भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – ३९

  • मंसिर २७, २०८२
  • ए. बादायेभ
  • विचार
जारशाही संसद्मा बोल्शेभिक सांसद – ३९

सन् १९१४ का जुलाई सङ्घर्षहरूमा प्राभ्दा अपरिहार्यजस्तै बन्यो । सङ्घर्षका प्रत्येक घटनाक्रमको विवरण प्रतिदिन प्रकाशित हुन्थ्यो । सम्पादकहरू हडताली समितिसँग लगातार सम्पर्कमा थिए । उनीहरूले हडतालीहरूलाई सघाउँथे र तिनका लागि चन्दा सङ्कलन गरिदिन्थे । परिणाम, प्रहरी कारबाही पनि बढ्यो । जरिवाना तिराउने, पत्रिका जफत गर्ने र धरपकड गर्ने क्रम बढ्यो । हाम्रो कार्यालयमा रातदिन सुराकीको चियोचर्चो र प्रहरीहरूको पहरा हुन्थ्यो । पत्रिकाको प्रत्येक अङ्क जोखिममा प¥यो । पत्रिकाका प्रत्येक अङ्कलाई प्रहरीबाट जोगाउन धेरै मुस्किल थियो । कानुनको यो यो धाराले पत्रिकालाई दोषी ठह¥याउँदैन भनेर हामी तर्कवितर्क गथ्र्यौँ । सम्पादकहरूलाई सघाउँदै मैले धेरै समय सम्पादकीय कार्यालयमा बिताएँ । प्रहरी अधिकारीसँग भनाभन हुने स्थितिमा खास कानुनले यसो भन्छ भनेर तर्क गर्न सजिलो होस् भनेर मैले सान्दर्भिक ऐनका ठेलीहरू सँगै लिएर हिँड्थेँ ।
सेन्ट पिटर्सबर्गमा क्रान्तिकारी आन्दोलन चरमचुलीमा पुग्दा मजदुरहरूले ठाउँ–ठाउँमा छेकबारहरू निर्माण गरेका थिए । त्यही बेला सरकारले कारबाहीमा उत्रिने निधो ग¥यो । गुप्त प्रहरीलाई हाम्रो सङ्गठनलाई दबाउन र क्रान्तिकारी आन्दोलनलाई त्यसको प्रमुख हतियार अर्थात् प्रेसबाट वञ्चित गर्न आदेश दिइएको थियो ।
यसपालि पत्रिकामा प्राभ्दाका सबै पाहुना, सम्पादन टोलीलाई एकैबाजी पक्राउ गर्ने गरी छापा मार्ने योजना बनाइएको थियो । जुलाई ८ गते साँझपख प्रहरी हाम्रो कार्यालयमा आइपुग्यो । धमाधम काम चल्दै थियो । मजदुरहरू भर्खरै आआफ्ना जिल्लाबाट चिठीपत्र, सङ्कलित चन्दा र पार्टी वा मजदुर युनियनसँग सम्बन्धित अन्य सामग्री लिएर आइपुगेका थिए । म सिधै कार्यालय पुगेँ । त्यहाँ पुग्दा प्रहरीले भवन घेरिसकेको थियो । म जसोतसो भित्र घुसेँ । कार्यालय अस्तव्यस्त थियो । प्रहरी अधिकारीहरूले सबै आलमारी र घर्रा खोतलिरहेका थिए । उनीहरूले पत्रिकाका सबै सहयोगीलाई आगन्तुकहरूसँगै पक्राउ गरी एउटा कोठामा थुनिराखेका थिए । मलाई उनीहरूसँग भेट्न दिइएन । मैले ढोकाबाहिरैबाट उनीहरूसँग कुरा गर्नुप¥यो ।
मैले एकाएक खानतलासी र गिरफ्तारीको विरोध गरेँ र यो विषय संसद्मा उठाउने बताएँ । प्रहरीले आफ्ना हाकिमलाई फोन लगाइहाले । हाकिमले कुनै विधि प्रक्रिया नपु¥याई काम गर्न भनेपछि उनीहरूले मलाई त्यो ठाउँ छोडेर बाहिरिन आदेश दिए । म डटिरहेँ । तर, उनीहरूले जबरजस्ती मलाई बाहिर निकाले । प्रहरी कारबाहीमा हस्तक्षेप गरेको भन्दै यसपालि पनि ममाथि उही पुरानो आरोप लगाइयो ।
प्राभ्दाको यो लुटपाट मजदुर सङ्गठनहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुने पूर्वसङ्केत गर्ने थियो । विश्वयुद्धको घोषणा हुनुभन्दा केही दिन अघिसम्ममा प्रहरीले मजदुरवर्गका सम्पूर्ण पत्रपत्रिका, शैक्षिक संस्था र मजदुर युनियनलाई ध्वस्त पारिसकेका थिए । सेन्ट पिटर्सबर्गमा ठुलो आकारमा धरपकड चल्यो । बन्दीहरूको ठुलै समूहलाई उत्तरका चिसा प्रान्त र साइबेरिया निर्वासनमा पठाइयो ।
युद्धले गर्दा प्रहरी कारबाही झन् कसिलो बन्यो । पार्टी पूर्णतः भूमिगत हुन बाध्य भयो । हाम्रो संसदीय समूहमा मजदुर अखबारको पुनः प्रकाशन थाल्नुपर्ने विषयमा छलफल भइरह्यो । यो विषय नोभेम्बर महाधिवेशनको एजेन्डामा पनि परेको थियो । बोल्शेभिकहरूको समग्र संसदीय समूह पक्राउ पर्दा पनि स्थिति उस्तै थियो ।
युद्धको अवधिभर हामीले प्राभ्दाको पुनः प्रकाशन थाल्न सकेनौँ ।
पाठ २१
अधिवेशनको तयारी
महाधिवेशन आयोजना गर्ने निर्णय । लेनिनको निर्देशन । हाम्रो महाधिवेशन र इन्टरनेसनलको अधिवेशन । मेन्शेभिक ‘योजना’ । दस्तावेज कसरी जोगाइन्थ्यो ।
अघिल्लो देशव्यापी पार्टी महाधिवेशन सन् १९०७ मा लन्डनमा भएको थियो । त्यसपछिका वर्षहरूमा देशले धेरै महत्वपूर्ण घटनाहरू भोग्यो । पार्टीमा पनि अनेक महत्वपूर्ण हेरफेर आयो । देशमा प्रतिक्रियावादले दमनचक्र चलाइरहेको बेला पार्टी महाधिवेशन गर्न असम्भव जस्तै थियो । तर, अब परिस्थिति फेरिएको थियो । मजदुरवर्गको आन्दोलनको अद्भूत विकासले क्रान्तिकारी सङ्घर्षसँग सम्बन्धित झन् धेरै नयाँ समस्या ल्याएको थियो । पार्टीमा धेरै आन्तरिक समस्याहरू देखापरेका थिए । यिनलाई पार्टी महाधिवेशनबाट सल्टाउन आवश्यक थियो ।
सन् १९१३ सेप्टेम्बरमा पोरोनिनो सम्मेलनमा महाधिवेशनको आवश्यकताबारे छलफल भएको थियो । सम्मेलनले तय गरेको थियो, “मजदुरवर्गको आन्दोलन बढेसँगै राजनीतिक सङ्कट गहिरिँदै छ र देशव्यापी स्तरमा मजदुरवर्ग क्रियाशील हुन जरुरी छ । यसको लागि तयारीका साथ पार्टी महाधिवेशन आयोजना गर्नुपर्ने खाँचो टड्कारो देखिन्छ ।” सम्मेलनले स्थानीय सङ्गठनहरूलाई यस विषयमा छलफल गर्न, प्रारम्भिक एजेन्डाहरू तय गर्न, प्रस्तावहरू बुझाउन र चन्दा सङ्कलन गर्न भनेको थियो ।
पोरोनिनो सहरमा समाजवादी इन्टरनेसनलको अधिवेशनको बेला पारेर महाधिवेशन गर्ने निक्र्योल गरिएको थियो । त्यो अधिवेशन सन् १९१४ अगस्टमा भियना सहरमा हुँदै थियो । महाधिवेशनमा बोल्शेभिकहरूले भरसक बढी भूमिका खेल्न आवश्यक र वान्छनीय रहेको केन्द्रीय समितिको ठहर थियो । दुवै अधिवेशनको तयारी एकैपल्ट गर्दा यसलाई सँगसँगै उन्न सकिने थियो । यसको अर्थ प्रहरीलाई पार्टी महाधिवेशन हुँदै छ भन्ने तथ्य लुकाउन त्यसले पर्दाको काम गर्ने भयो ।
पोरोनिनो सम्मेलनमा इन्टरनेसनलको अधिवेशनबारे बोल्दै लेनिनले मजदुरहरू त्यसमा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आजसम्म सामाजिक जनवादी पार्टीले केन्द्रीय पार्टी सङ्गठन वा विदेशमा सक्रिय भिपेरियोदवादी, सम्झौतावादीजस्ता अनेक समूहमार्फत अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व जनाएको छ । ती प्रतिनिधिहरू प्रायः बुद्धिजीवी हुन्थे । अब हामीले नयाँ पाइला चाल्नुपर्छ । मजदुर सङ्गठनहरू, ट्रेड युनियन, सहकारी आदिबाट प्रत्यक्ष रूपमा निर्वाचित प्रतिनिधिलाई सिधै मजदुरवर्गका प्रतिनिधिको रूपमा सो मञ्चमा पु¥याउनुपर्छ । आफ्ना प्रतिनिधि पठाउन नसक्ने सङ्गठनहरूको प्रतिनिधित्व संसदीय समूहले गर्नुपर्छ । प्रत्येक बोल्शेभिक सांसद उपस्थित हुनुपर्छ किनभने उनीहरू आफै पनि मजदुर हुन् र तिनले रुसका मजदुरवर्गलाई प्रतिनिधित्व गर्छन् ।”
पार्टी महाधिवेशनलाई इन्टरनेसनलसँगै गर्नुपर्नाको अर्को कारणमा जोड दिँदै लेनिनले दुवै अधिवेशनका लागि सँगै प्रतिनिधि छनोट गर्न सकिने बताउनुभयो । पोरोनिनो सम्मेलनलगत्तै महाधिवेशनको तयारी सुरु भयो । स्थानीय सङ्गठनहरूमा छलफल सुरु भयो । तर, सन् १९१४ को वसन्त र गर्मी ऋतुमा तयारी जोडतोडले अघि बढ्यो ।
सन् १९१४ अप्रिलमा केन्द्रीय समितिबाट संसदीय समूहले प्राप्त गरेको सामान्य निर्देशनसँगै लेनिनले पठाउनुभएका अनेक प्रस्ताव थिए । महाधिवेशनको तयारी कसरी बाक्लो पार्ने भन्ने विषयमा उहाँले अनेक सुझाव दिनुभएको थियो ।
लेनिनले प्रथमतः पार्टीका भूमिगत सङ्गठनहरूलाई सबल पार्नुपर्नेमा जोड दिनुभयो । यति नगरी पार्टीको विकास कम प्रभावकारी ठहरिने उहाँको तर्क थियो । किनभने, भूमिगत सङ्गठन बलियो नभई पार्टी क्रान्तिकारी नेतृत्वबाट वञ्चित हुनेमा उहाँले बल दिनुभयो । लेनिनको सुझाव अनुसार हाम्रा भूमिगत समितिहरू सदृढ पार्नु नै महाधिवेशन सफल बनाउने कुँजी थियो† पार्टीलाई थप इस्पात बनाउने कार्यमा मलजल गर्ने मुख्य उपाय थियो । यो महाधिवेशनमा (मेन्शेभिक) विघटनकारीहरूलाई खासगरी संसद्का ‘७ मेन्शेभिकहरू’ लाई अन्ततः परास्त गर्नुपर्ने थियो ।
लेनिनले औँल्याउनुभयो, “हामीले महाविजय हासिल गरेका छौँ, क्रान्तिकारी माक्र्सवादको पक्षमा विजय हासिल गरेका छौँ । हाम्रा प्रेस, ट्रेड युनियनहरू र शैक्षिक संस्थाहरू हाम्रो विजय हो । तर, यो विजयका आफ्नै खतरा पनि छन् । हामी यो स्थान कायम गर्न चाहन्छौँ† हुर्किँदो आन्दोलनले हाम्रो पार्टीको नेतृत्व छिचोलेर अराजकतावादी नबनोस् भन्ने चाहन्छौँ भने हामीले जुनसुकै मूल्य चुकाएर भए पनि भूमिगत सङ्गठनलाई मजबुत पार्नुपर्छ । विगतमा निकै सफलतापूर्वक गरिएको संसद्को कामको केही हिस्सा अरूलाई जिम्मा लगाउन सकिन्छ । तर, हामीले हाम्रो गतिविधिलाई सदनबाहिर तीव्र पार्नुपर्छ । हामीलाई निकै सुगठित र अनुशासित कारखाना समितिहरू चाहिन्छ र यी समितिहरू माथिल्ला समितिका निर्देशन तदारुकतासाथ पालन गर्न तम्तयार रहनुपर्छ ।”
यो अवधिमा महाधिवेशनका लागि प्रस्तावित एजेन्डा यसप्रकार थिए – एक, केन्द्रीय समितिको प्रतिवेदन र स्थानीय प्रतिवेदनहरू† दुई, राजनीतिक अवस्था† तीन, पार्टी सङ्गठन† चार, हडताल आन्दोलन† पाँच, नयाँ प्रेस विधेयक† छ, ट्रेड युनियन आन्दोलनको कार्यनीति† सात, सामाजिक बिमा आयोगको कार्यनीति† आठ, पार्टी कार्यक्रम† नौ, राष्ट्रिय प्रश्न† दस, विघटनकारीहरूको रवैया† एघार, पुँजीवादी प्रेसमा योगदान† बा¥ह, केन्द्रीय समितिको चयन र पार्टी प्रकाशनको सम्पादकीय बोर्ड† ते¥ह, समसामयिक विषय ।
महाधिवेशनमा पार्टीको आन्तरिक सङ्गठनसित सम्बन्धित सम्पूर्ण आधारभूत र मूल प्रश्नहरूमा छलफल हुनेवाला थियो । साथै क्रान्तिकारी सङ्घर्षको कार्यनीति पनि तय हुने थियो । अनेक स्थानीय सङ्गठनहरूका प्रतिनिधिहरूमध्ये बुन्द दलका प्रतिनिधि पनि थिए । (बुन्द यहुदी समाजवादी सङ्गठन थियो ।) साथै, लाट्भिया, पोल्यान्ड र लिथुआनियाका सङ्घ सङ्गठनलाई पनि महाधिवेशनमा अतिथिको रूपमा उपस्थित हुन निम्तो दिइयो ।
महाधिवेशनको लागि ठुलै तयारी गर्नुपर्ने थियो । प्रतिनिधिको निर्वाचन, निर्देशनहरूको मस्यौदा लेखन, आवश्यक कागजात जोरजाम, प्रतिनिधिहरूको सुरक्षित सीमा कटान र खर्च धान्नका लागि चन्दा सङ्कलनलगायत काम थिए । महाधिवेशनसँग सम्बन्धित यी यावत कामका लागि एउटा विशेष समिति गठन भयो । यो समिति सेन्ट पिटर्सबर्ग तथा जिल्ला जिल्लाका स्थानीय समितिहरूमा सक्रिय रह्यो । यसले सिधै स्थानीय पार्टी सङ्गठन सुदृढ पार्ने र आवश्यक स्थानमा समिति गठन ग¥यो । सम्भव हुने स्थानमा पार्टीका जिल्ला तथा नगर सम्मेलनको आयोजना पनि गरियो ।
हाम्रो संसदीय समूहका सदस्यहरू आआफ्ना जिल्ला भ्रमणमा गए । त्यहाँ उनीहरूले महाधिवेशनसँग जोडेर सङ्गठन निर्माण र प्रचारप्रसारको काम गरे । आफ्नो जिल्लाको काम सकेपछि उनीहरू लेनिनले बनाउनुभएको योजना अनुसार अन्य क्षेत्रमा पनि गए । युक्रेनको भ्रमण सकेर (बोल्शेभिक सांसद) पेत्रोभ्स्की इस्टोनिया गए । त्यसैगरी, मुरानोभ युराल गए भने शागोभ भ्लादिमिर पुगे । सेन्ट पिटर्सबर्गको काम सकेपछि म ककेसस र भोल्गा जिल्ला जाने तय भएको थियो ।
स्थानीय सङ्गठनहरू सबल भएसँग लेनिनले रुसभित्र केन्द्रीय समितिको कार्यलाई सुदृढ पार्न आवश्यक कदम चाल्नुभयो । यसको लागि उहाँले स्तालिन र स्वेर्दलोभलाई निर्वासनबाट भगाउने चाँजो मिलाउनुभयो । साथै, उहाँले अन्य कामरेडहरूलाई पनि पार्टीको महत्वपूर्ण जिम्मेवारी सुम्पिनुभयो । मैले लेनिनको पत्र प्राप्त गरेँ । त्यसमा मलाई केन्द्रीय समितिको रुसी ब्युरोमा समेटिएको जानकारी थियो ।
यसरी महाधिवेशनको तयारीका क्रममा पार्टी सङ्गठनको मर्मतसम्भार भयो । सँगै, अन्तर्राष्ट्रिय समाजवादी अधिवेशनको तयारी पनि भइरहेको थियो ।
पार्टी महाधिवेशन इन्टरनेसनलभन्दा अगाडि थियो । महाधिवेशनमा जाने प्रतिनिधिहरूले पार्टीको सर्वोच्च सङ्गठनबाट निश्चित निर्देशन लिएर इन्टरनेसनलमा सहभागी हुने चाँजो मिलाइएको थियो । भियना अभिवेशनका लागि अन्तर्राष्ट्रिय समाजवादी ब्युरोले निम्न एजेन्डा तय गरेको थियो ः एक, बेरोजगारी† दुई, रक्सी सेवन† तीन, महँगी र भूमिसुधार† चार, उपनिवेशवादको जोडिएको साम्राज्यवाद† पाँच, रुसका राजनीतिक बन्दीको अवस्था† छ, पार्टी एकता ।
यो पछिल्लो मुद्दा सन् १९१३ को डिसेम्बरमा बसेको बैठकबाट समाजवादी ब्युरोले थपेको थियो । ‘एकता’ को मुद्दाबारे ब्युरोको पछिल्लो सम्मेलनमा पनि उठेको थियो । तर, त्यसबारे कुनै ठोस निर्णय गरिएको थिएन । मेन्शेभिकहरू व्यवहारमा लोपप्रायः हुनाले र मजदुरहरूबिच बोल्शेभिकहरूले गरेको अद्वितीय कार्यले गर्दा बोल्शेभिकहरू मेन्शेभिकहरूसँग ‘एक हुने’ प्रश्न नै अमिल्दो थियो । रुसी मजदुरहरूमध्ये प्रत्येक पाँच जनामा चार जना बोल्शेभिक केन्द्रीय समितिमुनि गोलबन्द थिए । त्यसैले, मेन्शेभिकहरूसँग पुनः एक हुने प्रश्नै उठ्दैनथ्यो । बरु, मेन्शेभिकहरू आफै रुसी सामाजिक जनवादी मजदुर पार्टीबाट बाहिरिएको र तिनको ‘केन्द्र’ अस्तित्वमा नै नरहेको तथ्य स्वीकार्नुपर्ने खण्ड आइसकेको थियो । अन्तर्राष्ट्रिय समाजवादी ब्युरोको बैठकमा बोल्शेभिकहरूले यही दृष्टिकोण राखे र ब्युरोले यो विषय अधिवेशनमा टुङ्गो लगाउने निधो ग¥यो ।
रुसमा पार्टीले चलाउने अन्य अभियानमा जस्तै दुई अधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि हाम्रो संसदीय समूहको काँधमा आयो । पार्टी महाधिवेशनको कुरा अति गोप्य राख्नुपर्ने थियो । तर, हामीले अन्तर्राष्ट्रिय समाजवादी अधिवेशनको सीमित प्रचारप्रसार हाम्रो प्रेसबाट गर्ने चाँजो मिलायौँ । यो प्रचार अत्यन्त सीमित थियो । यसलाई हामीले समाजवादीसमेत भनेनौँ । बरु मजदुर सङ्गठनहरूको अन्तर्राष्ट्रिय अधिवेशन, ट्रेड युनियनहरूको अधिवेशन जस्ता अनेक नाम दियौँ । जनसमूह हाम्रो पत्रिकामा छापिने कुट भाषासँग परिचित थिए । यसकारण, उनीहरूले यी नामको अर्थ बुझे । पत्रिकामा प्रकाशित समाचारसँगै उनीहरूले विभिन्न मन्तव्य र गैरकानुनी साहित्य पनि पाउँथे । प्रेसमा हामीले इन्टरनेसनलको अधिवेशनसँग जोडिएका अनेक मुद्दाबारे छलफल ग¥यौँ । यी मुद्दा खासमा पार्टी महाधिवेशनका मुद्दा पनि थिए ।
मेन्शेभिकहरूले पनि आफ्नो तयारी गरे । पार्टी महाधिवेशनमा बढीमा आफ्नो सानो अल्पसङ्ख्यक समूह बनाउन सकिने तिनीहरूले बुझिसकेका थिए । उनीहरूमध्ये धेरैले महाधिवेशन नै बहिष्कार गर्ने मन बनाएका थिए । यसको सट्टा सन् १९१२ को अगस्ट गुटमा भाग लिएका सम्पूर्ण सङ्गठनहरूको अलग्गै सम्मेलन बोलाउनुपर्ने उनीहरूको तर्कना थियो । तर, उनीहरूले इन्टरनेसनलको अधिवेशनलाई बहिष्कार गर्न सक्दैनथे । किनभने, त्यसो गर्दा रुसको विषयमा त्यहाँ हुने निर्णय उनीहरूविरुद्ध जाने निश्चित थियो । यसकारण, उनीहरूले सम्पूर्ण मजदुर सङ्गठनमा जीवन्त अभियान थाले ।
तर, मेन्शेभिक विघटनकारीहरूले हार्ने लडाइँ लड्दै थिए भन्ने कुरा छिट्टै छर्लङ्ग भयो । ट्रेड युनियन, बिमा संस्था र अन्य मजदुर सङ्घसङ्गठनमा बहुमत सदस्यहरू बोल्शेभिक पक्षधर थिए । सन् १९१४ को गर्मी याममा सेन्ट पिटर्सबर्गका १८ युनियनमध्ये १४ को बोर्डमा बोल्शेभिकहरूको बहुमत थियो । बाँकी चारमध्ये एउटामा बोल्शेभिक र मेन्शेभिक बराबरीमा थिए । तीनवटा बोर्डलाई मात्र मेन्शेभिक भन्न मिल्थ्यो । धातु मजदुरलगायत सबै ठुला युनियनले बोल्शेभिकहरूलाई समर्थन गर्थे । बीमा संस्थाहरूमा समेत बोल्शेभिक र मेन्शेभिकको हिसाब ट्रेड युनियनमा जस्तै थियो ।
मेन्शेभिकहरूले मजदुर सङ्गठनहरूमा बहुमत ल्याउन नसक्ने र भियना अधिवेशनका लागि प्रतिनिधि जुटाउनसमेत गा¥है पर्ने प्रस्ट देखे । यसपछि उनीहरूले ‘दोहोरो प्रतिनिधित्व’ भन्ने बखेडा झिके । सुरुमा उनीहरूले धातु मजदुरहरूबिच यो नीति अपनाउन खोजे । त्यहाँबाट दुई प्रतिनिधि पठाउनुपर्ने किनभने बहुमतको प्रतिनिधिले ‘गुटगत’ वा युनियनको एकतर्फी तस्बिर मात्र राख्ने उनीहरूको तर्क थियो । मेन्शेभिकहरूले यो सुझाव राख्दाबित्तिकै समाजवादी क्रान्तिकारीहरूले समेत एकजना प्रतिनिधिको माग गरे । जब कि युनियनमा तिनका समर्थक एकदम कम थिए । तर, मेन्शेभिक विघटनकारीहरूले तिनको माग लत्याउन सकेनन् । यसखाले प्रणाली अपनाएको भए इन्टरनेसनलको अधिवेशनमा बहुरङ्गी प्रतिनिधिहरू जाने थिए र समग्र सङ्गठनको अडान प्रस्तुत गर्न असमर्थ हुने थिए ।
अधिकांश मजदुरले मेन्शेभिकहरूको प्रस्ताव अस्वीकार गरे । मजदुरहरूको मनोदशाबारे एउटा उदाहरण दिनु उपयुक्त हुन्छ । ओख्ता जिल्लाका प्रतिनिधिहरूले बैठकबाट निम्न निर्णय गरेका थिए, “हामी धातु मजदुर युनियनका ज्यासल समितिहरूका पच्चिस प्रतिनिधि हौँ । हामी बहुमत मजदुरको तर्फबाट इन्टरनेसनलको अधिवेशनमा एक प्रतिनिधि पठाउन जरुरी ठान्छौँ । त्यस्ता प्रतिनिधिले मात्र हाम्रो दृष्टिकोणलाई सही र पर्याप्त रूपमा राख्न सक्नेछन् । फरक फरक विचारका प्रतिनिधिहरू पठाउनु निश्चय नै गलत छ किनभने त्यसो गर्दा सङ्गठनका सम्पूर्ण विचार र अनुशासन मिचिन पुग्नेछ ।”
मजदुर सङ्गठनहरूको गलत प्रतिनिधि गर्ने मेन्शेभिकहरूको खेलले हावा खायो । यी सङ्गठनहरूले भियना अधिवेशनमा पठाउनका लागि प्रायः बोल्शेभिकहरूलाई नै चयन गरे ।
पार्टी महाधिवेशनको तयारी सन्तोषप्रद रह्यो । स्थानीय पार्टी समितिलाई सुदृढ तुल्याउने मुख्य कार्यमा देशमा फस्टाउँदो क्रान्तिकारी उत्साहले निकै सघाउ पुग्यो । झन्भन्दा झन् बढी मजदुरहरू हाम्रो पार्टीतर्फ आकर्षित भए । क्रान्तिकारी मजदुरहरूका नयाँ नयाँ समूहहरू पार्टीमा सामेल भए । पार्टीका नेतृत्वदायी समितिहरू मजदुरहरूबिच व्यापक प्रभाव पार्न सफल भए । यसकारण, देशव्यापी महाधिवेशन आयोजना गर्ने विषयमा मजदुरहरूले निकै चाख लिएर छलफल गरे ।
यो अनुकूल परिवेशले पनि हाम्रो काम घटाएन । क्षेत्रीय वा नगरस्तरीय सम्मेलनका कुरै छोडौँ । सानो पार्टी बैठक डाक्न पनि अप्ठ्यारो थियो । सहभागीहरू निकै मुश्किलले भेला हुन्थे । हाम्रा सम्पूर्ण गतिविधि अति गुप्त तवरले गर्नुपथ्र्यो । यसको लागि षड्यन्त्रकलाको ज्ञान चाहिन्थ्यो । दुईचार जना प्रतिनिधि पक्राउ परे पनि समग्र महाधिवेशन बिथोलिने सम्भावना थियो । यसले पार्टीको हित च्याँखेमा पर्न सक्थ्यो । अन्तिम कुरा, महाधिवेशनको लागि चन्दा सङ्कलन गर्नु निकै जोखिमपूर्ण काम थियो ।
सेन्ट पिटर्सबर्गको समग्र पार्टी सङ्गठनले आफूलाई महाधिवेशन तयारीमा होम्यो । गर्मी मौसम हुनाले हामीले सहरका बाहिरी भागमा रहेका जङ्गलहरूमा बैठक आयोजना गर्न सक्यौँ । त्यहाँ प्रहरीले छापा मार्ने सम्भावना अलि कम थियो । अलि ठुला बैठक आयोजना गर्नुपर्दा हामीले शैक्षिक सङ्घसंस्थाको बहानामा वनभोज वा भ्रमणको आयोजना गथ्र्यौँ । सेन्ट पिटर्सबर्गबाट २०–२५ किलोमिटर बाहिर ‘पैदल यात्रा’ गरेर हामी घना वनमा पस्थ्यौँ । वनमा केही व्यक्तिलाई निश्चित सङ्केत शब्द बताएर पहरामा खटाएपछि हाम्रो बैठक सुरु हुन्थ्यो । यस्ता बैठकहरू खालि महाधिवेशनका लागि गरिँदैनथ्यो । बरु यी बैठकमा क्रान्तिकारी सङ्घर्षसँग सरोकार राख्ने सम्पूर्ण जल्दाबल्दा प्रश्नबारे छलफल हुन्थ्यो । खासगरी सन् १९१४ को क्रान्तिकारी उभारको बेला यी छलफल निकै घनिभूत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *