भर्खरै :

देशको निम्ति खतरा र चिन्ता विदेशी चलखेल हो

देशको निम्ति खतरा र चिन्ता विदेशी चलखेल हो

देशमा सरकारलाई स्थिरता दिन नसक्नुका अनेक कारणमध्ये शासकहरू पद, पैसा र भागबन्डामा फस्नु पनि हो । पद, पैसा र भागबन्डामा अन्तद्र्वन्द्व भएरै एमालेबाट माओवादी र एकीकृत समाजवादी टुक्रिएको थियो । सिद्धान्त र विचार नमिली एकता गर्नु पनि अर्को कारण हो । अहिले केही दलहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बन्दा पनि असन्तोष भएर अर्कै दल बनेका छन् । निर्वाचन प्रयोजनको निम्ति कुन कुन नयाँ दल गठन भयो, कुन कुन दलबिच एकता भयो भन्दा पनि कुन दलले कुन वर्गका जनताको प्रतिनिधित्व गर्छ या कसको पक्षमा राजनीति गर्छ या सङ्घर्ष गर्छ भन्ने कुरा महत्वपूर्ण हो । पछिल्लो पटक रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँ महानगरपालिकाका मेय बालेन्द्र साह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच एकताको प्रसङ्ग सञ्चारमाध्यममा आएको छ । एकताको प्रसङ्ग भागबन्डासित सम्बन्धित छ । भागबन्डा नमिलेकै कारण ‘रवि–बालेन–कुलमान एकता अलमलमा’ परेको समाचार छापिएको छ । पार्टी सभापति रवि लामिछाने हुने, पार्टीको नाम रास्वपा रहने र पार्टीको चुनाव चिह्न घण्टा नै हुने भनिएपछि हाम्रो के भन्ने कुलमानको तर्कले वार्ता सफल नभएको जानकारी प्रकाशमा आयो । कुलमानको प्रधानमन्त्री बन्ने योजनामा धक्का पुगेको भनी वार्ता प्रक्रिया अघि नबढेको स्रोतको दाबी छ ।
बालेनको प्रस्तावमा ५०/५० प्रतिशतको शक्ति बाँडफाँट थियो । यसमा रास्वपा अमान्य रह्यो । कुलमानको प्रधानमन्त्री बन्ने योजना थियो । प्रतिनिधिसभाको निर्वाचन होला कि नहोला भन्नेबारे संशय भइरहेको बेला, निर्वाचन र निर्वाचनको परिणाम के हुने हो कुनै टुङ्गो नलाग्दै अहिले नै प्रधानमन्त्री हुने सपना नानी पाउने कहिले कहिले भोटो सिउने पहिलेझैँ भएन र ? उनीहरूको वार्ता र वार्ताको विषयलाई राजनीतिक विश्लेषक र राजनीतिज्ञहरूले फेरि जनतामाझ हल्ला गरेर जनताको मत भाड्ने काम गर्न थालेको टिप्पणी गर्न थालेका छन् । विगतका शासकहरूले पैसाको राजनीति गरेर, झूटको खेती गरेर, असैद्धान्तिक गठबन्धन र भागबन्डा गरेर श्रमजीवीमाथि शासन गरे । अहिले नयाँ र नयाँ दलको रूपमा देखिएका दलका नेताहरू सिद्धान्त र विचारको राजनीति नगरी हल्ला पिट्दै जनताको मत आफूतिर तान्ने प्रयास गर्दै छन् । एकता र गठबन्धनको हल्ला पिटेर जनताको मत लिने प्रयास पनि ठीक होइन । भ्रष्टाचारको विरोध गर्दैमा कुनै दलले जनताको भावना बुझेर देशको नेतृत्व गर्नसक्छ भन्ने होइन । विगतमा शासक दलका नेताहरूले पनि भ्रष्टाचारको विरोध नगरेका होइनन् । तर, उनीहरू नै भ्रष्टाचार र अनियमिततामा फसे, फसेका छन् ।
अहिले देशको निम्ति खतरा र चिन्ता विदेशी चलखेल हो† नेपाली भूमिमा छिरेर नेपालीलाई नै उपयोग गरेर या अगाडि सारेर विदेशी तत्वहरूले अराजनीतिक, उच्छृङ्खल, तोडफोड र आगजनी गर्ने काम सामान्य होइन । कुन विदेशी शक्ति राष्ट्रले चलखेल गरिरहेको छ भन्ने कुरा अहिले विभिन्न सूचना प्रकाशमा आउँदै छ । देशमा विदेशी शक्ति राष्ट्रले नेपालको खरबौँ बराबरको सम्पत्ति खरानी पार्ने काम गरिसकेको छ । त्यत्रो ठुलो सम्पत्ति एक समयमा देशभर आगो लगाएर खरानी पार्ने काम कुनै सच्चा या देशभक्त नेपालीले गर्नै सक्दैन र गर्दैन पनि । यी विदेशी शक्तिको पछाडि देशमा कुन कुन नेता, कार्यकर्ता या व्यक्तिहरू संलग्न छन् ? सोको सरकारले थाहा पाउनुपर्छ; थाहा दिन जनतालाई सुसूचित पार्नुपर्छ । के देशको गुप्तचर विभाग निष्कृय भएको हो ? कि गुप्तचर विभाग नै विदेशी शक्ति राष्ट्रसामु फसेको हो ? नेपाली जनता बेलैमा सचेत भएनन् भने, देशको राजनीतिलाई बुझेर मतदान गरेनन् भने विदेशी चलखेल बढ्ने मात्र होइन हस्तक्षेप हुन बेर लाग्दैन । त्यसबेला नेपाल र नेपालीको अस्तित्व कहाँ पुग्ला ? देशको स्वाधीनता र सार्वभौमिकतामा आँच कसरी नपुग्ला ?
जनता अब कसैको लहैलहैमा लाग्नु हुँदैन; कसैको लोभलालचमा फस्नु हुँदैन । सिद्धान्त र विचार नबुझी, दलले देश र जनताको विश्वास जित्ने कामको सुरू नगर्दै जनताले आँखा चिम्लेर मतदान गर्नुहुँदैन । त्यसो त देशमा पहिलेदेखि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको दबाब, हस्तक्षेप र अतिक्रमण नभएको होइन । भारतले नेपाली भूमि मिचेकै हो, अतिक्रमण गरेकै हो । संरा अमेरिकाले एमसीसी सम्झौता पारित गरेर देशमा चलखेल गर्ने मौका पाएकै हो । यस कार्यमा त्यसबेलाका शासकहरू चुकेकै छन् । जेन–जीको भदौ २४ गतेको आन्दोलन अमेरिकाको संलग्नता रहेको सूचना सार्वजनिक हुँदै छ ।
भूमिमा पाइला टेकेर प्रत्यक्ष या अप्रत्यक्ष रूपमा देशको राजनीति बुझ्ने, नेपाली जनतालाई उपयोग गर्न अवसर दिने शासकहरू यसका जिम्मेदार हुन् । विकास र आर्थिक सहयोगको नाउँमा विदेशीहरूलाई नेपाल भित्याउने शासकहरूको अदूरदर्शिताको कारण देशमा सङ्कटको स्थिति देखिएको हो । विदेशी चलखेल देशको निम्ति खतरनाक विषय हो । अतः अबको निर्वाचनमा जनता एकदम सचेत हुनुपर्छ; सचेत भएर देश र जनताको इमानदारीपूर्वक राजनीति गर्ने दल र दलका नेताहरूलाई मतदान गरेर जिताउनुपर्छ । नत्र देशमा नेपाल र नेपाली जनताले नसोचेको दिन आउन बेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *