भर्खरै :

ख्वप विश्वविद्यालय सञ्चालनको विधेयक पारित भएमा चिकित्सा शिक्षा पनि सुरू हुने

ख्वप विश्वविद्यालय सञ्चालनको विधेयक पारित भएमा चिकित्सा शिक्षा पनि सुरू हुने

भक्तपुर, २७ मङ्सिर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेजको २४ औँ र ख्वप कलेज अफ इन्जिनियरिङको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार विद्यार्थी स्वागत, बिदाइ तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा अतिथि सुवालले नेपाल मजदुर किसान पार्टीको देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीतिअनुसार भक्तपुर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूले २६ वर्ष अघि ख्वप कलेजहरू स्थापना गरिएको बताउनुभयो ।
भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालनको विधेयक पारित भएमा चिकित्सा शिक्षा पनि सुरू हुने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “गएको भदौ २३ र २४ गतेको घटनापछि राष्ट्रिय मानव अधिकार आयोगको वक्तव्यमा सरकारमा गएकाहरूले जनताका समस्या समयमा सम्बोधन गर्न नसकेको र सम्भावित घटनाको पूर्वानुमान गर्न नसकेको उल्लेख छ । यसले सरकारका प्रधानमन्त्री र मन्त्रीहरू झन्डावाल गाडीमा सिंहदरबार भित्र–बाहिर मात्र गरेको पुष्टि भयो ।”
जिल्ला जिल्लाबाट ख्वप कलेजमा अध्ययन गर्न आउने विद्यार्थीहरूको स्थानीय अभिभावकको भूमिकामा भक्तपुरका जनता रहनेछन् । विद्यार्थीहरू अनुशासित भएर उच्च शिक्षा अध्ययनमा लाग्नु जरूरी छ, उहाँले थप्नुभयो ।
कार्यक्रमका सभापति, भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुर ज्ञान विज्ञानको केन्द्रको रूपमा स्थापित हुँदै आएको चर्चा गर्नुभयो ।
२०७२ सालको भूकम्पपछि भक्तपुर नगरपालिकाका सम्पदाहरूको पुनःनिर्माणको लागि जर्मनी सरकारबाट ससर्त १ अर्ब २० करोड रूपैयाँ अनुदान आएको तर ती सर्तहरू देशको सार्वभौमसत्ता र संविधानविपरीत भएको हुँदा सहयोग अस्वीकार गरी जनताकै पसिनाबाट भक्तपुरका १६९ वटा सम्पदाहरू पुनः निर्माण गरेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “देश एनजीओ र आईएनजीओले गर्दा परनिर्भर हुने खतरा बढ्दो छ । अमेरिकी र भारतीय स्वार्थअनुसार काम गर्दा भदौ २३ र २४ गतेको विध्वंसमा सयौँ सम्पदा खरानी भई खर्र्बाैँ सम्पत्ति नष्ट हुनुको साथै मानवीय क्षति भयो ।”
कलेजबाट उत्तीर्ण विद्यार्थीहरूले इमानदारिताका साथ कार्य गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले इमानदारिता, नैतिकता र धैर्यता ख्वपको विशेषता भएको बताउनुभयो ।
विदेशीको होइन स्वदेशको सेवा गर्ने इन्जिनियर हुनुपर्ने उहाँले बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको धरोहर, सम्पदा र इतिहासको विनाश र विध्वंश गर्ने जोकोहीलाई पनि इतिहासले माफी नदिने र व्यक्तिको छवि स्वच्छ भएन भने जतिसुकै ज्ञान हासिल गरे पनि महत्व नराख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्यालेस्टिनको ८०–९० प्रतिशत भूभाग ध्वस्त पारिएको छ तर पनि प्लालिस्टिनी जनता आफ्नो मातृभूमिको रक्षाको लागि लडिरहेका छन् । हामी नेपाली देशमा केही छैन भन्दै विदेश पलायन हुँदै छौँ । संसारकै अनुशासित विद्यार्थी तथा धेरै इन्जिनियरहरू रहेको देश प्रजग कोरिया हो ।”
स्वदेशमै बसी जिम्मेवार भएर देश र जनताको लागि काम गर्नुपर्ने आवश्यकता प्रदेश सभासद् गोसाईले औँल्याउनुभयो ।
नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा.डा. पद्मबहादुर शाहीले नेपाल इन्जिनियरिङ परिषद्ले गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि कार्य गर्दै आएको बताउँदै इन्जिनियर भई संसारकै सेवा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“विश्वविद्यालयको पाठ्यक्रमबाट मात्र होइन जीवनको हरेक क्षणमा निरन्तर हामी केही सिकिरहेका हुन्छौँ । विद्यार्थीहरूले आफ्नो काममा निरन्तर इमानदार भई कार्य गर्नुपर्ने र आफूमा अन्तरनिहित क्षमता विकास गर्नु जरूरी छ”, शाहीले भन्नुभयो ।
पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डीन प्रा.डा. भोलानाथ शर्मा घिमिरेले कडा मेहेनत नै गन्तव्यमा पुग्ने सूत्र भएको र आफ्नो बलबुट्टामा आफै आत्मनिर्भर बन्न सकेमा अरूको हेला–होचोमा पर्न नपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले विद्यार्थीको दक्ष र योग्य इन्जिनियर बन्ने सपना पूरा गर्न सम्पूर्ण कलेज परिवार एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । देश र जनताको सेवा गर्ने योग्य इन्जिनियर तयार गर्नु नै कलेजको उद्देश्य भएको प्राचार्य माकले उल्लेख गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले विद्यार्थीहरू कलेजमा अध्ययनरत रहँदा तथा अध्ययनपश्चात् सधैँ साथ र सहयोग रहने बताउँदै ख्वपको भावना अनुसार इमानदार र नैतिकवान् भएर सेवा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले स्वागत गर्नुभयो भने कार्यक्रमको महत्वमाथि प्रशासन शाखा प्रमुख सन्जय मानन्धरले प्रकाश पार्नुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उत्कृष्ट विद्यार्थी ई. सुमिना अवा र ख्वप कलेज अफ इन्जिनियरिङका ई. स्वर्णिम आगन्जाले कलेजमा अध्ययन गर्दाको आ–आफ्नो अनुभव सुनाउनुभयो ।
कार्यक्रममा २०८२ सालमा दुवै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत तथा चारवर्षे इन्जिनियरिङ, पाँचवर्षे आर्किटेक्ट र दुईवर्षे स्नातकोत्तर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *