भर्खरै :

शासकहरूको अदूरदर्शिताले विदेशी चलखेल

शासकहरूको अदूरदर्शिताले विदेशी चलखेल

कुनै पनि स्वाधीन तथा सार्वभौम मुलुकमा हुने वैदेशिक हस्तक्षेप, आक्रमण, अतिक्रमण र नाकाबन्दी स्वीकार्य हुनेछैन । धाक, धम्की या दबाब दिएर अरू देशको स्रोत र साधन कब्जा गर्ने नियत कहिले पनि सही हुनेछैन । अरू देश र देशका जनतालाई पीडा दिएर आफू धनी हुने सोच र चिन्तन प्रजातान्त्रिक र प्रगतिशील कदमभित्र पर्दैन । अहिले संसारका मुलुकहरू असुरक्षित हुनुमा साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशका शासकहरूको आक्रमण, अतिक्रमण र नाकाबन्दी नै हुन् । साम्राज्यवादी देशहरूले कुनै स्वाधीन देशमा आक्रमण गर्न या ध्वस्त पार्न अनेक जाल र चाल रचिरहेका हुन्छन् । विभिन्न गुप्तचर, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जनतामाझ घुसिरहेका हुन्छन् । उनीहरूमार्फतै सामाजिक गतिविधि, विकास योजना सञ्चालन र आर्थिक क्रियाकलाप गरिरहेका हुन्छन् । उनीहरूको क्रियाकलाप र गतिविधि देखेर शासक दलका कार्यकर्ताहरू ठिक्कै ठान्छन् । तर, त्यस गतिविधिभित्र विदेशी चलखेल भइरहेको उनीहरू चाल पाउँदैनन् ।
सरकार, कूटनीतिज्ञ, गुप्तचर विभाग, प्रहरी प्रशासन समयमै सचेत भएनन् भने कसले कुन बेला कहाँ आक्रमण गर्छ र नसोचेझैँ क्षति पु¥याउँछ भन्ने कुरा खासै थाहा हुँदैन । भदौ २३ र २४ गतेको आन्दोलनलाई फर्केर हेर्दा तोडफोड र आगजनीको प्रकरणले घुसपैठ नै भएको भन्न सकिन्छ । बिनायोजना, बिनाघुसपैठ एकैपटक एकै समयमा एकै प्रकारको आगजनी सम्भव हुँदैन । अतः कुनै देशको बाह्य आक्रमण, बाह्य घुसपैठ खतरनाक हुन्छ भन्ने कुरा व्यापक जनताले बुझ्नुपर्छ । दूरदर्शी र गम्भीर नभएको हुँदा देशका शासकहरू अगाडिको स्वार्थ या फाइदा मात्र हेर्छन् । विकास र आर्थिक सहयोगको पोको बाँडेर दिएपछि उनीहरू हुरूक्क हुन्छन् र देश हितविपरीतका सन्धि सम्झौता आँखा चिम्लेर समर्थन गर्छन् या सही गर्छन् । एमसीसी सम्झौता यसको एक दृष्टान्त हो । हाल देशमा जति पनि विदेशी चलखेल भइरहेको हो† घुसपैठ भइरहेको हो, त्यो सबै शासकहरूको अदूरदर्शिताको परिणाम हो ।
देशको स्रोत र साधन विदेशी उद्योगपतिलाई दिनु, हरेक काम र विकासमा विदेशी शक्ति राष्ट्रको भर पर्नु, नेपाल र नेपालीको भन्दा विदेश र विदेशीहरूको हित या स्वार्थमा गर्ने आदि काम देशभन्दा विदेशीहरूको स्वार्थ पूरा गर्न नै भएको देखिन्छ । साम्राज्यवादी, विस्तारवादी र पुँजीवादी देशहरूले आक्रमण गरेर नै अरू देशमा आफ्नो हैकम जमाउने काम गर्छन् । आक्रमण गरेपछि विश्वले विरोध गर्ने हुँदा आर्थिक सहयोग र विकासको लोभ देखाएर पनि असमान सन्धि–सम्झौता गरेर उनीहरू फसाउन अघि सर्छन् । प्राकृतिक स्रोत, साधन कब्जा गर्ने, देश देश जुधाएर हतियार बेच्ने, देशमा आन्तरिक द्वन्द्व चर्काएर कमजोर बनाउने काममा साम्राज्यवादी शक्तिहरू अनेक चलखेल गर्छन्† गरिरहेका छन् । साम्राज्यवादी देश अमेरिकाले युक्रेन र इजरायललाई आर्थिक हतियार र सेना सहयोग नगरेको भए, नउक्साएको भए युक्रेन रूससँग र इजरायल प्यालेस्टिनसँग युद्ध गर्न अघि बढ्ने थिएन । बिगतमा इराक, अफगानिस्तान, लिविया आदि मुलुकमा पनि अमेरिकाकै हात थियो । अमेरिकाले हाल भेनेजुयलामा आक्रमण गर्ने धम्की दिँदै छ । आक्रमण गर्नुभन्दा अघि अनेक झूट आरोप लगाइएको हुन्छ† झूट आरोप लगाएर आक्रमण गर्ने धम्की दिइएको हुन्छ । अरू देशको विकास र प्रगतिमा बाधा हाल्न नै आर्थिक नाकाबन्दी गरिएको हुन्छ । अहिले पनि क्युवा र प्रजग कोरियामा अमेरिकी नाकाबन्दी यथावत छ ।
विश्वका मुलुक र जनता साम्राज्यवादी देश अमेरिकाबाटै आक्रान्त र असुरक्षित छन् । साम्राज्यवादी नीतिको विरोध गर्ने देशलाई अमेरिकी सरकार शत्रुको दृष्टिले हेथ्र्यो । अनि कुनै न कुनै निहुँ खोजेर आक्रमण गरिहाल्थ्यो, नाकाबन्दी गरिहाल्थ्यो या आक्रमण गर्न र गराउन अरू देशलाई हतियार, सेना र आर्थिक सहयोग गरिहाल्थ्यो । आर्थिक सहयोग र विकासभित्र दुश्मन हुन्थ्यो, दुर्भाव हुन्थ्यो; गुलियो पोतेको विष हुन्थ्यो । त्यसैमा देशका शासकहरू फस्छन्; विष छर्ने विदेशी शक्ति राष्ट्रसामु झुक्छन् र कठपुतली बन्छन् । अरूको इसारामा नाच्ने कठपुतली सरकारले देशको विकास कहिल्यै गर्दैन, ऊ विकास गर्न अघि बढ्दैन । अतः बाह्य आक्रमण, बाह्य हस्तक्षेप, बाह्य दबाब र बाह्य जालझेलदेखि कुनै पनि सरकार, जनता र नागरिक समाज जहिल्यै सचेत हुनुपर्छ ।
अमेरिकी शासकहरूले अरू स्वाधीन देशमा गरिरहेको कुकृत्य, अमानवीय व्यवहार, दमनको कुरा देशका शासकहरू किन चाल पाउँदैनन् ? दर्जनौँ देशमा आक्रमण गरेर देश ध्वस्त पार्ने र नरसंहार गर्ने काम अमेरिकाले गरिसकेको छ । ती देशसँग शासकहरू आफ्नै देशको अहितमा असमान सन्धि–सम्झौता गर्छन् । शासकहरू विगतको घटनाबाट किन पाठ सिक्दैनन् ? पाठ सिकेर किन अघि बढ्दैनन् ? फेरि मिच्ने क्रम चालु छ । तर, हाम्रो देशका शासकहरू मौन छन् । त्यसको विरोधमा शासकहरू चुइँक्क बोल्दैनन् । अरू देशले जति अतिक्रमण, दमन गरे पनि, दबाब दिए पनि, देश हितविपरीत काम गरे पनि शासकहरू चुइँक्क बोल्दैनन् भने उनीहरूको थिचोमिचो, दमन, दबाब र अतिक्रमणलाई चालु राख्नेछ । त्यसको शिकार नेपाल र नेपाली जनता हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *