विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सन्तानको जन्म एउटा जैविक घटना मात्र होइन । यो त एक परिवारको मन–मस्तिष्कमा आशा, सपना र निःस्वार्थ समर्पणको बीज रोपिनु हो । छोराछोरीको पहिलो रोदनसँगै अभिभावकका आँखामा जुन आँसु टल्कन्छ, त्यो भविष्यको उज्ज्वल चित्र कोरिएको पवित्र जिम्मेवारीको प्रतिबिम्ब हो । हरेक बाबुआमाले आफ्ना सन्तानको आगमनलाई ईश्वरले दिएको सबैभन्दा ठुलो वरदान ठान्छन् – आफूसँग रहेको समस्त समय, ऊर्जा र माया खर्च गर्न प्रेरित गर्ने जीवनको अमूल्य उपहार । तर, जीवनको यही उज्यालो यात्रा कहिलेकाहीँ किशोरावस्था (टिनएज) का भावनात्मक चोट, क्षणिक अस्थिरता र अपरिपक्व निर्णयका कारण अकल्पनीय अन्धकारतिर मोडिन पुग्छ । प्रेम–सम्बन्धको असफलता, साथीको धोका, सामाजिक दबाब वा आत्मसम्मानमा पुगेको सानो चोटले गर्दा पनि धेरै किशोर–किशोरीहरूले आत्महत्याजस्तो अप्रिय कदम चाल्ने घटना बढ्दो छ । यो त्रासदी केवल एक जीवनको अन्त्य मात्र होइन – यो त बाबुआमाले जीवनभर गरेको त्याग, मेहनत र सम्पूर्ण आशाको जग क्षणभरमै भत्किएको डरलाग्दो दृश्य हो । आजको संवेदनशील सङ्कटलाई मध्यनजर गर्दै, टिनएजका सन्तानलाई जीवनको सही मूल्य, कठिनाइसँग जुध्ने सीप र भावनात्मक सन्तुलनबारे शिक्षित गर्नु अब विकल्प होइन, यो प्रत्येक परिवार र राष्ट्रको अनिवार्य कर्तव्य बनेको छ ।
जब एक शिशु संसारमा आउँछ, अभिभावकको जीवन पूर्ण रूपमा सन्तानमुखी बन्छ । उनीहरूको श्रम, चिन्ता, समय र सपना – सबै छोराछोरीको भविष्यमा केन्द्रित हुन्छ । कति अभिभावकले छोराछोरीको राम्रो भविष्यका लागि एक रूपैयाँ बढी बचाउने प्रयत्नमा अथक शारीरिक परिश्रम गर्छन् । आर्थिक अभावमा आफ्नै उपचार कटौती गर्छन् तर सन्तानको शिक्षामा कुनै सम्झौता गर्दैनन् । ऋण लिएर, घर धितो राखेर, चर्को ब्याज तिर्दै भए पनि उनीहरू सन्तानलाई राम्रो वातावरण दिन चाहन्छन् । यस यात्रामा अभिभावकले आफ्नो स्वास्थ्य, व्यक्तिगत इच्छा र सपनाहरूलाई पछाडि पार्छन् । तर, महत्वपूर्ण कुरा यो हो कि के ती सन्तानले आफ्ना बाबुआमाको असीम त्याग बुझेका छन् ? यदि घरमा संवादको अभाव छ भने भावनात्मक दूरी बढ्छ । त्यसमा पनि छोराछोरीलाई बाबुआमाले आफूले गरेका त्यागका बारेमा राम्ररी बुझाउन सकेनन् भने पीडाको क्षणमा गलत निर्णयको लागि आधार तयार पार्न सक्छ ।
किशोरावस्था भावनात्मक उथलपुथलको उमेर हो । यो बेलामा शरीरले तीव्ररूपमा परिवर्तनको सामना गर्छ । मन अत्यन्तै संवेदनशील हुन्छ अनि अनुभव सीमित भए पनि भावनाको वेग असीमित हुन्छ । टिनएजरहरूका लागि पहिलो प्रेम सम्बन्ध नै जीवनको अन्तिम सत्य लाग्छ र कसै गरी त्यो ‘ब्रेक अप’ भएमा भविष्य नै समाप्त भएको महसुस गर्छन् । सामाजिक सञ्जालमा देखिने ‘काल्पनिक सुख’ सँग आफूलाई तुलना गर्दा आत्मसम्मानमा गहिरो चोट लाग्छ । “सबै खुसी छन्, म मात्र किन दुःखी ?” भन्ने सोचले आत्महत्याको जोखिम बढाउँछ । सीमित अनुभवले गर्दा उनीहरू तत्कालको पीडालाई मात्र ठुलो ठान्छन् र दीर्घकालीन समाधानबारे सोच्न सक्दैनन् । उनीहरू ‘तत्कालीन भावनाको आवेग’ मा निर्णय लिन्छन्, जुन एक सेकेन्डमै जीवन समाप्त पार्ने गल्ती साबित हुनसक्छ । मनोविज्ञानले पुष्टि गर्छ, मस्तिष्कको दीर्घकालीन जोखिम मूल्याङ्कन गर्ने भाग अपरिपक्व हुने भएकाले, किशोरावस्थामा आवेगमा निर्णय लिने प्रवृत्ति बढी हुन्छ ।
जब एक किशोर–किशोरीले जीवन त्याग गर्छन्, यो अभिभावकको लागि आत्मा चिरिने क्षण हो । उनीहरूको मनमा विभिन्न प्रश्नले घर बनाउँछन् – “के हामीले गरेको सबै त्याग, निद्राको बलिदान र वर्षौँको पसिना एक क्षणको चोटका कारण अर्थहीन भइदियो ? आखिर हामीले गरेको अपराध के थियो ? किन हामीलाई त्यसबारे एक वचन भनिएन ?” आत्महत्यापछिको पीडाले अभिभावकलाई रात रातभर निन्द्राबिहीन मात्रै बनाउँदैन, त्यो घरलाई नै सदाका लागि सुनसान तुल्याउँछ । त्यति मात्र होइन, उनीहरू बाँकी जीवनभर गहन अपराधबोधमा पिल्सिन्छन् । त्यसैले, टिनएजका छोराछोरीलाई जीवनको महत्व बुझाउनु भनेको अभिभावकको भविष्यको भावनात्मक सुरक्षा गर्नु पनि हो ।
किशोर–किशोरीलाई मानसिक रूपमा बलियो बनाउनका लागि अभिभावकले उनीहरूलाई निन्दा वा हप्कीदप्की होइन, तिनलाई आफ्ना कुरा निसङ्कोच सुनाउने वातावरण दिनुपर्छ । उनीहरूका असफलता, डर र सम्बन्धका कुराहरूलाई ‘लाजको विषय’ बनाउनु हुँदैन । अल्लारे उमेरमा गल्ती गर्नु र गलत निर्णय हुनु स्वाभाविकै हो । गल्ती गरे पनि, मन बुझ्ने भाषा र सकारात्मक प्रोत्साहनले मात्रै उनीहरूको आत्मविश्वास बढ्छ । घरको संवादले मात्र नपुग्ने हुनाले, विद्यालयले पनि किशोरकिशोरीलाई सैद्धान्तिक ज्ञान मात्र होइन, व्यवहारिक जीवन–सीप (लाइफ स्किल) को पनि शिक्षा दिनु अपरिहार्य छ । असफलतालाई सिक्ने अवसर ठान्न सिकाउने ‘असफलता सहनशीलता’, क्रोध, आवेग र तीव्र तनावलाई नियन्त्रण गर्ने भावनात्मक व्यवस्थापन तथा डिप्रेसनलाई स्वभाव नभई उपचार आवश्यक पर्ने समस्याका रूपमा बुझाउने मानसिक स्वास्थ्य साक्षरता विद्यालय शिक्षाको अभिन्न अङ्ग बन्नुपर्छ । समाजले पनि ‘मानसिक समस्या’ लाई लुकाउनुपर्ने कमजोरी नभई सामान्य शारीरिक समस्यासरह स्वीकार गर्नुपर्छ । ‘दुखेको बेलामा बोल’ भन्नु समाजको कर्तव्य हो । परामर्श केन्द्रहरूको स्थापना र सचेतना अभियानहरूले पनि जीवनको मूल्यबारे जागरुकता फैलाउन मद्दत गर्छन् ।
याद राखौँ – कुनै पनि तात्कालिक पीडा स्थायी हुँदैन । एउटा प्रेमको धोका, एउटा परीक्षाको असफलता, एक सामाजिक अपमान – यी मध्ये कुनै पनि चीज जीवनभन्दा ठुलो र अमूल्य छैन । जीवन भनेको सम्भावनाको अथाह फूलबारी हो, जहाँ आजका आँसुहरू भोलिका सुन्दर फूल बन्न सक्छन् । अभिभावकले सन्तानका लागि गरेको त्याग संसारको सबैभन्दा पवित्र बलिदान हो । अब समय आएको छ – हामीले टिनएजका सन्तानलाई जीवन बाँच्ने कला, संवेदनालाई सम्हाल्ने शक्ति, असफलताबाट उठ्ने क्षमता र आफूलाई सर्वोपरि मूल्यवान् ठान्ने दृष्टि सिकाउनै पर्छ । यदि आज हामीले हाम्रो किशोरावस्थालाई जीवनको महत्व बुझायौँ भने भोलि हाम्रो समाज उज्यालो, सुरक्षित र सम्भावनाले भरिपूर्ण हुनेछ । जीवनको ज्योतिलाई क्षणिक आवेगमा निभ्न नदिऔँ ।
Leave a Reply