेन्ट पिटर्सबर्गका सडकहरूमा छेकबारहरू देखापरे । ट्रामगाडी, काठका ठुला डबाका, पोल आदिलाई छेकबार बनाउने साधन बनाइयो । खासगरी भिगोबर्गमा यसप्रकारका छेकबार निर्माण गरियो । यातायात बिथोलयिो र धेरै मजदुर इलाकाका सडकहरूमा प्रहरीले पूर्ण नियन्त्रण जमाएको थियो ।
सन् १९१४ को जुलाई आन्दोलन विश्वयुद्धको घोषणाले बिथोलियो । यद्यपि, हडताल युद्ध सुरु हुनुभन्दा दुई दिनअघि नै बन्द भएको थियो । (पुरानो पात्रोअनुसार युद्ध जुलाई १७ गते सुरु भएको थियो ।) यसपछि देशभक्तिपूर्ण जुलुसहरू सुरु भए र प्रहरीको काम सजिलो हुन पुग्यो । हडतालको जवाफमा तिनताक कारखाना मालिकहरूले तालाबन्दी घोषणा गरेका थिए । तर, युद्धको नाफादायी समय सुरु हुने अपेक्षाले उनीहरू तालाबन्दी खुकुलो पार्न तयार भए ।
सायद जुलाईको महिनामा भएका प्रदर्शनहरू क्रान्तिकारी सङ्घर्षको निर्णायक बिन्दुमा पुगेनन् । तर, क्रान्तिलाई धेरै पछि सार्न सम्भव थिएन । जुलाई पछि आउने अर्को जनउभारसँगै क्रान्ति हुने थियो । तर, विश्वयुद्धले त्यो उभारलाई साढे दुई वर्षपछि सारिदियो । युद्धले अलग्याए पनि क्रान्तिकारी आन्दोलनको विकासक्रममा सन् १९१४ जुलाई र सन् १९१७ फेब्रुअरीबिच सिधा सम्बन्ध रह्यो ।
पाठ–२०
प्राभ्दा
क्रान्तिकारी आन्दोलनमा प्राभ्दाको भूमिका । प्राभ्दा र संसदीय समूह । प्रहरीसँग दिनदिनैको सङ्घर्ष । सदनमा प्राभ्दाबारे प्रश्न । प्राभ्दामा प्रहरीको छापा ।
विश्वयुद्धअघि क्रान्तिकारी आन्दोलनको विकासमा प्राभ्दाले अति नै महत्वपूर्ण भूमिका खेल्यो । स्थापनाको क्षणदेखि नै यो हाम्रो पार्टी गतिविधि सञ्चालन गर्ने प्रमुख साधन थियो । यो पत्रिकाको छपाइ र वितरणमा संलग्न सम्पादक र कामदार जनताबिच सङ्गठन निर्माण गर्ने कार्यमा प्रत्यक्ष जोडिए । प्रत्येक क्रान्तिकारी मजदुरले प्रत्येक दिन बोल्शेभिक अखबार खोजेर पढ्नुलाई आफ्नो कर्तव्य ठान्थ्यो । प्रत्येक प्रति हातहातै एउटाबाट अर्काकहाँ पुग्थ्यो र एउटै प्रति पनि धेरै मजदुरले पढ्थे । पत्रिकाले तिनको वर्गीय चेतनालाई आवाज दिन्थ्यो, तिनलाई शिक्षित र सङ्गठित गथ्र्यो ।
प्राभ्दाले अडिग बोल्शेभिक नीतिलाई अनवरत आवाज दियो । यसकारण, यो लोकप्रिय बनेको थियो । मेन्शेभिक पत्रपत्रिका (लुच आदि) को भन्दा विपरीत प्राभ्दाले समस्यालाई सरल र सिधा भाषामा लेख्थ्यो । ‘लुच’ को वितरण कहिल्यै १६ हजार प्रतिभन्दा माथि पुगेन । तर, प्राभ्दा दिनकै ४० हजार पुग्थ्यो । पत्रिकाको लागि चन्दा उठाउँदा पनि यही अनुपातमा मजदुरहरूको सहयोग पाउँथ्यो । प्राभ्दा मजदुरहरूको पैसाले नै सुरु गरिएको थियो र ग्राहक बनेर उनीहरूले यसलाई टेवा दिइरहन्थे । तर, विघटनकारीहरूको पत्रिका मेन्शेभिकहरूका समर्थकले दिने एकमुष्ट ठुलो रकमबाट चल्थ्यो । सन् १९१३ मा प्राभ्दाले मजदुरहरूबाट २१८० रुबल प्राप्त ग¥यो भने सोही अवधिमा लुचले जम्मा ६६० रुबल पायो । अर्को वर्ष (मे सम्ममा) प्राभ्दाले २८७३ रुबल पायो भने लुचले जम्मा ६७१ रुबल प्राप्त ग¥यो ।
प्रत्येक राजनीतिक घटनामा मजदुरवर्गका प्रत्येक लडाइँमा मजदुरहरूले प्राभ्दामा चिठीपत्र, वक्तव्य र रिपोर्ट पठाउँथे । पत्रिकाका चार पानामा हामी ती सम्पूर्ण सामग्री प्रकाशित गर्न सक्दैनथ्यौँ । त्यसको विस्तारित अङ्कमा समेत पनि त्यो हटाउनथ्यो । धेरै त सरकारी सेन्सरले गर्दा छाप्न सकिँदैनथ्यो । मजदुरहरूले जारशाही सत्ताको बारेमा ठाडो भाषामा आफ्ना धारणा राख्थे । यसका विरुद्ध उनीहरू क्रान्तिकारी सङ्घर्षमा लाग्ने रहर जाहेर गर्थे । सम्पादकले जोखिम मोल्ने मन बनाएका बेलामा ती चिठीपर्ची छापिन्थ्यो । यस्तो बेला अक्सर पत्रिकाले जरिवाना तिर्नुपथ्र्यो र पत्रिका जफत हुन्थ्यो । यी घटना दोहोरिरहने हुनाले मजदुरहरूले सुरुमै आग्रह गर्थे, “पत्रिका जफत भए कृपया हाम्रो खबर अर्को अङ्कमा फेरि छापिदिनुहोला ।”
प्राभ्दाले सम्पादकीय कार्यालयमा आउने अनेक पाहुनामार्फत मजदुरहरूसँग नङमासुको सम्बन्ध राख्थ्यो । यो कार्यालय साङ्गठिनक गतिविधिको महत्वपूर्ण केन्द्र बन्यो । त्यहीँ स्थानीय पार्टी समितिका प्रतिनिधिहरूबिच बैठक चल्थ्यो, विभिन्न कारखानाका सन्देश आउँथे र त्यहीबाट जिल्ला जिल्लामा हुने गोप्य बैठकहरूका लागि निर्देशन जान्थ्यो, तयारी गरिन्थ्यो ।
बोल्शेभिक प्राभ्दा जारशाही गुप्त प्रहरीलाई सत्ताका लागि निकै खतरनाक शत्रु हो भन्ने कुराको राम्रै हेक्का थिए । तथापि सेन्ट पिटर्सबर्गका मजदुरहरूको क्रान्तिकारी उत्साह बढिरहेको देखेर प्रहरी दुई वर्षसम्म हच्किरह्यो । तब गएर उसले प्राभ्दालाई दबाउने निर्णय ग¥यो । प्रहरीले अनेक स–साना बखेडा झिकेर प्राभ्दाको प्रताप घटाउन खोज्यो, प्राभ्दालाई सताइरह्यो । प्राभ्दाका प्रत्येक अङ्क ठुलो सङ्घर्षपछि छापिन्थ्यो । प्रत्येक लेखले ठुलो लडाइँपछि घाम देख्न पाउँथ्यो । पक्राउ गर्ने, जरिवाना तिराउने, पत्रिकाको अङ्क जफत गर्ने र छापा मार्ने चक्र चलाएर प्रहरीले हामीलाई कहिल्यै आरामको सास फेर्न दिएन ।
पार्टीले निकै कठिन समयमा पत्रिका सुरु गरेको थियो । यसले क्रान्तिकारी आन्दोलनमा निकै अहम् भूमिका खेल्ने केन्द्रीय समितिको ठहर थियो । त्यसमा कार्यरत कामरेडहरूको समूहलाई तिनको त्यो कठिन कार्यमा संसद्को बोल्शेभिक समूहले सघाउँथ्यो । प्राभ्दा र संसदीय समूहले कुम जोडेर काम गर्थे । प्राभ्दाको सहाराकै कारण समूह पार्टी तथा क्रान्तिकारी आन्दोलनले सुम्पेको जिम्मेवारी पूरा गर्न सक्षम भयो । हामीले अनेक घरानाका सांसदहरूको तालुमाथिबाट जनतासँग कुरा गर्नका लागि सदनको प्रयोग ग¥यौँ । तर, मजदुरहरूको आफ्नै प्रेस हुनाले मात्र यो काम सम्भव भएको थियो किनभने तथाकथित उदारवादी पत्रपत्रिकाले हाम्रा विचारका केही हरफ मात्र छाप्थे र कहिलेकाहीँ नछापेर मौनताले मार्थे । मजदुरहरूको बोल्शेभिक अखबार हुँदैनथ्यो भने हाम्रा विचारबारे तुराइद दरबार (संसद् भवन) का पर्खालबाहिर कसैलाई थाहा हुने थिएन ।
प्राभ्दाबाट हामीले पाउने मद्दत यति मात्र थिएन । सम्पादकीय कार्यालयमा हामीले सेन्ट पिटर्सबर्गका कलकारखानाका मजदुर प्रतिनिधिलाई भेट्थ्यौँ । उनीहरूसँग विभिन्न प्रश्नबारे छलफल गथ्र्यौँ र सूचनाहरू हासिल गथ्र्यौँ । सारमा, प्राभ्दा क्रान्तिकारी मजदुरहरूको मुटु थियो । त्यहाँ उनीहरू भेला हुन्थे । साथै, संसदीय समूहको गतिविधिमा यसले ठुलो टेवा दियो ।
गठन भएलगत्तै हाम्रो संसदीय समूहले पत्रिकाको कामलाई एउटा मुख्य कार्यभार बनायो । चौथो संसद्को उद्घाटन भएसँगै ‘६ बोल्शेभिकहरू’ ले प्राभ्दामा निम्न अपिल प्रकाशित गरेका थिए, “वर्तमान अवधिमा प्राभ्दाले सर्वहारा जनताका दुई शक्तिलाई जोड्ने कार्यभार पूरा गर्नेछ भन्नेमा पूर्ण विश्वस्त भएर हामी तपाईँ कामरेडहरूसँग सहयोग, वितरण र सामग्री पठाउनका लागि अपिल गर्छौँ । निश्चय पनि प्राभ्दाका कमीकमजोरी छन् । अन्य नयाँ पत्रिकाले जस्तै यसले पनि सबल हुने गरी समय र अनुभव पाएको छैन । तर, यसको एउटै उपचार यसलाई निरन्तर सहयोग गर्नु हो ।”
पार्टीले मलाई प्राभ्दाको जिम्मेवारी सुम्पेपछि मैले सेन्ट पिटर्सबर्गका मजदुरहरूलाई निम्न सन्देश प्रकाशित गरेको थिएँ, “मजदुरहरूका सांसद र मजदुरको पत्रिकाले एउटै काम गर्ने हो । यी दुईबिच घनिष्ट सहकार्य हुनुपर्छ । यसकारण, कामरेडहरू म हाम्रा मजदुरहरूको पत्रिका प्राभ्दा प्रकाशित गर्नुपर्ने सबैभन्दा सक्रिय भूमिका वहन गर्नु मेरो कर्तव्य हो । हाम्रो आफ्नै प्रयासले हाम्रो ठुलो तपस्याले हामीले रुसमा पहिलो मजदुरहरूको दैनिक अखबार स्थापना ग¥यौँ । हामी सेन्ट पिटर्सबर्गका मजदुरहरूले यो काममा अगुवाइ ग¥यौँ । तर, पत्रिका निकालेर मात्र पुग्दैन, यसलाई सबल पार्नुपर्छ र यसलाई आफ्नै खुट्टामा उभ्याउन धेरै काम गर्नुपर्ने हुन्छ । प्रत्येक मजदुर यसको नियमित पाठक बन्नैपर्छ र प्रत्येक पाठकले अरूलाई नियमित पाठक बनाउनैपर्छ । हामीले प्राभ्दाको लागि चन्दा सङ्कलन गर्नुपर्छ र सकेसम्म यसको व्यापक वितरण गर्नुपर्छ । हामी सबैजना मजदुरको सेवामा समर्पित यस पत्रिकाको निर्माणमा मिलेर लागौँ ।”
प्राभ्दाको लागि समर्थन जुटाउनु, यसको निरन्तर प्रकाशनको लागि स्रोत मिलाउनुका साथै मैले प्रहरीसँग पनि निरन्तर सङ्घर्ष गर्नुप¥यो । हामीले पत्रिका जफतका विरुद्ध अविचल सङ्घर्ष गर्नुपथ्र्यो । कुनै विशेष अङ्क छापिएका दिन पत्रिका पाठककहाँ पु¥याउन हामीले विभिन्न छलकारी जुक्ति लगाउनुपथ्र्यो ।
कानुनसँग सङ्गति मिलाउन पत्रिकाको एउटा प्रति छापाखानाबाट प्रेस समितिमा पठाउनुपथ्र्यो । तब मात्र पत्रिका बेच्न पाइन्थ्यो । प्रायःजसो समितिले तुरुन्तै पत्रिकाका सम्पूर्ण प्रति जफत गर्ने आदेश पठाउँथ्यो । पत्रिकाको एकप्रति छापाखानाबाट छुट्ने र प्रेस समितिले रसिद थमाइदिने दुई घटनाबिचको छोटो अन्तराललाई उपयोग गर्दै हाम्रा हल्काराहरूले पत्रिका बाँड्नुपथ्र्यो ।
एकाबिहानै कारखानाका प्रतिनिधिहरू छापाखानाबाहिर चौरमा भेला हुन्थे । सिधै छापाखानाबाट पत्रिका लिन र आआफ्ना जिल्लातिर कुदिहाल्न उनीहरू तम्तयारी अवस्थामा रहन्थे । पछि प्रहरीले हाम्रो चलाखी बुझिहाल्यो । अनि सुराकीहरूले छापाखाना घेर्न थाले र आसपासका गल्लीहरू पैदल र घोडचढी प्रहरीले भरिन थाले । प्रायः कानुन मिच्दै प्रेस समितिका कर्मचारीहरू हाम्रो छापाखानामा आउँथे र पत्रिका छापिनेबित्तिकै जफत गर्थे । त्यसपछि हामीले केही बन्डल पत्रिका छिँडीमा वा सिँढीमुनि लुकाउन थाल्यौँ । प्रहरी गएपछि त्यसलाई लुकाएर बाँड्न पठाउँथ्यौँ ।
सरकारी कर्मचारीहरूसँग कुस्ती खेलिरहनुपर्ने हाम्रो कार्यमा एक हदसम्म मेरो सांसदको परिचयले सघाउ पुग्थ्यो । तर, म ‘दण्डमुक्त’ थिएँ भन्दैमा मेरा कामरेड र म प्रहरीले चलाउने कानुनी कारबाहीबाट पूर्णतः सुरक्षित थियौँ भन्नु सही होइन । अनुसन्धानमा खटिने अधिकारीहरूले मविरुद्ध बढीभन्दा बढी मुद्दा चलाउन दस्ताबेजहरूको चाङ जम्मा गर्दै थिए । उपयुक्त समय आएपछि उनीहरूले साटो फेर्ने सोचेका थिए । पत्रिकाकै सन्दर्भमा ममाथि अनेक मुद्दा चलाइयो । सरकारले मजदुर सांसदहरूलाई पक्राउ गर्ने आँट गरेन । तर, यो प्रक्रियामा सरकारले संलग्न अन्य कमजोर व्यक्तिमाथि मुद्दा दायर ग¥यो ।
मलाई धेरैचोटि सोधियो, “प्राभ्दाको सम्पादन कसले गर्छ ?” यसको जवाफमा प्रत्येक कानुनी अधिकारीले उही जवाफ पायो, “सम्पादकको नाम प्रतिदिन पत्रिकामा छापिन्छ र यसमा सेन्ट पिटर्सबर्गका हजारौँ मजदुरहरूले सघाउँछन् ।”
सन् १९१३ को मे महिनामा प्राभ्दा बन्द भयो र केही दिनपछि यो नयाँ नाम ‘प्राभ्दा त्रुदा’ नामले पुनः प्रकाशित भयो । यस्तो ढाकछोप बेलाबेला चलिरहन्थ्यो । सम्पादकहरूले नाम फेर्दै पत्रिका छापिरहे । ‘जा प्राभ्दु’ (प्राभ्दाका लागि), ‘प्रोलेतास्र्काया प्राभ्दा’ (सर्वहाराको प्राभ्दा), ‘सेभेर्नाया प्राभ्दा’ (उत्तरी प्राभ्दा) र ‘पुत प्राभ्दी’ (प्राभ्दाको बाटो) जस्ता अनेक नामले छापियो प्राभ्दा । गुप्त प्रहरीले प्राभ्दालाई निमोठ्न कुनै मौका छोड्दैनथ्यो । तैपनि, हामीले एकदम सफाइ साथ काम गर्ने हुनाले सेन्ट पिटर्सबर्गका मजदुरहरू बिरलै मात्र आफ्नो अखबारबिना बस्नुपथ्र्यो ।
हाम्रा समस्याहरूको चाङमा कोषको अभाव पनि पथ्र्यो । पैसाको मुख्य स्रोत कलकारखानामा मजदुरहरूले नियमित रूपमा गर्ने चन्दा सङ्कलन थियो । तर, मजदुरहरूको क्रान्तिकारी आन्दोलनप्रति सहानुभूति राख्ने व्यक्ति विशेषले पनि कहिलेकाहीँ हामीलाई सघाउँथे । म्याक्सिम गोर्की यस्तै व्यक्ति हुनुहुन्थ्यो । उहाँले हामीलाई भरसक सघाइहाल्नुहुन्थ्यो । उहाँ सम्पूर्ण बोल्शेभिक प्रकाशनका नियमित दाता हुनुहुन्थ्यो । उहाँले हामीलाई आफै भौतिक सहयोग मात्र गर्नुभएन । उहाँले अरू व्यक्तिबाट पनि पत्रिकाको लागि कोष जम्मा गर्ने प्रयास गर्नुभयो ।
विदेशबाट फर्केपछि गोर्की फिनल्यान्डमा बस्नुभयो । उहाँको घर सेन्ट पिटर्सबर्गबाट नजिकै पथ्र्यो । सन् १९१३ को गर्मीमा म उहाँलाई भेट्न गएँ । पत्रिका र पार्टीका अन्य काममा हामीलाई उहाँको सहयोग चाहिएको थियो । पार्टी केन्द्रको आग्रहमा म उहाँकहाँ गएँ । उहाँलाई पुनः प्रहरीको झमेलामा नपार्न मैले विशेष सावधानी अपनाएँ ।
पार्टी जीवन, क्रान्तिकारी आन्दोलनको अवस्था, भूमिगत गतिविधि, संसदीय समूहका क्रियाकलापलगायत विषयमा प्रश्नमाथि प्रश्न सोधेर गोर्कीले मलाई आलसतालस पार्नुभयो । उहाँले सङ्घर्षका सानातिना कुरामा समेत ठुलो रुचि लिनुभयो । कारखानाका सम्पूर्ण गतिविधिमा उहाँले विशेष जोड दिनुभयो । उहाँको सोधाइको रफ्तारमा मलाई जवाफ दिन हम्मेहम्मे भयो । मेरो एक विशेष आग्रहमा गोर्कीले सकेको गर्ने वचन दिनुभयो । प्राभ्दाको प्रकाशनको लागि आवश्यक पर्ने सम्पर्क र साधन प्राप्त गर्न समय लिएरै सघाउने भन्नुभयो ।
प्राभ्दाको अडानले आगो भएर प्रहरी क्रूर बन्यो । प्रहरीले सबै कानुनी औपचारिकतालाई बेवास्ता गर्न थाल्यो । पत्रिका जफत गर्ने आदेश नभए पनि प्रहरीले पत्रिका बाँड्ने हल्काराहरूलाई पक्राउ गरे र प्राभ्दाका चाङ खोस्यो । उनीहरूले आफ्नो कर्तुतलाई प्रेस समितिको कानुनी छाप लगाएर छोप्ने झन्झट नै गरेनन् ।
सन् १९१४ को फेब्रुअरी महिनाको अन्त्यतिरको घटना हो । रात छिपिसकेको थियो । एक उच्च अधिकारीको कमानमा एउटा प्रहरी दस्ताले हाम्रो सम्पादकीय कार्यालयमा छापा मा¥यो । ऊसँग कुनै आदेशपत्र थिएन । ढोकाको ताल्चा तोडियो । सबथोक भताभुङ्ग पारियो । हस्तलिपि र चिठीपत्रहरू कोठाको बिचमा थुपारियो । यसबारे मलाई टेलिफोनबाट खबर गरियो । म हतारिँदै कार्यालयतर्फ लागेँ । गैरकानुनी खानतलासी लिएकोमा म प्रहरीसँग आपत्ति जनाएँ । तर, म पत्रिकाका आधिकारिक सम्पादक थिइनँ । त्यसैले अधिकारीले जवाफ दियो, “तपाईँ किन हस्तक्षेप गर्नुहुन्छ ? यो कार्यालयसँग तपाईँको कुनै लिनुदिनु छैन । तपाईँलाई के चासो ?”
जवाफमा मैले भनेँ, “चासो छ । म मजदुरहरूको सांसद हुँ र यो मजदुरकै पत्रिका हो । हामी एउटै उद्देश्यले सेवारत छौँ ।”
प्रहरीले खानतलासी पूरा ग¥यो र आफूलाई चाहिएको सबथोक लिएर गयो । भोलिपल्ट मैले सम्बन्धित मन्त्रीसँग विरोध जनाएँ । तर, हात लाग्यो शून्य । मन्त्री र प्रहरीले घाँटी जोडेर काम गरिरहेका थिए ।
यति नै बेला सरकारले संसद्मा नयाँ प्रेस विधेयक ल्यायो । सन् १९०५ मा प्राप्त ‘स्वतन्त्रता’ को अन्तिम बक्यौतालाई निमिट्यान्न पार्नु नै त्यो विधेयकको उद्देश्य थियो । प्राभ्दाको कार्यालयमा प्रहरीले गरेको खानतलासी यो कानुनको पूर्वसङ्केत थियो । प्राभ्दामा भएको गैरकानुनी जफतका सम्बन्धमा हाम्रो समूहले सदनमा प्रश्न गर्ने भयो । हाम्रो प्रश्नको सान्दर्भिकताको पक्षमा समर्थन जुटाउन मार्च ४ गते मैले सदनमा बोलेँ । कालासय सांसदहरूले हाम्रो प्रस्ताव अस्वीकार गरे । तर, मेरो लक्ष्य पूरा भयो । मजदुरहरूले हाम्रो आह्वान सुने । प्राभ्दाको लागि झन् धेरै चन्दा सङ्कलन भयो भने ग्राहक सङ्ख्या पनि ह्वात्तै बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *